अमेरिका पसेको केही महिना मात्र भएको थियो। नेपाली देखिने जुन सुकै अनुहार देख्दा पनि बोल्न मन लाग्थ्यो।
एउटा साधाराण नेपाली स्वभावैमा स्नेहले भरिएको हुन्छ। सात समुन्द्रपारी आफ्ना दाजु भाइको झन माया लाग्दोरहेछ।
एक दिन ट्रेनमा थिएँ। मेरो छेउमै बसेका एक जोडी नेपालीमै कुरा गरिरहेका थिए। मलाई आफन्त र परिवारजन भेटेझैं लाग्यो। ‘नमस्कार है, म पनि नेपाली हजुरहरूले नेपाली बोलेको सुनेर आफूलाई रोक्नै सकिनँ, बहुत खुसी लाग्यो, मेरो नाम फलानो,’ मैले भने।
त्यसपछि उहाँहरूको पहिलो प्रश्न नै थियो, ‘तपाईं के थरी?’ मसँग यसको जवाफ थिएन। मैले आफूलाई ‘जात्’ को लेन्सबाट कहिल्यै पनि हेरिनँ।
यो प्रश्नले हामीबीच एक पलका लागि विकास भएको सामिप्यता धरासायी भयो। मन खिन्न भयो। आत्मा नै चोटिल हुन गयो।
हामी तीन जनाले तय गरेको सात समुन्द्रको दूरी भन्दा ठूलो दूरी स्थापित हुन समय लागेन। मेरो नेपाली भन्ने परिचय, मानव भन्ने जात उहाँहरूलाई काफी थिएन। उहाँहरूलाई मेरो थरसँग सरोकार थियो।
मैले आफैंलाई दोष दिँदै मनमनै भने, ‘अपरिचितसँग मैले बोल्नुनै किन परेको थियो?’
त्यसपछि म मौन भएँ। केही बोलिनँ। साधारण सिष्टाचार पनि ननिभाइ म आफ्नो स्टेसनमा उत्रिएँ। झुपडी छोडे पनि खोपडी नसुध्रिएको यो एउटा साश्त्रीय नमूना थियो।
यति सानो कुरालाई पहाड बनाउन के जरूरि भन्ने कतिपयलाई लाग्ला। तर मेरो विचारमा पहिलो कुरा यो सानो कुरै होईन। दोस्रो, यदी सानै रहेछ भने पनि ठूलो समस्याको बिउ हो।
माथि उल्लेखित दृष्टान्तलाई मात्र ध्यानमा राख्ने हो भने पनि यो सानो प्रश्नले हामी तीन नेपालीलाई मनोवैज्ञानिक र भावनात्मक रूपमा अलग गरिदियो।
‘आफू जे जात को हो, त्यो भन्न के आपत्ति’, भन्ने गरेको मैले धेरै सुनेको छु। तर यो प्रश्न र सोच नै गलत छ। जात वर्णाश्रम को ‘प्रडक्ट’ जात हो।
यो जुन सुकै पबित्र उद्धेश्यका साथ निर्मित भए पनि यसको परिणाम घातक नै रह्यो। यसले हामी नेपालीलाई सामाजिक मनोवैज्ञानिक र कुनै रूपमा एक हुन दिएन।
यसको मूल्य कथित दलितले मात्र होईन कथित गैर दलितले पनि पनि भोग्दै आएका छन्।
जब श्रम गर्ने मजदुर, कलाकार र सर्जकको सृजना स्वीकार्य हुन्छ तर उसको स्पर्सले समाजकै स्तर गिर्छ। उत्पादक्तवमा असर पर्छ। न कथित दलित सम्पन्न हुन्छ, न कथित गैर दलित नै।
हामी एक अर्कामा गरिबी बाँडिरहेका हुन्छौ। विकास सम्वृद्धि, सबै भद्दा शब्द बन्छन्। जाति प्रथाका बारेमा यति धेरै साहित्य लेखिएका छन्, ‘रिसर्च’ भएका छन्। म त्यतातर्फ जान चाहन्नँ।
