आज २०७६ असार ३१ गते आषाढ शुक्ल गुरू पूर्णिंमाको दिन, उत्तराषाढा नक्षत्र, धनु राशिमा राति १ बजेर ४६ मिनेटदेखि प्रारम्भ भएर राति ३ बजेर १५ मिनेटमा मकर राशिको प्रारम्भमा मध्य भई बिहान ४ बजेर ४५ मिनेटमा मकर राशिमै मोक्ष हुने गरी खण्डग्रास चन्द्र ग्रहण लाग्ने छ। ग्रहणलाग्ने पूरा समय २ घन्टा ५९ मिनेट। नासाको वेबसाइटमा भने २ घन्टा ५८ मिनेट जनाइएको छ।
यो ग्रहण एसिया,युरोप,दक्षिण अमेरिका,अफ्रिका र अस्ट्रेलियाबाट देखिने हुन्छ।
वैदिक कालमा अत्रि ऋषि र उनका शिष्यलाई ग्रहण साधनमा कुशलता प्राप्त थियो, यो कुरा ऋग्वेदको अनेक स्थानमा स्पष्ट हुन्छ।
संहिता ज्योतिष अनुसार भूमण्डलीय फलादेशमा ग्रहणको प्रभाव धेरै महत्वपूर्ण मानिन्छ। ग्रहण ठूलो परिवर्तनको प्रधान कारणमध्ये एक हो पनि भनिएको छ।
फलित ज्योतिषको आचार्य तहमा अनिवार्य पढ्नु पर्ने पाँचौं शताब्दीका गणितज्ञ तथा खगोलविद् आचार्य वराह मिहिरले रचना गरेको बृहत् संहिता विश्व प्रसिद्ध ग्रन्थ हो। सयभन्दा बढी अध्याय रहेको यो ग्रन्थको पाँचौं अध्यायको ९८ वटा संस्कृत श्लोक मध्ये सुरूका १८ श्लोकमा ग्रहणको विषयमा पौराणिक मतको खण्डन गरेर विशुद्ध वैज्ञानिक दृष्टिकोणलाई नै समर्थन गरेका छन्।
बाँकीका श्लोकमा फलित सम्बन्धित विस्तृत चर्चा गरेका छन्।
आज रातिको चन्द्र ग्रहणको समयमा कुन पर्व, अयण, महिना, कुन राशि,नक्षत्र परेको छ ? रात्रीमानलार्इ सात भाग गर्दा कुन सप्तम भागको समयमा ग्रहणको प्रारम्भ तथा अन्त भएको छ ? ग्रहण लाग्ने ग्रहलाई कुन/कुन ग्रहले हेरेको छ तथा कुन ग्रहको साथमा छ ? ग्रहण देखिने ठाउँमा माथि भनेका संयोगहरूले, व्यक्ति, समाज, राष्ट्र तथा चराचर विश्वमा माथि संकेत गरेको विभिन्न प्रकारका संयोगहरूले के कस्तो प्रभाव पार्न सक्छ ? यी सबै प्रकारका लक्षणहरूलाई सरल रूपले बुझाउने छु।
ग्रहणफल भन्नुभन्दा अगाडि पाठकहरूलाई सदा उपयोगी हुने ग्रहण सम्बन्धित आधुनिक सारोस चक्र एवं प्राचीन पर्वचक्रको विषयमा गणित जालमा नफसाई सजिलै बुझ्न सकिने केही संक्षिप्त जानकारी
सारोस के हो ?
