मेरा आँखा अगाडि मृत्यु नाचिरहेछ, चिच्याई चिच्याई एकपछि अर्कोलाई निमोठिरहेछ। खडेरीमा आगाको लप्काले सारा जंगल डढेलो लागिरहेछ।
मेरो अगाडि ठुलो भिर छ, अनि पछाडि डढेलो। यो संकटमा मलाई तिम्रो छत्रछायामा बस्न मन छ। त्यसैले मभित्र पस्न चाहन्छु। आमा, मेरा लागि ढोका खोल न।
म आइसकेँ तर मैले तिमीलाई छुन पाएको छैन। मेरो मन भक्कानिएको छ। म सम्भावित मृत्युसँग डराइरहेको छु। रोग, शोक र विपत्तिको सबैभन्दा अचुक औषधी आमाको काख हो।
त्यही काखको लालसामा तिमीलाई भेट्न आएँ तर तिम्रो ढोका बन्द देखेर रुँदारुँदा मेरा आँखाका आँसु रित्तिसके। तिमीले बोल्न सिकाएका मेरा आवाजहरु सत्त्वहीन भइसके, जिम्मेवारीका काँधहरु खुस्किसके। हिजोसम्म बलियो मेरो आत्मविश्वासको पर्खाल आज मक्किँदै चर्किँदै कमजोर हुँदै छ।
आमा, आ…..मा, तिमीतिर लम्किएका मेरा आवाजहरु थरर्र काँप्न थालेका छन्। शरीरका अंगप्रत्यांगहरु लुलिएर निष्क्रिय भइरहेका छन्। तिमीतिर अघि बढेका पाइलाहरु यो पराइ भूमिमा भासिदैँ छन्। जीवनको आशा क्षीण हुँदै छ।
म यसरी त्राहिमाम् भई भाग्दै र चिच्याउँदै आउँदा तिमीले मलाई मजेत्रोले छोपेर काखमा राख्नुपर्ने हैन र आमा? यो बेला तिमीले मेरो शिरमा हात राखेर ममाथि आफ्नो वात्सल्य पोख्नुपर्ने हैन र? स्नेहका आँसुले भिजाएर मलाई सम्पूर्ण रूपमा अँगाल्नु पर्ने हैन र?
आमा, म त तिम्रो मुटुको टुक्रा हुँ, तिमीले नै रगत, मासु, हाडकरङसहित प्राण दिएर जन्माएको सन्तान हुँ। तिमीले खुवाएको खाएर अनि सिकाएको सिकेर पलेबढेको म तिम्रो पुत्र हुँ।
आमा, ज्वरोले थलिएर सन्निपात हुँदा, विपत्तिले चारैतिरबाट घेर्दा, दिनरात मजदुरी गरेर एक पेट खोलेसम्म पनि खान नपाउँदा म तिमीलाई नै सम्झन्थेँ र आफ्नो पीडाबाट राहतको महसुस गर्थेँ।
परदेशमा तिम्रो याद मात्रले पनि आँखाका आँसु ओभाउँथे, शरीरको घाउ भरिन्थ्यो तर जब म अहिले तिम्रो नजिक आएको छु तैपनि तिमीले चरणस्पर्श गर्न दिएकी छैनौ। किन आमा, मैले के बिराएँ?
सन्तानका लागि मृत्युलाई चुनौती दिन सक्ने तिमी त सर्ववन्द्य आमा हौ। गरिबीले तर्साएको भोकले थला पर्दा आफ्नो पेट साग र सिस्नोले भरेर मलाई अमृततुल्य खाना खुवाई मेरो शरीरलाई बलिष्ठ तिमीले नै बनाएकी हौ। रोगले आफैँ छटपटिँदा घोरताप्रे, तुलसी, निम र अपामार्गको जरा पिँधेर तिमीले नै मलाई बिसेक पारेकी हौ।
गरिबीको बिडम्बनाबाट उन्मुक्ति मिल्ला कि भनेर परदेश जान लाग्दा तिमीले नै मलाई छिटै फर्केर आएस् भनी आसिक दिएकी नै हौ भने अहिले मलाई देख्दा तिमी किन तर्सिएकी? छिट्टै फर्किन आशिस दिएर किन घरको ढोकामा आग्लो लगाएकी?
