पर्यटन गतिशील र तीव्ररुपमा विकास भएको एक अत्यन्तै प्रतिस्पर्धी क्षेत्र हो। पर्यटनले गरिबी निवारण, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र राष्ट्रिय पहिचान राख्न मद्दत पुर्याउँछ।
नेपाल सांस्कृतिक, धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा साहसिक आकर्षणका विविधताले भरिएको सुन्दर गन्तव्य हो। नेपाल विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्य हो। विश्व सम्पदा सूचीमा समावेश भएका तथा अन्य अनुपम र अद्वितीय प्राकृतिक, सांस्कृतिक र मनोरञ्जनात्मक सम्पदाहरु नेपालका प्रमुख पर्यटकीय आकर्षण हुन्।
नेपालकको संविधानले पर्यटनसम्बन्धी नीति तय गरेको छ। पर्यटन क्षेत्रको विकासका लागि उपयुक्त कानूनी प्रबन्ध तथा आवश्यक वातावरण निर्माण गरी पर्यटन क्षेत्रको लाभ स्थानीय जनतासमक्ष पुर्याउने लक्ष्य संविधान, आवधिक योजता तथा वार्षिक कार्यक्रममार्फत लिइएको छ। साथै भिजन द्दण्द्दण् र नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६—२०२५) ले नेपाललाई सुरक्षित, अकर्षक र सुन्दर पर्यटकीय गन्तव्य निर्माण गर्ने लक्ष्य राखेका छन्।
तथापि नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि दक्षिण एसियामा आगमन हुने पर्यटकहरुको कूल सङ्ख्या र पर्यटकबाट हुने लाभको हिस्सा नेपालले एकदमै कम पाउने गरेको छ। पर्यटन प्रतिस्पर्धात्मक मानकमा नेपाल १०३ औं स्थानमा छ, जबकि भारत ४०औं, श्रीलंका ६४औं, भुटान ७८औं स्थानमा छन्। पाकिस्तान १२४औं र बंगलादेश १२५औं स्थानमा छन्। लगानी योग्य व्यावसायिक वातावरणको मानकमा नेपाल, भारत, भूटान र श्रीलंकाभन्दा पछि छ।
यसै यथार्थताको आलोकमा नेपालको पर्यटन क्षेत्रको विकासको अवस्था र सुधारका लागि गरिनु पर्ने प्रयत्नका विषयमा यस लेखमा विमर्श गर्ने प्रयास गरिएको छ।
पर्यटन क्षेत्रको योगदान अपेक्षाकृत छैन
पर्यटन क्षेत्रले समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिकजस्ता बहुआयामिक क्षेत्रमा प्रभाव पार्ने गर्दछ। नेपालमा पर्यटन क्षेत्रले कुल रोजगारीको ३.२ प्रतिशत रोजगारी (प्रत्यक्ष तथा अप्रत्यक्ष) सृजना गरेको छ। जि.डि.पि.मा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान २.६ प्रतिशत रहेको छ, जुन विगतको भन्दा घट्दो अवस्था हो।
वर्तमान अवस्थालाई हेर्दा विदेशी मुद्रा आर्जन र शोधानान्तर घाटापूर्तिमा पर्यटनले खासै उल्लेखनीय योगदान गर्न सकेको देखिन्न। समग्रमा नेपाली अर्थतन्त्रमा पर्यटनको उल्लेख्य योगदान नरहेको देखिन्छ। तर भारतमा पर्यटन क्षेत्रले जि.डि.पि.मा ६.८८ प्रतिशत र १२ प्रतिशतले रोजगार क्षेत्रमा योगदान पुर्याएको छ।
पर्यटकका रुपमा आउने व्यक्तिहरुबाट नेपाली समाजले आधुनिकीकरण, भाषा, सभ्यता तथा संस्कार केही रुपमा भए पति सिक्ने अवसर पाएको छ। तर पर्यटकका रुपमा आउने कतिपय व्यक्तिहरु पर्यटन कर्ममा होइन अपराध कर्ममा संलग्न रहेको तथ्य पनि यदाकदा अखबारहरुमा सुन्न र पढ्न पाइन्छ। त्यसैले पर्यटनको फल सहीरुपमा लिनका लागि पर्यटनलाई बहुआयामिक ढंगबाट सञ्चालन, व्यवस्थापन, नियन्त्रण र सबलीकरण गर्न जरुरी देखिन्छ।
