पछिल्लो समय अमेरिकन सहप्राध्यापक आना स्टिरले दुई पक्ति डेउडा गीत गाएको भिडियो भाइरल भयो सामाजिक सञ्जालमा। जुन गीत कैलालीमा आनासँग भेट हुँदा सिकाएकी हुन् गायिका डीक्रा बादीले।
माइतिघर मण्डलाको छेवैमा रहेको रैथाने संगीत समूहको अफिसमा मंगलबार एकाएक झुल्किइन् आना। भेटिन् रियाज गरिरहेकी डीक्रालाई र अगालो मारेर दिइन् अग्रीम बधाई तथा शुभकामना।
दलित र मलितको निकै नै भेदभाव गरिने समाजबाट आएकी उनले एक विदुषीको न्यानो अँगालो पाउदा परेली डीलसम्म छल्केका आँसु कुलाइन् बलैले। मनमनै सम्झिहोलिन् त्यो बाल्यकाल। जतिबेला मलितको अगालो त के उनीहरूको आँगन छेउमा पुग्दा पनि निकै सजक हुनुपथ्र्यो, त्यहाँ कतै छोइने चिज पो छ कि भनेर। ती तिनै डीक्रा हुन् जो जातकै कारण पछि परिन्। गरिबीका कारण पछि परिन्।
कुनै समय थियो, डेउडाको क्यासेट निकाल्दा अधिकांशले एउटा गीत डीक्राको स्वरमा रेकर्ड गराउँथे ताकि क्यासेट बिकाउन सजिलो होस्। गीत गाउँदा दिएनन् कतिपयले पाउनुपर्ने जति पारिश्रमिक। अझै खुल्न सक्दिनन् उनी।
ओठसम्म पुगेका शब्दहरू रोक्छिन् बलैले र भन्छिन्– भैगो छाड्दिउ ती कुरा। समाजमा दबिएको आवाजले सकेन बिद्रोह गर्न। त्यो आवाज त्यतिबेलै खुल्थ्यो जतिबेला उनी सुसेल्थिन् विरहका भाका। वन जंगलतिर डाँडाकाडा हल्लिने गरी होस् कि लाहुरेले टेपरेकर्डर प्ले गर्दा होस्।
गुञ्जिन्थ्यो उनको कोकिलकण्ठ स्वर र तरलित हुन्थे कैयौं मनहरू। जसै क्यासेटको प्रचलन कम हुँदै गयो उसै डीक्रा पनि ओझेलमा पर्दै गइन्। पाहाडमा सुकुम्बासी बनेको जीवन तराइमा एक टुक्रा ऐलानी जमिन भेट्न तराइ पुग्दा छुटेका हुन् आनालेझैं स्नेहील पाराले हेर्ने पाहाडका ती डाँडाहरू। धेरै भयो गुञ्जिएको छैन डीक्राको स्वर त्यहाँ।
बुवा बैरागी र आमा जानकी घरमा तवला,हार्मेनियम,मादल,सारङ्गी बजाउँथे। घरमा गाना बजाना चल्थ्यो। एउटा सांगीतिक घराना नै थियो त्यो परिवार। डीक्रा भन्छिन्– आमाको स्वरको त के कुरा तरलित तुल्याउथ्यो श्रोताको मन मुटु। डिक्राकी छोरीको स्वरले पनि लठ्याउँछ रे मान्छेलाई। तर छोरीले गायन क्षेत्रमा पाइला टेक्ने अवसर पाइनन्। बिहे गरेर घरजम गर्न थालिन्। तिनै बादीहरुले गाउँगाउँ डुल्दै गाउँदै गरेका भाका टपक्क टिपेर रेकर्ड गराए कतिपय गायक गायिकाले। जातीय छुवाछुतले निकै नै गाँजिएको सुदूरपश्चिमको समाजले के नै दिन्थ्यो र उनको संगीतलाई महत्व।
अधिकांशले भनिदिन्थे – “भाँण त हुन्, नाचगान गरेर मागिखाने जात, बाजा बजाउनु के नै नौलो कुरा भयो र।‘ कटक्क मन दुख्थ्यो उनको। सुनेर चुप बस्नु शिवाय थिएन पनि कुनै विकल्प। आखिर छाक टार्ने अन्न जुटाउनु पथ्र्यो गाउँ डुल्दै गानाबजाना गर्दै । सुल्पा,चिलिम, गाग्री जस्ता माटाका भाँडा बनाएर मलितका दैलोमा पु¥याउनु पथ्र्यो बादी समूदायले। प्रत्येक परिवारका आआफ्ना रिथी हुन्थे। रिथीको अर्थ हो मालिक। गहुँ र धान बाली भित्र्याउने समयमा पुग्थे तिनै मालिकका खेत र आँगनमा। र पाउँथे दुई पाथी अन्न। बिबाह, पर्व पर्वादीमा नाचगान गर्दै गाउँ डुल्दै माग्दै गुजरा चलाउँथे।
