दुई वर्ष पहिले भारतको नयाँ दिल्लीमा रहेको एउटा स्कुलमा काम गर्थें। बसबाट ओर्लेर करिब १० मिनेटजति पैदल हिँडेर जानुपर्थ्यो त्यहाँ पुग्न।
यसरी हिँड्ने क्रममा एकदिन विपरीत दिशाबाट आइरहेकी एउटी महिलामा मेरा आँखा पुगे। झट्ट हेर्दा ३०- ३५ वर्षकी जस्ती लाग्ने ती महिलाको अनुहार हेर्दा नेपाली जस्तै लाग्यो।
हुनत विभिन्न कामको सिलसिलामा भारतमा धेरै नेपाली बस्ने गरेकोले दिनहुँ नेपाली भेटिनु कुनै नौलो कुरा त होइन, तै परदेशको ठाउँमा नेपाली अनुहार देखेपछि बोल्न मन लाग्दो रहेछ।
मलाई पनि त्यस्तै भयो तर नेपाली नै हुन् भन्ने पक्का नभएकोले बोल्न भने सकिनँ कारण, यहाँ बसोबास गर्ने धेरै नेपालीले आफ्नो परिचय खुलेर दिन चाहँदैनन् पनि। (यसको कारण छुट्टै छ जसले कथाको अर्को अध्याय पनि बन्न सक्ला)त्यसपछि भने अर्को दिनदेखि उनीसँग मेरो त्यसरी नै त्यहीँ ठाउँ वरपर दिनहुँ देखभेट हुन्थ्यो।
दुवैका आँखा एकापसमा जुधे पनि बोलेका भने थिएनौं तर पनि त्यसरी हिँड्दा उनी त्यो बाटोमा देखापरिनन् भने मेरो आँखाले उनलाई खोज्न थालेको थियो।
उनलाई पनि त्यस्तै लाग्दोरहेछ रे पछि कुराकानीको क्रममा थाहा भयो।
एकदिनको कुरा हो, उनी कसैसँग फोनमा कुरा गर्दै परबाट आइरहेकी थिइन् ‘मेरो फोनमा ब्यालेन्स छैन राख्छु है’ भन्दै गर्दा मेरो छेउमा आइपुगिन्।
अब भने नेपाली भएको पक्का भएपछि मैले नै उनलाई सोधें ‘बहिनी, तपाईं नेपाली हो?’
‘ए... हो नि म त नेपाली’, खुसी हुँदै जवाफ फर्काइन्।
‘तर तपाई, तपाईं त मेडम होइन र?’, प्रश्न गरिन्।
‘हो, यसको मतलब तपाईंले मलाई चिन्नुहुँदो रै’छ त!’, मैले भने।
‘आबुइँ नि... मेडम पनि नेपाली बोल्दा रै’चन बाई’... आश्चर्य मान्दै उनले भनी।
उनको त्यो हाउभाउ, बोली र प्रयोग गरेका शब्दमा विशुद्ध मौलिकपन झल्किन्थ्यो विशेषगरी पश्चिम नेपालको ग्रामीण भेगमा बोलिने त्यस्ता शब्द र थेगोहरूसँग म आफू परिचित भएकोले उनीसँग कुराकानी गर्दा झनै रोमाञ्चित बनायो।
उनको नाम श्यामकली रहेछ। १३ वर्ष पहिले श्रीमानसँग दिल्ली आएकी रहेछिन्। बिहे गरेर लाहुर लैजान्छु भनेपछि सात कक्षा पढ्दै गर्दा उनका बाबाआमाले बिहे गरिदिएका रे।
लाहुर आएको २ वर्षमा जेठी छोरी जन्मी। अहिले १०, ७ वर्षका गरेका दुई बच्चा छन्।
‘श्रीमान एउटा पसलमा चौकीदारको काम गर्नुहुन्छ। बिहान-बेलुकी कोलोनीका साहेबहरूका गाडीको सफाइ गर्नुहुन्छ। म पनि तीन ठाउँमा घरको काम गर्छु। छोराछोरीलाई सरकारी स्कुल हाल्देका छौं। आफूले त पढ्न पाइएन उनीहरूले पढून् भनेर हो मेडम’।(उनी बोल्दै गर्दा १३ वर्ष दिल्ली बसाइको प्रभाव उनको भाषामा परेको प्रस्ट हुन्थ्यो)
‘अनि तपाईंहरू काममा जाँदा घरमा बच्चाबच्ची कसले हेर्छ त?’, मैले सोधें। ‘कसले हेर्ने आफैं बस्छन् हजुर। म बिहानै उठेर उनीहरूको लागि सबै तयार गरेर काममा निस्कन्छु।’
‘कहिले उनीहरूको बाबाले पुर्याउनु हुन्छ। कहिले आफैं जान्छन्’,उनले थपिन्।
‘दुई जनाले मिलेर काम गर्नुहुने रै’छ कमाई त राम्रै होला नि’, मैले सोधें?