कम खर्चिला पर्यटक, थोरै दिनको बसाइ
सन् २०१७ मा नेपालमा प्रति पर्यटक औसत १२.६ दिनको बसाइ अवधि रहेको थियो भने प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर रहेको थियो। नेपालको प्रति पर्यटक÷प्रतिदिन खर्च निकै कम छ। नेपालको पर्यटन संस्कृति र प्रकृतिमा आधारित भएकाले कम खर्चमा यात्रा गर्न रुचाउने, सीमित बजेट भएकालाई आकर्षित गर्ने गरेको पाइन्छ।
उच्चस्तरीय सेवा र सुविधाहरुमा लगानी र उपलब्धतामा जोड दिंदै सघनरुपमा बजारीकरण गर्न सक्दा बढी खर्च गर्न सक्ने धनाढ्य पर्यटकहरुको आगमन बढाउन सकिन्छ। खोजकर्ता, साहसिक खेल मन पराउने, विशेष रुचि भएका र माइस ( मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, एक्जिबिसन) का लागि आउने पर्यटकले तीर्थाटनमा आउनेले भन्दा बढी खर्च गर्ने गरेको तथ्य रिपोर्टहरुले देखाएका छन्।
तसर्थ हाम्रो अबको रणनीति भनेको पर्यटक आगमनमा वृद्धि गर्नुका साथै उनीहरुको बसाइ लम्बाउने र प्रति पर्यटक खर्च बढाउने हुनुपर्दछ। सारमा भन्दा “उच्च मूल्य लामो अवधि”का पर्यटक हाम्रो लक्ष्य हुनु पर्दछ।
पर्यटकको चाहानाः हाम्रो आवश्यकता
१. सुरक्षाः स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरण, गन्तव्यको सुरक्षित छवि पर्यटकको प्रधान अपेक्षा हो। भूकम्प लगायतका प्राकृतिक प्रकोप तथा कुनै पनि किसिमको अप्ठ्यारो पर्दा भरपर्दो उद्धार र सुरक्षाको व्यवस्थाका विषयमा हामीले पर्यटकको विश्वास जित्ने गरी वातावरण निर्माण गर्न सकेका छैनौं।
नेपाल सरकारले पर्यटन खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७५ लागु गरेको छ। तथापी फेक उदर प्रकरणका विषयमा दोसी देखिएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर सञ्चालक तथा अस्पताललाई कारवाही नगरीएको विषय अन्तराष्ट्रिय सञ्चार माध्यमबाट उठ्नुलाई संवेदनशील तबरबाट लिइनु पर्दछ। त्यसैले सम्बन्धित निकायले ट्रेकिङ परमिट दिंदा मेडिकल इन्सुरेन्स भएको सुनिश्चिता गर्ने एवम् सुरक्षा तथा उद्धारको भरपर्दो प्रबन्ध मिलाउने कार्यमा थप कसिलो प्रयत्न आवश्यक छ।
२. पर्यटकीय मौलिक विशेषताः पर्यटकहरु औसत अनुभवका लागि होइन विशिष्ट अनुभव लिनका लागि घुम्न आउने हुन्। हामीले हाम्रा अदभुत पर्यटकीय सम्भावनाहरु ( विशेष गरी हिमालहरु र बुद्धको जन्म थलो लुम्बिनी ) लाई पनि पर्यटकमैत्री ढंगवाट व्यवस्थापन गर्न सकेका छैनौं।
त्यसैले हामीले पर्यटकलाई मन पर्ने ढंगबाट हाम्रा ऐतिहासिक धरोहर, साँस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य –सत्कार, साहसिक गतिविधि र खेलहरु एवम् नौला अवलोकनका अवसरहरु व्यवस्थित गर्न सक्नु पर्दछ।
