डढेको रबरजस्तो, डढेको प्लास्टिक, सिसा, मेटल, खरानी जस्तो केही जलेको गन्ध, धुलो, धूवाँ जस्तो, ठ्याक्कै यही स्वाद भनेर नाकले छुट्याउनै नसक्ने अनौठो गन्धले नाकै थुनिने अवस्थामा म अचानक ब्यूँझिएँ।
नाक एकदम पोलिरहेछ, पूरै सन्नाटा छ, कान थुनिए जस्तो एकोहोरो टुँऽऽऽऽऽऽ आइरहेको भान भइरहेछ। टाउको सुन्निएर बडेमानको भएजस्तो आभास छ। यस्सो हल्लिन खोजेको शरीर हलचल केही हुँदैन। आँखा चिम्म नै रहेछ भन्ठानेर खोल्न खोजेको, आँखा त खुल्लै छ। तर चारैतिर अन्धकार छ।
२०७६ सालको दोस्रो दिन अर्थात वैशाख २ गते, बिहान ५ बजे झापाको दमकबाट काँकडभिट्टा टु ओखलढुंगा वाला गाडी चढेको म साँझ साँझतिर हिलेपानी उत्रिएँ। मलाई खोटाङको दिक्तेल पुग्नु जो थियो। काँकडभिट्टाबाट दमक, इटहरी, लहान हुँदै मिर्चैयाबाट पूर्वपश्चिम लोकमार्ग छोडेर उकालो लागेको गाडी चुरे पहाडै पहाड उदयपुरको कटारी पुगेर रोकियो, लोकप्रिय स्टाफ भोजनालयमा।
खानापछि करिब १२ बजेतिर गाडी पुनः हानियो उकालो। करिब तीन, साढे तीन घण्टाको अक्करे पच्याङ बाटो छिचोलेर सुनकोसी नदीको किनारमा रहेको जब्बरजस्त बजार घुर्मी पुगियो।
ओखलढुंगा र सिन्धुलीलाई दायाँ-बायाँ साक्षी राखेर हाँसिरहेको भान हुन्छ उदयपुरको घुर्मी। सुनकोसी नदी तरेपछि ओखलढुंगा सुरू हुन्छ।
हिलेपानी, ओखलढुंगा बजार हुँदै सोलु सल्लेरी पुग्ने बाटो र हलेसी हुँदै दिक्तेल बजार पुग्ने बाटोको साक्षी हो। म ओखलढुंगाको गाडीलाई उकालो पठाएर हिलेपानी उत्रिएँ। यहाँबाट दिक्तेल जानको लागि काठमाडौंबाट आउने गाडी पाउने सम्भावना हुन्छ।
करिब ४ बजे उत्रिएको म रातको ९ बजेसम्म हिलेपानीमै बस्नुपर्यो। ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं ६ हिलेपानी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको जन्मथलो पनि हो। दुईतिरबाट सुनकोसी र दुधकोसी नदीले घेरेको हिलेपानी नजिकै रहेको सिद्धथुम्काले पनि प्रसिद्ध छ। यहाँबाट ओखलढुंगा बजार करिब ३० किमीको दूरीमा पर्छ।
रातको ९ बजेतिर मात्र काठमाडौंबाट १/२ बजेतिर दिक्तेलको लागि हिँडेको गाडी हान्निएर आइपुग्यो। करिब करिब गुडिरहेकै गाडीमा दौडिएर चढेपछि मेरो दिक्तेलतर्फको दोस्रो चरणको यात्रा सुरू भयो। माथिल्लो सगरमाथा कम्पनीको यो तुफानी यातायात सडक छेउछाउका घरहरूलाई भूकम्पको महशुस गराउने गरी दौडियो।
भिरैभिरको घुम्ती बाटोमा समेत गाडी उडिरहेको भान हुन्थ्यो। पछाडि पछाडि आइरहेको अर्को कम्पनीको गाडीलाई उछिन्न नदिने गुरुजीको प्रयासमा हामी यात्रु घरिघरि त सिटमै उचालिँदै पछारिँदै पनि थियौं। निदाएकाहरू झसङ्ग झसङ्ग ब्यूँझिँदै फेरि निदाउँदै गर्थे।
