चाबहिलबाट धोविघाटसम्म पुग्नुपर्ने थियो। बस बिसौनीमा बसको पर्खाइमा थिएँ।
मध्यान्हको समय भए पनि चक्रपथमा चल्ने सार्वजनिक सवारी साधन प्राय: खचाखच भरिएका देखिन्थे।
टाढा पुग्नुपर्ने भएकोले केहीबेर कुरेर भए पनि सिटमा बसेर जानुपर्ला भन्ने सोचले त्यहीँ उभिएँ।
केहीबेरै महानगर यातायात लेखेको बस आयो र चढें।
त्यो बसमा पनि प्राय: सबै सिट यात्रीले भरिएका थिए। अन्तिमको लामो सिटमा १ सिट खाली भएको संकेत गर्यो खलासीले र म त्यतै बसें।
४,५ जना कलेजकै युनिफर्म लगाएका अन्दाजी १६-१७ वर्षका नानीहरू थिए। ११- १२ पढ्दै होलान् सायद।
उनीहरूको हाउभाउ र कुराकानीले मेरो ध्यान खिच्यो।
ओइ, भ्यालेन्टाइन नि आयो यार, के छ तिमीहरूको प्लान? एक जनाले कुरा सुरू गरिन्।
के हुनु यसपालि त तेरै होला नि चकाचक,नयाँ -नयाँ ब्वाइफ्रेन्ड बनाको है प्रतिउत्तरमा आँखा झिम्काउँछे अर्की।
‘ओइ, साँच्चै भन् न भन् के स्पेसल छ तेरो’ अनि सबैले हँ मा हँ मिलाउँछन्।
‘बिल्ला नगरन यार तिमीहरू, खोइ उसले केही त भनेको छैन अहिलेसम्म। केही प्लान भन्ला कि भनेर कुरिराछु आफूचाहिँ’,जवाफ फर्काउछे ऊ।
‘कि ऊ नि मेरो जस्तै …’ कुरा सुरू गर्छे अर्की।
‘ए,साँच्चि तेरो चाहिँ के भा रे ?’ खुल्दुली जगाउछे अर्की।
‘के हुनु नि लास्टै पढन्दास, संस्कारी’, मुख बिगार्छे ऊ।
‘यसो गर्नुहुँदैन, उसो गर्नुहुँदैन पढाइमा फोकस गरौं। पढाइ सकेपछि अरु कुरा गरौंला भनिरा... भन्या। उसले यसो डेटिङ जाउँ भन्नु त काँ हो काँ झन् आफैंले उसलाई भन्नुपर्ने तै पनि उल्टै उही डराइरा भन्या। कन्जुस नि लास्टै कन्जुस नि गोजीबाट सुकोपैसो निकाल्ने नि होइन। मेरो पालो तिमी जस्तो संस्कारी पढन्दास, चाहिया छैन भनेर छोड्दे मैल त। ऊ त छैन उही के ….. त्यो केटी... ऊ नि त त्यस्तै हो नि। सोझी न सोझी, पढन्दास आजकल उसैसँग हिँडिरा देख्छु।’
‘ए पढन्दासले आफूजस्तै भेटेछ हा...’सबैजना गलल हाँस्छन्।
‘अनि तँ तेरो भन न?’ अर्कीतर्फ सबैको प्रश्न सोझिन्छ।
‘तिमीहरूजस्तो राम्री काँ छु र म कसैले आँखा लाउनलाई! फेरि तिमीहरूको कुरा सुन्ने नि हुनुपर्यो नि १ जना त’ जवाफ फर्काउछे ऊ।
‘हेर्न उसले दिइरा फेरि अस्ति त्यो छैन उसले...साइड हानिरा हाम्ले था नपाजस्तो। भ्यालेन्टाइन सरप्राइज देको होला नि हाम्लाई कम्तीकी छेस् तँ...’
‘त्यस्तो केही होइन के अलि अलि पर्ला पर्ला जस्तो मात्र भा हो नि बरु तेरो भन्न के अस्ति झगडा पर्यो भन्या होइन कुरा मिल्यो त?’