मेरो एउटै ध्येय के हो भने, हाम्रो जीवनबाट जातीय विभेद पूर्णतया निर्मुल हुनुपर्छ। अझ भनौं भने जातिवादको अन्त्य हुनुपर्छ।
जातिवाद तथा रंगभेदविरूद्धको अन्तर्राष्ट्रिय दिवस मनाईरहँदा सुन्दर देश नेपाललाई कुरूप देखाउने हाम्रो सोच बदल्न जरूरि भएको छ।
यसलाई दिवस होइन, जातिवाद अन्त्य गर्न पहल गर्ने हिम्मत र प्रयासलाई स्मरण गर्ने र हरेकले आफ्नो जीवनबाट आफ्नो परिवार टोल छिमेकबाट र यस धर्तीबाट घृणित अपराधलाई निमिट्यान्न पार्न धृढ शंकल्प गर्ने दिन हो।
दिवसको रूपमा मात्र यसलाई सिमित राख्दा यो कर्मकाण्ड बन्छ। कर्मकाण्डले मात्र समाज र सोच परिवर्तन हुँदैन। प्रयास हुनुपर्छ। त्यसको पहिलो शर्त हो-सोच परिवर्तन र फराकिलो हृदय।
यसका लागि हामी के गर्न सक्छौ
एक अर्कालाई जातको लेन्सबाट हेर्न छोड्नुपर्छ।
जातीय समाज संगठन, सौन्दर्य प्रतियोगिता र जातिवादलाई प्रशय दिने कुनै कृयाकलाप नगर्ने।
कथित दलितको पीडालाई आत्मसात गर्ने र अन्तर्घुलनलाई ‘प्राक्टिस’ गर्ने।
बुढापाकाको हवाला दिँदै जिम्मेवारीबाट उम्कन नखोज्ने।
जातीय विभेद उन्मुलनविरूद्धका कानुन र संबैधानिक प्रावधानको कार्यान्वयनमा इमान्दार बन्ने।
जातीय विभेद सामाजिक कुरिती नभई, संगीन फौजदारी अपराध हो भन्ने मनन गर्ने।
कानूनको सम्मान र पालन गर्ने।
हुन त चोटको पीडा पीडितलाई मात्र थाहा हुन्छ्। तर, समवेदना मानवको ‘डिएनए’ मा हुन्छ। तसर्थ सधै पीडित मानसिकता राख्दा समस्या समाधान उन्मुखभन्दा जटिल बन्न सक्छ भन्ने बुझाई त्यतिकै आवश्यक छ।
जातीय विभेद दलितको समस्या मात्र होइन, हुनै सक्दैन। जुन कुराले अन्तर्राष्ट्रिय मञ्चमा सबै नेपालीको शीर निहुँरन्छ। त्यो कथित दलितको समस्या मात्र कसरी हुन सक्छ? यो सबै नेपालीको समस्या हो।
आज ‘५४ अन्तर्राष्ट्रिय जातीय तथा रङभेदविरूद्धको दिवस मनाईरहँद माथि उल्लेखित अति आधारभूत काम हामीले सुरू गरेमा अरू गहन र महत्वपूर्ण सवालको सम्बोधन सहज हुनसक्छ। नभए, युगौंसम्म पछौटेपनको सिकार भइरहने छौं।
यस दिन ‘सबै किसिमका जातीय विभेद उन्मुलन गर्ने सम्बन्धी महासन्धि- १९६५’ को प्रस्तावनाको मर्मलाई मनन गरिदिए पुग्छ।
‘जातीय विभेदमा आधारित सर्वोच्चताको कुनै पनि सिद्धान्त वैज्ञानिक रूपले गलत, नैतिक रूपले निन्दनीय, सामाजिक रूपले अन्यायपूर्ण र खतरनाक भएको तथा सिद्धान्त वा ब्यवहारका कुनै पनि स्थानमा जातीय भेदभावको औचित्य नभएको…’
यति गर्नसके ‘विभेदरहित नेपाल’ नारा होईन जीवनशैली बन्ने छ। नेपाल साच्चीकै नेपाल बन्नेछ।