नेपाली समाजमा पति जीवनसाथी र सहयात्री हुन् नभनेर पति त परमेश्वरका रूप हुन् भनेर सानैदेखि सिकाइन्छ। त्यसैको फाइदा उठाएर अनेकौं पतिहरूले आफ्ना पत्नीलाई दोस्रो दर्जाको जस्तो व्यवहार गर्दै उनीहरूमाथि मानसिक र शारीरिक हिंसा गर्छन्।
धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक कारणले गर्दा नारीहरू पतिले जस्तोसुकै हिंसा गर्दा पनि सहेर बस्छन् र प्रतिकारमा उत्रने साहस गर्दैनन्।
हुन त नारी हक र समानताको दिशामा पहिलेभन्दा धेरै प्रगति भएको छ तर अझै पनि पतिलाई ‘परमेश्वर’ मान्ने र पुरुषको हिंसालाई लाज, डर र इज्जतको कारणले नारीहरू आफैंले लुकाउने नारीहरूको जमात निकै ठूलो छ। त्यही परम्पराले गर्दा आफैंले दु:ख झेल्नु परिरहेको छ र पुरुष हिंसा सहने नारीहरू स्वयंले पनि यसलाई बढावा दिइरहेकाछन्।
नारीहरू आफैंमा कमजोर होइनन्, उनीहरूलाई त हाम्रो समाजमा बच्चैदेखि नै कमजोर हुन सिकाइएको मात्रै हो। तर जब अन्यायले सीमा नाघ्छ र पुरुषले दानवीय रूप धारण गरेर नारीलाई शोषण गर्न थाल्छन्, नारीहरूले पनि सधैं नै सहेर बस्नु पर्छ भन्ने छैन।
दानवीय पुरुषको अत्याचार अन्त्य गर्न नारीले पनि दुर्गाको रूप धारण गरेर पति ‘परमेश्वर’ हैनन् र गलत काम गरेमा उनी पनि सजायको भागिदार छन् भनेर आफ्नो शक्ति देखाउनै पर्छ।
केही वर्ष पहिलेको कुरा हो, त्यस्तै दानवीय रूप धारण गरेर दिनदिनै आफूलाई भौतिक रूपमै आक्रमण गर्ने र आफ्नो आचरणमाथि प्रश्न उठाउने पतिलाई अघिपछि सती साबित्री जस्ती देखिने एक महिलाले आफ्नो पतिलाई पाठ सिकाएर उनलाई सही बाटोमा ल्याएको घटना सम्पूर्ण नारीहरूको लागि नै प्रेरणादायी छ।
उनले स्कुल पढ्दा पढ्दै कलिलै उमेरमा भागेर गाउँ नजिकैको अर्को गाउँको केटासँग प्रेम विवाह गरेकी थिइन्।
सुरू सुरूमा उनीहरूको दिनचर्या राम्रैसँग चलिरहेको थियो, दुवैमा एकअर्कामा माया प्रेम पनि छल्किएकै देखिन्थ्यो। तर समय सधैं एकैनासको हुँदो रहेनछ, उनको लोग्ने खराब साथीहरूको संगतले गर्दा कुलतमा फस्दै गएको थियो।
आर्थिक अवस्था सबल थिएन, काम गरेर खानु पर्थ्यो। तै भाग्यलाई दोष दिँदै जेनतेन आफ्नो गुजारा चलाएकी थिइन्। लोग्नेको हालत झन् पछि झन् खराब हुँदै गएपछि पूरै परिवार उनको मात्रै कमाइमा बाँच्न बाध्य थियो। लोग्नेको रक्सीको पैसा पनि उनले कमाइदिनु पर्ने भएको थियो।
उनको लोग्ने कहिले हल्लिँदै मध्य रातमा घर आउने त कहिले घरै नआउने गर्न थालेका थिए। लोग्नेलाई त्यो लतबाट छुटाउन उनले हरेक प्रयास गर्दा पनि कुनै उपाय लागेको थिएन।
‘रक्सी नखाऊ’ भन्दा उल्टै उनलाई ‘तेरो माइतीबाट ल्याएको दाइजो खा छु र? भन्ने गर्थ्यो। रक्सी खाने पैसा नदिँदा पिट्दो पनि रहेछ।
परिवारको अनुमति विना ‘लफंगा’ केटोसँग बिहे गरेको कारणले उनको लागि माइतीको ढोका पनि बन्द भएको थियो।
उनको दुःखमा उनीप्रति सहानुभूति देखाउनेभन्दा उनको दुःख देखेर रमाउँदै खुच्चिङ भन्नेहरू धेरै थिए। त्यसैले उनको लागि दुःख पोख्ने ठाउँ भनेको म मात्रै थिएँ।