ओखलढुंगा र खोटाङको सीमानाको जयरामबाट दुधकोसी नदी तरेपछि गाडी खोटाङको भूमिमा उकालो लागेको याद छ। त्यसपछि ठाउँठाउँमा यात्रु ओराल्दा झसंग झसंग ब्यूँझिएको म, एकैचोटि हलेसी मन्दिरको पछिल्लो गेटमा गाडी रोकिएपछि ब्यूँझिएँ। यात्रु ओर्लिने,उनीहरूका सामान ओराल्ने काम सकिएपछि गाडी फेरि तुफान दौडियो।
अगाडिको सिट खाली भएछ सरेँ। रोकेको ठाउँमा दिक्तेल जाने दुई यात्रु पनि चढेका थिए। हलेसी मन्दिरको अगाडिको गेट भन्दा करिब २०/३० मिटर अगाडिको कराले कराले उकालोमा अगाडि अगाडि एउटा मोटरसाइकलमा ३ युवक सडकको ठीक बीचबाट सुस्त सुस्त गतिमा अगाडि बढिरहेछन्।
अचानक मोटरसाइकल रोकिएर उल्टो ओरालो बग्न थाल्यो। पछाडि बसेको युवक हत्तपत्त ओर्लिएर एकदम लापर्वाही तरिकाले थाम्न या धकेल्न थाल्यो । सडकै छेकेर बीचमा यस्तो हर्कत अचानक आइलागेपछि उड्न मात्र बाँकी राखेको हाम्रो गाडी अचानक ब्रेक लाउन बाध्य भयो र लायो पनि। नत्र ती तीनै जना गाडीको चक्कामुनी नपर्नलाई कुनै विकल्पै थिएन। झ्याप्पै गाडी रोकियो।
ए ओट हाल, ओट हाल, ओट हाल......... चालक अत्तालिएपछि गाडीमा रहेका दुई सहचालक उत्रिए तर गाडी सुलुलुलुलुलुलु पछाडि पो गुड्न थाल्यो। र हेर्दा हेर्दै, हेर्दा हेर्दै आँखै अगाडि डिलबाट मुनि मुनि मुनि मुनि मुनि मु ऽऽऽऽऽऽऽ .....नि पल्टियो। एकै पलमा सो सब भयो।
भएछ के भने तीव्र गतिमा लाएको ब्रेक थाम्न नसकेर ब्रेक फेल भएछ र रोकिसकेको गाडी ओरालो बग्न थालेछ। ड्राइभर अत्तालिएर घरी दायाँ, घरी बायाँ स्टेरिङ काट्दा काट्दै गाडीको टायरले डिल नाघेपछि, एक बल्ड्याङ पल्टियो म उछिट्टिएँ। सामान राख्ने सिलिङको डिक्कीमा ठोक्किएँ, एकै सासमा गाडी अर्को बल्ड्याङ खायो म प्यासेजमा पछारिएँ , तुरुन्तै अर्को, अर्को, अर्को बल्ड्याङ, बल्ड्याङ, बल्ड्याङ। मलाई मान्छे यसरी मर्दो रहेछ भन्ने लागिरह्यो। मैले मर्दै गरेको थाहा पाइरहेँ।
अन्तिम यादमा टाउकोको दाहिने पट्टिको कन्चट छेउमा नराम्ररी ठोक्किएको थाहा पाएपछि चाहिँ मैले केही थाहा पाइनँ।
लामो थकानपछि आनन्दको निन्द्रामा मस्त भइरहेको जस्तो लागिरहेछ। सपनाझैं भइरहेको मीठो टाइप्सको पलमा कता कताबाट बचाउ बचाउ, मरेँ , पानी पानी जस्तो जस्तो, धमिलो धमिलो आवाज पनि आइरहेछ। खुल्दुली भएछ मलाई के रहेछ भनेर यसो चल्मलाएको केही धारिलो हतियारले बायाँ हातको कुहिनामा चरररर् काट्यो। झल्यास्स ब्युँझिएँ। रिल घुमेझैं ओट हाल, ओट हालदेखि सबै छर्लङ्गै आयो। खासमा म मरेको होइन रहेछ, मान्छे यसरी बेहोस हुँदो रहेछ, ओहो!
