यात्रा गर्न कुनै न कुनै एउटा अवसर जुट्नु पर्छ। समय र अवस्थाले पनि साथ दिनुपर्छ।
धेरै पहिलेदेखि कर्णाली जिल्लाका पहाडी जीवन हेर्ने निकै रहर थियो। तर कार्य व्यस्तताले त्यो रहर पूरा हुन सकिरहेको थिएन।
रहर पूरा हुने दिन पनि आयो,असोज ९ गते,जुन केएमसी पूर्व विद्यार्थी संघले जुराइदियो। निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने उद्धेश्यले कर्णालीको विकट मुगु जिल्लामा नौ जना चिकित्सक सहितको अठार जनाको टोली काठमाडौंबाट सुर्खेतका लागि रवाना भयौं।
हामीले शिविरका लागि छायानाथ रारा नगरपालिकाको कार्की वडालाई छनोट गर्यौं।
थानकोटको जामले हाम्रो यात्राको अवधिलाई एक दिन लम्बाइदियो।
१० गते सुर्खेत पुग्नासाथ दिउँसोको ३ बजे हामी मुगुको यात्राका लागि नौ नौ जना बाँडिएर स्कार्पियो र बोलेरोमा चढ्यौं।
त्यसपछि भने यात्राले रोमाञ्चक मोड लियो।
कर्णाली राजमार्ग आफैंमा जोखिमयुक्त राजमार्ग हो भन्ने हामीले सुन्दै आएका थियौं।
प्रत्यक्ष देख्दा भोग्दा आङ नै सिरिंग हुने अवस्था थियो। गुराँसे हुँदै खुड्कीज्यूला पुगेर त्यो दिनको त्यहीँ बास बस्यौं।
११ गते बिहानै उठेर तातो पानी खाएर उही रफ्तारमा हामी हुइँकियौं कर्णालीको तिरैतिर।
नेपथ्यमा नेपथ्य ब्यान्डको शा कर्णाली.. गुञ्जिरहेको थियो। लाग्थ्यो बाटो बाटोमा खोला झरनाहरू हाम्रै स्वागत गर्न तम्तयार बसिरहेका थिए।
सम्भावनाको दूरीलाई मेट्दै मेट्दै हामी चियाको चुस्की लिन कालीकोटको सदरमुकाम मान्मा आइपुग्यौं।
हुस्सु लागेर मान्मा बजार पूरै ढाकिनै आँटेको थियो। यात्रा निरन्तर अघि बढ्दै थियो।
नाग्मा पुगेर जुम्लाको सिमी र माछासित खाना खायौं।
नाग्मापछि हामी जुम्ला जाने पिच बाटोलाई छाडेर मुगुतर्फ मोडियौं। सायद अबको बाटो सबै कच्ची थियो र उत्तिकै अत्यासलाग्दो पनि।
नदी किनारमा राजारानीका कुँदिएका मनै लोभ्याउने तस्वीरहरूसंग अंकमाल गर्दै हामी फेरि उही रफ्तारमा अघि बढ्यौं।
लाग्यो यो त्यही ठाउँ हो जहाँका कलाकारहरू नेपाली हृदयहरूलाई सत्य र सुन्दरको माधुर्य बुझेर लहराउन सिकाउँछन् र विशाल नेपाल स्पर्श गर्ने कला जन्माउँछन्।
गाडीभित्र हसिमजाक गर्दै यात्रा अघि बढिरह्यो। कोही आकाशमा उड्दै थिए कोही धर्तीलाई स्पर्श गर्दै। गाडी धेरै ठाउँमा फस्यो,तान्दै धकेल्दै र बेल्चाले माटो समेल्दै हामी अघि बढिरह्यौं।
कर्णालीका दुःखहरू भोग्दै छिचोल्दै गुडिरह्यौं। लाग्यो दुनियाँ कर्णालीका हर दुःख र कमजोर उपर सदा प्रभावकारी बन्दै छ। शक्ति बढाउ भनेर हरेक क्षण कर्णाली आत्मशक्ति व्यय गरिरहेछ तर हरेक पटक कर्णाली दुःख पाइरहेछ।
पानी पर्दा हिलो,अरुबेला धूलो यो राजमार्गको बेहाल देख्दा देख्दै, खै! प्रदेश र संघीय सरकार के हेरेर बसिरहेछ?।भ्रमण वर्ष २०२० को तयारी गर्ने सरकारले रारा पुग्ने बाटो मर्मतमा किन ध्यान नदिएको होला?
