गत डिसेम्बरदेखि चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस संक्रमण हालसम्म संसारका एक सय ९० भन्दा बढी देशमा फैलिएको छ। संक्रमण दर दिनानुदिन बढ्दो छ। मंगलबारसम्म यसका संक्रमित चार लाख पुग्नै लागिसके।
चीन, अमेरिका लगायत विकसित देशका वैज्ञानिक यो भाइरस रोकथामका उपाय पत्ता लगाउन दिनरात खटेका समाचार सुन्न पाइन्छ। तर हालसम्म यसलाई मार्ने औषधि तथा भ्याक्सिन आविस्कार हुन सकेको छैन। यो भाइरको प्रभाव अझै कति लम्बिने हो, कसैले आकलन गर्न सकेको छैन।
चीन, युरोप, अमेरिका लगायत विकसित देश हुँदै यसको संक्रमण छिमेकी मुलुक भारतमा फैलिन थालिसक्यो। यसकारण नेपालमा यसको संक्रमण फैलिने सन्त्रास छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत नेपाललाई संक्रमणको उच्च जोखिम भएको देशमा राखेको छ। नेपालले पनि सोही बमोजिम पर्याप्त तयारी गर्नुको विकल्प छैन। यसबाट बच्न आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्छ।
कोरोना संक्रमणबाट बच्न हामीसँग आवश्यक मास्क, स्यानिटाइजर जस्ता न्यूनतम सुरक्षा सामग्री बजारमा अभाव छ। नेपालको आयातमुखी अर्थतन्त्र, न्यून आन्तरिक उत्पादन, कच्चा पदार्थमा परनिर्भरता र छिमेकी देशको संकटग्रस्त अवस्थाका कारणले हाल सहज उपलब्ध हुने अवस्था पनि छैन।
संक्रमण फैलिँदै गएको अवस्थामा यथेस्ट स्यानिटाइजर तथा सरसफाइ सामग्री (सर्फेस क्लिनर)को आवश्यकता देशभरी नै पर्छ। यो अस्पताल, घर, गाडी, कार्यालय, सार्वजनिक स्थल जताततै चाहिन्छ। चीनले संक्रमण बेला नियमित स्यानिटाइजर प्रयोग तथा यत्रतत्र 'डिसइन्फेक्टेन्ट' छर्केर नै रोग नियन्त्रणमा लिन सहज भएको हो।
हामीकहाँ अहिल्यै अभाव भएको अवस्थामा संक्रमण फैलिँदा के गर्ने? चिन्ताको विषय हो, र तत्कालै यसको बन्दोबस्त गर्नु पर्छ।
हुनत हाम्रा विभिन्न कम्पनी एवं संघसस्थाले केही मात्रामा स्यानिटाइजर बनाएर बजारमा उपलब्ध गराएका छन्। तर यसको गुणस्तरीयता र प्रभावकारिता के कस्तो भन्ने सुनिश्चितता महत्वपूर्ण हुन्छ। अन्यथा यसको प्रयोग प्रभावहीन हुन्छ।
डब्लुएचओले ह्यान्ड स्यानिटाइजर बनाउन आवश्यक सामग्रीको मात्रा प्रस्ट खुलाएर निर्देशिका जारी गरेको छ। जसअनुसार एउटा तरिकामा इथानोल ८० प्रतिशत, ग्लिसरोल १.४५ प्रतिशत, हाइड्रोजन पेरोअक्साइड ०.१२५ प्रतिशत र स्टेरीलाइज्ड पानी छ।
अर्को तरिकामा इथानोलको सट्टामा आइसोप्रोपाइल अल्कोहल ७५ प्रतिशत राख्न सकिन्छ।
यी दुवै फर्मुलामा अन्य केमिकल तथा रङ प्रयोग नगर्न सुझाइएको छ। यद्यपी आवश्यकता अनुसार प्राकृतिक सुगन्धित तेल र घ्यूकुमारीको रस लगायतका पदार्थ राखी थप गुणयुक्त बनाउन सकिने विभिन्न अध्ययनले देखाएको छ।
केही जडिबुटी तथा सुगन्धित तेलको एन्टिव्याक्टेरियल तथा एन्टिभाइरल गुण हुने भए पनि कोरोना संक्रमण पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने वैज्ञानिक पुष्टि हालसम्म छैन।
