अस्ट्रेलिया धेरैको सपनाको देश हुन सक्छ। आजको देखावटी दुनियाँ यसैलाई आदर्श मान्न सक्छ। कसैको धाक, कसैको रवाफ, कसैको दबाब र कसैको गाम्भीर्यता हुन सक्छ। कामको खोजीमा खाडीका देशहरू भौतारिनु बाध्यता हुन सक्छ तर पढेको शिक्षित वर्ग जो देशमा नै केही गर्न सक्छ ऊ अस्ट्रेलियालगायतका विकसित देशमा पलायन हुनु बाध्यतामात्र नभएर रहर पनि हुन जान्छ।
आज भोलि प्लस टु गरिसकेपछि वा व्याचलर गर्दागर्दै पढ्नु नि पर्छ र पैसा नि कमाउनु पर्छ भन्ने मान्यतामा भएको अलिकति सम्पत्ति पनि कन्सल्टेन्सीमा बुझाएर अस्ट्रेलियामा धाउनेको ताँती नै छ। मेरै धेरै सहपाठी, नातागोता,छरछिमेकहरू छन् र म अपवाद भएर नेपालमा नै बसेर केही गर्छु भन्ने जोस जागरका साथ आफूमा साहस र धर्यता विकसित गर्दै गरेको अवस्थामा छु।
तर बेलाबखत नेपालमा चल्ने राजनीतिक नियुक्ति, नातावाद कृपावाद, योग्यतााको कदर नहुने समस्या,दिनभरि सर्टिफिकेट हातमा बोकेर हिँड्दा नि जागिर नपाइने विडम्बना भोग्दै गर्दा र बेलुकी निराश मानसिकतामा फेसबुकमा अस्ट्रेलियामा गएका सहपाठीहरूको समुद्र किनारमा रमाएर खिचेको फोटो देख्दा हिनताबोध उत्पन्न नहुने होइन।
तर वास्तविकता योभन्दा धेरै फरक छ जुन आजभोलि छताछुल्ल हुँदैछ। हालसालै रवि लामिछानेद्वारा नेपाली विद्यार्थीसँग टाउन हल(अस्ट्रेलिया) मा गरिएको अन्तर्क्रियाले पनि स्पष्ट पार्छ कि देखेको र भोगेको अस्ट्रेलियामा आकाश पातल फरक छ।
अस्ट्रेलियामा पैसाको बोट छैन र पैसा कमाउने कुनै नयाँ फर्मुला पनि छैन। तर पनि खै कुन चुम्बकले तान्छ र त्यो आकर्षण शक्ति उपर देशको मलिन चेहेरा फिक्का लाग्दछ। नेपालमा नै काम गरेर गर्व गर्नुपर्ने बेलामा देश नै छोडेर जाउँ जाउँ लाग्छ। अस्ट्रेलियामा गएपछि जिन्दगी शून्यबाट सुरू हुन्छ, नेपालमा जे जति स्तर हासिल गरेका हुन्छौं त्यो यतै कतै छोडिदिन्छौं।
आज स्वदेशमा आफ्नो भूमिकालाई चटक्कै बिर्सिएर भर्खरका जवान युवायुवतीदेखि लिएर प्रतिष्ठित डाक्टर, नर्स, शिक्षक, पाइलट आदि समेत आकर्षित हुने गर्छन्। त्यहाँका स-साना होटल,किराना पसल,उद्योग,फ्याक्ट्रीमा दैनिक१८-२० घण्टा काम गरेर, ट्रेनको लामो यात्रा गरेर थकित अनुहार लिएर नेपालीहरू ग्लानीमा बाँचिरहन्छन्।
गरिब नेपाली विद्यार्थीहरू जो सुनौलो सपनाको रेशमी बुट्टा भरेर जान्छन् गएर उता भाडा माझ्नु पर्दा त मन कटक्क खाने नै भइहाल्यो। कमाई डलरमा नै भए पनि त्यहाँको दैनिक खर्च धान्न नै मुश्किलमा पर्छन् विद्यार्थीहरू।
ऋणमा किनेको गाडी,ऋणकै अपार्टमेन्ट,३/४ हप्तामा पाएको १/२ दिन छुट्टी र छुट्टीमा हुने कृत्रिम जमघट,समुद्र किनारमा गएर इन्स्टामा पोस्टाइएका देखावटी फोटोहरू, बनावटी हाँसोहरू सबै भोग्नेलाई मात्र थाहा हुन्छ।
उता बसेर नेपालको ट्राफिक लाइट किन सुचारु हुँदैन? किन जेब्रा क्रसिङमा मानिस बाटो काट्दैन? किन प्रधानमन्त्री उखान टुक्का सुनाउछन्?किन कर्णालीमा विकास पुग्दैन? नेपाल सतिले सरापेको देश हो!सबै नेताहरू भ्रष्ट हुन् ,मन्त्रीहरू माफिया हुन्! आदि बेतुकका शब्दहरू फ्याक्न पनि सजिलै हुन्छ। तर यो पनि नेपालमा बसेर भोग्नेलाई र केही गरौं भन्नेहरूलाई मात्र अनुभूत हुन्छ।
