ऊ पात्र ! जो पटक पटक सरक्क सरक्क सर्किन्छ। मानौं छोप्न वा छुन खोज्दा सरक्क सर्किन्छन् कछुवा र शंखेकिरा। ऊ पात्र पनि घ्रसिँदै एकै ठाउँमा डल्लो पर्छन्।
अफसोच! ती ऊ पात्रहरू कछुवा र शंखेकिरा जस्तै भाग्यमानी हुँदैनन्। जो बच्न सकून् र आफूले आफैंलाई बचाउन सकून्।
यी भाव विक्षिप्त ऊ पात्रहरूलाई यहाँ सम्बोधन गर्दैगर्दा म पनि भावविह्वल भएकी छु। यो मुटुको खास तौल त मलाई थाहा भएन, तर ढुंगा जस्तै भारी भएको छ। गहभरी सुनामी अड्किए जस्तै। कारण ऊ पात्रहरूलाई मैलै नजिकबाट नियालेकी छु। महशुस गरेकी छु, भागेकी छु। किनकि म पनि जीवन भोगाइको एक पात्र हुँ, जसको नाम हो म पात्र।
म खोज्दैछु त्यो शब्द। जुन शब्दले सम्बोधन गर्न सकूँ ऊ पात्रहरूलाई, जो हरेक रात श्रीमानबाट चुटिन्छन्। ती पात्रका कपालका प्रत्येक त्यान्द्रा त्यान्द्रा लुछिन्छन्। रक्सीले मातेका आफ्नै श्रीमानबाट पीडादायी तरिकाले पटक पटक लुटिन्छन्।
म खोजिरहेकी छु, ती सम्बोधन गर्ने शब्द जो पात्रलाई छोरी हुनु नै सबभन्दा ठूलो सजाय हो। किनकि जबजब समाजलाई बुझ्ने उमेर हुन्छ तबतब समाजबाट बहिष्कृत हुन्छन्। फक्रँदै गरेको सुन्दर कोपिला फूलमा सबको नजर परे झैं त्यही पिसाचू गिद्धे नजर उनमा पर्छ।
आफन्त, छिमेकी, नातेदार यस्तैयस्तै फरक फरक नामका भाइरसहरू कहिले छोएर, कहिले हेरेर, कहिले जिस्क्याएर त कहिले निचोरेर थुक निल्ने गर्छन्। ती पात्र कहिले यी सबै जंगोलबाट उम्किहाले भने पनि बलात्कार र बलात्कारपछिको हत्या जस्तो शिकारले कोपिलामै चुँडिन्छन्। जीवन समाप्त हुन्छ। जीवन समाप्त त हुन्छ, तर पनि शान्ति पाउँदैनन्। मृत्युपछि पनि फरक फरक तरिका र चरित्रले उनीहरूलाई सम्बोधन गरिन्छ।
म सम्बोधन गर्न खोजिरहेकी छु, ती पात्रलाई तर शब्द भेटिरहेकी छैन। जसले घरको आँगन, माइतीको आँगन र दस किलोमिटर वरपरबाहेकको बाहिरी संसार देखेकै छैनन्। जति पीडित भए पनि समाजमा भएको ओहोदा र इज्जत बचाउने नाममा प्रहरी प्रशासनसम्म पुगेका छैनन्।
सन्तान त जन्माए तर सन्तानको अधिकार ऊ पात्रमा छैन। चालिस, पचास, साठी कति वर्ष भए, ऊ पात्रलाई आफ्नै उमेरको हेक्का छैन। गन्ती त छन्, किस्ता-किस्तामा पाएको चोटिला उपहारका। जो उसकै समाज र परिवारले दिएको छ।
ऊ पात्रको जन्म पनि यही, जीवन भोगाइका फरक चरण पनि यही। तर, अहिलेसम्म उसले नागरिकको हैसियत पाएको छैन्। किनकि उसको हातमा नागरिकता छैन। कसरी बुझोस् उसले संविधान र कानुन!
ऊ पात्र, जसले आफ्नो पहिचान पाउँदैनन्। माइती घरमा हुँदा बाबुको नामले चिनिन्छन्, बिहेपछि श्रीमानको। ऊ पात्रसँग आफ्नो घर पनि छैन। बनाउनेले पनि क्या गज्जबको उखान बनाएछ ‘छोरीको न त घर, हुन्छ न थर’।
मेरा मनमा प्रश्न आउँछन्। साँच्चै यी छोरीहरू बाँच्छन् र हाँस्छन् केका लागि?
अनि त म ऊ पात्रलाई सम्बोधन गर्ने शब्द खोज्दै छु।
सबै छोरी उत्तिकै भाग्यमानी हुँदैनन्, क्षमता र पढ्ने इच्छा हुँदाहुँदै छोरीमा लगानी गर्न डराइन्छ। किनकी ऊ अर्काको घरमा जाने जात रे! खै के जात हो उसको? छोरी हुनु नै अविश्वासको पात्र हुनु हो र?
