चीनको वुहान सहरलाई सायदै कसैले आफ्नो जीवनमा भुल्ने छन्। नोभेल कोरोना भाइरसको उद्गम स्थल मानिएको वुहान सहर तीन महिना पछि आएर शान्त त बन्दै छ तर विश्वलाई नै उथलपुथल बनाई दिएको छ। विकसित मुलक समेत विश्वभरका अधिकांश मुलुकहरु प्रताडित छन्।
चमेराको विष्टाबाट जंगली जनावर हुँदै जंगली जनावरको काँचो मासुको व्यापारिक क्षेत्रमार्फत मासु सेवन गर्ने मानिसमा सरेपछि यसले भयानक रुप लिएको छ। किनभने यसले संक्रमित मध्ये करिब १४ प्रतिशत मानिसको सुरुमा माथिल्लो तत्पश्चात तल्लो श्वासप्रणलीमा जटिल समस्या निम्त्याई खासगरी निमोनियाको जटिलता मृत्युको कारण बन्ने गरेको छ। तर अधिकांश मानिसहरुमा शरीरको रोग प्रतिरोधात्मक प्राणाली सक्रिय भई यस भाइरसको संक्रमण र यसबाट हुने प्रभावलाई निस्तेज हुन्छ र भाइरसको संक्रमणले नराम्रो असर पार्न पाउँदैन।
कोभिड-१९ उपनाम पाएको यस नयाँ कोरोना भाइरस अन्य कोरोना भाइरस प्रजातीका जीवाणुभन्दा केही फरक रुपमा मानिसबाट मानिसमा वा मानिसले छोएको सामाग्रीबाट समेत सर्ने क्षमता राख्ने भएकोले यसको फैलावट सबैको चिन्ताको विषय बनेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यस भाइरसको फैलावट छिटोछिटो हुने भएको र यसबाट धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकोले यसलाई विश्वव्यापी महामारीको रुपमा इंगीत गरिसकेको छ।
अहिले आएर यो भाइरसको असर विश्वको प्रायः सबै देशहरुमा छ। यो लेख तयार पार्दा सम्म २०१ देश तथा शाशित क्षेत्रहरुमा यस भाइरसबाट संक्रमित मानिसहरु पाइएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। पछिल्लो दिनहरुमा यस कोभिड १९ भाइरसको संक्रमणबाट छोटो समयमा धेरैको मृत्यु भएको छ। हुनत अन्य रोग तथा गरिबीका कारण समेत कुनै कुनै देशहरुमा धेरै बालबालिकाको मृत्यु हुने गरेको छ, तर यस भाइरसको संक्रमणबाट हुने रोगबाट थप मृत्यु हुनु राम्रो होइन।
अझ यस भाइरसको फैलावट छिटोछिटो भईरहनु र विश्व्यापी रुपमै फैलनुले थप मानवीय क्षतिको आशंका उब्जिएको छ, जुन स्वाभाविक हो। इटली र अमेरिकामा भइरहेको मानवीय क्षति र यस भाइरसको फैलावट दरलाई हामीले गहिरिएर अध्ययन गर्यौँ भने हामीलाई स्पष्ट हुनेछ। त्यति मात्र नभएर यसको संक्रमणबाट श्वासप्रशवासमा गंभीर समस्या उत्पन्न हुने भएकोले अस्पतालहरुमा सिमित संख्यामा हुने सघन उपचार कक्षका बेडमा राखी बिरामीको उपचार गर्नुपर्ने भएको र उपचार गर्ने अस्पतालकर्मी समेतलाई सर्ने संभावना रहेकोले झन्झन् बिरामीको संख्या बढ्ने जोखिम रहन्छ। त्यसैले यसको फैलावटको अनुक्रम कतै न कतै नरोकी यस भाइरसको संक्रमणबाट छुटकारा पाउन सम्भव नै छैन।
यसको फैलावट रोक्न गर्नुपर्ने सबै उपाय अधिकांश देशहरुले अपनाएको देखिन्छ। करिब तीन सातासम्म यस भाइरसको अनुक्रम रोक्न सकियो भने यो भाइरस नष्ट हुने र यसको थप संक्रमण हुँदैन। विगतमा सावधानी नअपनाएको र सुरुआती दिनहरुमा यस भाइरसको संक्रमणलाई सामान्य रुपमा लिएकोले धेरै मूल्य चुकाउनु परेको चीनले स्वीकारी सकेको छ। इटली र अमेरिका पछिल्ला उदाहरणीय देशहरु हुन् जहाँका मानिसहरुले समेत आफ्नो गल्ती आत्मसाथ गरेका छन्। विभिन्न देशहरुमा मानिसहरुको सम्पर्क कम होस् र यो जीवाणु सर्न नसकोस् भनेर देशलाई नै लकडाउन गरिएको छ।