सधैं झैं एक दिन उनको लोग्नेलाई रक्सी खाने पैसा चाहिएछ। उनले दिन इन्कार गर्दा लोग्नेले पिट्न थालेछ अनि भागेर रुँदै म कहाँ आइपुगिन्।
मैले के भो भनेर सोध्दै थिएँ उनी भक्कानिदै रुन थालिन्, उनका हातका डामहरूले वास्तविकता देखाइरहेको थियो। उनको त्यो अवस्था देखेर मलाई पनि उनको लोग्नेसँग निकै रिस उठ्यो।
रिसको झोंकमा मैले ‘उसले एक पटक हान्दा तिमीले दुई पटक हानिदेऊ न’ भनेर उनलाई सिकाएँ।
उनले त्यो बेला केही प्रतिक्रया दिइनन् खाली सुँक्क सुँक्क गरेर रोइनै रहिन्। त्यो दिन मैले सम्झाएर उनलाई घर पठाएँ।
केही दिन पछि मलाई पढाइको सिलसिलामा बाहिर जान पर्ने भयो। पढाइको व्यस्तताले गर्दा उनीसँग धेरै समय भेट हुन सकेको थिएन। भेट नभएको दुई वर्ष बितिसकेको थियो।
म एकदिन घर जाँदै थिएँ, घर पुग्नै लाग्दा बाटोमा उनीसँग भेट भयो। मैले हालखबर सोध्ने क्रममा उनको लोग्नेको बारेमा सोध्न मात्र के लागेकी थिएँ, उनले आफैं आफ्नो वृत्तान्त सुनाउन थालिन्।
उनको लोग्नेको ज्यादती झन् पछि झन् बढ्दै गएछ, सक्दासम्म उनले सहँदै गइन्। काम पनि नगर्ने, दिनभरि रक्सी धोक्ने अनि साँझ घर आएर उनलाई कुट्ने अनि मन लागेको बेला उनको शरीरमाथि निर्दयी रूपमा खेल्ने। दिन चर्या त्यसरी नै चलेको थियो। थाहै नपाई उनी एकदिन गर्भवती भइछिन्।
सधैं झै राति अबेरतिर रक्सीले मातेको उनको लोग्नेले भित्र पस्दा पस्दै उनीसँग पैसा माग्न थालेछ र उनले इन्कार गर्दै उसलाई आफू गर्भवती भएको ‘खुसीको कुरा’ सुनाइन्। तर त्यो कुरो लोग्नेको लागि खुसी हैन, उनलाई कुट्नको लागि अर्को बहाना भयो।
लोग्नेले ‘कोसँग लागेर पेट बोकिस्?’ भनेर उनलाई नै लठ्ठीले हिर्काउन लागेछ। सहनुको पनि सीमा हुँदो रहेछ।
त्यसमाथि चरित्रमाथि नै प्रश्न उठाएपछि त उनलाई असह्य भएछ अनि रिसको झोंकमा त्यही लठ्ठी खोसेर लोग्नेमाथि बजाइछिन्।
उनले भनिन्, ‘मलाई पनि थाहा भएन दिदी त्यो ताकत मलाई कहाँबाट आयो। सायद उसले ममाथि लगाएको लाञ्छाना सहन नसकेर आयो होला।’
रक्सीले मातेको उनको लोग्नेसँग प्रतिकार गर्ने शक्ति पनि भएनछ र चुपचाप उनको चुटाइ खाएछ। त्यो घटनापछि लोग्ने उनीसँग डराउने मात्र होइन, विस्तारै सुध्रदै पनि गएछ।
‘अहिले सबै ठीकै छ अनि छोरी पनि भएकी छ’ भनेर उनले भनेको सुन्दा म खित्का छोडेर हाँसे।
आफूले रिसको झोंकमा सिकाएको जुक्तिले थाहै नपाई काम गरेकोमा म खुसी पनि भएँ।
अचम्मको छ हाम्रो समाज- लोग्ने मान्छेले स्वास्नी कुट्दा चाहिँ मर्द कहलिने तर नारीले प्रतिकार गरी आफ्नो रक्षा गर्दा चाहिँ नारीको इज्जत जाने?
उनी जस्तै समाजको डर, लाज र इज्जतको परवाह नगरी बाटो बिराएका पतिलाई सही मार्गमा ल्याउनेहरू नै परिवर्तनका वास्तविक संवाहकहरू हुन्।
अझै पनि पतिलाई सहयात्री नमानी ‘परमेश्वर’ मानेर उनले गर्ने हरेक शोषणलाई आफ्नो भाग्यलाई दोष दिएर सहँदै उनलाई पूजा गर्ने कि न्यायको पक्षमा लड्ने सबै सचेत नारीहरूले सोच्नै पर्छ।