फागुन १५ गते बुधबारको दिन। बेलुकाको त्यस्तै ५ बजेको थियो। ल्याबमा सेल कल्चरको काम सकेर यसो ट्वीटर खोलेको थिएँ, केही अनलाइनमा ब्रेकिङन्यूज भन्दै ‘पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर बेपत्ता’ भन्ने समाचार छापे।
मन झसङ्ग भयो। ‘हे भगवान! हेलिकप्टर दुर्घटना भएको नहोस्, सबै सकुशल रहुन्’ भन्ने कामना गर्न थालेँ। केही बेरमै हेलिकप्टर दुर्घटना भएको आशंकाका समाचार आउन थाले।
मन झन् आत्तिन थाल्यो। लगातार भगवानलाई पुकार्न थालेँ। कुनै समाचार पोर्टल खोल्न मन लागेन। मनमोहन पनि हेलिकप्टर दुर्घटनामा बाँचेका थिए, त्यसैले तिमी पनि पक्कै बाँचेकै छौं जस्तो लागिरह्यो मलाई। तिम्रो मृत्युको समाचार सुन्नु थिएन रविन्द्र दाइ, तर मलाई सुन्न मन नलागेर मात्र के नै हुँदो रहेछ र? वास्तविकता त तिमीले सबैलाई छोडेर गइसकेका रहेछौ।
केही समय पछि ७ जना मध्ये ६ जनाको जलेको शव प्राप्त भन्ने खबर सुनेँ। फेरि पनि तिमि एक्लै भए पनि बाँचेको होऊ भन्ने कामना गर्न थालेँ। साढे ६ बजेतिर नयनराज पाण्डेले ‘हार्दिक श्रद्धाञ्जली रविन्द्रजी’ भन्ने ट्वीट गरे।
मेरा हात खुट्टा गले, शरीर शिथिल भयो। नयनराज पाण्डेसित रिस पनि उठ्यो। किन हतारिएको होला, रविन्द्र दाइ जिवितै पो छन् कि भन्ने भैरह्यो। घर पुगेँ, सायद ७ बजेतिर सरकारले नै औपचारिक रूपमा तिम्रो मृत्यु भएको जानकारी गरायो।
हेलिकप्टरमा ७ जना सवार रहेछन्, सातै जनाको मृत्यु भएछ। तिम्रो र अंग रक्षकको शव मात्र चिन्न सकिने अवस्थामा थियो रे। अघि देखि जे नहोस् भनेर कामना गरिरहेको थिएँ, भगवान पुकारिरहेको थिएँ, ती सबै खेर गए। तिमी हामीबीच रहेनौं।
तिमीलाई त्यति राम्रोसँग चिन्न त पाएको थिइनँ रविन्द्र दाइ, तर विद्यार्थी राजनीतिबाट उदाएका प्रभावशाली नेता होऊ भन्ने थाह थियो। मैले पनि पोखरामै अध्ययन गरेको हुँदा तिमी अनेरास्ववियूको अध्यक्ष हुँदा पीएन क्याम्पसले निकालेको स्मारिकामा तिम्रो फोटोहरू देखेको थिएँ। तर, मलाई विद्यार्थी राजनीति पटक्कै मन नपर्ने हुनाले सबैले राम्रा भने पनि तिमी मेरो नजरमा औसत नेतानै थियौ।
न देखेको, न भेटेको, न सार्वजनिक मञ्चमा नै त्यति धेरै सुनिएको। त्यसैले तिमी त्यतिबेला ठिकै होलाऊ, तर मेरो लागि खास थिएनौं। जब तिमी सांसद बन्यौ तिम्रा अन्तर्वार्ता आउन थाले। तिमीले विकास समितिमा बसेर गरेका काम देखिन थाले। तिमी मैले सोचिरहेको भन्दा केही फरक रहेछौं कि जस्तो लाग्न थाल्यो।
अनि तिमीप्रति स्नेह बढ्न थाल्यो। आशा जागृत हुन थाल्यो, तिमीले कुनै मन्त्रालय समाल्ने अवसर पाए केही गर्थ्यौ कि भन्ने आश लाग्न थाल्यो।
अन्तिम पटक तिमी प्रतिनिधि सभाको सांसद भएको खबरले मलाई औधि खुसी मिलेको थियो। यसपाली त तिमीलगायत अरु २ जना युवा नेता (योगेश र गोकर्ण) मन्त्री मण्डलमा परे हुन्थ्यो भनेर धेरै कामना गरेँ। नभन्दै तिमीहरू दुई जना पर्यौ, योगेशको पालो आएन।
प्रधानमन्त्रीले नै ताप्लेजुङ्गमै गएर ‘जनताले योगेशलाई जिताएर पठाए मैले मन्त्री बनाएर पठाइदिन्छु’ भनेकोले योगेश पक्कै मन्त्री होलान् भन्ने आशा लागेको थियो। पहिले लोडसेडिङ घटाएर जनतालाई राहत दिएकाले गोकर्ण फेरि मन्त्री होउन् भन्ने चाहना थियो। अनि मन्त्री भए तिमीले पनि केही राम्रो काम गर्छौ कि भन्ने उत्कट अभिलाषा थियो रविन्द्र दाइ।
गोकर्ण र तिमी मन्त्री भयौ। मलाई आफ्नै मान्छे मन्त्री भएजस्तो लाग्यो। योगेशले मौका पाउन् भन्ने कामना गरेँ। गोकर्ण पहिलेनै टेस्टेड थिए, तिनले पक्कै राम्रो काम गर्छन् भन्ने लागेको थियो। त्यसैले मेरो सम्पूर्ण ध्यान तिमीमै केन्द्रित थियो रविन्द्र दाइ।
