चीनलाई उत्पत्तिस्थल बनाएर एकपछि अर्को गर्दै विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोनाले आतङ्कित जनसमुदाय यतिखेर निकै त्रसित र भयभित छ।
यो भाइरस मानव समाजमा व्यापक रूपले महामारीका फैलिँदै गरेका तथ्य र प्रमाणहरू नभएका होइनन्। तर यथार्थभन्दा टाढा रहेर केही निराशामूलक सन्देश पनि उत्तिकै मात्रामा भयावह रूपमा बाहिरिरहेका छन्।
यसै समयमा भाइरससँगै भाइरल हुनका लागि केही व्यक्ति अनावश्यक र अनर्गल तथा तथ्यहीन अभिव्यक्तिमार्फत् मिडियामा बाहिरिँदै गरेका दृश्य देखिन्छन्।
मान्छेलाई हतोत्साहित र निरूत्साहित बनाउने अनि त्यसैमा रमाउने खालका गलत व्यक्तिका कारण कोरोनाको सङ्क्रमणपूर्व नै मान्छे आधा रोगी बन्दै गएका छन्।
व्यक्तिको शारीरिक अवस्थामा उसको मानसिकताको ठूलो प्रभाव रहन्छ नै। कोरोनाको मृत्यु दर न्यून छ र पनि विभिन्न खालका अफवाहले यसलाई भयंकर र भयानक रूपमा प्रस्तुत गर्दै यसको संक्रमण नै मृत्यु हो भन्नेजस्ता कुराले निराशालाई अझ मलजल गर्न थालेको देखिन्छ।
हामी सजग र सचेत बन्नै पर्छ तर रोगको सङ्क्रमणपूर्व नै रोगी बनेर स्वस्थ मानसिकतालाई अस्वस्थ बनाउने काम नगरौं।
त्रस्त समाजलाई अझ आतङ्कित बनाउँदै आफ्नो सस्तो लोकप्रियताका लागि व्यस्त व्यक्ति झूटा विवरण पेस गरेर आफूलाई चर्चामा ल्याउन उद्यत देखिन्छन्। उनीहरूलाई धेरै जनाको बीचमा चिनिनु छ र देखिनु छ त्यसैले भ्रमको खेतीमा रमाउँदै गरेको एक खाले वर्ग कोरोनाभन्दा भयानक गतिमा सामाजिक सञ्जालमा सङ्क्रमित भइरहेछ।
यति जना सङ्क्रमित यतिको मृत्यु भन्दै आधारहीन समाचार बनाएर सामाजिक सञ्जालमा फैलाइरहँदा त्यसले पार्ने दूरगामी असरको बारेमा त्यस्ता व्यक्तिहरूलाई मतलब छैन।
तथ्यहीन अभिव्यक्ति फैलाउनु अपराधपूर्ण मानसिकता र गैरकानुनी कार्य रहेको कुरा निर्विवाद छ र पनि जनमानसमा भ्रम फैलाउँदै आफ्नो चर्चाका लागि यस प्रकारका गतिविधिहरूमा संलग्न आपराधिक मनसायका व्यक्तिहरूको कमी छैन हाम्रो समाजमा।
त्यसैले सत्य तथ्य समाचारमा टेकेर सावधानी अपनाउँदै अघि बढ्नु उपयुक्त हुन्छ।
अर्कोतिर बेला मौकाको फाइदा उठाउने भन्दै मास्क, सेनिटाइजर लगायतका आवश्यक वस्तुहरूलाई अधिकतम मूल्यमा विक्री गरेर पैसा बटुल्ने कालोबजारीयाहरूको कमी छैन।
सेवामूलक सन्देश दिनुभन्दा पनि उनीहरू आपतकालीन समयको फाइदा लिनमा तल्लीन छन्।
यस विषम परिस्थितिको सामनाका लागि जुट्नुको सट्टा अवसरवादी बनेर अवसर लिने अर्को हुलले परिस्थिति अझ असहज बनाइदिएको छ।
यस्तो असामाञ्जस्य परिस्थितिमा वास्तविकताभन्दा परका समाचार र घटनाहरूबाट आतङ्कित नबनौं।
