अहिले विश्वको आँखा दक्षिण एसियाली मुलुक भारतमाथि छ।
उसो त भारतमा सालै भरि चुनाव हुन्छन्। ती चुनाव अक्सर विधानसभा या स्थानीय निकायका हुन्छन। यीनको आफ्नै महत्व हुन्छ। तर, केन्द्रीय संसदको चुनावले विशेष महत्व राख्छ।
यसले भारतको प्रधानमन्त्री मात्र तय गर्दैन, भारतीय लोकतान्त्रिक धरातलको मजबुतिसमेत उजागर गर्छ। हो, जनता को शक्ति र लोकतन्त्रको सौन्दर्य यहाँ देख्न पाईन्छ। यद्यपी चुनावमा मसल, मनि र पावरको भरमग्दुर प्रयोग हुन्छ। यो यस उपमहाद्विपकै त्रासदी हो।
म, मेरो देश, मेरो जाति, मेरो धर्म, मेरो भाषा, सर्वोपरी अन्य कमशल भन्ने हावा दोस्रो विश्वयुद्व पछि पुन: सन् २०११ तिर एक पटक सतहमा आउन थालेको थियो।
विश्व राजनीतिमा यो खतरनाक हावा प्रवाहित हुन थालेको थियो। त्यसको वहावमा केही नेताको उदयसमेत भयो। अमेरिकादेखि युरोप र एसियामा देश निर्माणको सपना देखाइए। तर, सपना सपना मात्र नभई दुस्वप्न सावित भए।
चुनावलाई चाड र भोटलाई ब्यक्ति शक्तिशाली बनाउने औजारको रूपमा प्रयोग गरियो। लोकतन्त्र असफल प्रणाली हो भन्ने सोच विकास हुनुले नै यो वर्तमान विश्व परिवेश निर्माण भएको हो।
प्रेमले पीडा दिन सक्छ, र प्रेमको पीडा महशुस नगर्ने शायदै कोही होला। तर, प्रेम मानवीय सभ्यताको धरातल हो। प्रेमको विकल्प हुन सक्दैन। लोकतन्त्र र प्रेम लगभग उस्तै हुन्। लोकतन्त्र बिना सभ्य जीवन्त समाजको परिकल्पना सम्भव छैन त्यसरी नै प्रेम बिना जगतको कल्पना असम्भव छ।
फेरि कुरो गरौ चुनावको। चुनावले जरूर निर्वाचित सरकार लाई देश चलाउने ‘म्यान्डेट’ दिन्छ। तर, राज गर्ने अर्थात हुकुम गर्ने छुट दिँदैन। राजकाज र हुकुमत मध्ययुगिन मानसिकताताका उपज हुन्।
चुनावले त झन यस्तो सोचलाई वैद्यता दिन सक्दैन। चुनावपछि वास्तविक लोकतन्त्र सुरू हुन्छ। सरकारले जनहितमा काम गर्छ। जनताले राष्ट्रबाट पाउने सेवा सुविधा निर्वाध रूपमा पाउनुपर्छ।
सरकारको कमी कमजोरीमा बोल्न पाउनुपर्छ। सरकारको पूर्वाग्रही र झुटो आलोचना कसैले गर्दैमा सरकार कमजोर हुँदैन, बरू उसको उचाइ बढ्दै जान्छ। त्यसलाई लोकतान्त्रिक र समाजवादी सरकार भनिन्छ।
यसलाई कतिपयले आदर्शवादी, अब्यवारिक ‘अनप्रगम्याटिक’ विचार भन्लान्। तर, समाजमा जे सुकै भए पनि समाज आफैंमा एउटा आदर्शको प्रतिफल हो। तसर्थ चुनावले लोकतन्त्रलाई ‘लोक’ को ‘तन्त्र’ बनाउनुपर्छ।
लोकतन्त्रले समस्याको समाधान खोज्ने अवसर प्रदान गर्छ। हाम्रै स्वार्थ, घृणा र अति महत्वले हामी स्वयं र समाजलाई समाधानभन्दा समस्याले ग्रस्त पारेको हो। वास्तवमा चुनावले ‘रूल अफ ल’ अर्थात विधिको शासन स्थापित गर्नुपर्छ नकि ‘रूल बाइ ल’ अर्थात कनूनद्वारा शासन।
