एउटा कलेजको होस्टलमा बस्ने भाइसँग भेट भयो।
उनलाई सोधे -"कस्तो चलिरा’छ भाइ पढाइ?"
उनले भने ‘म त कलेजनै जादिनँ। परीक्षा आउने बेला भयो केही जान्दिनँ।’
घरबाट कलेज निकै टाढा। त्यसैले उनी होस्टेल बस्थे। कलेज जानकै लागि होस्टेल बस्ने तर ‘कलेज जादिनँ’ भनेर सुन्दा अचम्म लाग्यो।
अनि सोधें ‘कलेज नगए के गर्छौं त?’
उनले भने - बिहानै ५ बजे नै जापानी भाषा सिक्न जान्छु।
त्यहीँ होस्टलमा बस्ने अर्को भाइ पनि थिए जो कलेज नगइ भाषा सिक्न जान्थे।
उनले बिबिएस तेस्रो वर्ष अध्ययन गर्छन्। पहिला कोरियन भाषा सिके अहिले फेरि जापानी भाषा सिक्दैछन्।
यी त सामान्य दृष्टान्त मात्रै हुन्। ग्रामीण इलाकाका किशोरकिशोरीदेखि सहरका युवावर्गमा विदेश जाने होडबाजी छ।
प्लस टु बल्ल बल्ल गरेपछि ब्याचलर पढ्नै मान्दैनन्। ४ वर्षे स्नातक पढ्नु उनीहरूलाई सुगालाई पिंजडामा थुनिए जस्तो लाग्छ। आखिर बाहिर जाने नै हो किन समय बर्बाद गर्ने भन्ने धारणा उनीहरूमा हुन्छ।
एउटा मेधावी छात्रा जो बिएस्सी तेस्रो वर्षमा अध्ययनरत थिइन्, उनले बाँकी रहेको १ वर्ष मात्रैको अध्ययन छाडेर अस्ट्रेलिया लागिन्। अभिभावकले बाँकी अध्ययन पूरा गरेर जानका लागि अनुरोध गर्दा पनि मानिनन्।
युवावर्गमा विदेशी मोह यति बढ्यो कि उनीहरूले आफ्नो भविष्य विदेशमा मात्र सुनिश्चित हुने देख्न थालिसके। सकभर अमेरिका जाने। नभए क्रमशः बेलायत, युरोपियन देशहरू, अस्ट्रेलिया, जापान , कोरिया भए पनि जानुपर्छ भन्ने मानसिकताको विकास भएको पाइन्छ।
अधिकांश नर्सिङ पढेका छात्राहरूले नेपालमा सकभर जागिर नपाउने, पाए पनि अति न्यून तलब जसले आफ्नो व्यक्तिगत खर्च समेत धान्न हम्मे पर्छ। अनि विदेशिनुको विकल्प नै देख्दैनन् उनीहरू।
केही दिनअघि नयाँ पत्रिकामा प्रकाशित एक समाचार अनुसार स्टाफ नर्स पढ्न धेरै रकम खर्च हुने तर जागिर गर्ने बेलामा सरकारी अस्पतालमा सीमित दरबन्दी भएको, प्राइभेट हस्पिटलमा ६ महिनासम्म नि:शुल्क स्वयंसेवक भइ काम गर्नुपर्ने र कतिपयमा उक्त अवधिपछि तलब माग्दा काम सन्तोषजनक नभएको भनी निकालिदिने गरेको समेत पाइएको उल्लेख थियो।
न्यूनतम ६ हजारसम्म तलब दिने समेत गरिएको पाइयो। लेखकले नर्सिङप्रति नकारात्मक धारणा राख्न खोजेको होइन। कतिपयको राम्रो समेत भएको उल्लेख छ। तर अधिकांशको हविगत भने निराशाजनक।
विदेश पढ्न जाने ट्रेण्ड भनौं वा फेसन, दिनप्रतिदिन बढिनै रहेको छ। रोजगारको लागि त जनशक्ति विदेशिएका थिए नै अब त शिक्षाका लागि समेत उल्लेख्य संख्यामा बाहिरिँदै छन्।
