माननीय मन्त्रीज्यू,
नेपाल कृषि प्रधान देश हो। यो सुन्दै आएको कुरा हो। नवपाहुना जस्तै प्रेमपूर्वक मनसुन नेपालमा भित्रिसकेको छ। यसलाई स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी पनि छौं। हामी धर्ती पूत्रहरु हौं, यसका सेवकहरु हौं र कर्मपालकहरु हौं।
असारमा माना रोपेर मुरी उब्जाउने ध्येय जो बोकेका हुन्छौं हामीले। तर, आजकल समय उस्तै रहेन। त्यो एक समय थियो जतिबेला हातमा हरिया धानका बीउ लिएर दबदबे खेतमा पस्दै मधुर असारे भाकामा आनन्द लिएर रोपाइँ महोत्सव मनाउनुको मज्जा छुट्टै हुन्थ्यो। कोदाली लिदै नाच्दै उफ्रिँदै ,खेत जोतेर यौवन स्वभावमा हास्दै रमाउँदै प्रकृतिसँग नाता गाँस्नुको खुसी नै अर्कै हुन्थ्यो।
हार्दिक ध्वनीले डाँडाकाँडा, पहाड, फाँट सबै गुञ्जिन्थे। ‘हो हो माले हो हो’का संगीतहरु, दही चिउराका मिठासहरु, अनेक ठट्टा, हास्य र कटाक्षहरु, कालो बादल र घनघोर वर्षासँगका मितेरीहरु सायद लोप हुँदै गइरहेका छन्। आज असार पन्ध्र लागिसक्दा समेत बाँझो रहेका यी खेतहरुमा उभिएर माननीय कृषि मन्त्रीज्यूलाई सोध्न चाहन्छु- किसानको जीवनयापन र देशको समृद्धिसँग जोडिएको रोपाइँको उत्सव अब कहिले जागृत हुन्छ? पृथ्वीमा स्वर्गको रंग उतार्ने, पसिनाको सुगन्ध समेट्ने, माटो र मुटुको सम्बन्ध जोड्ने दिन अब फेरि कहिले आउँछ?
माननीय मन्त्री ज्यू, देशको अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छ कृषि क्षेत्रले। तर, बजारभाउ पाउन नसक्दा खेतबारीमा नै उखु सुकेर गएको, डोजर लाएर बन्दाखेतीलाई नष्ट गरिएको खबर नौला होइनन्। र, किसानले सस्तो भाउमा सामग्री बेचे पनि बजारमा आउँदा बिचौलियाको प्रभावले उपभोक्ताले महङ्गो मूल्य तिर्नुपरेको यथार्थ पनि तीतो-सत्य नै हो।
माननीय मन्त्री ज्यू, कृषि क्षेत्रमा हुनुपर्ने दीगो रुपान्तरण, आधुनिकीकरण र व्यवसायीकरण कागजी कथन र भाषणमा मात्र सीमित छ। खै नेपालमा कृषि विकासको बहस कहिले प्रारम्भ हुन्छ? निर्यातमुखी बनाउनु पर्ने बहस, अनि खाद्य सुरक्षा र ग्रामीण रोजगारीका कुराहरु। खै कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रले पुर्याएको योगदानका कुरा? विचार र विमर्शले मात्र पनि पुग्दैन, उचित कार्यान्वयनको पाटो झन् महत्वपूर्ण छ।
नेपालको कुल जनसंख्याको करिब दुई तिहाइ जनता ग्रामीण क्षेत्रमा बसोबास गर्छन् र उनीहरुको प्रमुख जीवनयापनको माध्यम नै कृषि हुने गरेको छ। परम्परागत जीवन निर्वाहमुखी मात्र भएर पनि पुग्दैन, अबको आवश्यकता व्यावसायिकतामार्फत पारिवारिक समृद्धि पनि हो। यसका लागि बालीको विविधिकरण र संस्थागत एवम् संरचनागत रुपान्तरणसमेत आवश्यक रहन्छ।