आमा, म अहिले कालकोठरीमा छु। मेरो वरिपरि एक कदम चल्ने पनि ठाउँ छैन। म संकटको ज्वालामा घेरिइसकेको छु। मलाई सास फेर्न पनि गाह्रो भइसक्यो। आमा, मेरा लागि ढोका खोलिदेऊ। बिन्ती, तिमीले बन्द गरेको ढोका खोलिदेऊ।
परदेशिनु बाध्यता थियो मेरो। आमा, तिमीलाई थाहै छ, गरिबी र अभावले हामीलाई कति पोलेको थियो। मैले कहिल्यै तिमीले नयाँ फरिया फेरेको देखिनँ। साहुको ऋण तिर्न तिमीले रित्तो पारेको नाक, कान र घाँटीमा मैले फेरि कुनै दिन गहना झुन्डिएको देखिनँ।
साहुको कोपभाजनमा परी बेचिएको गोठ सधैँका लागि खाली भयो। गाई र बाख्राहरु ल्याएर त्यो रित्तो गोठ भर्न सकिएन। बहिनीले कहिल्यै दसैँमा नयाँ लुगा फेर्न नपाउँदा, तिहारमा मिष्ठान्नका नाममा चामलको भातसम्म पनि पकाउन नसक्दा, जाडोमा न्यानो कपडा नपाएर पूरै रात आगो तापेर बिताउनुपर्दा, चुहिएको छानो र भत्किएको भित्तो टाल्न नसक्दा अनि तपाईँले भोकभोकै दुनियाँको ढिकीजाँतो गर्नुपर्दा मेरो मन पलपल रोइरहन्थ्यो।
आमा, साहुले तिम्रो अस्मितामाथि हात उठाउँदा मलाई असह्य भयो। गरिबीका यी सबै धब्बाहरु मेट्न र तिम्रो मुहारमा थोरै भए पनि खुसीका लालीहरु पोत्न मैले तिमीलाई छोडेर परदेश जानै पर्ने भयो। त्यसैले मेरा पितापूर्खाले चलाएको जुवा, जोतारो, हलो, कोदालो, डोको र नाम्लो यत्रतत्र असरल्ल छाडेर म परदेश लागेँ।
तिम्रो मातृत्वमै लुटपुटिएर बस्ने अनि रोदी र मारुनीमा रमाउने रहरलाई मनमै दबाएर विदेशिनु के मेरो अपराध थियो? बुढ्यौलीले थला परेको अनि गरिबीले अभिशप्त तिम्रो जीवनमा आनन्द भर्न खोज्नु के मेरो भुल थियो?
अन्य मुलुकबाट धेरै पढेर अनि धेरै कमाएर आएका कतिपय मेरा दाजुभाइहरुलाई तिमीले आफ्नै पहलमा भित्र्यायौ। म पनि उनीहरु जस्तै तिम्रै सन्तान हुँ। तिमी कसैलाई काखा र कसैलाई पाखा कसरी गर्न सक्छौ? सन्तानप्रतिको यस्तो विभेदपूर्ण व्यवहार एउटी आमाका लागि शोभा दिने कुरो हो र?