कुनै समयमा दरबारमा नाचगान गर्ने भनेर चिनिन्थ्यो यो समुदाय। राजाले गैरीखेत पनि दिए उनीहरूलाई कमाइ खान। तर समाजका ठालु भनाउदाहरूले पचाउन सकेनन् त्यो कुरा। प्रपञ्च रचे र बेकुफ बनाएरै छोडे खेतिपातीको ज्ञान नभएको यो सोझो जातीलाई। खेतमा धान फुल्दा पुत्ला लागे भनेर धानका फूल झार्न लगाएछन्। अनि दरवारमा बिन्ती बिसाएछन् भाँणले खेती गरेर खाँदैनन्, धानका फूल सबै झारिदिए भनेर। त्यसपछि बोलाएछन् राजाले र भनेछन् सेरो खाने कि फेरो ? सेरो भनेको खेत थियो फेरो भनेको डुल्नु थियो। त्यहाँ पनि के के भयो।
सेलरोटीलाई फेरोको रुपमा बुझेका ती गन्धर्वहरूले फेरो भनेछन्। राजाको हुकुम भएछ गाउँगर्खा डुलेर खानू। अनि अरु रैतिलाई भनिएछ भाँणहरूले मागेको नून तेल अन्न सागपात लुगा फाटो दिएरै पठाउनू। त्यसै दिनदेखि यिनीहरू गाउँगर्खा डुल्दै नाच्दै गाउँदै बिताउन थाले मदहोसी जीवन। आफुमाथि अन्याय, अत्याचार गर्नेको बारेमा अश्लील शब्द प्रयोग गरी गीत बनाएर गाए पनि तिनले। आक्रोश व्यक्त नगरेका हैनन् बेलाबखत। उक्त आक्रोश सुनेपछि भाँणहरूले यस्तै गर्ने हुन् भनियो र हसीमजाकका रुपमा उडाइयो। गलतलाई गलत भनेर चर्को स्वर निकाल्दा समाजका ठालु र रवैयावालाले उल्टै कहावत बनाएर अरुलाई समेत भन्न थाले – कसो छ भाँण जसो।
यहाँ दलित भनिएकाहरू भित्रै पनि चर्को ढंगले देखापर्छ छुवाछुतको अवस्था। गन्धर्व अर्थात सुदूरपश्चिममा भाँण भनेर चिनिएको यो जातीले छोएको पानी मलितले त चलाएका छैनन् नै अन्य दलित भनिएकाहरूले पनि चलाएका थिएनन् र छैनन् पनि। कसैले पानी नचलाएका तिनै दलित परिवारको आँगनमा पुग्थे कतिपय मलित भनाउदाहरू टेपरेकर्डर बोकेर। रेकर्ड गर्थे डीक्राको सुरिलो स्वर। कतिपयले त भारतमा डबिङ गरी क्यासेट बेचेर कमाइ पनि गरेछन्।
८ वर्षकै उमेरबाट गाउन थालेकी हुन् उनले ठाडी भाका। खुब गाइन् डाँडा पाखामा ठाडी भाका। विरह, वेदना र अभावका कुरा छताछुल्ल पार्छन् र क्षणभरकै लागि भए पनि सन्तुष्टि भेट्छन् ठाडी भाका गाउनेहरू। उनले गाएको गीतको रन्को सुनेर टोलाउँथे कयौ मन। देख्नमा पनि निकै सुन्दर थिइन उनी। उसो त अहिले पचास वर्षको उमेरमा पनि सुन्दर नै देखिन्छिन्।
सानै उमेरमा बिहे गर्ने चलन थियो सुदूरपश्चिममा। त्यसैमा पनि बादी समुदायमा त झन सात आठ वर्षकै उमेरमा गरिदिन्थे बिहे। डीक्रा १४ वर्षसम्म आमा बुवाकै लाडप्यारमा हुर्किन। प्रकृतिप्रेमी उनी साथी संगीसँगै डुलिन् वनपाखामा। एकदिन बझाङका कित्थ्या बादीकी सानीआमाले फकाइ फुल्याइ लगिन् आफ्नो घर। त्यहाँ गएको केही दिनमै गराइदिइन १६वर्षे कित्थ्या बादीसँग बिबाह। यो परम्परा चलिआएकै थियो बादी समुदायमा निकै अघिदेखि। आमा बुवाका एक्ला सन्ता कित्थे र उनको यात्रा चलिरहेको छ प्रेमपूर्ण ढंगले।