जसोतसो पानीमा भिज्दै हामी सिञ्जा हुँदै गुठीज्यूला आइपुगेर बास बस्यौं। हामी तय गरिएको मितिभन्दा ढिला पुग्यौं।
१२ गते बिहानै हामी शिविर स्थलका लागि हिँड्यौं तर फेरि पनि बाटो अप्ठ्यारा भएकोले गाडी ताल्चाभन्दा उता जान सकेन।
हामी केही साथीहरू परिवेश बुझ्न ओरालो गोरेटो बाटो झर्यौं र राति अबेरसम्म भोलि हुने शिविरको स्थान अवलोकन एवं पर्यावरण बुझ्ने प्रयत्नमा लाग्यौं। तर उता अन्य साथीहरू ताल्चा हुँदै मुगुको सदरमुकाम गमगढी जाने बाटैमा फसेका हुनाले त्यो दिनको बास उतै गमगढीमा बस्यौं।
त्यसदिन हामी सबैजना सदरमुकाममा भेला भए पनि औषधि ल्याइपुर्याउन सक्ने अवस्था थिएन।
सबैले त्यस दिनको दुःख/सुख साट्दै हिले शरीरलाई आराम दिनका लागि ओछ्यानतर्फ लाग्यौं।
१३ गतेको दिन बिहानै भरियालाई ताल्चाबाट औषधि बोकाएर शिविर स्थलसम्म पुर्याएर औपचारिक कार्यक्रमसँगै बिरामी जाँच्ने र निःशुल्क औषधि वितरण गर्ने कार्य सुरू गर्यौं।
शिविर बेलुकी ७ बजेसम्म चल्यो।
उक्त स्वास्थ्य शिविरमा करिब ६०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको देख्दा र यस्तो विकट जिल्लामा निःशुल्क स्वास्थ्य शिविर गर्दै अशक्त,बालवृद्ध,विपन्न,पहुँच नभएकाहरूको हकहितमा कार्य गर्न पाउँदा संस्थाको अध्यक्ष र अभिभावक भएको नाताले धेरै खुसी लाग्यो।
जति नै कठिनताको उकालो भएता पनि हामीमाथि सयपत्री फूलको माला र अबिर लगाएर गरिएको स्वागत र सम्मान,च्याङ्ग्राको मासुसँग मार्सी चामलको भातसहितको भोजन र त्यो आत्मीयता र कृतज्ञता अमूल्य थियो।
कति टाढा टाढाबाट स्वास्थ्य उपचार गर्न आएका ती मनहरूलाई म कसरी शब्दमा व्यक्त गरुँ?
तर जीवनको अग्रिम रेखासम्म भेट्टाउन पनि ताल्चा विमानस्थलबाट सिधै उड्नु पर्ने बाध्यताका बीच कोदो,फापर,ढिडो र सिस्नोको रससँग बाँचिरहेछ मुगु।
पहाड पारीका दुनियाँका अनेकौं चमत्कारले सपनामा ऐंठन परे पनि आखिर! धूलोमा अक्षर नटिक्ने रैछ,मैनबत्तीले भूगोल नदेखिने रैछ,रारा हेरेरै मात्र भोक मेट्दो रै’नछ।
पहाडका कथा,सभ्यता र कठिनाइका कथा सारङ्गीले गाएर मात्र के गर्नू सुन्नेले नसुने पछि?
