सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना संक्रमण कम गर्न सरकारले चैत्र १० देखि अचानक लकडाउन गर्यो। बन्द हुनुअघि हामी दुई जुम्ल्याहा दिदी-बहिनी बिदा मनाउन मामाघर सुनाकोठी, ललितपुर आएका थियौं। यहाँ केही दिन बसेर काभ्रे जिल्लाको मल्पी भन्ने गाउँ जानेवाला थियौं। गाउँको जीवन अनुभव गर्ने योजना थियो। लकडाउनले त्यो योजना सम्भव भएन। मामाघरमै हामी बस्नुपर्ने भयो।
सुरूमा त हामीलाई निकै डर र अत्यास लाग्यो। तर पछि हजुरबुवा र हजुरआमाले सम्झाउनु भयो। डरलाई भगाउन मद्दत गर्नुभयो। कोरोना भाइरस कारण भएको बन्द हाम्रो लागि नयाँ अनुभव थियो। सायद हाम्रो बुवाआमाले पनि यस्तो महामारी कहिल्यै झेल्नुभएको थिएन होला।
यही समयमा हामीले कोरोना भाइरस भनेको के हो, कसरी फैलिन्छ र बच्नका लागि के गर्न सकिन्छ भन्ने सिक्यौं। हामीले यी कुरा सिकेकाले घरको अभिभावकले भनेका कुरा राम्रोसँग पालना गर्ने गरेका छौं।
हामीले लकडाउनको समयलाई मन लागेको काम गर्ने र सिक्ने अवसरका रूपमा लियौं। यो समयमा हामीले हजुरबुवा र हजुरआमाबाट हार्मोनियम, मादल बजाउन, चित्र बनाउन तथा अन्य जीवन उपयोगी सीप सिक्यौं। हार्मोनियममा दुईवटा भजनकिर्तन र एउटा जन्मदिनको गीत बजाउन सिक्यौं। अर्को हप्ता हजुरआमाको जन्मदिनमा गाउने विचारमा छौं।
हामीले मादलमा झ्याउरे ताल पनि सिक्यौं। अब त्यो तालमा नेपाली लोकगीत र दोहोरी कसरी गाउने भन्नेमा अभ्यास गरिरहेका छौं।
यो समयमा हामीले केही जीवन उपयोगी सीपहरू जस्तैः तरकारी, फलफूल सफा कसरी गर्ने र भन्डार गर्ने भन्ने सिक्यौं। घरमै कसरी कम्पोष्ट मल बनाएर फोहरको उपयोग गर्ने भन्ने पनि जान्यौं। यसो गर्दा वातावरण सफा राख्न मद्दत पुग्छ।
त्यसैगरी, फूलबारीको हेरचाह कसरी गर्ने, गोडमेल कसरी गर्ने, बिरुवा कसरी रोप्ने, पानी कसरी हाल्ने, झार कसरी उखेल्ने र मल कसरी हाल्ने जस्ता कार्य हाम्रो हजुरबुवा र हजुरआमाबाट सिक्ने अवसर पायौं। यो सिकेपछि हामी दुवै मिलेर घरको काममा सहयोग गरिरहेका छौं।
यही समयमा हामीले छोटा तथा लामा बहादुरीका कथा पनि पढ्यौं। यी कथा पढ्दा हामीलाई असाध्यै रमाइलो लाग्यो। विद्यालय जाने समयमा हामीलाई कथा पढ्न खासै अवसर मिल्दैनथ्यो। त्यो अवसर यो समयले दियो।
हामीले हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पढ्यौं, जुन अति रमाइलो थियो। त्यस्तै, डियरवाकको कक्षा ६ को पाठहरु पनि यूट्युबमा हेर्यौं। त्यसैगरी, stories.audible.com मा विभिन्न कथा पनि सुन्ने मौका पायौं। त्यसमा सुनेका कथामध्ये स्टोन्सअप र अलादिन रमाइलो लाग्यो।
हामीले हप्ताको पाँच दिन साँझमा विभिन्न कार्यक्रम गर्ने गरेका छौं। कार्यक्रममा नाचगान, नाटक, कथावाचन, कविता लेख्ने र वाचन गर्नुका साथै हँसाउने क्रियाकलापहरू हुन्छन्। त्यसमा हाम्रो हजुरबुवा र हजुरआमा निर्णायकको रूपमा बस्नुहुन्छ। उहाँहरूले हामीलाई अंक दिनुहुन्छ। यसले हाम्रो हौसला बढाउँछ। ती कार्यक्रम गर्दा हामी अत्यन्त रमाइलो मान्छौं।
यसरी कोरोनाको लकडाउनमा घरमै बसे पनि हालसम्म दिक्क लागेको छैन। यसरी हामीले रमाइलो गर्दै लकडाउनको दसौं दिन आइपुग्दासम्म माथिका कामका साथै नयाँ–नयाँ किताब पढ्ने, टिभी हेर्ने, योग गर्ने र नाचगान गर्ने, खेल्ने जस्ता क्रियाकलाप गर्दै गर्दा समय पनि रमाइलोसँग बितिरहेको छ। बोर भएको छैन। अब आउने दिनमा पनि विभिन्न सीप सिक्दै बिताउने विचार गरेका छौं।
हामीले त यो समय माथिका क्रियाकलाप गरेर रमाइलोसँग बितायौं। अब तपाईंहरू पनि आफ्ना बालबालिकालाई यस्तै कार्य गराएर रमाइलोसँग दिन बिताउन सहयोग गर्न सक्नुहुन्छ।
यसमा हामीलाई हाम्रो हजुरबुवा र हजुरआमाले धेरै मद्दत गर्नुभयो। त्यसैले उहाँहरूलाई हामी दिदीबहिनीको तर्फबाट धन्यवाद दिन चाहन्छौं।
(सुजया भट्टराई, सुचेता भट्टराई जावलाखेल, ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः