सानो बेलाका धेरै कुरा विस्मृतिमा गइसक्छन्, तर केही कुरा यसरी मनमा गडेर बसेका हुन्छन् कि जुन चाहेर पनि बिर्सन सकिँदैन। जति बिर्सन खोजे पनि स्मृतिका पानाहरूमा धुमिल याद आइरहन्छ।
यस्तै एउटा धुमिल याद मेरो मनमा गाडेर बसेको छ।
२०५० सालतिरको कुरा हो। त्यतिबेला म कक्षा १ हो कि २ कक्षामा पढ्थें।
स्याङ्जाको श्री रोग्दीठाटी प्राविमा हाम्रै गाउँका एकजना सर (नेपाली) अनि पिढीखोलाबाट आएर पढाउने अर्को एकजना सरले त्यो स्कुल चलाउनु भएको थियो।
पिढीखोलाबाट आउनुभएको सरको नाम अर्कै (एकनारायण) भए पनि हामी सबै उहाँलाई ‘पिढीखोले’ सर भनेर पुकार्थ्यौं।
त्यतिखेर प्राथमिक तहमा विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक दिइन्थ्यो। पुस्तक आफैंले किन्नुपर्थ्यो, तर पुस्तकको पैसा पछि स्कुलबाट बाँडिन्थ्यो।
त्यो दिन पुस्तकको पैसा विद्यार्थीलाई वितरण गर्ने दिन थियो।
मध्यान्तरपछि सरहरूले विद्यार्थीलाई पालैपालो पुस्तकको पैसा वितरण गर्न थाल्नुभयो।
हाम्रो कक्षाका विद्यार्थीले किताबको ४२ रुपैयाँ पाउनेवाला थिए। ४ ओटा दसका नोट अनि दुइटा १/१ रुपैयाँका ढ्याक।
मलाई भने आमाले केटाकेटीले पैसा हराउला भनेर ‘तैंले नलिनू, म आफैं पछि सरसँग लिन्छु’ भन्नुभएको थियो।
त्यसैले सुरूमा त मैले पैसा नलिने नै निर्णय गरें। तर आफूभन्दा साना साथीहरूले समेत पैसा लिएको देखेपछि मलाई लाग्यो-नहराइकन घर लान कसो नसकुँला र! मैले किताबको ४२ रुपैयाँ लिएँ।
पैसा बोकेर कक्षाकोठामा पुगें। व्यवस्थित फर्निचर पनि नभएको अनि पढाई पनि नहुने छाँट देखेर म झ्यालमा खेलिरहेको थिएँ, बाहिर पिढीखोले सरलाई देखें। केटाकेटी वुद्धि खै के सोचेर हो कुन्नि मैले उहाँलाई ‘सर १ रुपैयाँ दिनू न’ भनें।
सरले सोध्नुभयो- किन?
‘कापी किन्न,’ मैले भनें।
सरले केही नभनी १ रुपैयाँ दिनुभयो।
म खुर्र पसलमा गएँ। ‘घुर्रा मिठाइ’ किनें। १ रुपैयाँका ४ ओटा मिठाइ किनेर फर्कन लाग्दा विद्यालयनजिकै बस्ने तुलसी दाइ भेट भए।
गाईगोरुलाई पानी खुवाउन नजिकैको खोलातिर हिँडेका उनलाई मैले एउटा घुर्रा मिठाइ दिएँ।
अनि मैले मिठाइ किनेको कसैलाई नभन्नु है भनें। अनि मिठाइ खाइवरि कक्षामा आएर बसें।
केही समयपछि नेपाली सर पढाउन आउनुभयो। ‘तिर्खाएको काग’ भन्ने पाठ कापीमा सार भन्नु भो।
मैले ‘सन्चो छैन’ भनें।
‘ठीक छ उसो भए तिमी नलेख।’
म प्राय: झुठो नबोल्ने अनि पढाइमा पनि अरूभन्दा टाँठो भएकोले कहिलेकाहीँ सानोतिनो झुट बोल्दा सबैले पत्याउँथे।
सरले पनि मलाई सन्चो नभएको कुरा पत्याउनु भो। साथीहरू लेख्न थाले, म भने त्यतिक्कै टोलाएर बसे। तर साथीहरुले त्यो एउटा अनुच्छेद लेख्न पनि धेरै समय लगाए।
मलाई त्यत्तिकै बस्न उकुसमुकुस भयो। अनि सरलाई भनें- सर, मेरो कापी छैन भएको भए त म पनि लेख्थें नि!