समाज र देश समस्याले सङ्कटग्रस्त रहेका बेला हरेकले आ-आफ्नो कर्तव्य पूरा गर्नुपर्ने हुन्छ।
मानवतावादी भावना र सेवामूलक सन्देश दिने समय हो यो।
प्रेरणा, प्रोत्साहन र हौसला बाँड्ने समय हो यो।
जाति, धर्म, भाषा, भूगोल, वाद र सम्प्रदायभन्दा माथि उठेर मानवीय भावना प्रकट गर्ने समय हो यो।
परिवार, समाज र राष्ट्रको हितका लागि चेतनामूलक सन्देशसहित सेवा र सद्भावमा बिताउने समय हो यो।
दया, माया, प्रेम, करुणा र सहानुभूति प्रकट गर्दै मानवीय मूल्य र महत्ता प्रकट गर्ने समय हो यो।
राज्यलाई अभिभावकको रूपमा लिएर सरकार निर्देशित नीतिको पालना गर्ने समय हो यो।
अहिले सरकार कुनै दल या बलको होइन। यतिखेर सरकारमा कुनै दलको चरित्र या गन्ध नदेखिइ जनताको संरक्षकत्व निर्वाह गर्ने अभिभावकीय दायित्व प्रष्ट हुनु पर्दछ।
राज्यसँग यतिखेर विभिन्न खाले चुनौती र समस्या छन्। सीमा बाहिर रोकिएका नेपालीलाई सुरक्षित तरिकाले घर भित्र्याउनु छ।
सङ्क्रमितहरूलाई सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाउनु छ जनताको खाद्यान्न लगायत अन्य व्यवस्थाको व्यवस्थापन लगायतका समस्या छन्।
यस समयमा नागरिक समाजले आ-आफ्नो कर्तव्य निर्वाह गर्नु पर्दछ। अनावश्यक भीडभाड, हुलहुज्जतजस्ता कुराबाट टाढा रही सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने हुन्छ।
निराशा र कमजोर मानसिकता नबनाई आफू र अर्काको मनोबल उच्च पार्दै रोगसँग लड्ने साहस र हिम्मत जुटाउने समय हो यो।
राज्यको आफ्नो कर्तव्य छ। नागरिकको आफ्नो कर्तव्य छ। सुरक्षाकर्मी, डाक्टर, नर्स, औषधि व्यवसायी सबैका आ-आफ्ना दायित्व छन्।
निजी अस्पतालहरूले आफूलाई सेवामूलक संस्थाको रूपमा चिनाउनु पर्दछ यतिबेला न कि व्यवसायीको रूपमा। डाक्टरप्रति रोगीको श्रद्धा र विश्वास नगुमोस् यो सङ्कटकालीन परिस्थितिमा।
व्यवसायीहरू कालो धन्दामा लागेर आफ्नो कर्तव्य नबिर्सिदिउन्। राज्य र सरकारको तर्फबाट कुनै प्रकारको ढिलासुस्ती र लापरबाही नहोओस्। नागरिकहरू सचेत भएर नियम उल्लंघन नगरी असल व्यवहार प्रदर्शन गरिदिउन्।
आ-आफनो तर्फबाट कर्तव्य पालन गर्दै मानव समुदायको हित र कल्याणका लागि जुट्नुपर्ने बेला हो यो।
भ्रामक समाचार सिर्जना गरेर भयको वातावरण बनाइरहँदा यसले भयानक स्थिति उत्पन्न हुन जान्छ।
तसर्थ गलत र तथ्यहीन अभिव्यक्ति रोक्नु आवश्यक रहेको देखिन्छ। मनोबल कमजोर पार्ने खालका स्टाटस र कपोलकल्पित समाचारहरूले मान्छेमा निकै ठूलो डर पैदा भएको छ। हामी भ्रमको पछि नदगुरौं र सावधानी र सचेततापूर्वक परिस्थितिको सामना गरौं।