म सानी छँदा।
आकाशमा झिमिकझिमिक बत्ती बाल्दै रातिमा सानो तारा परसम्म पुगेको देख्थें। आँखाले भ्याएसम्म घाँटी तानीतानी म त्यो तारा हेरिबस्थें। लाग्थ्यो- सबै तारा एउटै ठाउँमा बस्छन् तर एउटामात्र किन हिँड्छ?
त्यो एउटा तारा प्राय: हरेक रात पूर्वबाट पश्चिमतिर जाने गर्थ्यो।
दिनदिनै मैले घाँटी तानेर हेरेको देखेर एकदिन बुवाले सोध्नुभयो- तिमीलाई थाहा छ, त्यो के हो? मैले सजिलै भनें- तारा।
बुवाले त्यो तारा होइन प्लेन हो भन्नुभयो।
म अचम्ममा परें।
‘प्लेन त एकदमै ठूलो हुन्छ रे नि सरले भन्नुभएको। यो त सानो छ बुवा।’
बुवाले भन्नुभयो- धेरै माथि छ त्यै भएर सानो देखेको। नजिकबाट हेर्यो भने धेरै ठूलो हुन्छ।
‘झिमिकझिमिक बत्ती बाल्ने प्लेन कस्तो हुन्छ बुवा?’
‘त्यसमा त दुई सय जना मान्छे बस्न मिल्छ। प्लेनमै खान दिन्छ र ट्वाइलेट पनि त्यहीँ हुन्छ,’ बुवाले भन्नुभयो।
‘हामी पनि जाम न बुवा यसमा,’ मैले माग राखें।
‘प्लेन त ठूलो भएसी चढ्ने हो। धेरै पैसा लाग्छ नि।’
मेरो दिमागमा सयौं प्रश्न आए: म कहिले ठूलो हुन्छु?, मसँग कहिले होला झिम्झिमे प्लेन चढ्ने पैसा?, त्यति सानो प्लेन मा कसरी अटाउँछन् होला दुई सय मान्छे?, दिनदिनै कता जान्छ होला त्यो झिम्झिमे प्लेन?
आफैंले उत्तर दिएँ- पाल्पातिर जान्छ होला।
अहिले म ठूली भएँ।
ठूलो हुँदाहुँदै सानी हुँदा मनमा खेलेका कैयौं प्रश्नको जवाफ उमेरले दिँदै गयो।
लाग्थ्यो- प्लेन चढ्ने मान्छे एकदमै राम्रा, धनी, खुसी र हाइक्लासका हुन्छन।
वास्तविकता त्यस्तो होइन रैछ।
गएको बुधबार राति म दादालाई छोड्न पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएँ।
प्लेन चढ्न जाने मान्छेको लामो लाइन थियो।
त्यो लामो लाइनमा मैले कतै खुसी भेटिनँ, भेटें त केवल आँशु र रून्चे आवाज।
मैले बच्चा बेलामा सोच्नेजस्तै खुसी, धनी, राम्रा मान्छे छन् कि भनेर यताउति हेरें।
झन्डै २ घन्टासम्म दु:खी, निन्याउरो अनुहार लगाएका, पैसा भएर पनि गरीब भएका मान्छेमात्र देखें।
दादा सामान लिएर भित्र जानुभयो।
सिसाबाट देख्छु कि भनेर ४५ मिनेट त सिसासँगै टाँसिएर उभिएँ। अलिकति यताउता चले अर्को मान्छे मेरो ठाउँमा आइदेला र दादालाई हेर्न नपाउँला भन्ने कत्रो पीर!
उभिएर मैले दादालाई त देखिनँ तर आँशु बगाइरहेका दिदीहरू, आमाबुवाहरू र हात हल्लाइरहा साना केटाकेटी देखें।
मेरो छेउमै एकजना आन्टी उभिनुभएको थियो।
मलाई सोध्नुभयो-नानी, विदेश नजाने?