थप क्षति नहोस् भनेर वा जोखिम न्यूनिकरणका लागि साधन र श्रोतको पहुँच सिमित हुनेगरी आफ्ना देशका नागरिकलाई अलग्याएर राख्न मद्दत मिल्ने गरी बन्देज गर्नु नै लकडाउन हो। खासगरी यस शब्दको प्रयोग थप दंगा रोक्न दंगकर्मीहरुलाई खास जेलमा राख्दा प्रयोग गरिन्छ। विश्वव्यापी रुपमा अति नै शीघ्र फैलिरहेको यस भाइरसको संक्रमण रोक्न, संक्रमण फैलन नदिन र यसबाट उत्पन्न हुने समस्या आउन नदिन विभिन्न देशले आफ्ना नागरिकलाई घर भित्र नै बसिरहन र अन्य मानिसहरुको सम्पर्कमा नआउन समेत यस शब्दको शाब्दिक अर्थसहित प्रयोग भएको छ।
हाम्रो देशमा स्वास्थ्य सेवा तुलनात्मक रुपमा विकसित देशहरुको सामु प्रभावकारी पक्कै छैन। चाहे त्यो अपर्याप्त स्वास्थ्य जनशक्तिले गर्दा होस, अपर्याप्त अस्पताल वा उपचार सामग्रीले होस्, स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएर होस् वा नीतिगत कमजोरीका कारण होस्, हामीले संक्रमण हुनबाट रोक्नु नै उत्तम विकल्प हो। त्यसका लागि उक्त भाइरसको संक्रमण हुने अनुक्रम नै रोक्नु पर्छ।
संक्रमित भन्दा टाढै बस्न सरकारले गरेको लकडाउनको पालना गर्ने, संक्रमणको शंकास्पद व्यक्ति वा कोरोना संक्रमण भएका व्यक्तिको सम्पर्कमा आएका वा विदेश भ्रमण गरेर फर्किएका व्यक्तिहरुले अरुको सम्पर्कमा नआउन क्वारेन्टिनमा बस्ने, संक्रमितहरुलाई आइसोलेशनमा १४ दिन देखि २१ दिन सम्म राख्ने र संक्रमण भएर बिरामी भएकाको प्रक्रियागत रुपमा आइसोलेशनमा राखी सम्भव भएसम्मको उपचार गर्ने विकल्प अपनाउनु बाहेक अरु विकल्प हामीसँग छैन। त्यसैले लकडाउन अझै दुई हप्ता थपिनु पर्छ।
एकै पटक धेरै व्यक्ति संक्रमित भई बिरामी भएमा हाम्रो देशको साधनले भ्याउन सम्भव छैन। करिब २०० को हाराहारीमा रहेको भेन्टिलेर सहितको करिब ५०० आईसीयु बेडबाट हामी कति नै आशा केन्द्रित हुन सक्छौ र? कोरोना संक्रमितको उपचारका लागि आवश्यक सुरक्षा पोशाक अभावका कारण समेत चिकित्सक वा अस्पतालकर्मीलाई समेत सरकारले वा अस्पतालले दिन नसकेको अवस्थामा उपचारकै क्रममा झन्झन् संक्रमण फैलने संभावना बढ्ने र उपचार गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीकै जीवन जोखिमा पर्ने हुने पक्का छ।
खासगरी यस भाइरसको संक्रमणको चार चरण छन्। पहिलो चरणमा विदेशबाट आएकामा मात्र देखिन्छ, दोश्रो चरणमा उनीहरुको आफन्तमा समेत देखिन्छ, तेश्रो चरणमा अन्य नागरिकहरुमा पनि संक्रमण देखिन्छ भने चौथो चरणमा यसको संक्रमणले महामारीको रुप लिन्छ। नेपाल पहिलो चरणमा, भारत दोश्रो हुँदै तेश्रो चरणमा अनि अमेरिका र इटली चौथो चरणमा छन्। चीनमा नयाँ संक्रमणमा ह्वात्तै कमी आएको छ। पाँच दिन संक्रमण शुन्यता पछि फेरी संक्रमणका नयाँ व्यक्ति भेटिनु चिन्ताको विषय हो।
