सानै हुँदा रेडियोमा बज्ने देश प्रेमबाट ओतप्रोत भएका राष्ट्रिय गीत सुन्दा ज्यान नै फुल्थ्यो। गीतमा झल्किने भावले हाम्रो ऐतिहासिक इतिहासको अब्बल परिचय दिनुका साथै वीरताको पथमा हिँडिरहन समेत प्रेरणा भर्थ्यों।
पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौं
...
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निवले कोरेका यी शब्दले हाम्रो इतिहासको गाथालाई सम्झाउँछ। आफ्नो भू-भागको रक्षार्थ हाम्रा वीर नेपालीहरूको सामर्थ्य र त्यागको सचित्र उर्ताछ। अनि हाम्रो देशको विशाल भूभाग र छातिको गौरव ओकल्छ । यी फगत सिर्जना मात्रै होइनन् यी त हाम्रा लागि ऐतिहासिक दस्तावेज समेत हुन्।
हामी मात्रै नभएर धेरै विद्यालय जाने बालबालिका किताबका पानामा हाम्रा वीर पूर्खाको साहस, हिम्मत र अथाह देश प्रेमलाई पढेर पक्कै पूर्खाको सम्मान र वीरताको कदर गर्छन्। यस्तै बालखैमा देशका लागि आफ्नो ठाउँबाट सक्दो योगदान दिन सकियोस् भनेर प्रण कस्छन्।
देशको भौगोलिक विषय सबै देशको उच्च प्राथमिकतामा पर्छ। यसमा इतिहासको गाथा र आफ्नो अस्तित्व समेत रहने हुदाँ सबैलाई आफ्नो भूमिको माया अगाध लाग्छ तर सीमामा केही असमझदारी भए त्यसले मन बिझाउँछ। सीमा विवादले गर्दा नै विश्वमा धेरै पटक मनोमालिन्य र विवाद हुँदै आइरहेको देखिन्छ।
भर्खरै भारतले नेपालका भूभागलाई पनि समेटेर आफ्नो नक्सामा उतारेपछि नेपाली जनताको आक्रोश बढेर गएको छ। मिडियामा सीमा अतिक्रमणको खबर पढेका, सुनेका आम नेपालीको हृदय फेरि एकपटक कठोर भएको छ। प्रतिवाद स्वरूप आन्दोलन समेत विस्तारै दिनानुदिन उठ्दै गइरहेको छ।
कालापानी, सुस्ता, टनकपुर, पशुपतिनगर लगायतका ठाउँमा सीमा विवादले विगत लामो समयदेखि नै नेपाली जनताको भावनामा चोट पुर्याइरहेको छ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देशका अमूल्य निधि हुन्। यिनी माथिको प्रहार कुनै पनि देश प्रेमीको मनमा अटाउन सक्ने विषय नै हैन।
लडेरै गुमेको भू-भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भूभागमा कुदृष्टि लगाउने सम्बन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने ल्याकत भने अवश्य राख्नैपर्छ।’
ऐतिहासिक लिपुलेकको विषयमा चीन र भारतबीच जसरी नेपाललाई अलग्याएर लिपुलेक ट्रान्जिट सम्झौता भएको छ, त्यो आफैंमा हेपाहा प्रवृत्तिको उत्कट नमूना हो। स्वामित्ववाला देशलाई बाहिर राखेर जसरी मनखुसी गरिएको छ, त्यो खेदजनक छ।
सदियौंदेखि देशको भू-भाग बचाउन सीमामा नेपालीले भारतीय सुरक्षा दस्तासँग भिडिरहनुपर्ने बाध्यता छ। राति सुत्दा नेपालमै सुतेका हाम्रा नेपाली बिहान उठ्दा अर्कै देशको भूमिमा आफ्नो देशको अस्तित्व खोज्नुपर्ने बाध्यताको मुक्ति कहिले होला, यक्ष प्रश्नले चारैतिर घोचिरहेको छ।
