झिसमिसेमा पूर्वपश्चिम राजमार्गमा एउटा ट्रक विस्तारै आइरहेको थियो।
चराचुरुंगी चिरविर गर्न थाल्दा मेरो पनि दिन सुरू हुन्छ। अनि रेडियोमा समाचार भन्न म स्कुटी लिएर निस्किन्छु। बिहानमा घटनाहरू तीव्र हुन्नन्, समाचार पनि!
त्यो ट्रकले भने मेरा लागि समाचार लिएर आएको थियो जसलाई मैले कहिल्यै लेखिनँ।
अचानक ट्रकको बायाँतर्फको ढोका खुल्यो। खुलेको ढोकाबाट ड्राइभरले एक महिलालाई बाहिर धकेल्न खोजिरहेका थिए। महिला हुत्तिनबाट जोगिन्।
यो दृष्य मेरो आँखैअघि एक्कासी परेको थियो। मैले आफ्नो गति घटाएँ। ट्रकको पनि गति कम भइरहेको थियो।
म ट्रकको अझ नजिकै पुग्दासम्म ती महिला ट्रकबाट पछारिइन्।
ढोका ढ्याम्म लाग्यो र ट्रक हुँइकियो।
म आफैं अतालिएँ। दिनहुँ बलात्कारका घटनाका समाचार पढिरहेकी हुन्छु।
यी युवती पनि त्यस्तै घटनाको सिकार त होइनन्?
डराउँदै उनको नजिक गएँ।
भुइँबाट उनी सिधै उठिन् मानौं उनी यसरी पछारिएर उठ्न बानी परेकी छन्।
मलाई भने सास आयो, धन्न केही भएको रहेनछ।
उसको अनुहारभरि चोट थियो। शरीरमा लगाएका कपडा च्यातिएका थिए। त्यो ट्रकमा भएका मानिसले युवतीको बलात्कार गरेको मेरो अनुमान पक्का हो कि क्या हो? भन्ने सम्झेरै मेरो मुटुको चाल बढ्यो।
'के भएको बैनी?ट्रकमा को थियो?तिमीलाई के गर्यो र?’ मैले एकै सासमा धेरै प्रश्न सोधेँ।
तर उनले कुनै प्रश्नको जवाफ दिइनन्।
मेरो अनुहारमा हेरिरहिन्।
अनि भनिन् 'दिदी मेरो बच्चा एक्लै सुतिरहेको थियो। यस्सो ढल्क्यो भने ऊ खाटबाट लड्ने छ। त्यो भन्दा पहिले मलाई घर पुराइदिनुस् न।'
यत्तिकैमा इटहरीबाट इनरूवा जाने जाने माइक्रो आयो। उसले स्पिड कम गरे पनि रोक्ने छाँटकाँट नै देखाएन। मैले रोक्न हात दिएँ तर रोकिएन। उल्टै सहचालकले चर्को स्वरमा भन्यो 'यिनीहरू यस्तै हुन् दिदी, यस्ताको पछि लाग्नु हुन्न उल्टै फसिन्छ।'
उसको कुरा सुनेर उदेक लाग्यो। ऊ अर्काको त्यसमाथि महिलाको कुरा नसुन्ने हाम्रो समाजमा हुर्किएको मानिस हो भनेर आफूलाई सम्झाएँ। मलाई उसको कुरामा ध्यान दिने समय थिएन।
मैले युवतीलाई भनेँ 'म डेरामा पुराइदिउँला तपाईं पनि आफूलाई भएको भन्नुपर्छ।'
उनले ‘हुन्छ’ भनिन्।
'मलाई ट्रकबाट फाल्ने मेरो लोग्ने हो,’ उनले मेरो स्कुटीमा चढ्नै लाग्दा भनिन्, 'मेरो एउटा बच्चा छ। ऊ लड्छ कि क्या हो। बरू छिट्टै जाऊ है?’
