खोइ कुन कुराले हो हिन्दूहरूले दसैं र तिहारलाई महत्त्वपूर्ण बनाए।
तर, अहिले विश्वभरि फैलिएका नेपाली जोड्ने ठूलो माध्यम बनेको छ,
दसैं र तिहार।
अमेरिकाको ह्वाइट हाउस या आइफिल टावर या बुर्ज खालिपाको अगाडि उभिएर खिचेको फोटो सामाजिक सञ्जालमा ठूलो अक्षरमा क्याप्सन राखेर `ह्याप्पी दसैं´ लेखे पनि गाउँमा दाउराले ओगेटोमा पाकेको खसीको मासुको स्वाद जस्तो सायद आउँदैन होला जस्तो लाग्छ! सौभाग्यवश अहिलेसम्म यी दुई चाड गाउँघरभन्दा बाहिर मनाउनु परेकाको तीतो अनुभव छैन।
अनुभव नै नगरेको कुरा यस्तो होला उस्तो होला भनेर महाअनुभवी बन्न त अलि सुहाउँदैन होला। गाउँभन्दा बाहिर यी चाड मनाउन पर्छ कि भन्ने कुरा सोच्दा पनि शरीर जिरिंग हुने गरेकोले अलि गाह्रो हुन्छ कि भन्ने लागेको मात्र हो।
अब अनुभवका कुरा गरौं।
गाउँमा पहिले सबैका घरमा लौरु र बगेर्नु भैंसी हुन्थे। प्रायः भैंसी ब्याउने साउन र भदौमा हुन्थ्यो। प्राकृतिक रूपमा हुने भैंसीको ब्याउने कुरा मान्छेले साउन भदौमा नै ब्याउने कुरा कसरी मिलाए होलान्। यो कुरा आजभोलि म अलि बढी सोच्छु।
भैंसी लौरुबाट बगेर्नु हुन थालेपछि बैइ (हजुरआमा ) ले मेरो माइला अंकललाई `माइला भैंसी बगेर्नु खोज भन्थिन्´।
भैंसी किन्दा प्रायः किलो पुगेको किन्ने चलन थियो। हामी लख्यालखी केराटी (केटाकेटी) लाई खास किलो पुग्ने भनेको के हो थाहा नै हुँदैन थियो।
तर घरमा ब्याउने भैंसीको किलोपुग्ने मिति त थाहा हुन्थ्यो भैंसीको किलो पुगेको दिनदेखि केराटीका लागि छुट्टै खुसीको दिन हुन्थ्यो। कसैलाई गफ दिनु पर्यो भने बडो छाती फुलाएर भनिन्थ्यो `हाम्रो भैंसीको किलो पुइगो´।
खासमा किलो पुग्ने कुरा अलि उमेर बढेर थाहा भयो। व्याउने समय पुगेको रहेछ।
भैंसी वा गाई ब्याएपछि भैंसीको त पाँच दिनमा धार हाल्ने हुन्थ्यो । तीन दिन सम्म बिगौतो दूध खुब खान पाइन्थ्यो। तीनदेखि पाँच दिनपछि धार हाल्ने ( देवालाई चढाउने ) काम हुन्थ्यो।
बल्ल मोही वा दही बनाउने काम सुरू हुन्थ्यो। भैंसी दुहुनो नहुने घर कम हुन्थ्ये। ब्याउने भएको भैंसीको किलो पुगेको दिनदेखि राति ब्याउने हो कि जस्तो लाग्थ्यो।
हरेक रात सुत्नुभन्दा अगाडि बैइ गोठ हेरेर आउँथिन्। प्राय: रातिको सपना भैंसी ब्याएको देखिन्थ्यो। दहि र दूध त धेरै खाना पाइँदैनथ्यो। मोहि चाहिँ जति पनि खाना पाइन्थ्यो।
कहिलेकाहीँ दूध ठेगोमा राखेपछि बैइले कुराउनी बनाउनु हुन्थ्यो। मकैको रोटीमा कुराउनी राखेर क्रिम बिस्कुट जस्तै बनाएर खानुको मज्जा सायद अरु कुनै खानु छैन होला।
केराटीको लागि दसैंको मासु अर्को महत्त्वपूर्ण पर्व हुन्थ्यो।
मैले कति पटक वैशाख महिनाको सपनामा पनि दसैंमा मासु खाएको सपना देखेको छु। अरु संगले (साथीहरूले) पनि मलाई यस्ता सपना देखेको कुरा सुनाउँथे।
हाम्रा लागि सपनाको दसैं पनि कम्ती महत्वपूर्ण हुन्थेन। घरमा पालिएको बाख्राले बोका पायो भने त्यो प्रायः दसैंको लागि भन्ने गरिथ्यो।