राराले पर्यटकको इशारामा रङ मात्र बदल्छ तर मुगुले विकासको रङ अझै बदल्न सकेको छैन। यो भौगोलिक कमजोरी मात्र होइन मुगु राज्यको आँखा उपर सौताने बन्धनमा छ।
यी ठाँउहरूमा मानिसहरू कसरी आए होलान्? कसरी बाँच्दा हुन्?तुषाराले कठ्यांग्रिने र धूलो हिलोमा लट्पटिने जीवनहरू कसरी फुल्दा हुन्? भविष्यको सम्भावना एउटा उपन्यासको कथा जस्तै।
गरिबीको पासोमा परी धर्म परिवर्तन र विदेशी दातृ संस्थाको शिकार भएर मुगु जिउँदो लास र चलनको दास भएर बाँचिरहेछ। मार्फाको ह्याङमा मुगुलाई अन्यायमा पार्ने छुट कदापी राज्यलाई छैन।
जीवन तै पनि आत्मसमर्पणको विशाल प्रेम र भक्तिमा बाँचेका छन्, त्यहाँका मानव जीवन। सायद सच्चाइको आनन्द नेपालले यहीबाट सिकेको होस्। अतिथि देवो भव:मा मोहनी तवरले हाँस्ने,नाच्ने,गाउने ती अंग प्रत्यंगहरू। गुलाफी रङमा फुलेका गालाहरू। मैलाको वास्तै नगरी खेतीपातीमा व्यस्त शैलीहरू।
सनातन रीतिथितिमा अडिएका विश्वास,श्रद्धा र भक्तिभावहरू।
ढिकी,जाँतो,बिस्कुन र भकारोहरू। खरका छानाहरू,रातो माटोले पोतिएका भुइँहरू,हरेक घरमुनि गोठहरू,भिराला खेतहरू,जंगलहरू। मुगुले आफ्नो परिवेशको मायाजाल त्यहाँ पुग्ने हरेकलाई बिछ्याउँछ।
बिस्तारै बिस्तारै मुगुको निकटतालाई अझ प्राकृतिक तवरले आत्मसाथ गर्न हामी रारा ताल पुग्यौं।
आर्मी क्यामहरू छिचोल्दै,लालीगुराँसका जुसहरू पिउँदै,बाटोमा भेटिएका स्याउका बोटहरूबाट स्याउ टिप्दै असोज १४ गते बेलुकी हाम्रो बास रारा तालको किनारमा अवस्थित होटलमा पुगेर भयो।
यति विशाल प्रकृतिको अनुपम वरदानलाई आफ्नै आँखा अगाडि आत्मसात गर्न पाउँदा हामी मन्त्रमुग्ध भएका थियौं। तोते बोलीमा ब्यूँझँदै अघि बढ्दै लहरहरूमा किनारलाई स्पर्श गर्दै, अनेकौं रङहरूमा मोहनी लाउँदै एउटा शिशुजस्तै मुगुको काखमा चल्मलाउँदै रारा प्रेमको भाव बोकिरहेथ्यो।
हामी इशारामा नै लठ्ठ थियौं।
१५ गते बिहानै उठेपछि रारा तालमा गरिएको डुंगा सयर पनि अति नै स्मरणीय रहे। टुना,मन्त्र र मोहनी जगाउने राराको अद्भूत कलाले समेत हामीलाई रोक्न सकेन किनकि दसैं घर दैलोमा आइसकेको थियो। सबैलाई मान्यजनको हातको टीका लगाउन घर-घर पुग्नैपर्ने बाध्यता थियो फेरि आउँदाको बाटो देखेर जाँदाको अवस्था आंकलन गर्न सकिन्थ्यो किनकि पानी पर्न अझै रोकिएको थिएन।
स्वर्गको टुक्रा रारालाई आँखाका नानीहरूमा कैद गर्दै फेरि आउने वाचाका साथ हामी किनारै किनार हुँदै ताल्चा ओर्लियौं र गाडीको यात्रामा अघि बढ्यौं।
आउँदा सिन्जाको बैरागी डाँडामा अत्यन्तै दुःख पायौं, रातको १२ बजे भोको पेटमा हिलो सम्याउन र गाडी धकेल्न लागिपर्यौं।
जसोतसो बिहान चार बजे बिहान नाग्मा आइपुग्यौं र खाना खाइसकेर एकछिन आराम गरेर फेरि कर्णाली राजमार्गमा हुइँकिन थाल्यौं। रातको १२ बजे सुर्खेत आइपुग्यौं र भोलिपल्ट १६ गते दिउँसो सुर्खेतको बुलबुले ताल,काँक्रेबिहार र देउती बजै मन्दिरको भ्रमणसँगै हामी बेलुकी ५ बजेको गाडीमा काठमाडौंतिर लाग्यौं।
यसरी असोज ९ गते थालिएको यात्रा ८ औं दिनमा गएर टुंगिदा हामीले दस दिन बितायौं।
कामना छ,मुगुका अभावहरू मेटिउन् ,स्वर्ग जाने बाटो झैं रारा(मुगु जिल्ला)जाने बाटोहरू सिंगारिऊन्,मुगुको सभ्यतालाई जोगाइ राख्न सबै जनताहरू स्वस्थ रहुन् ,निरोगी बनून्। शुभकामना!