कसरी सम्बोधन गरूँ ऊ पात्रलाई जो भोटमा पनि आफ्नो मर्जी र स्वविवेकले छाप लगाउन पाउँदैनन्। अवस्था र अपवादले जबरजस्ती भए बिरलै कुरा हो। ऊ पात्र घरको घरमूली भएको देखिँदैन। औंलामा गन्न सकिनेबाहेक हामी कल्पना पनि गर्दैनौं।
कुर्कुचा ढाक्ने गुन्यू लगाउँदा पनि लुटिने, मिनिस्कर्ट र जिन्स लगाउँदा, सारी, कुर्ता, सुरुवालमा पनि लुटिने, स्कुल जाँदा ड्रेसमै पनि लुटिने। लुगा त उसलाई नै निरीह देखाउन हेरिने हो। उमेरको नि के कुरा, ऊ दुधे बालकदेखि मृत्युवरण गर्ने उमेरसम्म लुटिन्छिन्।
डिग्रीको शैक्षिक प्रमाणपत्र पाएकाको पनि जीवन भोगाइको कथा एक कक्षा पनि नपढेकी आफ्नी आमाको भोगाइभन्दा कत्ति फरक छैन। पढे-लेखेकी भए पनि उसको नौलो व्यथा छैन। सहकर्मी वा हाकिमबाट लुटिएकै छन्।
म उसको भोगाइ कसरी सम्बोधन गरौं? ऊ पात्र, जो पढेलेखे पनि केही गर्ने अवसर र जिम्मेवारी पाउँदैनन्। पाइहाले विश्वास र उत्तिकै सम्मान पाउँदैनन्।
मानसिक रोगी, बिरामी वा अशक्त ऊ पात्र सहयोगी भनिनेहरू पनि सुरक्षित छैनन्।
यस्ता पात्रलाई कसरी सम्बोधन गरूँ?
समाजका लागि केही गर्छु भनी जागिरे झोला बोकी गाउँ गाउँमा हिँड्ने ऊ पात्र त्यहाँ पनि सुरक्षित छैनन्। कोरोनाबाट रोकथामका लागि नेपाल लकडाउनमा छ। लकडाउनमा सबै घरभित्र लुक्छन्। ऊ पात्र पनि सुरक्षित रहन घरभित्र लुक्छे। घरभित्रै पनि ऊ पटक पटक तर्सिन्छे, झस्किन्छे।
किनकी ऊ पात्र घरभित्रै पनि सुरक्षित छैन।
ऊ पात्रलाई कोटा र कोरम पुर्याउन कुनै पदमा राखिन्छन्। पद एकातिर जिम्मेवारी अर्कोतिर। जिम्मेवारी श्रीमान र सम्बन्धमा माझिन्छिन्। च्यानल एउटा चलाउने, रिमोट अर्कैको हातमा जस्तै गरी गाँसिन्छिन्। र अन्ततः जीवन भोगाइको दलदलमा आफैं भासिन्छन्।
मैले सम्बोधन गरेको फरक फरक ऊ पात्रहरूको फरक फरक कथा परिवेश र व्यथा छ। तर, सबैको पीडा एउटै हो। त्यही पीडाले फरक फरक ठाउँमा कोही चिच्याउँदै कोही कराउँदै छन्।
म भित्र पनि म पात्र छ। जो ऊ पात्र जस्तै पीडित छ। कमजोर छ। कहिले रुन्छ। कहिले आफैंलाई सराप्छ। त कहिले बेहोसी मै मुर्छित हुन्छ। तर म पात्र अलिकति फरक पनि छ- म पात्रले मलाई नै हिम्मत हारेका बेला सहारा दिन्छ। हौसला दिन्छ। अझै केही गर्नुपर्छ भन्ने आशा जगाइदिन्छ।
म पात्रले मलाई भनेको थियो, छोरी भएँ भनेर आफूले आफूलाई कमजोर र हरुवा किन बनाउँछौ? एक पटक सोच त, पासाङल्यामु शेर्पा, जो पटक पटक सगरमाथा आरोहणमा पराजित भएकी थिइ, हिम्मत हारिनन्। पटक पटक प्रयास गरिरहिन्। उनलाई नेपालमा पहिलो सगरमाथा आरोहीको रुपमा नाम लेखाउनु थियो। इतिहासमा नाम लेखाउनु थियो।
फ्लोरेन्स नाइटिंगेल जो सम्पन्न परीवारको भए पनि नर्सिङ पेशा अंगालिन्। त्यति खेर नर्सिङ पेशालाई नराम्रो रुपमा हेरिन्थ्यो। अझै पनि ‘छोरी बिग्रे नर्स’ भन्ने उखान हाम्रै समाजमा छ। आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स नाइटिंगेलको अटल संघर्षले आज उनलाई संसारमा दया र सेवाकी प्रतिमूर्ति अर्थात ‘द लेडी विद द ल्याम्प’ (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ। उनको यात्रा कम चुनौतीपूर्ण थिएन।
यस्तै मदर टेरेसा हजारौंकी आमा बन्नु पनि कम चुनौती थिएन।
उनीहरु छोरी भएर पनि इतिहासमा नाम लेखाउन र आफूलाई सफल बनाउन सफल भए। कहिल्यै हिम्मत हारेनन् र आफ्नो सपना पछाडि भागिरहे।
यी सफल र साहसी महिला पात्रजस्तै निरन्तर संघर्ष र साहस जुटाउनुपर्छ। समस्यादेखि भाग्ने र डराउने होइन, सामना गर्ने क्षमता जुटाउनुपर्छ। जबसम्म आफ्नो आवाज बुलन्द गरिँदैन तबसम्म समाजका फरक फरक नामका भाइरसले टोक्नेछन्। विभिन्न बहानाले बाटो रोक्नेछन्।
कसैले एक पटक तिमीलाई जमिनमा ढाल्छ भने तिमी जमिनमै बिलिन नहोऊ। उठेर जवाफ दिन सिक। जीवन आफ्नो, कथा पनि आफ्नो। त्यसैले तिमी आफैं लेख।