दुई घन्टाअघि मात्रै कसैले मलाई सोधेको भए म दंग परेर भन्थें-जाने।
अबदेखि कसैले विदेश नजाने?भनेर सोधे मेरो उत्तर एकै हुनेछ- काम गर्न विदेश नजाने।
उभिँदाउभिँदै सानो छँदा देखेको झिम्झिमे प्लेन चढ्ने मेरो चाहना हराएर गयो- त्यो प्लेन जतासुकै जाओस्, त्यसमा जस्तासुकै मान्छे जाऊन् तर मचाहिँ नजाने।
छेउमा उभिएकी आन्टीले मैले नाइँ भनेको त सुन्नुभयो तर नजाने भनेपछिको मेरो मनको आवाज सुन्नुभएन।
आन्टीकै ‘बाईबाई’ शब्दले म झल्याँस्स भएँ।
आन्टीले सिसाअगाडि उभिएर हेर्दै गरेको मान्छे सिसामै आइपुगिछन्।
मेरा आँखा नि सिसाअगाडि हल्लिराखेका हातमा पुगे।
एकजना बहिनी माला र खादा निकाल्दै थिइन्। छेउमै उभिएको प्रहरीले माला लगाएर भित्रसम्म जान दिएन होला सायद।
हेर्दा उनी १८-१९ वर्षकीजस्ति देखिन्थिन्।
विदेश गएर ती बहिनी खुसी होलिन् कि दु:खी थाहा छैन तर मेरो छेउमा उभिएकी ती आन्टी भने पक्कै खुसी थिइनन्।
माला फुकाल्ने बहिनी मेरो छेउमा उभिने आन्टीकी छोरी रैछन्।
आन्टीसँगै एकजना अधवैंशे पुरूष पनि थिए।
तिनले भने- ल, अब गई छोरी। हामी नि जाम राति भयो।
आन्टीले जवाफ फर्काइन्- पर्खिनु न, आँखाले देख्दासम्म हेर्छु छोरीलाई।
आँखाले देखेसम्म छोरी हेरिसकेपछि लाइनमा लस्करै गुडिरहेको सामान पनि धमिलोसँग देखिएको सिसाबाट हेर्दै आन्टीले भनिन्- सामान भए नि हेरम् न, देखिन्छ कि?
अर्को साइडबाट आवाज आएको सुनें- ऊ… बाबालाई बाई भन, बाई भन।
श्रीमानलाई छोड्न चार जना बच्चा लिएर आमा र अर्को कोही एकजना मान्छे आएका रहेछन्।
बच्चाको बाबालाई पनि त्यसैगरी लगाएको माला खोल्न लगाको सिसाबाट देखें ।
बच्चाहरूले सिसा बाहिरबाट ‘बाई बाबा, बाई बाबा’ भने।
सायद ती बच्चाहरू मैले सानोमा सोचेजस्तै बाबा झिम्झिमे प्लेन चढ्न पाउनुभयो भनेर खुसी भएका होलान्, तर आमा भने धेरैबेर सुक्सुकाइरहिन्।
४५ मिनटसम्म सिसाभित्र र बाहिर धेरै दृश्य देखें तर दादालाई देखिनँ।
भाउजु भित्रसम्म पुर्याउन जानुभएको थियो।
उहाँ आउँदासम्म कुर्नु पर्ने थियो मैले। उभिँदाउभिँदा खुट्टा दुखे।
अलि अगाडि ए२ टर्मिनल लेखेको ठाउँ नजिक बस्न गएँ।
चिसोमा थच्च के बसेकी थिएँ बुढा बाजे जोडजोडले रोइरहेको देखें। उहाँलाई देखेर मेरो शरीरमात्र होइन मन पनि चिसो भयो।
लाग्थ्यो- केटामान्छे कहिल्यै रूँदैनन् तर होइन रहेछ केटा मान्छे नि ठूल्ठूलो स्वरले रूने रहेछन्।
ती बाजेका छोरा विदेश जान लागेको रहेछन्।
‘मर्ने बेला भइसक्यो छोरा को मुख अब हेर्न पाइएला नपाइएला’ भन्दै बाजे रूनुभयो। छोराको मन पनि के थामिन्थ्यो र!
झिम्झिमे प्लेन टाढाबाट हेर्दामात्र राम्रो र खुसी रहेछ। नजिकै गएपछि त्यसको यथार्थले पीडा दिँदो रैछ।
आँखाभरि आँशु बोकेर भाउजु आइपुग्नु भयो। ‘भाउजु रूनु भएको?’ मैले सोधें।
‘होइन चिसोले गर्दा आँशु झरेछ’ भन्नुभयो।
झुठो बोल्नुभयो भन्ने त थाहा पाएँ तर दोष मैले पनि काठमाडौको चिसोलाई नै दिएँ।
मेरी भाउजुलाईजस्तै हरेक दिन विमानस्थलमा सयौं आमाबुवा, दिदीबहिनीहरूका आँखाबाट काठमाडौंको चिसोले आँशु आउँछ। साँच्चै कति चिऽऽऽसो छ है यो काठमाडौं!