सुरूमै भनेँ त्यसपछि के/के भयो।
बाँचियो भनेपछि मनमा एक किसिमको हिम्मत खालको केही आयो। रगत खुट्टादेखि माथिसम्मै सररर दौडिएजस्तै भयो। जबरजस्ती चल्मलाएँ।
केही भार छ शरीरमाथि। पन्छाउने बल त छैन अलि अलि आँटले काम गर्यो क्यारे पन्छाउँदै गर्दा थाहा भयो केही झोला र गाडीका सिटहरू उछिट्टिएर थिचेका रहेछन्। गोजीमा छामेँ सायद टाइट पाइन्ट भएर होला मोबाइल फुत्केको रहेनछ। फ्ल्यास लाइट खोलेर ढोका खोजेँ। ढोका त भुइँपट्टि घोप्टिरहेछ। गाडीको पुछारपट्टि सब थुप्रिएको छ, सिधा माथिपट्टीको झ्यालको सिसा फुटेर खुल्लै देखेपछि आशा त पलायो। तर बायाँ पाटै चल्दैन आफ्नो। तै घस्रिँदै घस्रिँदै झ्यालको डिल समात्न पुगेँ। तल खुट्टाले मान्छे नै टेकेको महशुस भइरहेछ तर, बाँच्ने जिजिविसाले माथि नै धकेल्यो।
बाहिर त निस्केँ गाडी लमतन्न सुतिरहेछ खोल्सामा। गाडीबाट भुइँमा हामफाल्ने आँट आएन। त्यहीँ अडिएर बसेँ। गाडीको भुइँबाट झ्याल बाहिर निस्किँदा कति कठिन पल मैले भोगेँ हुँला शब्दमा व्यक्त गर्न सक्दिनँ। धन्न दिमाग शून्य छ, नत्र के के सोच्थ्यो होला।
के गर्ने के गर्ने भएर टोलाइ रहेँ। भित्रबाट आमा आमा आमा भनेजस्तो एकोहोरो धूनजस्तो स्वरले पो झसंग भएँ फेरि। १०० नम्बर याद आयो झट्ट, डायल गरेँ। धेरैबेर रेकर्डेड आवाज आएपछि काटेँ। फटाफट त्यहाँको नगरपालिकाको मेयरलाई फोन लगाएँ। ( घर खोटाङ भएको र यस नगरपालिकामा कामको सिलसिलामा साथै व्यक्तिगत रूपमा पनि मेयर उपमेयर लगायत स्थानीयसँग राम्रो चिनजान छ मेरो ) उहाँको फोन अफ रहेछ, तुरुन्तै उपमेयरलाई गरेँ उहाँ काठमाडौं हुनुहुँदो रहेछ, उहाँले म तुरुन्तै त्यता खबर गरेर उद्धारको लागि भन्छु भनेपछि थोरै राहत मिल्यो। तर मन अत्तालिरहेछ।
मोबाइलमा डिएसपी खोटाङको नम्बर त सेभ छ, तर यो पहिलाको डिएसपीको हो। आ जे होला उहाँबाट पनि खबर पुग्ला भनेर डायल गरेँ धन्न अफिसियल रहेछ। खोटाङ प्रहरीकैमा पुग्यो। मैले एकै सासमा डिएसपी साप यस्तो यस्तो भयो भनेर उद्धारको लागि भनें।
उहाँले सोध्नुभयो- कति तल खसेको गाडी, कति यात्रु थिए, अवस्था कस्तो छ , ... यस्तै यस्तै। तर मैले केही रिपोर्टिङ गर्न सकिनँ। किनभने मलाइ केही थाहा थिएन थाहा भए पनि अहिले उद्धारको खाँचो थियो। सर यात्रु गाडीभित्र कराइरहेछन् उद्धारको लागि पठाइदिनुपर्यो भनरे फोन काटेँ।