आजकल अंग्रेजी ज्योतिषमा सारोसको खुब चर्चा हुन्छ। यद्यपी, यसको चर्चा हाम्रो प्राचीन ग्रन्थमा छैन, तर यसको तात्पर्य यस्तो पनि थिएन कि हाम्रा प्राचीन ऋषि र आचार्य यसबाट अनभिज्ञ थिए।
सारोस चक्र ग्रहणको चक्रलाई भन्दछौं र कुनै एकै प्रकारको ग्रहणको बीचको समयान्तर सारोस भनिन्छ। यो समय १८ वर्ष र लगभग ११ दिनको हुन्छ। यसको तात्पर्य यो हो कि जुन ग्रहण जुन आकाशीय अवस्थामा हुन्छ, त्यस्तै ग्रहण यति समयपछि भूमण्डलमा कतै न कतै अवश्य हुन्छ। ग्रहण चक्र वा सारोसको कल्पना र प्रयोग आजभन्दा २७०० वर्ष पहिले खाल्दिया, मिश्रका मान्छेहरूले गरेका थिए, यस्तो मानिन्छ।
यस पद्धतिबाट एकचोटि १८ वर्षको ग्रहणको सूची बनायो भने लामो समयसम्म त्यसैबाट काम चलाउन सकिन्छ।
ग्रहण तालिकालाई तपाईं स्वयं यसै विधिलाई अगाडि बढाउन सक्नुहुन्छ। जस्तै, २०७५ को ग्रहण २०९३ मा, २०७६ को ग्रहण २०९४ मा, इत्यादि प्रकारले हुँदै जान्छ। मात्र गते लगभग ११ दिन अगाडि हुँदै जान्छ।
ग्रहण चक्रको माध्यमबाट नै यूनानीहरूले चन्द्रमाको मध्यम गति र उत्तरायणको आरम्भ बिन्दुको निश्चय गरेका थिए, जब कि यो कुरा हामीलाई आजभन्दा लगभग ३५०० वर्षअगाडि वेदांग ज्योतिष कालमा नै ऐना जसरी स्पष्ट थियो। ग्रहण गणनामा आजकल यूरोपियन वास्तवमा हामीभन्दा अगाडि पुगे, तर सत्रौं शताब्दीसम्म पूर्वीयभन्दा धेरै पछि नै थिए। जन्तर-मन्तर (मानव निर्मित खगोलिय ल्याब) का संस्थापक जयपुरका महाराज जयसिंहले कति चोटि अंग्रेजको प्रतिस्पर्धामा ग्रहणको शुद्धगणना गरेका थिए।
सैद्धान्तिक पद्धतिबाट ग्रहण गणित गर्नु धेरै लामो र प्रयत्न साध्य क्रिया हो। तदनुसार ग्रहण साधन गर्न आजकल गोरूगाडीमा यात्रा गर्नुझैं हो। आधुनिक ज्योतिषमा ग्रहणको गणित जर्मनीको ज्योतिष गणितज्ञ फ्राइड्रिच बेसल १७८४-१८४६, द्वारा निर्धारित सूत्रको आधारमा गरिन्छ। यसलाई बैसेलियन पद्धति भनिन्छ।
यो विधि पंचांगकारद्वारा अपनाइन्छ, जसमा उच्च श्रेणीको गणितको आवश्यकता हुन्छ ।
संहिता ज्योतिष अनुसार यो ग्रहणमा परेको विभिन्न प्रकारका संयोगहरूले पार्न सक्ने प्रभाव यस प्रकार छ।
पर्वेश विचार
राहु ग्रहणको कारण नभएर ग्रहण योग्य औंसी वा पूर्णिमालाई चिन्ने उपकरण हो। औंसी र पूर्णिमाको पनि संयुक्त नाम पर्व हो। पर्वको अर्थ हुन्छ- गाँठो, सन्धि, जोड, युति। औंसी र पूर्णिमालाई सूर्य र चन्द्रमा र चन्द्रमा एवं भूच्छायाको युति हुन्छ। यसैले यो पर्व हो। जब कि ग्रहण यसै युतिको एक विशेष प्रकार हो, अतः ग्रहणलाई पनि पर्व भनिन्छ। हामी औंसी र पूर्णिमालाई पर्व नै भन्दछौं।
