आधुनिक जीवनशैली र वातावरण
आज विश्वको जनसंख्या साढे सात अर्ब नाघेको छ। बढ्दो जनसंख्यालाई विश्वले सन् १९७० देखि नै थेग्न छोडेको हो। एक वर्षमा हामीले उपभोग गर्ने स्रोतसाधन प्रकृतिले सो वर्षमै नवीकरण गर्न नसक्ने अवस्थामा पुगेको छ।
आज हामी एक वर्षमा जति स्रोतसाधन खपत गर्छौं, त्यति स्रोत नवीकरण गर्नलाई पृथ्वीलाई डेढ वर्ष लाग्छ। यही अवस्था रहे सन् २०३० सम्म विश्वको जनसंख्याले खपत गर्ने स्रोतसाधन नवीकरण गर्न पृथ्वीलाई दुई वर्ष लाग्नेछ वा भनौँ विश्वले थेग्नेभन्दा हामीले करिब दोब्बर स्रोतसाधन खपत गरिरहेका हुनेछौँ।
यदि हरेकले अस्ट्रेलियन र अमेरिकीहरुको जीवनशैली जीउने हो भने माग धान्नलाई पाँच वटा पृथ्वी आवश्यक पर्छ। एक अस्ट्रेलियनको वार्षिक कार्बन फुटप्रिन्ट (वर्षभरिमा उत्सर्जन गर्ने हरितगृह ग्यासको मात्रा) १७ टन छ र अमेरिकनको १६.२ टन छ। समग्र विश्वको औसत हेर्ने हो भने करिब ४.८ टन छ।
तापक्रम वृद्धि दुई डिग्रीभन्दा मुनि राख्न सन् २०५० सम्म यो औसतलाई दुई टनमा झार्नुपर्ने हुन्छ, जुन ज्यादै कठिन छ। किनकी जनसंख्या, औद्योगीकरण र शहरीकरण द्रुत गतिले बढिरहेको छ भने गरिबी घटिरहेको छ।
प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण अहिले नै एकातिर प्राकृतिक स्रोतको संकट निम्त्याइसकेको छ भने अर्कोतिर वातावरण प्रदूषण पनि गरिरहेको छ। बढ्दो जनसंख्या र सँगसँगै बढेको औद्योगीकरण, सहरीकरण, ऊर्जा तथा यातायातका साधनको अत्यधिक प्रयोग, वन विनाश र वातावरणीय दृष्टिकोणले गैरजिम्मेवार सुविधाभोगी जीवनशैलीले बढाएको प्रदुषणले जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको छ।
वन विनाश र जलवायु परिवर्तन
अहिलेको विश्वको सबैभन्दा गम्भीर र जटिल वातावरणीय समस्या भनेको जलवायु परिवर्तन हो। यसको असरले सारा विश्व नै चपेटामा परिसकेको यथार्थ हो। वायुमण्डलमा हरितगृह ग्यासको मात्रा धेरै बढेको छ।
सन् १७५० देखि २०११ सम्म मानव सिर्जित कुल हरितगृह ग्यासको ४० प्रतिशत (८४५–९१५ गिगाटन) कार्बन अझैँ वायुमण्डलमा रहेको छ। वायुमण्डलमा कार्बनको घनत्व इतिहासमै उच्च ४ सय पिपिएम नाघेको छ। यसले गर्दा औद्योगीकरण पुर्वको अवधिपश्चात् आजसम्म औसतमा करिब एक डिग्री सेन्टिग्रेड तापक्रम र २० सेन्टिमिटर समुद्र सतह बढेको विभिन्न अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनले सबै क्षेत्रलाई आक्रान्त पारेको छ। जलवायु परिवर्तनले हिमाल र हिमनदीहरु पग्लन थालेका छन्। माटो, चट्टान र बरफको स्थायी रुपमा जमेको परत जसलाई पर्माफ्रस्ट भनिन्छ, उक्त परत पनि पग्लन थालेको छ। यही गतिमा जलवायु परिवर्तन भए सन् २१०० सम्ममा ७० प्रतिशत हिँउ र पर्माफ्रस्ट पग्लन सक्ने अध्ययनहरुले देखाएको छ।
जलवायु परिवर्तन न्यूनीकरण गर्न पेरिस सम्झौता लागू भएर तापक्रम वृद्धि २ डिग्रीभन्दा बढ्न नदिए पनि करिब ४० प्रतिशत हिँउ तथा पर्माफ्रस्ट पग्लने विश्लेषण वैज्ञानिकहरुले गरेका छन्। हिमालहरू छिटोछिटो पग्लदा भविष्यमा पानीका मुहान सुक्ने, समुद्र सतह बढेर समुद्र किनारका सभ्यताहरु खतरामा पर्नेमात्रै होइन, सदियौंदेखि बरफको परतमा दबिएर निष्क्रिय रहेका हानिकारक ग्यास र भाइरसहरू फेरि वायुमण्डलमा फर्कन थालेका छन्।