बाटोमा हिँडिरहेको देख्दा कयौंले भन्छन् परेवा जोडी आयो भनेर। जीवनमा एक टुक्रा घडेरी जोड्न पाए हुन्थ्यो भनेर भैतारिदै तराइ पुगे कित्थ्या। उनको साथ छोडिनन् डीक्राले। अत्तरिया, फुलबारी, चौकीडाँडा, बेल्डाडी कहाँ कहाँ पुगेनन् उनीहरू। कित्थ्या भन्छन् –‘लेख्दे मान्स भएका भए त ठुलै किताव तयार भैसकन्थ्यो।’ वन फडानीको आरोपमा जेल समेत झेलेछन्। बैतडीका भानबहादुर चन्दको पहलमा निस्केछन् १९ दिन पछि जेलबाट। निकै नै दुःख कष्ट झेलेर हालको कन्चनपुरको कृष्णपुर नगरपालिका २ बङ्कस्थित वनहरा नदीको किनारमा २ कठ्ठा ऐलानी जमिन ओगटेर बनाएका छन्।् शिर लुकाउन सानो झुप्रो।
डीक्राका तराइ आएको चाल पाएपछि ०५२ सालमा बझाङकै गोरख थापा र नरेन्द्रराज रेग्मीले खोजी गरे। भेट भएपछि योजना बनेछ सीमापारि भारतको पलिया बजार गई गीत रेकर्ड गर्ने। लखिमपुर, पलियामा रहेको मिर्चा स्टुडियोमा रेकर्ड गर्न लगाए उनको स्वरमा गीत। जहाँ कित्थेले सारङ्गी रेटे, मादल बजाए, डीक्राले गीत गाइन। हप्ता दिनमै बजारमा आइपुग्यो बसिबियालो नामक एल्बम। पारिश्रमिकका रुपमा दुईचार हजार रुपैयाँ पनि पाइन। बजारमा निकै चर्चा हुन थाल्यो उनको। त्यसपछि काठमाडौं बोलाए गायक अन्तराम बिष्टले। बउजु नामक एल्बममा गीत गाइन डीक्राले।
फर्कने बेला तीस हजार रुपैयाँ पारिश्रमिक पनि पाइन। त्यतिखेर डीक्रालाई त्यो पैसाले घरखर्च चलाउन ठुलो राहत मिल्यो। त्यसपछि नारायण बिष्ट लगाएत कैयौंले लगानी गरेर डीक्राकै स्वरमा निकाले एल्बम। सैकडौ एल्बममा गाइसकिन गीत। तर उनीसँग छैन एउटा पनि। मेमोरी कार्ड राख्ने मोबालको ठुलो रहर छ उनलाई। त्यो पनि किन्न सकेकी छैनन्। उनले आफ्नै लगानीमा दुईटा एल्बम तयार पारिन। स्टुडियोलाई पैसा तिर्न नसक्दा मास्टर कपि नै बेचिदिइन् तीस हजारमा। थुप्रै छन् उनका कथाका अध्यायहरू।
गाउँघरतिर मलित भनिएकाहरूको आँगनमा पुगी खाना माग्दा दिन्थे थोरै दाल भात। जसलाई भुजाइँ भनिन्थ्यो। एउटै घरबाट पाएको भुजाइँले भरिदैनथ्यो पेट। कसैकसैले थालमा दिए पनि अधिकांशले केराको पातमा राखेर फुत्त फ्याक्थे। टक्क समात्थे खाना भएको पात दुई हातले । जनावरलाई पनि दिइँदैन त्यसरी जसरी दिइन्छ दलितहरूलाई। हो त्यसै गरी अलिकति दिए परिश्रमिक। दिएनन् सबैले उनले गाउँदाको पूर्ण पारिश्रमिक। ती कुरा सम्झेर भक्कानिन्छिन् कहिले काही। उनको हँसिलो मुहारभित्र देखिन्छन् दुःख पीडा र जिज्ञाशाका धर्साहरू।
सँगै गाउने गायक गायिकाले पाउँथे चलनचल्तिको रेट। उनीहरूलाई खुरुक्क दिन्थे पनि लगानीकर्ताले। तर डीक्रालाई पाँच सय दिनु पर्ने ठाउँमा कसैले तीन सय दिन्थे। कसैले दुई सय। अनि कसैले त सय रुपैयाँ मात्रै दिएर सजिलै भनिदिन्थे रे भोलिपर्सि मिलाउला अहिले जाऊ। वादी समुदायमा जन्म लिएकोमा सराप्थिन् आफैलाई। समाजका ठूलाबडा भनाउँदाका कुकृत्य राम्रैसँग थाहा छ उनलाई। मै हुँ भन्नेको नाडी छामेकी छन् उनले। त्यसैले त गाइन यी पंक्ति