पर्व ग्रहणको नै अर्को नाम हो, अतः पर्वेश, ग्रहणेश, ग्रहणाधिपति वा ग्रहण चक्रपति आदि सबै नाम सार्थक हुँदाहुँदै पनि पर्वेश शब्द संहिता ग्रन्थोक्त छ।
ऋषिहरूले अनुभव गरेका थिए कि ग्रहणको मूल प्रभाव यसका पर्वेशबाट नियन्त्रित हुन्छ।
भन्न सक्छौं कि सारोसचक्रको झैं हाम्रा ऋषिहरूले पर्वेश वा पर्वचक्रको कल्पना गरिराखेका थिए।
उनीहरूले सृष्टिको आदिबाट क्रमशः ६-६ चाद्रमास वा १७७.१८ दिनको एक/एक वर्ष मान्दै सात क्रमिक पर्व निश्चय गरेर प्रत्येक पर्वको एक अधिपति देवता मानेका छन्। सात पर्वेशहरूको नाम यस्तो छः
१. ब्रह्मा, २. चन्द्रमा, ३. इन्द्र. ४. कुबेर, ५. वरुण, ६. अग्नि, ७. यम ।
- यो ग्रहण ब्रह्मा पर्वमा परेको हुनाले यसको फल यस प्रकार भनिएको छ -
ब्राह्मे द्विजपशुवृद्धिः क्षेमारोग्याणि सस्यसम्पच्च ।
तद्वत्सौम्ये तस्मिन् पीडा विदुषामवृष्टिश्च ।।बृ.सं।।
अर्थात् ब्राहम्णहरू र पशुहरूको वृद्धि हुन्छ। सर्वत्र कुशला रहन्छ। जनमानसमा निरोगता रहन्छ तथा फसल एवं सम्पत्तिको वृद्धि हुन्छ।
२. अयन फलको विचार गर्दा चन्द्रमा यो ग्रहणमा मध्यसम्म धनु राशिमा र मध्यपछि मकर राशिमा भएकाले दुवै अयनको फल यस प्रकार बुझ्न सकिन्छ। चन्द्रमा आफ्नो दक्षिणायनमा पर्ने धनुमा ग्रस्त फल - वैश्य वर्ग, व्यापारी वर्ग एवं निम्न वर्गहरूको लागि हित नाशक हुन्छ। उत्तरायणमा पर्ने मकरमा ग्रस्त फल - उच्च जातिहरू तथा राज्य प्रमुखहरूलार्इ कष्ट कारक रहन्छ।
चन्द्रमा धनुमा ग्रस्त फल - धनुराशिमा ग्रहण हुँदा मन्त्रीहरू, प्रधान पुरूषहरू, प्रधान अमात्यहरू, घोडा, विदेह (मिथिला) प्रदेश, पहलवानहरू, वैद्यहरू, चिकित्सकहरू, व्यापारीहरू, क्रूर व्यक्तिहरू तथा हथियारहरूको तकनिकी जानकारी राख्ने व्यक्तिलार्इ कष्ट हुन्छ।
चन्द्रमा मकरमा ग्रस्त फल - शासकवर्ग, ठूला नेताहरू र शासनका लागि अशुभ हुन्छ। मकर राशिमा ग्रहण हुँदा माछाहरू, जल जन्तुहरू, मन्त्रीहरू, विशिष्ट व्यक्तिहरूको परिवार एवं मन्त्री मण्डलहरू, डाक्टर, शल्य चिकित्सक, चतुर्थ श्रेणी कर्मचारी, वृद्धजनहरूसँग सम्बन्धित विवाद एवं कष्ट हुने मानिन्छ।
- धनु राशिको चन्द्रमालाई शुक्रले हेरेको फलः
फसलहरूको नाश तथा अनेक प्रकार क्लेश हुने हुन्छ ।
