२००७ सालमा प्रजातन्त्र स्थापनासँगै देश बाह्य संसारका लागि खुल्यो। पर्यटक आउन थालेपछि देशले विकासका लागि नयाँ क्षेत्र भेट्यो– पर्यटन।
उतिबेलैदेखि हुनुपर्छ, पर्यटक भनेकै गोरा हुन् भन्ने मान्यता छापियो। हाल यो मान्यतामा कमी आए पनि गोराका पछि लाग्ने क्रम रोकिएको छैन।
कालाले पनि पर्यटनमा योगदान गरे, स्वदेशीले झन् पर्यटनको ‘पारो’ माथि उकासे र पनि गोरा भनेपछि बेग्लै बुझाइ हुने अझै पनि।
यही भोगाइ र बुझाइबाट अछुतो नभएको एक व्यक्ति गोराको जननी मुलुककै बाटोमा गोरा नदेख्दा छक्क पर्यो।
देशको पर्यटन नै उनीहरूले धानेको किस्सा सुनाएर नथाक्ने हामीलाई बेलायतको सडकमा अंग्रेजभन्दा बढी अफ्रिकी, चिनियाँ र भारतीय मूलका देख्दा आश्चर्यसँगै एउटा प्रश्न तेर्सिन्छ– स्थानीय गोरा गए कहाँ?
यो प्रश्नलाई एकछिन थाँती राखौं।
नेपाली मन, त्यो मन अटाउने छाती, छातीभन्दा माथि घाँटीले ठड्याउने टाउको सहितको हाल बेलायतमा भएको तनका बीचमा केही मिलेको छैन।
ठूलै त होइन तर लामो समयदेखि देशमा भएका घटना, आम बुझाइ, विभिन्न भूगोलमा रहेका नागरिकप्रति गरिएको असमान व्यवहार नै यसको कारण हो।
केही वर्ष अघि यहीँबाट ब्लग लेखेको थिएँ-काठमाडौं बाहिरका मान्छेले बनाएका हुन् भनेर। यहाँका धरोहर र संस्कृति काठमाडौंका स्थायी बासिन्दा नेवारहरूले बनाएका हुन्। व्यवसायिक काठमाडौं बाहिरबाट आएकाले बनाएका हुन् भन्ने कुरा स्पष्ट पार्न खोजेको थिएँ।
गाली धेरै पाइयो आफ्नै साथीहरूबाट पनि। अहिले फेरि दसैं आउन लाग्दा यही कुरो ताजा भएको छ, केही दिनमा माथि उल्लेख गरेको जस्तो पोष्ट पढ्न पाइनेछ।
लेखमा के थियो भने दसैं, तिहारमा बाहिरबाट आएकाहरू घर जाँदा काठमाडौं शान्त हुने, प्रदूषण कम हुने कुरालाई सही भनियो। सँगै जोडिने अर्को आशय– उनीहरू नफर्किए कस्तो काइदा, सधैंलाई हाइसन्चो भन्ने भावमा अलि मन अमिलियो।
म काठमाडौंमा जन्मेको नेवारी गीत र चाड बुझ्दै, मनाउँदै हुर्किएको हिसाबले साँस्कृतिक रूपमा आफूलाई नेवार मान्दछु। यद्यपी बाहिरका नआए हुन्थ्यो भन्ने कुरामा निषेधको गन्ध भएकाले यो कुरालाई सहज रूपमा लिन नसकेर त्यो लेख लेखेको थिएँ।
बीचमा बागमतीमा पानी धेरै बग्यो, अलि सफा पनि भयो र पनि यो कुरा कम भएन, झन् बढ्यो। निषेधमा विश्वास नराख्ने मजस्ता धेरैलाई यही लाग्ला कि कुनै जात विशेषका नाममा ठाउँ चिनिनु राम्रो हो, तर त्यो ठाउँ तब मात्र सुन्दर होला जब सबैको साझा फूलबारी हुनसक्छ।
यहाँ अर्को प्रसंग जोड्छु।
देशलाई चिनाउन, पर्यटकलाई आकर्षित गर्न सगरमाथा र लुम्बिनीको रटान लगाउने हामीलाई जर्मनीले बर्लिन वाल वा इतिहास नभनेर विविधताको प्रचार गरिरहेको छ, जसले कुनै पनि वर्ण, लिंग, भूगोलकालाई बराबरी ओत पनि दिएको छ भन्ने थाहा पाउँदा उतिकै अनौठो लाग्ला।
पहिचानका कुरा उठे पनि जन्मकै आधारमा हुनुपर्ने पटक्कै लाग्दैन। कर्मका आधारमा पहिचान बन्छ र बन्नु पनि पर्छ।
यही पहिचानका कुरा उठाइराख्दा याद गर्नुपर्ने कुरो के पनि हो भने हाम्रो भावी पुस्ता कति पलायन भए, हुँदै छन्। इतिहासका पात्रलाई देवत्वकरण वा दानवीकरण गर्नुभन्दा इतिहासलाई पढेर अघि बढ्दा बेठिक होला त?
अब सुरूको प्रसंग।
आज बेलायत, जर्मनी वा अन्य कुनै पनि मुलुकले यही विविधता र भाइचारालाई बढाएका छन्। जुन नयाँपनले ठाउँलाई अलिकति मात्र पनि फाइदा गर्छ हरसम्भव पछ्याएका छन्।
यसको मतलब उनीहरूको मोडल सोह्रै आना ठीक भन्न खोजेको होइन। एकले अर्कालाई सम्मान दिने कुरो महत्वपूर्ण हो।
फेरि गोरा कता गए भन्ने कुरो बुझ्दा ती काला वा अन्य मूलका सबै बेलायती भइसकेका रहेछन्। उनीहरूमध्ये कोही तीन वा चार पुस्तादेखि बेलायतमा बसिरहेका रहेछन्। आखिर कुरोको चुरो त्यही नै आएर थामियो, हामीलाई आँप खानसम्म मतलब हो गन्नसँग होइन। गोरा काला भएछन्, अनि काला गोरा।