हुन त पशुपतिनाथको आर्शिवाद नै सम्झनु पर्छ, अहिले नेपाल यस कोभिड १९ भाइरसको संक्रमणको पहिलो चरणमा नै छ जहाँ रोग लाग्न नदिन संक्रमण रोक्नु नै उत्तम विकल्प मानिन्छ। जसका लागि हामी सबैले चिकित्सक र सरकारको सल्लाह एवम् निर्देशन पालना गर्नुपर्छ। नेपालमा हालसम्म पाँच जनामा मात्र कोरोना संक्रमण देखिएको छ। हुनत परीक्षण अभावका कारण पनि संक्रमित व्यक्ति पहिचान हुन नसेको हुनसक्छ। किनकी जति खंख्यामा परीक्षण गरिएको छ त्यतिले समग्र नोपलको तथ्यांक उजागर गर्नु तथ्यांकीय भाषामा गलत हुनेछ। हालसम्म भएका उक्त ६८७ को संख्यामा गरिएको परीक्षण अपर्याप्त छ।
हामी केवल यो भन्न सक्दछौँ कि ती संदिग्ध बिरामीहरू जसले जाँच गराए उनीहरुको परीक्षण नमुना कोभिडा १९का लागि नकरात्मक छन्। अरुमा छैन भन्नको लागि प्रयाप्त जाँचहरु गरिनु पर्छ। हुन त लकडाउन धेरै लामो समयको लागि भएको भान हुनसक्छ तर भवितव्यमा आईपर्ने जोखिम न्युनिकरणको यही नै उत्तम विकल्प हो। बरु संक्रम भएन भने फरक पर्दैन, आर्थिकरुपमा केही कमजोर देश होला तर संक्रमण अविकराल रुपमा फैलिए हामीले उपचार गरेर वा संक्रमण नियत्रण परेर पार पाउने अवस्था नै छैन। त्यसैले यस लामो लकडाउनको समयमा आफ्नो धैर्यता नगुमाउनु होस्, संयम बन्नु होस्।
हामी चिकित्सक तथा अस्पतालकर्मीहरु तपाईलाई स्वास्थ्य सेवा प्रदान गरी सहयोग गर्नका लागि सदैव तयार छौँ तर म तपाईलाई घरमा सुरक्षित रहन र घरमै रही कार्यालयको लागि काम गर्न अनुरोध गर्दछु। कृपया सुरक्षा उपायहरू सदैव पालना गर्नुहोस्। बाहिर नस्किनु होस, भीडबाट जोगिनुहोस्, मास्कको प्रयोग गर्नुहोस् र तपाईंको हात प्रायः स्वच्छ पारी राख्नुहोस साथै डाक्टरहरू र आधिकारिक सरकारी निकायहरूको सल्लाह समेत पालना गर्नुहोस्।
हालको स्थितिमा कोभिड-१९ बारे अद्यावधिक हुनको लागि प्रमाणिक सन्देश र समाचारहरू पालना गर्नुहोस् र अनाधिकृत स्रोतहरूबाट सम्प्रेषित समाचारहरूमा विश्वास नगर्नुहोस् नत्र यसले भ्रम मात्र श्रृजना गर्नेछ। भ्रामक समाचारका बारे सदैव चनाखो र सचेत रहनुहोस्। म कार्यरत पाटन स्वास्थय विज्ञान प्रतिष्ठान कोभिड संक्रमितको उपचारको लागि टेकु पछिको दोश्रो केन्द्रको रुपमा छ। हामी जोखिमा रहे पनि तपाईहरु आफ्नो सुरक्षा गर्नुहोस्।
अन्तमा हामी स्वास्थ्यकर्मी तपाई भाग्यशाली व्यक्तिका लागि हौं तर हाम्रो लागि तपाई घरमा बस्नुहोस् र सरकारी लकडाउनको पालना गर्नु होस् किनकी व्यक्तिहरु कम भन्दा कम संख्यामा संक्रमित भएमा मात्र हामीले कम बिरामी हेर्नु पर्ने भएकोले हामी अस्पतालकर्मीहरु पनि सुरक्षित हुनेछौँ। इटली तथा अमेरिकाको पछिल्लो स्थितिबाट हामीले सिक्नु पर्छ। हामीले यसको संक्रमणको चौथो चरणमा कदापी प्रवेश गर्नु हुन्न। ताइवान र दक्षिण कोरिया जस्तै सबैको सहयोगले मात्र विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ विरुद्ध हामी लड्न सक्छौँ तर धैर्यता नगुमाउनु होला, चिकित्सक भएको नाताले मेरो विनम्र अनुरोध छ।
(लेखक साह पाटन अस्पतालमा एमडी अध्ययनरत छन्।)