विषयभित्र प्रवेश गर्दा इतिहासबाटै गरौं।
वार्षिक पाठ्यक्रमलाई ६ महिनामै जेनतेन सारेर त्यसपछि ५ महिना घोकेर एसइई दिइन्छ। जब ८० प्रतिशत अथवा ‘ए’ ग्रेडको सेरोफेरोमा आफ्नो अंक आउँछ (कसैको घोकेका प्रश्न आएर माथि आउँछ भने कसैको अरूले घोकेका प्रश्न आएर तल आउँछ)।
यसरी लड्डु बाँडेर प्रवेश गर्छौं हामी उच्च शिक्षामा, निधारमा साइन्सको रातो टीका अनि गोजीमा स्कोपको दुबो राखेर।
पहिलो दिन कलेज जाँदा लगाएको नयाँ कमिज, पाइन्ट अनि नयाँ झोला र सुगन्धित किताबको जोस सुस्तसुस्त कटरले पेन्सिल काटेर पेन्सिलको धुलो खसेझै तुहिँदै जान्छ जब मेकानिक्सका तिनि छोटा प्रश्नका एयरफोनभन्दा अल्झिएको लामा लामा उत्तरहरू देखिन्छ।
अझ बायो लिनेलाई त, न परीक्षा अघि पढेर नै सकिन्छ न त पढेका कुरा परीक्षामा आफ्नो कापीमा उत्तारेर नै।
११ मा केमिस्ट्री अलि सजिलो लाग्छ किनभने अर्गानिक पढ्नु पर्छ भनेर न मनले भन्छ न त मस्तिष्कले नै।
म्याथ, कम्प्युटर र इंग्लिसको त्यति विस्तार गर्न चाहिनँ।
बल्ल त ११ सुरू भयो भन्दा भन्दै एक दुई चुस्की लिन सिक्दा सिक्दै, आँखा जुधाउँदा जुधाउँदै, सी ओ सी खेल्दा खेल्दै, स्टार प्लसका सिरियल हेर्दाहेर्दै, कक्षा ‘बन्क’ हान्दा हन्दै, घुम्दा घुम्दै माघ आइसक्छ।
त्यसपछि कोही होम ट्युसन कोही ट्युसन कोही के कोही के गरेर पढ्दापढ्दै प्री बोर्डमा फिजिक्स लाग्छ।
अनि एक महिना ओल्ड इज गोल्ड घोकिन्छ अनि फेरि उही त हो कसैलाई आफूले घोकेको प्रश्न आउँछ अनि कसैलाई अरूले घोकेको, अनि जसोतसो परीक्षा भने सकिन्छ।
मनमा ११ जस्तो भए पनि १२ मा गरेर देखाउने हो भन्ने अठोट लिएर कोही पास हुने आशमा त कोही सप्लिमेन्टेरीमा पास हुने आशमा १२ टेक्छ।
जब १२ मा टेक्छ दुई हप्ता जति, तीन हप्ता जति त खुट्टा थामिन्छ तर ११ मा आफूले बनाएको हिलाम्य भुइँमा खुट्टा थाम्न खोज्दाखोज्दै लिरिक्क लर्किन्छ अनि उही त हो हिलोमा लडेपछि कहाँ सजिलै उठ्न सकिन्छ र ?
उठ्दा उठ्दै फेरि माघ आइसक्छ अनि शरीरमा लागेको हिलो पखाल्दा पखाल्दै प्रि बोर्ड।
जब सबै हिलोबाट, फोहोरबाट, दुर्गन्धबाट मुक्त भएर एक महिना ओल्ड इज गोल्ड घोकिन्छ अनि जेनतेन परीक्षा सकिन्छ परन्तु प्लस टु को पढाइ होइन।
हामीले भविष्यको सुनौलो बगैंचामा ११ अनि १२ मा जुन उथलपुथल बनायौं। त्यसलाई सपार्ने आशमा ३ महिना इन्ट्रान्सको तयारी कक्षामा मरेर पढ्ने आशमा काठमाडौं सहर गइन्छ।
कोही नेम त कोही पी इ ए।
एक दुई हप्ता जोस हुन्छ कक्षामा आधा घण्टा छिटो गएर पहिलो बेन्चमा बसेर कागले झैं चेष्टा राखेर पढिन्छ तर जब तीन चार वटा साप्ताहिक परीक्षा दिँदा पनि अंक ६० को ६५ हुन सक्दैन अनि जब होस्टलमा जलस्रोतको धनी दाल र खाइलाग्दा मोटा चामलका भात खानुपर्छ अनि सुस्त सुस्त गलिँदै गइन्छ।
त्यसपछि क्रमशः दोस्रो, तेस्रो गरी अन्तिम बेञ्च गर्दै होस्टलको विस्तारामा बस्न थालिन्छ।
सबै विषयका फरक किताब भन्दा पनि फरक विषयका एउटै किताब पढ्न थालिन्छ।
अनि आउँछ परीक्षा, परीक्षा दिइसकेपछि भने सबैलाई नाम निस्किन्छ झैं लाग्छ तर नतिजा आउँदा धेरैको कि बढी आउँछ कि कम।
सोचेको जस्तो र आफ्नो खुबी जस्तो कमैको आउँछ।
त्यही हो इन्ट्रान्सको एउटा फाइदा। फाइदा के भने अब राजधानीमा झ्याप्पै हराइँदैन किन्तु एउटा बेफाइदा के हुँदो रहेछ भने प्रश्नको उत्तर यो हो कि त्यो, यो हो कि त्यो भनेर शंखा गर्दा गर्दै शंखालु स्वभाव हुँदो रहेछ।