नेपालले हालको सम्भावित संकट अवस्था मध्यनजर गर्दा पूर्व तयारी गर्न ढिला गर्नु हुँदैन। स्यानिटाइजर कहाँबाट ल्याउने, कस्ले देला त? भन्दा पनि नेपालले आफैं बनाउने तयारी गर्नुपर्छ। यस्को उत्पादन प्रक्रिया सरल छ। तर प्रमुख विषय, यसका लागि आवश्यक पर्ने मुख्य रसायन अल्कोहल नेपालमा उपलब्ध छ कि छैन त भन्ने नै हो।
यस्तो राष्ट्रिय संकट बेला सहयोग गर्नु सबैको कर्तव्य हो। सरकारी, निजी तथा सरोकारवालाको सहकार्य एवं सर्वसाधारणको सहयोगमा मात्र यस्ता महामारी नियन्त्रण सम्भव छ।
स्यानिटाइजरको मुख्य तत्व इथानोल नेपालका चिनी मिल तथा डिस्टिलरीहरूमा स्टक हुन सक्द। एक–दई लाख लिटर इथानोल यी उद्योगका लागि सामान्य हो। नभए पनि उपलव्ध कच्चा पदार्थ (मोलासेस र ग्रेन्स) बाट उद्योगीले एक दुई दिनमा नै उत्पादन गर्न सक्छन्। यहाँका उद्योगको यथेष्ठ मात्रामा इथानोल उत्पादन गर्ने क्षमता छ। राज्यले अन्तशुल्क लगायतका प्राविधिक विषय सम्बोधन गरेर समन्वय गर्नुपर्छ। डिस्टिलेसन गर्दा करिब ९४ देखि ९६ प्रतिशतको इथानोल बन्छ जुन स्यानिटाइजर र डिसइन्फेक्टेन्ट बनाउन पर्याप्त गुणस्तरको हुन्छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले इथानोलको ७० प्रतिशत सोलुसनले कोरोना भाइरस निस्क्रिय पार्ने भएकाले विभिन्न स्थान सफा गर्नसमेत उपयुक्त हुने उल्लेख गरेको छ। साथै इन्भायरोमेन्ट प्रोटेक्सन एजेन्सीले अल्कोहल लगायत विभिन्न प्रकारका अन्य सर्फेस क्लिनर समेत कोरोनाविरूद्धका लागि सिफारिस गरेको छ।
स्यानिटाइजर बनाउन आवश्यक बाँकी रसायन धेरै मात्रामा नचाहिने भएकाले सोको प्राप्तिमा त्यति कठिनाइ पर्दैन। कच्चा पदार्थ सुनिश्चितता गरी स्वास्थ्य एवं उद्योग मन्त्रालयको सहकार्यमा कुनै सरकारी वा गैरसरकारी निकाय तथा कम्पनीलाई उत्पादन जिम्मा दिन ढिला गर्नु हुँदैन।
तत्काल करिब एक लाख लिटर मात्रामा उत्पादन गरी प्रयोगका लागि विभिन्न स्थानमा वितरण गर्न उपयुक्त हुन्छ। त्यसपछि आवश्यकता अनुसार थप उत्पादन गर्न सकिन्छ। गुणस्तरयुक्त स्यानिटाइजर उत्पादन भए या नभएको यकिन गरेर मात्र प्रयोग गर्नु पर्छ। यसका लागि नियामक निकायको भूमिका महत्वपूर्ण रहन्छ।
कोरोना संक्रमणबाट संसार नै संकटग्रस्त भएको अवस्थामा हामीले कत्ति पनि हेलचेक्र्याइँ गर्नु हुँदैन। साबुन पानीले नियमित हात धुने, भिडभाडबाट टाढा रहने, रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रकारका स्वस्थ खाना खाने एवं हातलाई मुख, नाक र आँखा नजिक नलैजाने संक्रमणबाट बच्ने उपाय हुन्।
साथै नेपालले आफ्नै कच्चा पदार्थबाट धेरै मात्रामा स्यानिटाइजर तथा सर्फेस क्लिनर बनाई प्रयोग गर्न सके आगामी दिनमा संक्रमण तथा कठिनाइसँग जुध्न थप मद्दत मिल्छ।
(लेखक प्राकृतिक सम्पदा अनुसन्धानशालाका वरिष्ठ अनुसन्धान अधिकृत हुन्)