हैन भने मलाई घरकै साँधमा आइपुग्दा पनि किन तिमीले घरमा भित्र्याउन सकिनौ? आमा, यतिका दिन भइसके घरको ढोका खुल्ला र घर छिरौँला भनेर हामी यहाँ भोकभोकै बसिरहेका छौँ। यहाँ कति काखमा अवोध शिशु बोकेका सुत्केरी छोरीबुहारीहरु छन्, कति बीच बाटामै लुटिएर नांगा भएका मलिन अनुहार लिएर बसेका तन्नेरीहरु छन्।
अनि कतिचाहिँ दीर्घरोगले थलापरेका वृद्ध आमाबुबाका लागि किनेको औषधी उनीहरुलाई खुवाउन आतुर श्रमजीवी मजदुरहरु छन्। तिम्रो मौनताले हामीलाई झन् बढी पीडा दिएको छ। यो विपत्तिमा हामीलाई परदेश त आश्रय दिएन नै, आफ्नै आमाले समेत अन्यत्र मुन्टो बटारिदिँदा हामी यहाँ पलपल मरिरहेका छौँ।
आमा, म कुपुत्र भएँ हुँला तर तिमी कुमाता हुन सक्दिनौ। यति भएर पनि तिमीलाई कुन त्यस्तो बाध्यताले निर्दयी बनायो? बरु म यही महाकालीको पावन जललहरीमा समाहित हुन तयार छु, तर तिमीमा अहिले देखिएको सन्तानप्रतिको निर्दयताले मजस्ता हजारौँ सन्तानहरुको मनमा शूल पसेझैँ असीम पीडा दिएको छ।
कि तिमीले मलाई सन्तानका रुपमा स्वीकार नगरेकी हौ? भन आमा, म के गरौँ? के गर्दा म तिम्रो सन्तान ठहरिन्छु? भन आमा भन, मैले के गरे भने तिमीले घरको मात्र होइन, ममता र वात्सत्यको समेत ढोका खोलिदिन्छौ?
आमा, स्वदेशको माया, आमाको काख, जहान र परिवारको स्नेहलाई लत्याएर परदेश जान कुनै पनि म जस्ता छोरालाई रहर हुँदैन। आफ्नै गाउँठाउँमा भोको र नांगो भई अभावै अभावमा जिउनुपर्दाको छटपटीले मलाई तिमीबाट टाढा बनाएको हो। आमा, ठाउँ ठाउँमा टालिएको तिम्रो मैलो फरियालाई सम्झिएर, भोकाएको मेरो दुधमुखे छोरालाई सम्झिएर अनि आजसम्म एक पेट मिठो खान नपाएकी श्रीमतीको अनेक आशा र चाहनालाई सम्झिएर परदेशमा श्रम गर्न आएको हुँ।
साहुको कटुवचन, कहिल्यै मर्मत गर्न नसकिएको घरको आधा ढलेको भित्तो र आफ्ना बालबच्चाको भविष्य निर्माणलाई हरपल मनमा राखी थोरै उपलब्धिसहित फेरि आफ्नो माटोमा फर्किआर्एको हुँ। आकाशमा जति नै फन्को लगाए पनि वा सात समुद्र तरेर आधा संसार ढुले पनि अन्ततः चरा आफ्नै गुँडमा फर्किन्छ।
त्यसैले म तिमी सम्झेर आएँ तर खै तिमीले मलाई आफ्नो ठानेकी? खै तिमीले मलाई मातृत्वले भिजेको आफ्नो आँचलमा लुटुपुटु गर्न दिएकी? आमा, तिमीले मलाई नचिनेकी पो हौ कि? हजारौँ मृगशावकको हुलमा पनि मृगिणीले आफ्नो शावकलाई चिन्दछ भने तिमी मलाई कसरी चिन्न सक्दिनौ?