त्यसलाई अरुभन्दा अलि बढी सेवा चाकरी गरिन्थ्यो। विद्यालय बिदा भएको दिन त्यही बोको मात्र लिएर पनि हामी चराउन जान्थ्यौं। गेडा लाग्न सुरू गरेको मकै काटेर खुवाउथ्यौं।
हाम्रो संस्कृतिको विकृतिको सुरूआत यस्तै कुराबाट हुन्छ जस्तो लाग्छ।
जोसँग प्रत्यक्ष लाभ धेरै पाइन्छ त्यसैको धेरै चासो राख्न लगाउने बानीको सुरूआत यस्तै कुराले गर्दा भएको हो कि भन्ने शंका गर्ने ठाँउ देखिन्छ।
दसैंमा पैसा दक्षिणा दिने चलन त्यति थिएन। दसैं केटाकेटीको लागि मुख्य रूपमा मासुकै लागि थियो।
त्यसपछिको दोस्रो महत्त्वपूर्ण थियो तिहार।
गाउँमा अहिले जस्तो दशथरि रोटी हुँदैनथ्यो। मात्र फिनी हुन्थ्ये। फिनी बनाउने दिन केराटीको काम हुन्थ्यो। दाउरा खोज्ने काम। ठूलो उत्सव जस्तै हुन्थ्यो। फिनी प्रायः रातिमा बनाउने चलन थियो। अहिले गाउँमा न दाउरा छन् न फिनी बनाउने दिन दाउरा खोज्ने केराटी। भैली खेल्ने टोली पहिलेदेखि तयार हुन्थ्यो। त्यो करिब तीन महिना अगाडिबाट थपिने र छुटिने संख्या घटबढ भइरहन्थ्यो। त्यो कुरा टिमको मुख्य व्यक्ति भट्याउने र मादल बजाउने सँगको व्यवहार निर्धारण हुन्थ्यो। शिक्षकका छोराछोरीको थप महत्त्व हुन्थ्यो। भैली लेख्ने काम शिक्षकले गर्ने र छोराछोरीले भट्याउने हुन्थ्यो।
गाउँका हरेक घरहरू अहिले वृद्धहरूका आश्रयस्थल जस्तै छन्। लगभग सबैजसो घरका छोराछोरी सुखको खोजीमा दु:ख गर्न घर बाहिर छन्।
कोही नेपालका विभिन्न ठाउँमा फिजिएका छन्। कोही अरबमा, कोही युरोपमा त कोही अमेरिकी मुलुक रुमलिएका छन्। युरोप र अमेरिकी मुलुक पुग्ने बाआमाको छुट्टै सान छ। छोराछोरीले प्रयोग गरिसके पछिका आइफोन , आइप्याड पठाइदिएका हुन्छन्। अरब भूमिमा रुमलिने र नेपालमा नेपाली मुद्रा कमाउनेहरूको हैसियतले आइफोन किन्ने औकात राक्दैन जस्तो व्यवहार ती वृद्धहरू गरिरहेका हुन्छन् भन्ने देखिन्छ।
नेपाल र अरबमा बस्नेले पनि आफूले प्रयोग गरिसके पछिका विभिन्न ब्रान्डका मोबाइल फोन पठाइदिएका छ्न्। दूरसंन्चार कम्पनीले दिएको विभिन्न अफर भ्योइस प्याक लिएर हरेक दिन छोराछोरीसँग फोनमा कुरा गर्छन्। पुरुष वृद्धले डाटा प्याक लिएर फेसबुक पनि चलाउन जानेका छन्। मार्क जुकरवर्गले यस्तो चिज बनाए कि मान्छेहरूले अंग्रेजी भाषा र प्रविधिको विना तालिम सिकाउने मन्त्र नै बनाए।
खासगरि अरबमा गएका छोराछोरीले घरमा एउटा टिभी पनि पठाइदिएका छन्। घरमा बाआमाको मुख्य काम भनेको मध्ये बाहरूको दिउँसो जम्मा भएर तास खेल्ने यसो बेलुकी पख बोइलर कुखुराको मासुसँग टुच्छ लगाउने हुन्छ। आमाहरू विभिन्न बचत समूहका बैठक तथा डिसहोमको सहायताले टिभी हेर्नु मुख्य काम हो ।
फेरिएको छ गाउँ आजभोलि न किलो पुग्ने भैंसी छ, न बगेर्नो न लौरो भैंसी छन्। न वैशाखमा नै दसैंको मासु खाएको सुइन(सपना) देख्ने केराटी छन्।
फारम भर्नुपर्दा पेशा कृषि लेख्ने किसान धेरै छन्। तर खेतीपाती छैन। त्यसैले गाउँ फेरिएको छ!