‘काँ मिल्नु ह्या खाली किचकिच किचकिच झ्याउ मात्र लागेर आउँछ भन्या। इन्स्ट्रामा केटाको फोटोमा किन लाइक, हेन्डसम भनेर कमेन्ट गरेको रे’
‘अब साथीलाई कमेन्ट गर्न नि नपाउनु त? फेरि उसले नि अरु केटीको फोटोमा बबाल, दामी के -के भनेर गर्छ नि उसले गर्न हुने अनि मैले गर्दा चाहिँ किन टाउको दुखाइरा के त्यै भर म नाबोल्दया के त। पैसा त लास्टै खर्च गर्ने हो के केटोले बाइक नि दाम्मी छ। लास्टइयरको भ्यालेनटाइनमा कस्तो युनिक, दामी गिफ्ट देको आमामामा... त्यत्ति किचकिचे बानी मात्र हो के झूर त अरु त ठीकै छ नि त्यही भएर अलि दिन घुर्क्याएको मात्र हो नि।’
उनीहरूका यस्तै यस्तै कुराकानी चल्दै थिए ‘सामाखुशी ओर्लने अगाडि आउनुस् है। अलि छिटो गर्नुहोला फेरि ट्राफिकले रोक्न दिँदैन’ खलासी केटो चिच्यायो।
‘ला! बसुन्धरा ओर्लनुपर्ने गफको तालमा... रोक्नुस् रोक्नुस्...’सबैजना हतार हतार ओर्लिएर आफ्नै बाटो तताए।
बस आफ्नै गतिमा अगाडि बढिरहेको थियो। ठाउँ ठाउँमा यात्रु चढ्ने र ओर्लने क्रम जारी थियो। म पनि पछाडिको सिट छोडेर अलि अगाडिको सिटमा बसें।
संयोगबस मभन्दा अगाडिको सिटमा पनि अन्दाजी १८-१९ वर्षका २ जना केटा आफ्नै कुराकानीमा व्यस्त रहेछन्। ‘फलानोले लास्टै टेन्सन दियो यार! हेर न भर्खर केटी पट्याउनलाको १ दिनलाई बाइक चाहियो भनेर रोला झैं गर्यो। साथी हो गरि खाओस् भनेर हेल्प गरेको त झन् ३ दिन भैसक्यो साथी नै गायब भैदिरा भन्या। आफू ह्याँ बसमा हिँड्न परिराछ। घरमा सुड्ड़ोले बाइक सोधेर हैरान पारिसक्यो। साथीहरू नि लास्टै झुर गर्छ यार। कोही भ्यालेनटाइन डेमा डेटिङ जानुपर्ने गोजीमा सुक्को छैन अलि अलि व्यवस्था गर्दे न रे। म कति न विल्गेट्स नै हो भन्ठान्छ केटाहरू’ गनगनाउँछ एकजना।
‘गाँठवालाको छोरा भएसी यस्तै हो नि, मसँग कसैले माग्दैन क्यारे’ अर्कोले थप्छ।
‘तँ धेरै नबोल त कम्ती कन्जुस छ मेरो बाउ,सुको -सुकोको हिसाब गरेर हैरान पार्छ यार। मम्मी सुड्डीलाई फकाएर ,घुर्क्याएर पैसा झार्न कम्ती टेन्सन हुन्छ आफूलाई केटाहरू कुरै बुझ्दैन!’
‘साँच्चि तेरो के प्लान छ त भ्यालेनटाइनमा’ आफ्नो साथीलाई प्रश्न गर्छ ऊ।
‘केही छैन प्लान मेरो त। खल्ती खाली भाकोलाई कसैले पत्याउने कुरा भएन क्यारे। फेरि यसो पार्कतिर जाउँ भनेको नि के सारो हो पुलिस पनि जोडी हिँडेको त देख्नै नहुने यस्तै-यस्तै कुरा चल्दै थिए उनीहरूका आफ्नो गन्तब्यस्थल आइपुगेकोले ओर्लिएँ म ।
बाटोमा हिँड्दै गर्दा बसभित्र सुनेका केटाकेटीका कुराहरू मेरो मन मष्तिकमा नाचिरहे।
बा- बाबा - ड्याडी हुँदै सुड्डो, आमा -सुड्डी अनि उनीहरूले प्रयोग गरेका शब्द, भाषा, बोल्ने संवाद, हाउभाउ अनि भ्यालेनटाइन डे प्रतिको बुझाइ,देखासिकी र आकर्षण...