सरले बाहिर कसैले फोहोरमा फालेको एउटा पाना ल्याएर ‘ल यसैमा लेख’ भन्नुभो।
मैले लेख्न सुरू गरें। सबैले भन्दा पछि सुरू गरेर पनि सबैले भन्दा छिटो सकें। सरलाई देखाउन गएँ।
त्यो दिन मेरो गल्तीको पोल जसै खुल्न लेखेको रहेछ क्यारे, मैले पानो लिएर नेपाली सर भएको ठाउँमा जानेबित्तिकै पिढीखोले सर पनि आउनुभयो।
सरले भन्नुभयो-अघि मैले कापी किन्न यसलाई १ रुपैयाँ दिएको थिएँ त, किन यस्तो पानोमा लेखेर आएछ?
नेपाली सर केही बोल्न नपाउँदै मैले फेरि अर्को झुटको सहारा लिएँ-सर, त्यो १ रुपैयाँ त तुलसीले खोसिदियो।
मेरो कुरा सुन्नेबित्तिकै सरले रिसाउँदै ‘त्यो तुलसीलाई यहाँ लिएर आओ’ भन्नुभयो।
साथीहरूले हाम्रै क्लासमा पढ्ने रोग्दीतिरकी केटी (जसको नाम समेत तुलसी थियो) लाई झ्याँइकुटी पार्दै लिएर आए। मैले आँत्तिदै ‘यो तुलसी होइन, उ त्याँ परको तुलसी हो’ भनें।
त्यसपछि सरले त्यो वास्तविक तुलसी दाइलाई गाली गर्दै हामी सबैलाई ‘कोठामा जाऊ’ भन्नुभयो।
मेरो दशा अझै सकिएको रहेनछ। हामी कोठामा पुग्न नपाउँदै गाईगोरुलाई पानी खुवाएर तुलसी दाइ फेरि स्कुलकै बाटो फर्किए।
पिढीखोले सरले उनलाई बोलाउनुभयो, मेरो मनमा ढ्याङ्ग्रो बज्न थाल्यो।
सबै विद्यार्थी पनि भेला भए।
पिढीखोले सरले तुलसी दाइलाई झपार्नुभयो- तैंले यसको १ रुपैयाँ खोसिस रे हो?
म निलोकालो भएँ।
तुलसी दाइले भने-होइन सर, मैले त खोसेको होइन, यसले मिठाइ किनेर खाएको हो। एउटा मलाई पनि देको छ, कसैलाई नभन्नू भन्थ्यो।
उनले अघि मैले दिएको एउटा घुर्रा मिठाइ खल्तीबाट झिकेर देखाए। अझै खाएका रहेनछन!
मेरो झुटको पर्दाफास भयो। पिढीखोले सरले एकदम रिसाएर मतर्फ हेर्नुभयो। नेपाली पढाउने सरले गालामा एक झापड लगाउनु भयो। सबैको अगाडि लाज र पीडाले म भुतुक्क भएँ। बोली बन्द भो।
अर्को दिनदेखि म तुलसी दाइको आँखाको कसिंगर भएँ। पिढीखोले सरको त नजिक पर्न पनि डराउन थालें।
मेरा अनेक शंका/उपशंकाका बाबजुद् मलाई औधी माया गर्न थाल्नुभयो। म ३ कक्षामा पढ्दा सरको सरूवा भयो।
हामीले विदाइ गर्यौं। जाने बेला सरले एउटा फ़्लेम कलम र केही थान कापी किनेर मलाई दिनुभयो।
जुन सरको अगाडि मैले ठूलो ‘झुट’ बोलें, उहाँले नै मलाई त्यति धेरै माया गर्नुभयो।
त्यसपछि सरसँग कहिल्यै भेट भएन। सरले हामीलाई सम्झिरहनु हुन्छ रे!
सायद आजभोलि त सर पढाउनु हुन्न होला। म सरलाई र त्यो झुट बोलेको घटनालाई बिर्सन सक्दिनँ। सरलाई गुरुपूर्णिमाको अवसरमा हार्दिक नमन तथा सु-स्वास्थ्यको कामना!