गाडीबाट माथि डिलतिरै आँखा छ, कोही आउँछ कि भन्दै। माथि वारपारै भीड छ। लाइट झल्याक झुलुक बलिरहेछन्, कल्याङमल्याङ छ ,फ्ल्यास आउँछ घरी घरी तर कोही पनि गाडी भएको ठाउँमा आएन। त्यो ५ देखि १० मिनेटको बीचमा थप दुई पटक मैले प्रहरी कार्यालयमा फोन गरेँ।
आउँदैछन् मैले सब खबर गरिसकेको छु त भन्नुभयो उहाँले, तर खै अझै आएको थिएन कोही। मैले उहाँले पटकै पिच्छे सोधेको प्रश्नको जवाफ पनि दिइरहेको थिइनँ। जवाफ भन्दा उद्दारको खाँचो थियो। अन्ततः प्रहरीको टोली आइपुग्यो।
तर त्यसबेला गाडीभित्रका सबै यात्रु कमसेकम पाखामा उतारी सकिएका थिए। पाखामा सास फेर्दै गरेका सहयात्रीहरू देखेर त, बेलैमा उद्धार नहुने हो भने चैँ दुर्घटनामा परेको मान्छे आशा हराएरै मर्ने रहेछ जस्तै लाग्यो। दुई भाइ थिए, हामी सशस्त्र हौं भन्थे पछि। पछि भीडले को ? के ? गर्न थालेपछि सर आउनुभाथ्यो उहाँलाई पुर्याएर फर्केर आज हलेसी बसेका हौं भन्दै थिए ती दुई भाइ।
उनीहरू त्यो भीड छिचोलेर हुरुरुरुरु तल आए, मलाई भित्र मान्छे छ भनेर सोधे। मैले छन् धेरै जना छन् भनेपछि भित्र छिरेर फटाफट यात्रु निकालेका थिए। पछि म हिँड्न नसकेको देखेर छक्क पर्दै भने तपाईं पनि यै बसमा हुनुहुन्थ्यो ? मेरो नि उद्धार गरे। प्रहरी पनि आएपछि घाइते यात्रु लगाएत सामान माथि बाटोमा निकाल्ने काम भयो।
हलेसी प्रहरी चौकीका इन्स्पेक्टर लगायतको टोली घाइतेलाई एक ठाउँमा थुपारी डिटेल्स लिइरहेको थियो। यही बेला थाहा भयो गाडीमा १७/१८ जना रहेछन्। तीमध्ये भर्खरै हलेसीबाटै चडेका एक जनाको ठाउँको ठाउँ ज्यान गइसकेछ , भने ५/६ जना त एकदमै गम्भीर घाइते भएछन् जसमा ड्राइभर पनि निकै नै गम्भिर घाइते अवस्थामा भेटिए।
स्थानीय चक्र राईको सक्रियतामा घाइतेलाई दुर्छिम स्वास्थ्य चौकीमा लाने काम भयो। स्वास्थ्य चौकीमा प्राथमिक उपचार मात्र सम्भाव थियो, रातको करिब १ बजिसकेको थियो। चौकी पुगेपछि बल्ल थाहा भयो मेरो बायाँ खुट्टा फ्र्यक्चर छ, बायाँ हात अलि अलि चल्न थाल्यो, मुखमा तल्लो दाँत लहर र माथिल्लो दाँत लहर भेटै हुँदैन, जिउभरि रगतै रगत छ्याप्पै छ, खुट्टाको जुत्ता, टाउकाको क्याप, चस्मा केही छैन।