नभन्दै तिमीले अन्तर्राष्ट्रिय विमानस्थलमा सक्दो सुधार गर्यौ। नयाँ विमानस्थल बनाउन र अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउन तिम्रो दौडधुप प्रसंशनीय थियो। पर्यटनको क्षेत्रमा पनि तिमीले राम्रो गर्दै थियौ, त्यही बीचमा वाइडबडी काण्डमा तिम्रो नाम जोडियो।
अन्य भ्रष्टाचारको केसमा म पनि कडा प्रतिक्रिया जनाइहाल्थेँ। तर, किन हो कुन्नि वाइडबडी काण्डमा भ्रष्टाचार भए पनि तिमी संलग्न भएको कुरा मेरो मनले मान्न सकेन। संसदीय समितिमा तिमीले ढाँटेको, तिमीले भ्रस्टाचार गरेको खबर आउन थाले। प्रतिपक्षका केहीले तिम्रो राजीनामा नै माग्न थाले।
यसैबीच तिमीले पत्रकार सम्मेलन नै गर्न लागेको खबर आयो। मलाई कतै तिमीले राजीनामा पो दिन्छौ कि भन्ने डर लागेको थियो, धन्न तिमीले त्यसो गरेनौं। सामान्य मानवीय त्रूटि भयो होला, तर तिमी पटक्कै भ्रष्टाचारमा लागेनौं भन्ने मेरो निस्कर्ष रह्यो।
त्यै पनि छानविन समितिले निस्कर्ष निकाले हुन्थ्यो भन्ने लागिरहेथ्यो। मलाई पूर्ण विश्वाश थियो कि रविन्द्र दाइ तिमीले राम्रै गर्नेछौ भनेर। अझ भनौ म ढुक्क थिएँ कि तिमीले नराम्रो गर्दैनौ भनेर। किनकि हाम्रो देश नेतृत्वमा भएकाले राम्रो काम नगरेर विग्रेको होइन, नराम्रो काम गरेर बिग्रेको हो भन्ने मेरो निस्कर्ष हो।
यस्तैमा तिम्रो अकल्पनीय देहान्त भयो। मलाई रातभर निद्रा लागेन। यो भन्दा पहिले अरु नेताको स्वर्गवास हुँदा कहिल्यै यस्तो भएको थिएन। पोखरामै पढेको अनि तिमी पनि हाम्रै प्रदेशको एउटा उदीयमान नेता भएकोले पो हो कि तिमीप्रति त मैले धेरै आशा राखेको रहेछु।
सायद भविष्यमा गण्डकी प्रदेशमा आफूले योगदान दिन सके तिमीसँग अन्तरक्रिया गर्ने, तिम्रो साथ सहयोग लिने भन्ने लोभले पो हो कि तिमीबाट म लगायत देशले नै ठूलो अपेक्षा गरेको थियो। मलाई राजनीति पटक्कै मन पर्दैन। कुनै पार्टीमा संलग्न छैन, तर सबै पार्टीका राम्रा नेताहरु प्रति मेरो ठूलो भरोशा छ।
ट्वीटरमा पनि तिमीले मलाई फलो गरेका रहेछौ रविन्द्र दाइ, तर मैले फलोब्याक नगरेको रहेछु। मलाई ठूलो पछुतो भयो। राजनीतिबाट परै बस्न रुचाउने भएकोले होला मैले अत्यन्तै सम्मान गर्ने केही बाहेक राजनीतिक व्यक्तिहरुलाई म फलो गर्दिनँ।
तिमीलाई त मैले अति सम्मान गर्थे र पनि कसरी छुटेछ खै? पछिल्लो समय मैले अति आशा गरेका तिम्रै पार्टीका केही नेताले मेरो आशामा तुषारापात गरेका छन् र तिनीहरु मेरो नजरमा गिरेका छन्। अझै आशा छ, भविष्यमा अवशर पाएको खण्डमा तिनीहरुले मलाई गलत सावित गर्नेछन्। तर, तिमिप्रतिको मेरो भरोशा दिन प्रतिदिन बढिरहेको थियो, जुन अनायासै विलिन भयो। तिम्रो मृत्युसँगै।
कस्तो असामयिक देहान्त भयो तिम्रो। एकैछिन नहतारिएको भए हुने, मौसम खुल्थ्यो कि? तिम्रो यस्तो समाचार सुन्न पर्दैनथ्यो कि? रातभर यस्तै के के सोचेर बिताएँ, राम्रो पनि सोचेँ पाप पनि सोचेँ। अरु मान्छे नि धेरै नै थिए नि तिमीले नै किन मर्नु परेको? ती जन्मदिने आमालाई कस्तो भयो होला यो समाचार सुन्दा। अरू आफन्त कति तड्पिए होलान्? जसलाई जे भए पनि देशले तिमि जस्तो सम्भावना बोकेको एक होनहार नेतालाई अल्पायुमै गुमायो।
मदन भण्डारी राम्रा थिए रे, उनी पनि अल्पायुमै गए। मनमोहनले बुढेसकालमा मौका पाए र केही राम्रै गरे। ती क्यालिबरका नेता तिम्रो पार्टीमा नदेखिए पनि तिमी अत्यन्त सम्भावनायुक्त नेता थियौ। तर, राम्रा मान्छेनै भगवानका पनि अति प्रिय हुने रहेछन् क्यारे! तिमीलाई यति छिटै लगेर भगवानले पनि हामी सबैमाथि अन्याय गरे।
देशले एक होनाहार सपुत अल्पायुमै गुमायो। फेरि एकपटक हार्दिक श्रद्धाञ्जली रवीन्द्र दाइ। स्वर्गमा बास होस्, हजुरका सपना साकार हुन्। शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने साहस मिलोस्। ‘यु विल वि मिस्ड रविन्द्र दाइ।’