लोकतन्त्रको सत्यतानै सबै सम्पन्न र समस्यारहित हुँदैनन्। उदाहरणका लागि भारत। भारतमा गरिबी छ, जातिवाद छ केही हदसम्म अतिवाद छ। तर, भारत लोकतन्त्र हो। अर्को सत्य के भने यहाँ कही नभेटिने स्वतन्त्रता, माया प्रेम छ, र न्यानोपन पनि छ। अझ भन्नु पर्दा विचारको राजधानी हो भारत।
विश्वलाई ठूला विचारक, वैज्ञानिक, चिकित्सक, लेखक, वकिल, पत्रकार इत्यादि भारतले जन्माएको छ। विचारनै भारतको पहिचान हो, भारत एक विचार हो। यस सत्यलाई अझ प्रगाढ गर्न सके यो चुनावले महाद्विपकै नभई विश्वमै चलेको गरम हावालाई स्वच्छ बनाउने छ, शितलता दिने छ। लोकतन्त्रको विकल्प हुन सक्दैन भन्ने शक्तिशाली सन्देश दिनेछ। बाँकि मर्जी भारतीय मतदाताको।
एउटा हेक्का राख्नुपर्ने कुरा के भने चुनाव पाँच वर्षको खेल होइन। यो समाज निर्माण र वर्तमान तथा आउँदो शन्ततीको भविस्य लेख्ने यात्रासमेत हो। यदि कुनै सरकारले जनताको भोट पाएको दम्भमा अन्धाधुन्द आफूखुसी तबरले हुकुम गर्न चाहन्छ भने उसले आफ्नो अवसानको कथा आफैं लेख्छ।
यसको धेरै व्याख्या गरिरहनुपर्ने आवश्यकता म देख्दिनँ। तर, विश्वभरका राजनीतज्ञले एक पटक विश्लेषण गर्ने समय आएको छ। यद्यपी मेरो यो कथन कुनै नेताको चेतना या कानमा पर्ला भन्ने मलाई लाग्दैन।
राजनीति कहिल्यै पूर्ण रूपमा सफा थिएन, हुँदैन। तर, यो पुरै फोहोर पनि हुँदैन र हुनु हुँदैन। यसलाई पूर्ण रूपमा दुषित हुनबाट लोकतन्त्रले रोक्नसक्छ। यसका लागि जनताले चेतनशील हुनुपर्छ। दास । गुलाम या चम्चा भएर होइन।
मैले कुनै नयाँ कुरा भनिरहेको छैन। विपिलगायत थुप्रैले देशमा पनि पुरा जीवन लोकतान्त्रिक मूल्य र मान्यताका लागि बिताए। जनताको चेतना जगाउने प्रयास गरे। बिडम्बना हामी चेतनशील नबन्दा सधै लोकतन्त्र गुम्छ कि, भन्ने भयमा बाच्नु हाम्रो नियती भएको छ।
पुनः भारतकै कुरा गरौ, किनकि त्यहाँ अहिले चुनावी मौसम छ। को हार्छ को जित्छ त्यो गौण कुरा हो। यो चुनावले मैले सुरूमा भनेझै पुरा विश्वलाई एक सन्देश दिन सक्छ। त्यो कसरी भन्दा भारतकै प्रसिद्ध स्वतन्त्रता सेनानी, समाजवादी राम मनोहर लोहियाको अमर वाणि यो चुनाव मार्फत विश्वले बुझे लोकतन्त्रको शितल हावा फेरि विश्वभर प्रवाहित हुनेछ।
उनले भनेका थिए, ‘जिवित समुदाय सरकार बदल्न पाँच वर्ष कुर्दैन, जुनसुकै सरकारको गलत कदमको तुरून्त विरोध गर्छ।’
लोहियाको विचारलाई मनन गर्दै म भन्छु, ‘लोकतन्त्र जिन्दावाद, जनता जिन्दावाद, हरेक नागरिकको यही मन्त्र बनोस्।