आफू पनि आमा भएकोले बच्चाको कुरा गरेपछि मेरो मन पग्लिहाल्यो। नचिनेकी मानिस भएकाले उनलाई आफ्नो स्कुटीमा बसाउन डर लागिरहेको थियो।
तर मायाले जित्यो।
उसले भनेको दिशातर्फ स्कुटी दौडाएँ लगभग १० मिनेटमा उनको डेरा पुग्यौं।
स्कुटी रोकिने बित्तिक्कै उनी फुत्त झरी। हस्याङ फस्याङ गर्दै गएर ढोको खोलिन्। नभन्दै उनैले भने जस्तै ६ महिनाको सानो बच्चा कोल्टे फर्किन नसकेर भुइँमा छटपटाइ रहेको थियो।
उसले छोरोलाई काखमा लिएर छातीमा टाँसी, म्वाइ खाई। अनि उनको आँखाबाट बढेबढे आँसु झरे।
'तपाईंलाई नभेटेको भए फेरि यो छोरोसँग भेट हुँदैन थियो,' उसले भनि, 'पापीले मलाई झण्डै मारेको,ट्रकबाटै फाल्यो।'
कोठामा सर सामान असरल्ल परेका थिए।
'दुई वर्ष भयो हाम्रो बिहे भएको,' उनले आफ्नो कथा भन्न थालिन्।
सुरूसुरूमा उनीहरू सँगै बस्ने रहेछन्। कोठामा निकै दिन बसेपछि उनले आफ्ना पतिलाई घर लैजान भनिछन्।
'जब मैले उसलाई घर लैजा भन्न थालेँ,' उनको आँखा भरिए, ' अनि पो मलाई थाहा भयो म उसकी दोस्री पत्नी रहिछु।'
जब उनको पेटमा बच्चा आयो पति विस्तारै टाढा भए। कोठामा पनि पहिले दिनबिराइ आउने अनि फेरि धेरै समयपछि आउने। विस्तारै रिसाउन थाले। रिसाएपछि हात उठाउन। अनि उनलाई मनपरि गर्न थाले।
'ऊ पनि कहिलेकाहीँ आउथ्यो। आएको बेला ममाथि मनपरि गर्थ्यो। यो बच्चाको पीरले मैले घर लैजाउ भनेर दबाब दिन थालें,' उनले भनिन्, 'तिमीलाई घर लगे कानुन लाग्छ तिमी पनि जेल जानुपर्छ भनेर धम्क्याउँथ्यो। त्यति गर्दा पनि नमाने रिसाउने र पिट्ने।'
त्यो दिन पनि ऊ धेरै समयपछि आएको रहेछन्। छोडेर नजानु भन्दा कुटेछन्। उनको आँखामा निला धब्बा थिए। त्यही पनि उनी भन्दै थिइन्- यो त सामान्य घाउ हो।
'यो छोरो ९ महिनाको पेटमा हुँदा उसले मलाई पोखरीमा हुत्याएको थियो। धन्नले बाँचें,' उनले भनिन्,'भाग्य नै यस्तै रै’छ भनेर म धेरै समय चुप लागेकी थिएँ। हिजो फेरि छोराको भविष्य सम्झेर घर लैजान भनेकी।'
पतिले दिएको दुख सुनाउने उनको कहीँ ठाउँ छैन। उनले भागी बिहे गरेकाले बुवाआमा रिसाएका रै’छन्। न्याय माग्दै गए उल्टै पुलिसले बहुविवाहमा जेल हाल्ला भन्ने पीर।
त्यो बिहान जब उनले अलिक जबरजस्ती नै गरेकी रहिछन्।
'आज बिहान त घर लग्नु पर्छ नत्र कोशीमा हाम फालेर मर्छु भन्दै उसको ट्रकमा चढेकी थिएँ,' उनले भनिन्, 'त्यही झोंकमा मैले छोरालाई बिर्सिएछु। भुइँमा पछारिएसी बल्ल सम्झेँ।'