पछाडि ढाडमा हावाको सानो झोंकाले पनि चहर्याइरहेछ ,जहाँ छोयो त्यहीँ दुख्छ। स्वास त फेर्नै हुन्न चसक्क दुख्छ, मिलाएर कोल्टिएर विस्तारै विस्तारै स्वास लिँदै छोड्दै गरिरहेछु। यत्तिकैमा चक्र अंकलले (स्थानीय चक्र राइ उहाँलाई म व्यक्तिगत रूपमा चिन्छु र अंकल सम्बोधन गर्छु) गम्भीर घाइतेलाई तुरुन्त काठमाडौं लाने व्यवस्था गर्न लाग्नुभयो र मलाई भन्नुभयो ‘भतिज तिमी पनि जाउ, तिमीलाई भित्र चोट लागेजस्तो छ।’ सायद आराम पाएपछि ठीक हुन्छ होला, फेरि भोलि बिहानै जिल्ला अस्पताल पुगिहालिन्छ भन्ने भयो।
अर्कोतिर फेरि गाडी चढिहाल्न होसमै चैं डर नै छ। त्यसैले हेरम भोलि, यहाँ भएन भने जान्छु भनेँ।
गम्भीर घाइते जो न बोल्थे न चलमलाउँथे ती एक गाडी काठमाडौंका लागि हिँडे। हामी अय्या आथ्था गर्दै सहन गरिरहेका रह्यौँ दुर्छिम स्वास्थ्य चौकीमा।
कोहि खुट्टा भाँचिएका, कोहि हात भाँचिएका, कोही टाउको फुटेका, कम्मर मर्काएका, रगतै रगतले पुरिएका दुखाइ, थकान सहँदै स्वास्थ्य चौकीमा छौं हामी।
भुइँमा, बेडमा, कुर्सीमा, पेटीमा जता जता सहज महशुस हुन्छ त्यतै त्यतै लडिरहेका हामीलाई एक जना अनमी दिदीले पालै पालो घाउ सफा सम्मको प्राथमिक उपचार गर्नुभयो।
मेरो चाहिँ ढाड पूरै ताछिएर आएको रगतले टिसर्ट लपक्कै टाँसिएछ, खोल्दा रोइदिएँ दुखाइ सहन नसकेर। दिदीले सम्झाउनु भयो धन्न बाँच्नु भयो, अब नरुनू। घाउ सफा भयो। तर बायाँ खुट्टा सुन्निएर हात्तीको जत्रै भइरहेछ खै के गर्ने होला।
प्राथमिक उपचार सकियो, त्यतिन्जेल अंकल मैसँग हुनुहुन्छ। बेला बेलामा नडराओ भाइ हो अब बाँच्यौ तिमेरु, अब भोलि उज्यालो हुनसाथ जिल्ला अस्पताल पुर्याउने व्यवस्था मिलाउँछु भन्दै हौसला पनि दिइरहनु भयो।
अब आराम गरौँ भनेर यसो ओछ्याउने, ओढ्ने भाग लगाएर म अंकलसँगै उहाँको घरै गएँ। उहाँको घर स्वास्थ्य चौकी छेउमै छ। खुट्टामा भ्यासलिनले मालिस गरेर रुमाल बाँधें। बिहानै जिल्ला अस्पताल पुग्यौँ , उपचार सुरू भयो।
एक महिनाको बेड रेष्टपछि म यही दैनिकीमा फर्किएँ। काललाई टक्क छोएर, फुत्त फर्किएको त्यो पल सम्झिन्छु – कमसेकम मर्ने र बाँच्ने त पहिल्यै तय छ। ज्यमराजको मुखमा पुगेर, फर्केर आको भन्ने हल्ला चलिरह्यो अलि पछिसम्म टोलमा चाहिँ।