नेपालमा एक जनाको कमाईले नै परिवार पालेकाहरू वा बुवाआमाको पैसामा खुट्टा हल्लाएर खान पल्केकाहरू उता गएपछि घण्टा घण्टाको परिश्रममा आफ्नो मूल्य तोक्ने गर्छन्।
कामलाई सानो र ठूलो भन्दै वर्गीकरण गर्दै भलादमी बन्नेहरू उता पुगेपछि जस्तो सुकै काम गर्न पछि पर्दैनन्। हुँदाखाँदाको जागिर छोडेर अस्ट्रेलिया भौतारिँदा र उता गएर लय समात्न नसक्दा मानसिक तनाव,पारिवारिक विचलन र कार्यभारले त्यहाँका नेपाली विद्यार्थीमा डिप्रेसन र कालान्तरमा आत्महत्या नै गर्नुपर्ने अवस्थाहरू समेत सिर्जना भइराखेका छन्।
शव नेपालमा ल्याउन समेत उत्तिकै समस्याहरू देखा परिराखेका छन्। तमाम यी समस्यामा एनआरएनए र राजदूतावास मुखदर्शक बनेर बसिराखेको हुन्छ।
यी त वर्तमानका समस्याहरू हुन्, भविष्यमा दोस्रो दर्जाको नागरिक भएर बस्नु पर्दाको पीडा,सन्तानमा देखिने पश्चिमा मनोचरित्रहरू,आफ्नो भाषा संस्कृति पहिचान भन्दा टाढिएर रहँदाको पीडा, रहनसहन मौलिकताको पृथकताले मानिसलाई विक्षिप्त पार्छ। भोग्नु, पिउनु, खानु, हाँस्नु, मोज गर्नु,पैसा कमाउनु मात्र जिन्दगी हैन भन्ने पाठ विस्तारै वैदेशिक बसोबासले सिकाउँछ।
त्योभन्दा पनि ठूलो, परिवार समाज र आफ्नो मातृभूमि रहन्छ,स्वदेशप्रतिको आफ्नो दायित्व रहन्छ भन्ने शिक्षा पनि हासिल हुँदै जान्छ।
आफ्नो उर्वर जवानीको लगानी सबै विदेशमा खन्याएपछि बुढेसकालमा मात्र आफ्नो देशको बोझ बन्न फर्केर आउन खासै नसकिएला त्यसैले जाने बेलामा नै विचार पुर्याउनुपर्छ।
रेमिट्यान्सले देश सिंगार्न सक्दैन जति पसिना र श्रमले सिंगार्न सक्छ। मातृभूमिको प्रेम र सद्भावको सीमा हुँदैन र तौलिन पनि सकिँदैन।
यो पनि सत्य हो भोको पेट र बेरोजगार हातहरूमा देशभक्ति जाग्दैन। त्यसैले अस्ट्रेलिया जाने सपना बुन्नुभन्दा देशका तमाम क्षेत्रमा रहेका रोजगारका सम्भावनालाई टिप्न जान्नुपर्छ।
तालिम प्राप्त गरेर आफैं स्वरोजगार बन्दै रोजगारीको अवसर समेत सिर्जना गर्न सक्नुपर्छ।
आफ्नो दक्षता अनुसारको काम पाउनलाई सरकारी सेवा आयोगहरू र प्राइभेट संस्थाहरू पनि छँदै छन् नभए कृषि उद्यम,बाख्रापालन,सिलाई बुनाई आदि त नमूना कार्यक्रम मात्र हुन् नौलो र छिटो छरितो ग्राहकलाई सेवा उपलब्ध गराउन सकियो भने मनग्य आम्दानी नेपालमा नै छ।
सपनाहरू केही सीमितहरू मात्र राख्नुस्,विस्तारै चाहनाहरू बढाउनुस्। लोकप्रियता प्रभुत्व चाप्लुसी र चातुर्य प्रदर्शनमा भन्दा पनि कर्ममा विश्वास राख्नुस्। छन् देशमा नकारात्मक चलनचल्तीहरू तर तिनलाई माथ दिने सकारात्मक उडान भर्न सक्नुस्।
कार्यकुशलता र सहृदयताबाट मानिसहरूलाई आफूतिर आकर्षित गर्नुस् अभिप्रेरित गर्नुस्। सके देश बनाउनुस् नसके आफू बन्नुस् र देशलाई केही योगदान गर्नुस्।
अमेरिका, अस्ट्रेलिया हेर्न घुम्न केही नयाँ कुरा सिक्न जाने हो,मिहेनत र परिश्रम स्वदेशमा नै गर्नुस्।
विदेश गएकाहरू हुनुहुन्छ भने पनि आफ्नो सीप र योग्यताको सदुपयोग गर्न स्वदेश फर्किनुस्।
नेपाललाई हजुरहरूको खाँचो छ।