बाज गुराँसका दाउरा बल्ला गुरुगुरु
साइकी नाडी मेरा हात चल्ली सुरुसुरु
उनको स्वरमा रेकर्ड भएको गीत सुन्न पाएनन् उनका बुवाले। गीत गाउन प्रोत्साहित गर्थे बुवा बैरागी। बुवा वितेको दुई वर्ष पछि ल्याइन आफुसँगै सुस्तमनस्थितिकी दिदी, आमा र ३ जना बहिनीहरूलाई। आफ्नै घरछेउमा सानो झुपडी बनाइदिएर रेखदेख गरिरहिन् दिदी, बैनी र आमाको। एउटी बहिनीको बिहे गरिदिइन। अरु बैनीको बिहे गर्ने उमेर भएको थिएन। गीत गाएर अलिअलि कमाई भैरहेकै थियो। डीक्रामाथि एकाएक ठूलै बज्रपात भयो। समय यस्तो आइदियो कि, वर्षैपिच्छे छोड्दै गए सबैले। सुरुमा २० वर्षीय बहिनीले धर्ती छोडिन्।
त्यसको ठिक एक वर्षपछि कहिल्यै नफर्किने गरी बिदा भइन आमा पनि। आमाले छोडेको दोस्रो वर्ष १५ वर्ष कि एउटा बहिनी, अर्को वर्ष फेरि अर्की बहिनी गइन् कहिल्यै नभेट्ने गरेर। अन्तमा ती सुस्तमनस्थितिकी दिदी। सबैले छोडे डीक्रालाई। कति दिन कति रात आँसुमा डुबे थाहै भएन। आफै पनि बाँचुला लागेको थिएन उनलाई।
दुईचार दिन यता डीक्राका बुढाबुढीलाई रियाज गराउन लगिरहेको छु गायिका झुमा लिम्बुको स्टुडियोसम्म। बानेश्वरबाट माइतिघर मण्डलासम्म जादै गर्दा बेलाबखत सम्झिन्छु छ महिना अघिको घटना। उनको फोन पत्ता लगाउनेक्रममा सम्पर्क भएको थियो धेरै जनासँग। कसैले बताउन सकेनन् उनको फोन नम्बर। कतिपयले त उल्टै भनिदिए –‘त्यो बदेनीका पछि के लागिराखेको ? के पाइन्छ ती भाँणका पछि लागेर ?’ यस्ता कुरा सुन्दा दुखेको हुँ म आफै पनि। यतिबेला सोचिmरहेको छु – कति दुख्दो हो डीक्राहरूलाई ?
त्यस्ता कुरा सुनेपछि झन लागि परें डीक्राको बारेमा थाहा पाउन। कैलाली गएको बेला उनको घर पत्ता लगाउन पुगें कन्चनपुतिर। सोध्दै जादा भेटियो घर अनि फोन नम्बर। तर भेटिएनन् डीक्राका बुढाबुढी। त्यस पछि बुढाबुढी दुबैसँग पहिलो पटक भेट भयो करिव चार महिनापछि। उनीसँगको कुराकानी परिणत भयो एउटा लेखमा। यी सबै कुरा नियाली रहेका थिए मित्र अमृत भादगाउँलेले। उसो त उनलाई खप्तड काव्ययात्राको दौरानमा दस हजार नगद सहित सम्मान गर्ने योजना थियो कन्सेप्ट नेपालको। तर उनी उपचारका क्रममा भारतमा पुगेकी थिइन त्यतिबेला।
एकदिन भाद्गाउँलेले योजना सुनाए काठमाडौंमा उनको एकल डेउडा गायन कार्यक्रम तय गर्ने बारे। त्यसपछि तल्लिन रह्यौ दुबैजना सहयोगी मन भेटाउन। हामीसँग होस्टेमा हैसे गर्न आइपुगिन गायिका झुमा लिम्बु पनि। आज केही सहयोगी मनहरु भेटिएका छन्। झुमाको स्टुडियोमा गरिरहेकि छन् डीक्राले रियाज। ९ वर्षपछि पुनः गायन क्षेत्रमा फर्किदै छिन उनी। कन्सेप्ट नेपालको आयोजनामा शनिबार १ बजे राष्ट्रिय नाचघर जमलमा हुन गइरहेको छ उनको एकल गायनको कार्यक्रम। कयौं शुभेछुकहरु कामना गरिरहेका छन् उनको सुखद साङ्गीतिक यात्राको। हृदयदेख नै शुभकामना डीक्राका बुढाबुढीलाई।