‘राम्रो त के हुन्थ्यो, ठीकै छ, खासै बचाउन त सकिँदैन मेडम तर दु:ख गरेर भए पनि खाना बस्न र छोराछोरी पढाउन पुगेकै छ’, कुराकानीमा निकै नजिक हुन पुगेछौं त्यसैले होला, उनले सोझो पाराले सबै कुरा खुलस्त पारिन्।
केहिबेरको कुराकानीपछि हामी आ-आफ्नो बाटो लाग्यौं।
जाडो गर्मी नभनी महिनाभरि अर्काको गाडी सफा गर्दा जम्मा दुई सय, पूरा घरको सरसफाइ, जुठो भाँडा माझेर बाह्र सय पारिश्रमिक कति सस्तो छ है पसिनाको मूल्य! उनीसँग छुट्टिएर बाटोमा हिँड्दै गर्दा मेरो मनमा यस्तैयस्तै कुरा खेलिरहे।
उनीसँग मेरो दिनहुँ जसो भेट हुन्थ्यो। कहिले दुवै हतारमा हुँदा मुस्कानमात्र साटासाट गरेर बाटो लाग्थ्यौं भने समय मिल्दा कुराकानी पनि हुने गर्थ्यो।
त्यसपछिका भेटमा भने उनले मलाई मेडम छोडेर दिदी भनेर सम्बोधन गर्न थालिन्। दिनहुँ बिहान ४ बजे उठेर आफ्नो घरपरिवार समाल्दै, तीन-तीन ठाउँमा काम गर्दा उनलाई सजिलो त कहाँ होला र! तर पनि सधैं हँसिली, फूर्तिली देखेर मलाई उनीप्रति निकै सम्मान जागेर आउँथ्यो।
एकदिनको कुरा हो, म त्यो दिन स्कुल पुग्न अलि ढिलो हुने भएकोले बस बिसौनीबाट अटोरिक्सा चढेर जाँदैगर्दा ती बहिनी अलि आत्तिएको जस्तो गरेर फोनमा कुरा गर्दै लामालामा पाइला चाल्दै थिइन्।
मैले उनलाई बोलाएर सोध्न पनि खोजें तर उनले मलाई देखिनन् उनको हाउभाउ हेर्दा उनी अलि तनावमा भएको जस्तो देखिन्थ्यो।
म पनि अलि हतारमा भएकोले वास्तविक कुरा थाहा पाउन सकिनँ। पक्कै भोलिको भेटमा जानकारी पाउने आशामा आफ्नो बाटो लागें।
अर्कोदिन उनीसँग भेट गरेर हिजोको कौतुहलता मेटाउन पनि त्यो दिन म घरबाट अलि छिटो निस्कें बस बिसौनीबाट निकै अगाडि बढ्दा पनि उनी भने देखा परिनन्। यसरी दिनहुँ भेट हुने ती बहिनी अचानक खोइ,कता पो हराइन्, निकै दिन बितिसक्दा पनि त्यो बाटोमा नदेख्दा मेरो मन बेचैन भयो।
उनको र मेरो फोन नम्बर साटासाट गर्ने सोचै आएनछ त्यो बेला यहीँ सम्झेर मनमा नरमाइलो लाग्यो।
उनको बारेमा जानकारी पाउने माध्यम थिएन मसँग। मनमा भने अनेक शंका उपशंका उब्जिए।
यसरी उनी हराएको लगभग आठ महिनापछि एकदिन अचानक फेरि उनलाई पहिलेको जस्तै उताबाट आउँदै गरेको देखें।
नजिकै पुगेपछि मैले खुसी,आश्चर्य,कौतुहलता एकैसाथ प्रकट गरें। तर उनको मुहारको भाव हेर्दा लाग्थ्यो गह्रौ ढुंगाले थिचिएको जस्तो भान हुन्थ्यो। देख्नेबितिक्कै डाको छोडेर रून थालिन् र भन्न थालिन्- दिदी त्यो पापीले…
म अक्कवक्क भएँ। उनले के भन्न खोजेकी हुन् खुट्याउन सकिनँ।
उनले बोल्दै गइन्।
उनको छोरीलाई मकान मालिकको छोरोले करणी गरेका रहेछन्। जे नहोस् भनेर मैले कामना गरेको थिएँ,भइदियो त्यही।
अनि प्रहरीलाई खबर गर्यौ त? मैले सोधें।
कहाँ मकान मालिकले कसैलाई भनिस् भने नराम्रो हुन्छ भनेर धम्कीदियो र घरबाट निकालिदियो उनले रूँदै भनिन्।
यहाँ दूतावास, यत्रो नेपाली संघसंस्था सबै छन् भन्नुपर्थ्यो नि। मलाई पनि किन नभनेको त? मैले सोधें।
त्यस्ता त्यस्ता हजुरले भनेजस्ता त हामी कसैलाई चिन्दैनौ, कहाँ भन्ने थाहा पनि भएन तर हजुरको त फोन नम्बर नै राखेकी रैनछु उनले भनिन्।
त्यसपछि अब यो ठाउँमा नबस्ने बरू दु:खसुख आफ्नै देशमा गरौंला भनेर अर्को दिन बिहानै नेपाल फर्केका रहेछन् उनीहरू। गाउँ बसेर गुजारा नचल्ने देखेपछि फेरि फर्किएका रहेछन्।
सबै कुरा सुनेपछि आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएर,फोन नम्बर साटासाट गरी हामी छुट्टियौं।
त्यसको केहिदिनपछि नै स्कुलको जागिर छोडिसकेकोले उनीसँग नियमित भेटघाट हुन छोडेको थियो तर पनि बेलाबेलामा उनी मेरो घरमा आइरहन्थिन्, फोनमा कुराकानी पनि भैरहन्थ्यो।
यसैबीच आजभन्दा २०/२५ दिन पहिले अचानक उनको फोन आयो।
दिदी यो कोरोला भनेको के हो नि उनले सोधिन् ?