उनको छोरा भने यतिखेर उनको काखमा खेल्दै हाँसिरहेको थियो।
'यस्तो हिंसा सहेर त बस्न हुन्न,' मैले भनेँ, 'प्रहरीमा उजुरी देऊ।'
उनी केहीबेर टोलाइन्।
'अहिल्यै त जान्नँ। अर्कोअर्को पटक पनि यस्तै गरे जान्छु। त्यो बेला तपाईंलाई पनि भनुँला,' यति भन्दै उनले मेरो नम्बर मागिन्।
मैले उनलाई फेरि यस्तो कुरा सहनु नहुने भनेर सम्झाएँ।
र फर्किएँ।
उनको फोन पछि कहिल्यै आएन। अलिक दिनपछि म आफैंले फोन गरेँ। फोन लागेन। तर मेरो मन भने उनको अवस्था सम्झेर छटपटी रह्यो।
धेरै समयपछि म उनको घर खोज्दै गएँ। उनैले पहिले मलाई देखेर बोलाइन्।
'ओहो दिदी तपाईं त हराउनु पो भयो,' यति भनेर उनले भित्र आउन इशारा गरिन्।
उनको कोठा पहिलेजस्तो भद्रगोल थिएन। सरसामानले भरिएको। चिटिक्क पारेर सजाएकी।
'के छ त खबर?' मैले सोधेँ। आधाउधि त उसलाई देखेरै मलाई थाहा भएको थियो। किन भने उसको अनुहारमा कुनै चोटको छाप थिएन। दुख पनि थिएन।
उनले सबभन्दा पहिले मैले छोडेर गएपछिकै कहानी सुनाइ।
हप्ता दिनपछि उसको लोग्ने कोठामा आएको रहेछ। उनले आफू कसरी बाँचे भनेर सुनाइछन्।
'तिमीले मलाई साह्रै हेला गर्यौ। पत्रकार दिदीले मलाई बचाउनु भयो। मेरो सबै कुरा बुझेर जानुभएको छ,' उनले भनिछन्, 'तिमीले मलाई ट्रकबाट फ्यालेको देख्ने दिदी हुनुहुन्छ। म अब प्रहरीकोमा जान्छु।'
उनको घुर्कीपछि बल्ल पति डराएछन्।
'म अब तिमीलाई केही गर्दिनँ पुलिसमा नजाऊ,' उसले भनेछ।
त्यसपछि उनलाई र छोरालाई माया गर्ने, खर्चदिने र घर पनि लग्ने बचन दिएछ। फकाइफुल्याई मेरो नम्बर डिलिट गर्न लागाएछ।
त्यसपछि आजका दिनसम्म उसले कुटेको छैन रे। माया पनि गर्छ रे।
ज्यादतीविरूद्ध आफैं बोल्नुको बल उसले प्राप्त गरेको देखेर म खुसी भएँ। थाहा छैन उसको त्यो बल अब सधैं रहन्छ रहन्न।
तर महिलाहरू बोलेको दिन पुरूषको हैकम सकिन्छ भन्ने कुरा मैले पनि आफ्नै आँखा अघि देखेँ/राम्ररी बुझेँ। कति कमजोर अहममाथि उभिएर यो समाजको पितृसत्ताले महिलालाई दबाइरहेको छ। र महिलाहरू आफूभित्रको कति ठूलो बल अनुभूति नगरी जिन्दगी फाल्छन् भन्ने सम्झेरै मलाई उदेक लाग्छ।
भलै घुर्की होस्, उनले आफ्नो पतिको ज्यादतिविरूद्ध बोलेकी थिइन्।
पति सुध्रिउन्जेल पत्रकार र पुलिसको सहारा नलिने कसम उसले खाएकी रहिछ। त्यसैले मैले यो कथामा उसको नाम लेखिनँ।
थाहा छैन उसको शर्तले सम्बन्ध कहिलेसम्म धान्छ।
जहिलेसम्म धाने पनि हिंसाभन्दा त त्यो सर्त सही, सर्तभन्दा न्याय!