३. पूर्वाधारः सहज र सस्तो हवाई सेवा तथा सडक यातायात, सूचना—प्रविधि, आवास, स्वच्छ पिउने पानी, सार्वजनिक शौचालय, विद्युत आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता पुर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन्। तर नेपाल वायुसेवासँग तीनवटा मात्र वाइडवोडी विमान चालु अवस्थामा छन्।
पछिल्लोपटक खरिद गरिएको विमानले सेवा दिनभन्दा पनि वायुसेवा निगमको छवि थप धमिल्याउन सहयोगी बनेका छन्। एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थललाई थप विस्तार गरी सुविधा बढाउन नसकिने अवस्था रहेकाले बुटिक विमान स्थलको रुपमा विकास गर्ने कार्य भइरहेको छ।
केवल सुन्दरतामात्र थप्न सकिने अवस्थामा यो विमान स्थल रहेको छ। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ सम्ममा सम्पन्न गर्न नसक्ने हो भने नेपाल भ्रमण वर्ष २०२० ले अपेक्षित प्रतिफल दिन मुस्किल देखिन्छ। हाम्रा बाटाघाटा र अन्य सार्वजनिक स्थलको त कुरै छोडौं विश्वसम्पदा सूचीमा परेका धरोहरहरुमा पनि सरसफाइको अवस्था दयनीय देखिन्छ।
छिमेकी राष्ट्र चीनले सगरमाथाको चीनतर्फबाट देखिने भागलाई नजिकबाट अवलोकन गर्न अत्याधुनिक रेल सगरमाथाको काखैसम्म पुर्याउने तयारी गरिसकेको छ। यसरी अन्य देशले गरेको पर्यटन मैत्री पूर्वाधार विकास कार्यबाट हामीले पनि पाठ सिकेनौँ भने पर्यटनबाट आर्थिक समृद्धि गर्ने अपेक्षा सपना मात्र हुनेछ।
४. सहयोगी व्यवहार वा र प्रबन्धः स्वास्थ्य र उद्धार सेवाको भरपर्दो प्रबन्ध, आतिथ्यता,सेवाको स्तर, आवास, भोजन, बैकिङ सेवा, उद्धार कार्य, सूचना केन्द्र, आइसिटी सेवा, पथप्रर्दशन, मनोरञ्जन क्रियाकलाप आदि सेवा र अवसरहरु पर्यटकको पहिलो रोजाइ हुन्छ।
हामीले सदा बिर्सन नहुने कुरा के छ भने नेपाल बसाइको क्रममा पर्यटकको मन चिसिनु हुँदैन, निराश हुनु दिनु हुँदैन। पर्यटकको फेक उद्धार प्रकरणबाट पाठ सिक्दै आउने दिनमा त्यो गल्ती दोहोरिन नदिने गरी नियमन तथा व्यवस्थापन गरिनु अत्यावश्यक छ।
योग्य पथ प्रदर्शकको उपलब्धता, वित्तीय सेवा, पर्यटन सूचना प्रणाली, स्वस्थकर खाना र आवासको प्रबन्ध, नेपाली संस्कारसँग जोडिएको आतिथ्यजस्ता विषयमा सघनरुपमा नै सुधारको खाँचो देखिन्छ।
विगतको पर्यटन वर्षहरुले दिएको शिक्षाः विगतमा भएका दुईवटा पर्यटन वर्षहरुमा अघिल्लो वर्षको तुलनामा पर्यटन वर्षमा उल्लेख्य पर्यटक नेपाल आएनन्। पहिलो र दोस्रो पर्यटन वर्ष क्रमशः सन् १९९८ र २०११ मा पर्यटकको आगमन वृद्धिदर क्रमशः १० र २२ प्रतिशत मात्र थियो। दुवै पर्यटन वर्षहरुमा अपेक्षित संख्यामा पर्यटक भित्र्याउन सकिएन।
पहिलो र दोस्रो पर्यटन वर्षको अपेक्षा क्रमशः ५ र १० लाख थियो तर पर्यटक आगमन क्रमशः ४६३६८४ र ७६३२१५ मात्र रह्यो। पर्यटन वर्ष पछिका वर्षहरुमा पहिलो वर्ष केही संख्यामा पर्यटक बढे पनि त्यसपछिका ३/४ वर्षहरुमा पर्यटक आगमन वृद्धिदर ऋणात्मक रह्यो।