यतिबेला सामाजिक सञ्जाल तातिरहेको छ। नेपाली आफ्नो मिचिएको र मिचिन लागेका भू-भागको फिर्ता र हेपाहा प्रवृतिको विरूद्धमा आवाज बोलिरहेका छन्।
सर्जकहरू आफ्नो सिर्जनामार्फत् देशको भूमि बचाउन अब जाग्नैपर्ने बेला आएको भन्दै सबै नेपालीलाई जागरुक बनाइरहेका छन्। सीमामा समेत सर्वसाधारण र विद्यार्थीले नेपालको रातो चन्द्र सूर्य अंकित झण्डा फहराउँदै देशको भौगलिक अतिक्रमणको विरोध गरिरहेका छन्।
सीमामा पिल्लर मात्रै हल्लिएका छैनन् तमाम नेपालीका मन छिमेकीको व्यवहारले दुखित छन्।
सरकारका विभिन्न संयन्त्रले यस बीचमा पक्कै सीमा समस्या सुल्झाउन कूटनीतिक रूपमा प्रयत्नै गरेको नै देखिन्छ तर त्यसले अपेक्षित नतिजा दिन सकेको देखिँदैन किनकी छिमेकीको स्वार्थी आँखा हाम्रो प्रिय भूमिमा गढेको छ।
जसरी पनि नेपाली भूभाग कब्जा गर्ने रणनीतिले संवादको प्रक्रिया धिमे गतिमा समेत अघि बढ्न सकेको छैन।
ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा कूटनीतिक तवरबाट समस्या समाधान गरिने भनिए पनि यो ढिलो भैसकेको छ।
सीमाका नेपाली लालपुर्जाका मात्रै हिस्सेदार बनेर मात्रै बस्नुपर्ने नियति पक्कै राम्रो होइन। यसमा समाधानको विन्दु पहिल्याउनै पर्छ।
सधैंभरि हामी नेपाली सीमाकै विषयमा अल्झिएर देशको महत्वपूर्ण समय गुजारिरहेका छौं। आर्थिक विकास र समृद्धिको आफ्नै लक्ष्य अनवरत पछ्याउनुपर्ने समयमा ध्यान अन्तै मोडिन पुगेको छ जसले गर्दा सुध्रिँदै गएको आर्थिक लयको बाटो बिग्रने देखिन्छ भने अर्कोतर्फ बामे सरिरहेको संघीयताको समेत हिँडाइ अस्थिर बन्ने देखिन्छ।
देशका यतिधेरै जनता, मिडियाले चासो राख्दैं भूभाग मिचिएको विषय उठान गरिरहँदा सम्बन्धित पक्षले यस विषयलाई तदारूकताका साथ औपचारिक रूपमा सम्बोधनको प्रक्रिया नथालेको पो हो कि भन्ने आभास भएको छ। यसले झन् सर्वत्र चिन्ता र चासो समानान्तर भएको छ।
हाम्रो देशका पूर्वज वीर पूर्खाले सीमित फौजी शक्तिमा रातदिन नभनी, भोकप्यासको प्रवाह नगरी, छातीमा ताता गोलीका चाप/ताप सहेर आफ्नो कायम राखेको भू-भागलाई अहिलेको विकसित फरक परिवेशमा पनि कायम राख्न चुक्नु वा समाधानको बाटो नभेट्नु वीर नेपाली पूर्खाको अपमानको संकेत त होइन ? प्रश्न यसरी पनि सोझिएको छ।
लडेरै गुमेको भू-भाग आफ्नो बनाउने विकल्प छुट्टै छलफलको विषय बन्ला तर नेपाली भूभागमा कुदृष्टि लगाउने सम्बन्धित पक्षलाई पूर्खाले कोरिदिएको वीरताको गाथा कम्तीमा स्मरण गराउन सक्ने ल्याकत भने अवश्य राख्नैपर्छ।