- मकरको चन्द्रमालाई मंगल र बुधले हेरेको फलः ग्रसित हुने चन्द्रमालार्इ मंगलको दृष्टि पर्दा युद्ध भय, अग्निकाण्ड तथा तस्कर भय हुने हुन्छ तथा बुधको दृष्टिले घ्यू, मह, तेल तथा राजाहरूको हानि हुने हुन्छ। अर्थात् राष्ट्र प्रमुखहरूमा परस्पर द्वेष एवं उक्त चीजहरूको बजारमा कमी हुन्छ ।
- ग्रहणको मध्यसम्म चन्द्रमासँग शनि साथमा रहेकाले धातुहरूको मूल्य बढ्न सक्ने संकेत पनि बुझ्न सकिन्छ।
- ग्रहणको बेला चन्द्रमा जुन राशि नक्षत्रमा छ, त्यस राशि नक्षत्रवाला शासक र प्रसिद्ध मान्छे, देश, प्रदेश र राशि नक्षत्रको कारक क्षेत्रमा विशेष कष्ट हुन्छ। ग्रहणको समयमा उ.षा.नक्षत्रको पहिलो र दोस्रो चरणमा चन्द्रमा रहने भएकाले धनु राशिको भे र मकरको भो अक्षरबाट सुरू भएका प्रसिद्ध व्यक्ति एवं देशलार्इ कष्ट हुन सक्ने मानिन्छ ।
- उत्तराषाढा नक्षत्र फल – ठूला गिरोहहरू र तिनका मुखिया, ठूला मेसिनरी उपकरण र तिनका निर्माण स्थान, पहलवान, बडीविल्डर, योद्धा, देउताहरुका स्थान, सबै वनस्पतिहरू, मल्ल युद्धका प्रतियोगिताहरू, ठूलो भवन निर्माण स्थल आदि भएको ठाँउ तथा सम्बन्धित ब्यक्तिलाई कष्ट ।
- कुर्म चक्र अनुसार यो ग्रहणको प्रभाव पूरै पृथ्वीको अथवा कुनै पनि देश एवं राज्यको उत्तर पश्चिम (वायव्य) दिशातर्फ बढी देखिन सक्छ ।
- महिनानुसार ग्रहणफल आषाढ –
- आषाढपर्वण्युदपानवप्रनदीप्रवाहन् फलमूलवार्त्तान् ।
गान्धारकाश्मीरपुलिन्दचीनान् हतान् वदेद् मण्डलवर्षमस्मिन् ।।बृ.सं ५.१७।।
अर्थात् आषाढ महिनमा ग्रहण हुँदा नदी, पानीको बाँध, पानीको स्थानमा संकट एवं अशान्ति, पिउने पानीको समस्या,फल र सब्जी (तरकारी) को हानी अफ्गानिस्तान, चीन, कश्मीरमा उपद्रव एवं कष्ट ।
आकाशलाई सात भागमा बराबर पार्दा कुन सप्तम भावमा सूर्य अथवा चन्द्र ग्रहणको प्रारम्भ तथा अन्त(मोक्ष) हुन्छ त्यसको आधारमा पनि फल भनिएको छ । ग्रहणको दिनमान अथवा रात्रीमानलार्इ बराबर सात भागगर्नाले एक एक आकाश भाग प्राप्त हुन्छ ।
- रात्रीमानको पाँचौं भागमा ग्रहण सुरू भएकाले - शष्पभोजी अर्थात् घाँस खाने पशुहरू, मन्त्री, शासक, राजकीय जन, शासनाधीशहरुको विश्वस्त र व्यापारीलाई विशेष कष्ट हुन सक्छ।
सातौं भागमा मोक्ष भएको फलः चोर, लुटेरा, अपराधि, लुकेर आचरण गर्ने हरूको प्रोत्साहन बढन सक्ने मानिन्छ ।
संहिता अनुसार वर्ष २०७६ कस्तो रहन सक्छ भनेर बुझ्न सेतोपाटीमा प्रकाशित यो भन्दा अगाडिको लेख शनि राजा सूर्य मन्त्री कस्तो रहन्छ २०७६ पढ्नु होला ।