के भ्यालेनटाइन डे भनेको यिनीहरूले भनेजस्तोगरि मनाउने दिन हो? यसरी नै मनाउनै पर्छ भन्ने कुरा यिनीहरूको दिमागमा कसरी पस्यो होला खोई?
यस्तै यस्तै कुरा सोच्दै गर्दा घर पनि पुगीसकिछु।
‘आहा! तेरो त प्लान नि बनिसकेछ। तेरो बुढा कति रोमान्टिक हो के। ए, ऊ ... उसलाई त झन् रमाइलो गर्न कसले जित्छ र पोहोर सालका फोटोहरू देखिनस कति अपलोड गरेकी थिई त। गिफ्ट नि कति राम्रो ल्यदिएका के उसका बुढाले। छान्न त जान्ने हुन् है। हेर्न मेरो बुढालाई भने मतलब नै छैन भन्या, सबैकुरा आफैंले सम्झाउनुपर्छ। श्रीमान् श्रीमतीमा माया, विश्वाश, समझदारी भए जिन्दगीभरि नै भ्यालेनटाइन डे बन्छ। १ दिने औपचारिकता किन चाहियो रे हेर न, कुरा सुन्दा नि झनक्क रिस उठ्छ। कस्तो केही मतलब नभाको बुढा परेछन् भने मेरा त, यसो रमाइलो गरूँ फेसबुकमा फोटो राखौं भने पनि कहिले मान्ने होइन,’ घरबेटी दिदीले साथीसँग गुनासो पोख्दै थिइन्।
भनेपछि यी दिदीलाई पनि भ्यालेनटाइन मनाएर फोटो अपलोड गर्ने रहर जागेछ आमाहरू नै यस्तो गरेपछि छोराछोरीले नसिकुन् पनि कसरी।
धन्न मेरा छोराछोरीलाई मतलब छैन यस्तो कुरा। नहोस् पनि है। हुन त मैले नि उनीहरूलाई त्यस्तो गर्ने वातावरण दिएको भए पो त। ढुक्क हुँदै घरभित्र छिर्छु।
‘ऊ मामु आएजस्तो छ, म मामुलाई भन्दिम –भन्दिम’
‘नाइँ ..नाइँ..चुप चुप चुप.. म तँलाई एउटा डेरीमिल्क किन्दिन्छु के ठूलो साइजको।’
‘नाईं मलाई त भेनेला आइसक्रिम नि चाहिन्छ।’
‘धेरै नकरा है पोक्ची, झन् चकलेट दिन्छु भानिराछु त।’
कोठाभित्र १० वर्षीय बहिनी र १७ वर्षीय दाजुबीच बार्गेनिङ पो चल्दै रै’छ।
‘ए म पोक्ची, अब त पक्का भिन्दिन्छु।’
‘मामु छनि, दाइले त भ्यालेनटाइन डेमा ... भन्ने केटीसाथीसँग खोई कहाँ पो हो घुम्न जाने रे अनि के , के गिफ्ट नि दिने रे भनेर उसलाई फोन गरेको सुनेको मैले, अनि छ नि हजुरको दराजको चाबी खोलेर खुसुक्क पैसा निकालेको नि देखेको।’
आफ्नै छोराछोरीको कोठाभित्रको झगडा सुनेपछि नराम्ररी झस्किएँ म। मनमनै सोचे लौन, कतै हाम्रो समाजमा यो भ्यालेनटाइन डे कोरोना भाइरसभन्दा नि खतरा हुने त हैन!