कोरोला होइन, कोरोना भाइरस भन्दै मैले यो रोगबारे उनलाई सबैकुरा बुझाएँ।
हेर्नुस न यसले गर्दा त मेरा श्रीमानको महिना दिनदेखि केही काम चलेको छैन। आज त मलाई पनि काम गर्ने ठाउँमा मेडमले अब आउनु पर्दैन आवश्यक परे १/ २ महिना पछि बोलाउँछु भन्दै पठाउन भयो अब के गर्ने होला? यिनी बालबच्चा त भोकभोकै पर्ने भए। महिना सुरू भएदेखि नै मकान मालिकले किराया( घरभाडा)मागेको माग्यै छ न त तिर्ने पैसा बाँकी छ तिर्न नसके खाली गर्न भनिरहन्छ। यहाँ त सबैले नेपाल फर्किने भन्दै छन् हामी पनि जान्छौं होला उनले सुनाइन्।
मैले जो जहाँ छौं सुरक्षित बस्नुपर्छ भनेर सम्झाएँ पनि। अनि आवश्यक परे केही आर्थिक सहयोग गर्ने वचन पनि दिएर फोन राखें।
नभन्दै केही दिनपछि त सबैतिर लकडाउन पनि भैहाल्यो मैले उनलाई सम्पर्क गर्न खोजे पनि सम्पर्क भने हुन सकिरहेको थिएन। यत्तिकैमा ५ दिन पहिले एकाबिहानै उनको फोन आयो। फोनमा उनी निकै आतिएकी थिइन्।
दिदी भारतमा बस्यो भने त यो रोगले सबै मरिन्छ अहिले नगए नेपाल कहिले फर्किन मिल्दैन अब यहाँ काम नपाएर भोकभोकै मर्नुभन्दा आफ्नै देश जाने भनेर सबैले भनेको सुनेपछि मलाई पनि साह्रै डर लाग्यो।
अनि सबैको पछि लागेर नेपाल फर्केका हामी त सुनौली बोर्डरमा अलपत्र पर्यौं, यताको पुलिसले उता जाउ भन्छ नेपालकोले छिर्न दिँदैन, भोकै प्यासै बसेको ३ दिन भैसक्यो। हामी ठूला मान्छे त बरू जसरी तसरी सहेर बसौंला बालबच्चाको साह्रै बिचल्ली भयो दिदी। हामीलाई केही रॊग लागेको छैन, हामी ठीकै छौं जसरी पनि आफ्नै देशमा जान मन छ। बरू रोगै लागेर मरे पनि आफ्नै देशमा मर्न मन लागेको छ। हजुरले त धेरै मान्छे चिन्नुभएको होला लौन, हामीलाई जसरी भएनि नेपाल छिराइदिनुसI उनले रूँदै बिलौना गरेको सुनेर साह्रै नरमाइलो लाग्यो।
उनले ममाथि भरोसा राखेपनि मैले उनलाई के नै गर्न सक्थें र तै पनि धैर्य गर विस्तारै ठीक हुन्छ भन्दै सम्झाएकी थिएँ।
उनलाई धैर्य गर्न भने पनि मेरो मनमा भने उनको त्यो बिलौना सुन्दा साह्रै छटपटी बढेको थियो।
‘उनीहरूको समस्यामा सम्बन्धित निकायको ध्यान पुगोस् भनेर मनमनै कामना गरेकी थिएँ तर अचानक सुनौली नाकामा अलपत्र नेपालीलाई भारततर्फ फर्काइयो भन्ने समाचार पढ्नुपर्दा मन भारी भएर आयो। जसरी भएनी हामी नेपाल छिर्न चाहन्छौं भन्दै आफ्नै माटोमा टेक्नको लागि रोइकराई गरेकी बिचरा ! ती बहिनी र त्यहाँ अलपत्र परेका सबैको कारूणिक आवाज मेरो कानमा गुन्जिरह्यो... मनमनै सोचें कठै यिनका मूल्यहीन आँसुहरू...