राजदूतावासमा ‘एनओसी’ का लागि देखिने भीडले कतै नेपालमा शैक्षिक संस्था तथा विश्वविद्यालय नै छैनन् कि जस्तो भान हुन्छ। झन एयरपोर्टमा देखिने नेपालीको लस्कर वा सङ्ख्याले त केही वर्षभित्रै नेपाल रित्तिँदै त छैन भने जस्तो लाग्छ।
डाक्टर, इन्जिनियर, नर्स जस्ता दक्ष जनशक्तिदेखि लिएर लेबरसम्म विदेशिएको पाइन्छ। हुँदाहुँदै व्यङ्ग्यात्मक रूपमा अस्टेलियालाई नेपालको आठौ प्रदेश/प्रान्त समेत भन्दा रहेछन्।
सीप र विवेक भएका जनशक्ति बाहिरिनु नै ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायन हो। नेपालमा रोजगारको सम्भावना पनि छैन भएकोमा पनि नातावाद, कृपावाद लागू हुने गर्छ।
रोजगार पाइहाले पनि सेवा सुविधा अत्यन्तै न्यून।
एक जना शाखा अधिकृतको जागिर गरिरहेका व्यक्ति आफ्नो श्रीमतीलाई डिभि परेपछि नेपालको जागिर छाडेर अमेरिका लागे।
‘हुँदा खादाको यति राम्रो नोकरी छाडेर किन जान थाल्नुभो?’ भनी सोध्दा ‘आफ्नो जे जस्तो भए पनि सन्ततिको भविष्य बिग्रिन नदिने’ जवाफ फर्काए।
अब समाजमा कस्को कति सम्पत्ति छ भन्दा पनि कसका धेरै विदेश गएका र कुन मुलुक गएका छन् भन्नेले प्रतिष्ठा निर्धारण गर्ने जस्तो देखिन्छ।
विदेशिनु राम्रो पनि हुन सक्थ्यो यदि नेपालीहरू विदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा। यसलाई "ब्रेन गेन" पनि भन्न सकिन्छ।
यसले त झन् नेपालजस्तो विकासोन्मुख देशलाई फाइदा पुग्न सक्छ। विकसित देशका ज्ञान, सीप र प्रविधि आर्जन गरेर जनशक्ति नेपालमा फर्कने हो भने यसले देश विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।
त्यहाँको प्रविधि र तरिकालाई यहाँ अपनाउन सके देश छिट्टै उन्नतिको चुचुरोमा नपुगिएला भन्न सकिन्न।
तर विडम्बना अधिंकाश विदेशिनेहरू फर्कने गरेको पाइँदैन। उनीहरू उतै पलायन हुन्छन्।
नेपालमा पछिल्लो समय विदेशिनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। सामान्य लेबर गर्न जानेदेखि लिएर दक्ष जनशक्ति पनि रोजगारका लागि एकातर्फ विदेशिएका छन् भने अर्कोतर्फ अध्ययनका लागि भन्दै ठूलो सङ्ख्यामा युवावर्ग पलायन भएको पाइन्छ।
तीमध्ये अधिकांश अध्ययन गर्ने भन्दा पनि उतै सेटल हुने उद्धेश्य बोकेर गएका हुन्छन्। सरकारले यी मुद्दाहरूलाई गहन रूपमा लिइ समाधान गर्नतर्फ लाग्न जरूरी छ। अन्यथा यसले विकराल रूप लिन सक्दछ।
ब्रेन ड्रेनलाई निरूत्साहित तथा न्यूनीकरण गर्नुका साथै ब्रेन गेन गर्नका लागि प्रोत्साहित गर्न उनीहरूका लागि नेपालमा उपयुक्त वातावरण सिर्जना गर्न सरकारले आवश्यक कदम चाल्न जरूरी छ।
(एमसी बलभद्र मावि प्युठानका शिक्षक हुन्।)