हेर न यो त्यही चन्द्र र सूर्य अंकित त्रिकोण रुमाल मैले बोकेको छु जुन तिमीले मलाई परदेश जानुपूर्व दिएकी थियौ र भनेकी थियौ- छोरा, यो मेरो मायाको चिनो मात्र होइन, यो तिम्रो माटोको बिम्ब पनि हो। यसले तिमीलाई परदेशमा पनि म र यो देशको मायालाई मर्न दिने छैन।
आमा, त्यही रुमाल बोकेर म फेरि यतै फर्किएको छु। तिमीलाई भेट्न आएको छु। आमा, म तिम्रै सन्तान हुँ। तिम्रो चरणमा आफ्नो शिर झुकाएर एक पटक निर्धक्क रुन मन छ मलाई। त्यसैले ढोका खोल आमा, ढोका खोल।
तिम्रो नजरमा म निकृष्ट र अधम नै ठहरिएछु। त्यसैले तिमीले मलाई यहि रुपमा स्विकार्न सकिनौ भने पनि मेरो त्यसमा कुनै गुनासो छैन। ठिकै छ, म अलग्गै बसुँला। तिमीलाई मात्र होइन, तिम्रो ममताको विशाल आँगनमा बसेका अन्य सन्तानहरुसँग पनि म संसर्ग नगरुँला।
तिम्रो झुपडीको अगाडि बोराले बारेर म छुट्टै बसुँला। तर मलाई तिमी यस्तो घृणा नगर। मलाई आफूदेखि परपर नपार। जनजी जन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेर तिमीले नै मलाई सिकाएकी हौ। त्यसैले म परदेशको वैभव छोडेर आफ्नै माटोमा नंग्रा खियाउन आएको हुँ।
अब तिमीले नै मलाई दुत्कार गर्यौ भने म आमा खोज्दै कहाँ जाऊँ? भन आमा, तिमीबिना मेरो पहिचान के हुन्छ?
आमा, सन्तानका लागि तिम्रो स्नेहसिक्त स्पर्श नै ओखती हो। म अहिले रोगार्त र शोकार्त भई छिमेकीको आँगनमा बसेर आफ्नो घरतिर हेरिरहेछु। यो बेला आमाबाहेक मेरो सुरक्षित आश्रय अरु केही हुन सक्दैन। म जान्दछु कि कुनै अव्यक्त दुर्घटनाको कल्पनाले भयभीत भई तिमीले मलाई अहिले रोकेकी हौ।
मलाई यो पनि विश्वास छ कि ढिलोचाँडो तिमीले मेरा लागि घरको मात्र होइन, मनको ढोका पनि खोलिदिनेछौ। वज्रझैँ कठोर बनाएको आफ्नो हृदयमा तिमीले मलाई स्थान दिनेछौ। तिम्रो मनमस्तिष्कमा पोतिएको भयको कालुष्य हटेर तिमीमा मप्रति दया, करुणा र ममताको भाव मातृत्व बनेर अंकुराउनेछ। तिमीले चिराइतो र निम खुवाएरै भए पनि यो रोगको महासंकटलाई छुमन्तर पारी भगाउनेछौ।
तर आमा, अब पनि तिमीले ढोका खोलिनौ भने ढिलो होला। मेरा आशाहरु टुटेर जालान्, उत्साह र अठोटको भाव त्यसै सेलाएर जाला। त्यसलाई पनि मैले बचाउनुछ। त्यसैले आमा, ढिलो नगर। अब त ढोका खोल।
तिमीले मलाई घरमा प्रवेश नदिँदै भय र शोकले विह्वल बनेको छोराको पुकारालाई नसुन्दा जोरीपारीका मान्छेहरुले तिमीलाई के ठान्लान्? तिम्रो मातृहृदयले के ठान्ला? आमाको रटना गर्दागर्दै, मातृत्व र माटोको कामना गर्दागर्दै कदाचित् म मरेँ भने आमाको महत्त्व र मातृत्वमा यो सारा दुनियाँले चोर औँलो ठाडो पारेर प्रश्न गर्नेछ।
आमाको महत्तामा दाग लाग्नेछ। यता मेरो लाश पराइ भूमिमा बेवारिसे हुनेछ। मैले मरेर पनि शान्ति मिल्ने छैन। त्यता तिम्रो मन पनि आफ्नै सन्तानप्रतिको दुर्व्यवहारका कारण बेचैन रहनेछ। त्यसैले आमा अन्न न पानी भई क्षण-क्षण मृत्यून्मुख यो निरीह सन्तानलाई थोरै दया गर।
मलाई पनि मातृत्वको आँचलमा लुटुपुट्याऊ। त्यसैले आमा, बन्द गरेको ढोका खोल। आमा, ढिलो नगर।