पर्माफ्रस्टले हाल वायुमण्डलमा रहेको भन्दा दोब्बर करिब १५ खर्ब टन कार्बन सञ्चित गरेर राखेको छ। यो पग्लिँदा मिथेन, कार्बन र हानीकारक मर्करीलगायत बिफर, बुबोनिक प्लेग, स्पेनिस फ्लु र एन्थ्राक्सजस्ता लोप भइसकेका रोगका भाइरस पनि आउन सक्ने केही अध्ययनले पुष्टि गरिसकेको छ।
हामीलाई पुराना भाइरससँग जुध्न त केही हदसम्म सजिलो होला तर हालसम्म पहिचान नभएका नयाँनयाँ भाइरस आएमा त्यससँग लड्न कठिन हुने छ। यसले के देखाउँछ भने शताब्दियौं अगाडिका महामारीका भाइरसहरु फेरि फर्किन सक्ने जोखिम बढेको छ ।
जलवायु परिवर्तनको असरले विभिन्न जनावर र पंक्षीको बासस्थानको दायरा बढ्दै वा सर्दै जाँदा रोगहरु विश्वव्यापी हुँदै गइरहेका छन्। उदाहरणका लागि डेँगी, मलेरिया, हैजा, इन्सेफ्लाइटिसजस्ता रोगको भौगोलिक दायरा बढ्दै गइरहेको छ। हाल पहाडी तथा हिमाली क्षेत्रमा पनि लामखुट्टे देखिँदा यसले ल्याउने रोगहरु पनि सर्वव्यापी भइरहेका छन्।
वन जंगल र प्रकृति विनाशको क्रम तीव्र छ। प्रत्येक वर्ष एउटा बेलायत देशजत्रो भूभाग अर्थात करिब एक करोड ३० लाख हेक्टर वन विनाशका कारणले उजाड बनिरहेको छ। हरेक सेकेन्ड एउटा फुटबलको फिल्ड बराबरको क्षेत्र विनाश भइरहेको छ। वनले जैविक विविधता संरक्षण गरेको हुन्छ।
वन विनाश गर्नाले वातावरणको सन्तुलन बिग्रन्छ र जलवायु परिवर्तन त हुन्छ नै, साथै ती जीवहरुको बासस्थान पनि खल्बलिन्छ। बासस्थान नष्ट भएपछि वा खानेकुराको कमीले वन्यजन्तुको मानव बस्तीसँग सम्पर्क बढ्छ। यसो हुँदा घरपालुवा पशुपंक्षी र मान्छेमा यसका भाइरस सर्ने गरेको उदाहरणहरु छन्।
वन्यजन्तु, वनजंगल र रुख झाडीहरुले मात्रै होइन मरेका, सडेका र ढलेका रुखहरुले पनि विभिन्न जीव, ब्याक्टेरिया र भाइरसलाई आश्रय दिइरहेको हुन्छ। त्यसैगरी वन्यजन्तुको शिकार र ओसारपसार, जिउँदै, काँचै वा राम्ररी नपकाईकन खानाले वनजंगल र वन्यजन्तुमा रहेका भाइरसहरु मानिसमा सर्ने गर्छन्। भाइरसको स्थानीय संक्रमणलाई गतिशील जीवनशैलीले संसारभर पुर्याउन धेरै समय लाग्दैन ।
समस्याको समाधान खोजौँ
आखिर कहिलेसम्म प्राकृतिक स्रोतको अत्यधिक दोहन र जलवायु परिवर्तनको असर विश्वले थेग्न सक्छ त? गम्भीर रुपमा सोच्ने बेला भइसकेको छ। यदि आज हामीले यो गम्भीर समस्याबारे सोचेनौँ र एउटा जिम्मेवार देश र विश्वव्यापी नागरिकको हिसाबले समाधानका उपाय अवलम्बन गरेनौँ भने मानव जगतकै अस्तित्व खतरामा पर्न सक्छ।
वन संरक्षण, स्वच्छ ऊर्जाको प्रयोग, जनसंख्या नियन्त्रण र जिम्मेवार जीवनशैली अपनाउने हो भने यो समस्याको समाधान गर्न सकिन्छ।
वन संरक्षण र व्यवस्थापनको महत्व
पर्यावरणीय सन्तुलन कायम गर्न वनजंगलको धेरै महत्व हुन्छ। तर वार्षिक एक करोड ३० लाख हेक्टरको हाराहारीमा वन विनाश भइरहेको छ। वन विनाश तथा क्षयीकरण र कृषिबाट वायुमण्डलमा २४ प्रतिशत हरितगृह ग्यासको उत्सर्जन हुन्छ। यसलाई रोक्न सकेमात्र पनि जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो योगदान पुग्छ। हाल विश्वमा ३०.६ प्रतिशत वन क्षेत्र रहेको छ।
यसलाई संरक्षण गर्न सके र थप वृक्षरोपण गर्न सके वायुमण्डलमा रहेको कार्बन सञ्चित गर्न सक्छ। विभिन्न शोधले देखाएअनुसार करिब एक अर्ब हेक्टरमा वृक्षरोपण गर्न सके वा थप १२ खर्ब रुख रोप्न सके जलवायु परिवर्तन रोक्न सकिने देखाएको छ। यसका लागि ९० करोड हेक्टर खाली ठाउँ रुस, क्यानाडा, अमेरिका, चीन र उत्तरी युरोपमा उपलब्ध रहेको छ।