यो तथ्यबाट सूक्ष्मरुपमा मनन गर्नुपर्ने पक्ष के रह्यो भने पर्यटन वर्षहरु देखावटी मात्र भए कि ? आएका पर्यटकको मन जित्न नसक्नाले उनीहरुबाट नेपालका विषयमा सकारात्मक सन्देश प्रवाह भएन कि ? पर्यटन वर्ष पछिका वर्षहरुमा पर्यटन क्षेत्र विकासका लागि राज्य सम्बद्ध निकाय र पदाधिकारीको सक्रियता सुस्तायो कि? यी सवालहरुमा वस्तुगतरुपमा अध्ययन गरी पहिचान गरिएका समस्याहरुको समाधानमा नलाग्ने हो भने पर्यटन वर्षका श्रृङ्खलाहरु लम्बिने छन् तर पर्यटन क्षेत्रले आशातीत प्रगति गर्ने छैन।
पर्यटन शीर्षकमा आएकोभन्दा गएको पैसा वढीः विदेश भ्रमण गर्ने नेपालीको संख्या उच्च दरले बढेको छ। यसबाट धेरै विदेशी मुद्रा बाहिरिएको तथ्यांकले हामी संवेदनशिल हुनु पर्ने अवस्था छ।
गत आर्थिक वर्षमा पर्यटनबाट नेपालले कुल रु.६७ अर्ब ९ करोड ४६ लाख आम्दानी गरेको थियो भने नेपालीहरुले विदेश भ्रमणमा कुल रु.७९ अर्ब ५९ करोड ६५ लाख खर्च गरेका थिए। यसरी पर्यटनको वासलातमा नेपालले कुल रु.१५ अर्ब ५० करोड १९ लाख घाटा बेहोरेको देखिन्छ।
विदेश भ्रमणमा खर्च गर्ने पैसा नेपालमा नै राख्ने गरी आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न अत्यावश्यक छ।
अवको बाटो,
संघीय व्यवस्थाअनुसार विन्यास भएको शक्ति, स्रोत, अधिकार र जिम्मेवारीको परिधिभित्र रही तत्—तत् तह र निकायले पर्यटन विकासमा लाग्नु पर्दछ। पर्यटन क्षेत्रलाई दिगो, मौलिक र सार्थक बनाउन हाम्रा पर्यटकीय समस्याहरुलाई समाधान गर्दै संभावना तथा अवसरहरुलाई संरक्षण, संवद्र्धन र विकास गर्न आवश्यक छ।
स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेत, सक्षम, जागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन। ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्ने गरी घरवास ( होम स्टे) जस्ता पर्यटकीय क्रियाकलापको प्रवद्र्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन।
आन्तरिक तथा बाहृय पर्यटकहरु आकर्षित हुनेगरी पर्यटन प्रवर्धन गर्न नेपालको आफ्नै आकर्षक ब्राण्डहरु निर्माण गर्न आवश्यक छ। हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभुति प्रति पर्यटकलाइ आकर्षित गर्न बजार प्रवर्धनका रणनीतिलाई आधुनिक पद्धतितर्फ लैजानै पर्छ।
विश्वासिला सञ्चार साझेदारहरुको पहिचान र परिचालन गरी गन्तव्यहरुका बारेमा नयाँ र ताजा जानकारी दिने तथा नेपालका प्राकृतिक सामीप्य, साँस्कृतिक सत्यता, आत्मीय सुख र सामाजिक मेलजस्ता उत्साहप्रद मूल्यहरुलाई पर्यटनसँग कसिलोसंग जोड्न जरुरी छ।
पर्यटन बहुसरोकारवालाहरुको अन्तर्सम्बन्धबाट चल्ने क्षेत्र हो। त्यसैले पर्यटनको प्रबर्धन र विकासको लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ।
स्थानीय , प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमान्दार कार्यान्वयन गर्न आवश्यक देखिन्छ। संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै प्रयाप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्दा “समृद्ध नेपाल, सुखी नेपाली”को लक्ष्य प्राप्तिमा पर्यटन क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने कुरामा दुईमत नहोला।