सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम स्वीकृति पराजुली हो। म कक्षा ३ को परीक्षा सकाएर बसेकी छु। मेरो विद्यालयको नाम सेन्ट जेभियर्स हो। जावलाखेलमा छ। कोरोना भाइरस विश्वभरी फैलिएकाले हाम्रो विद्यालयले वार्षिक परीक्षा छिट्टै सकेर छुट्टी दिएको थियो। छुट्टी भएपछि म मामा घर जान्छु भनेकी थिएँ। तर मामुको अफिसको छुट्टी नभएकाले म मामाघर जान सकिनँ।
मेरो मामाघरको आमालाई कम्मर र घुँडा दुख्ने समस्या थियो जुन बढ्दै गएर आमा आत्तिनु भएको थियो। बाबाले आमालाई उपचार गराउन काठमाडाैं ल्याउने र म आमासँगै मामाघर जाने भनेर बसेकी थिएँ। बाबाले मेरो छुट्टी भएको एक हप्तापछि आमालाई रूपन्देहीबाट लिएर आउनुभयो। भोलिपल्ट बाबा र मामुले आमालाई औषधी गर्न अस्पताल लिएर जानुभयो। कोरोनाको डरका कारण अस्पताल बन्द हुँदा आमालाई उपचार गर्न सकिएन। यसले मलाई नरमाइलो लाग्यो।
कोरोना भाइरस विश्वभरी फैलिएकाले नेपाल सरकारले लकडाउन गर्यो। यसले विद्यालयको छुट्टीमा मामाघर जाने र पहाड घर पर्वत जाने मेरो चाहना पूरा भएन। मैले काठमाडाैंमै बसेर रमाइलोसँग छुट्टी मनाउने विचार गरेँ। भोलिपल्टदेखि मैले पुस्तक पढ्न सुरू गरेँ। हामी सबैजना मिलेर दिउँसो रामायण हेर्न थाल्यौं। रामायण हेरेर सक्न ८ दिन लाग्यो।
अहिले मैले 'स्कूल बेच्ने बालक' भन्ने नेपाली किताब र अंग्रेजीमा लेखिएको सानो रामायण पढ्दै छु। ती किताब पढ्दा मलाई निकै रमाइलो लागिरहेछ। मलाई चित्र बनाउन असाध्यै मनपर्छ। यो बिदामा मैले हातका पाँच औंलाको चित्र बनाई कोरोनाबाट बच्न क-कसका लागि प्रार्थना गर्ने भनेर औंलाको बीच भागमा लेखेँ। यो देखेर आमा, बाबा, मामु र दिदी खुसी हुनुभयो। मैले मेरो परिवारको पनि चित्र बनाएकी छु। मेरो बाबा अफिस फर्किनुअगाडि नै लकडाउन सुरू भएकाले बाबा काठमाडाैंमै थुनिनुभयो।
मेरो परिवार लकडाउनको समयमा बाहिर जान्नाैं। जानै परे मास्क लगाउछाैं। हामीले कोरोनाबाट बच्न दिनको ३, ४ पटक साबुन पानीले मिचीमिची हात धुन्छौं। लकडाउनको समयमा दिन बिताउन दिदी, बहिनी, म र मामु कहिले लुडो त कहिले रूमाल लुकाइ खेल्छौं। हामी दिनहुँ सबैजना मिलेर गीत गाउने, नाच्ने र चित्र बनाउने खेल पनि खेल्छौं। राम्रो गर्नेलाई पुरस्कार पनि दिन्छौं। हामी कथा भन्ने खेल पनि खेल्छौ। मलाई आमाले भनेका कथा मनपर्छ। साँझको समयमा आमाले र मामुले भजन गाउनु हुन्छ। दिदी, बहिनी र म नाच्छौं। अहिले हामीले महाभारत हेर्न सुरू गरेका छौं।
मलाई बाबाले बिहानको घाममा भिटामिन डी पाइन्छ भनेर सधैं घाम ताप्न भन्नुहुन्छ। आमा, दिदी र म हरेक दिन विहान कौसीमा बसेर घाम ताप्दै पुस्तक पढ्छौं। यो देखेर घरबेटी बुवाले सबै जनाको परीक्षा छ कि क्या हो भनेर जिस्क्याउनु हुन्छ। आमाले विद्यालयमा गएर पढ्न नपाएको भए पनि उहाँलाई नेपाली राम्रोसँग पढ्न आउँछ। मेरो आमाले योगमाया भन्ने किताब पढेर सक्नुभयो। अहिले स्वर्गद्वारीका बारेमा लेखिएको किताब पढ्दै हुनुहुन्छ। बिहान तुलसी र एलोभेराको बोटमा पानी पनि हाल्छु।
मेरी एउटी बहिनी पनि छन्। उनको नाम संस्कृति पराजुली हो। मलाई उनको धेरै माया लाग्छ। हामी दुईजना आमा छोरी बनी खेल्छौं। उनी ३ वर्ष ४ महिनाकी मात्र भइन् तर बेला बेलामा नयाँ नयाँ शब्द भनेर हामीलाई हसाउँछिन्। मैले हाम्रो परिवारको चित्र बनाउदा ठ्याक्कै आफूजस्तो बनाएको भनेर खुसी भइन्। मेरी एउटी दिदी पनि हुनुहुन्छ। उहाँ मेरो ठूलो मामुको छोरी हो। उहाँको नाम प्रकृति अधिकारी हो। मलाई गणित विषय पढ्न सिकाउनु हुन्छ। दिदी र म भएर नेपालका जिल्ला र सदरमुकामको नाम तथा मन्दिरहरूको नाम पढेर जान्ने भयौं।
चीनबाट सुरू भएको कोरोना भाइरस अहिले विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ रे। हामीलाई कोरोनाबाट जोगाउन अहिले सरकारले लकडाउन गरेको छ। हामी सबैले सरकारले भनेको कुरा मान्नुपर्छ। हामी त सबै घर भित्रै बसेका छौं। हजुरहरू पनि घरभित्रै बस्नु होला है।
घर बाहिर निस्कनै परे मास्क लगाउनु होला। पटक-पटक साबुन पानीले २० सेकेन्डसम्म हात धुनु होला। खाने बेलाबाहेक अरू बेला हात घाँटीदेखि माथि नलैजानु होला। हाम्रो घरमा त मामुले यही नियम बसाउनु भएको छ।
लकडाउनले गर्दा काम गर्न नपाएर कतिले खानसमेत पाएका छैनन्। त्यसैले बाबामामुले दिएको खानेकुरा खान्न नभन्नुहोला र खानेकुरा नफाल्नुहोला।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com