यसका साथै निजी वन, कृषि वनको विकास गर्न सक्यौँ भने पनि थप कार्बन सञ्चय गर्न सकिन्छ। पारिवारिक तथा निजी वन र कृषि वनले प्राकृतिक वनमा पनि उल्लेख्य मात्रामा चाप घटाउँछ। वन संरक्षणले कार्बन सञ्चयमात्रै नगरी विभिन्न वातावरण स्वच्छ राख्न मद्दत गर्छ जसले रोगव्याधि र भाइरस आउन पाउँदैनन्।
त्यहाँ रहेका जडिबुटी र विषालु झारपातबाट निस्कने रस र गन्धले कतिपय ब्याक्टेरिया तथा भाइरसहरु नाश गर्छ भन्ने वैज्ञानिक आधारहरु छन्। साथै वन विनाश नगर्दासम्म त्यहाँ भएका ब्याक्टेरिया तथा भाइरसहरु पनि बाहिर निस्कन पाउँदैनन्। तसर्थ पर्यावरण सन्तुलन कायम राख्न र मानव जीवन जोगाउन पनि वनको संरक्षण र दिगो व्यवस्थापन नितान्त महत्वपूर्ण छ।
जिम्मेवार जीवनशैली र वातावरणमैत्री दिगो विकासको खाँचो
आज हरेक देश प्रविधि र आर्थिक विकासको राजमार्गमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन् जसलाई खासै ध्यान दिइएको छैन।
जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। तसर्थ संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको दिगो विकास लक्ष्यलाई आत्मसात गर्ने हो भनेमात्र वास्तविक अर्थमा समृद्धि प्राप्त गर्न सकिएला।
पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ। जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ।
हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ, उपभोग भन्दा पनि दोहन गर्यौँ, त्यसैले प्रकृतिले हामीलाई पटकपटक विभिन्न रुपमा सावधान गराइरहेको छ। यसलाई हामीले बेलैमा बुझेर प्रकृतिमैत्री जीवनशैली अपनाउन आवश्यक छ। प्रकतिसँगको सह–अस्तित्वमा नै हाम्रो अस्तित्व छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ।
मानव कल्याणकारी क्षेत्रमा लगानी र अनुसन्धान बढाउनुपर्छ
एक्काईसौँ शताब्दीको भूमण्डलीकरण, आधुनिक समाज र विश्व अर्थतन्त्रले कोकाकोला जस्तो कामै नलाग्ने पेय पदार्थलाई विश्वको नम्बर १ ब्रान्ड बनाउँछ, फुटबल र फिल्मजस्तो मनोरन्जनका क्षेत्रमा अकूत पैसा लगानी गर्छ। तर मानवकल्याणकारी क्षेत्रमा लगानी र अनुसन्धान गर्नमा कन्जुस्याइँ गर्छ।
योभन्दा विडम्बना के नै हुन सक्छ र? तसर्थ मानवहितका क्षेत्रमा लगानी बढाउने र यस क्षेत्रमा युवा अभियानकर्मी तथा वैज्ञानिकको आकर्षण बढाउनुपर्ने देखिन्छ। यसका लागि समाज, विकास र अर्थतन्त्रको मोडेलमा पनि फेरबदल गर्ने बेला भएको हो कि, त्यतातिर पनि ध्यान जान जरुरी छ।
अन्त्यमा,
सुन्दर प्रकृति र जीवन धान्न सक्ने अदभूत क्षमताका कारण पृथ्वी यो ब्रह्माण्डको एक मात्र स्वर्ग हो। अमेरिकी वातावरण अभिायनकर्मी जेम्स गुस्तेभ स्पेथले भनेझैँ यसलाई पर्यावरण र जैविक विविधता विनाश तथा जलवायु परिवर्तनका कारण होईन बरु हाम्रो स्वार्थ, लोभ, मूर्खता र उदासीपनले नरक बनाएको छ। मूख्य समस्याका जड यिनै हुन्।
यसको समाधान गर्न जीवनशैलीमा आमूल रुपान्तरण गरी यसलाई सामाजिक संस्कारकै तहमा विकास गनुपर्ने देखिन्छ। तर कदापि स्टेफन हकिंगले भनेजस्तो यो स्वर्गसरीको पृथ्वी छोडेर जीवनको कुनै पनि आधार नभएको अन्य ग्रहमा मानवबस्ती बसाल्नेजस्ता तुकहिन काममा गरिने लगानीले हामीलाई अस्तित्वविहीन बनाउने पक्का छ ।
(लेखक फरेस्ट एक्सन नेपालमा कार्यरत छन्।)