माननीय मन्त्री ज्यू, आज पनि देशमा करिवन ३०-३५ प्रतिशत खेतीयोग्य जमीनहरु बाँझो छन्। बेरोजगार युवाहरु मलेसिया कोरिया र कतार जान उत्सुक छन्। अलि पढेलेखेकाहरु सहर केन्द्रित भइसके। उनीहरुका लागि धान रोप्नु, बाली उब्जाउनु अब कष्टदायी वा ‘निच’ कार्यभित्र पर्न जान्छन्। अनि गाँउमा बचेका भनेका केटाकेटी र बुढाबुढीहरु मात्र हुन्, जो श्रम गर्न सक्दैनन्।
अर्को कुरा खेतीयोग्य जमिनमा डोजर लाएर बाटो खोल्ने घडेरी बनाउने दलाल पूँजीपति वर्गहरुको पनि हालीमुहाली नै छ। अनि जो सर्वहारा गरिब किसान, खेत मजदुरहरु छन्, उनीहरु समेत धान रोपेर दुई छाकको गर्जो टार्न नसक्ने अवस्था आएपछि पेशा परिवर्तन गरी अन्य ठाँउमा ज्याला मजदुरी गर्न बाध्य छन्।
माननीय मन्त्री ज्यू, अब भूमिसुधार व्यवस्थाको सफल कार्यान्वयनसँगै खेतीयोग्य जमिनको पूर्णरुपमा सदुपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ। माटो, जल, वायु सुहाउँदो कृषि बालीमा प्रोत्साहनसँगै भूमिको वैज्ञानिक अध्ययन र अनुसन्धान समेत हुनुपर्ने जरुरी देखिन्छ। सबै ठाँउमा धान, मकै, कोदो, फापर नै रोप्नुपर्छ भन्ने छैन। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउने नगदेबाली जस्तै: चिया, कफी, जूट, उखु र जडीबुटीहरुमा किसानहरुलाई आकर्षित गर्न सक्नुपर्छ। विदेशिन तयार रहेका र डिग्री लिएर पनि काठमाडौंमा बेरोजगार कहलिएका युवालाई कृषिमा आकर्षण गर्न न्यूनतम् ब्याजदरमा सहज ऋण प्रवाह, कृषि बिमा र आधुनिक उपकरणको व्यवस्थामा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।
माननीय मन्त्री ज्यू, कृषिसँग प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्ने सडक, सिँचाइ, विद्युतको पहुँच र कृषि उपज संकलन केन्द्र, भण्डारण केन्द्र, उपयुक्त प्रविधि र सञ्चारको समेत समान्नतर विकास हुनुपर्ने जरुरी छ। मल र बीउ समयमै उपलब्धता र खाद्यान्नको उत्पादन भइसकेपछि त्यसको प्रशोधन, सञ्चय, गुणस्तर परीक्षण, ढवानी र वितरणमा सरकार, निजी क्षेत्र, सहकारी र सरोकारवाला सम्पूर्णको ध्यान आकृष्ट हुनु र्ने जरुरी छ।
कृषि कृषकको अग्रसरतामा भरपर्छ। त्यसैले बजारमूल्य तोक्दा बिचौलियाहरु मोटाउने होइन कि कृषकहरु बाँच्ने आधार तय हुनुपर्छ। विश्वव्यापी स्वतन्त्र व्यापारको फाइदा लिँदै विशेष कृषि नीति र कूटनीतिक पहलबाट निर्यात बढाएर आयात घटाउन सके समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा साँच्चै नै पूर्ण हुने थियो।
माननीय मन्त्री ज्यू, साँच्चै नै महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेझै वाग्नरले कोदाली खनिरहने, सेक्सपियरले हलो जोतिरहने, कालिदासले अषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहने सानो मीठो शान्त र अनुपम देश हो मेरो देश नेपाल। यसपालि बाँझो खेतमा असन्तोष र अभावका झार मात्र उम्रिए पनि अर्को वर्ष यिनै बाँझो धर्ती फोर्न पसिना बगाउने जोस, जागर, उमंग र वातावरण सरकारबाट प्राप्त हुने आशा राख्दछु। कृषिबाट नै आर्थिक क्रान्ति सम्भव छ।