अध्ययन र रोजगारीका सिलसिलामा दसौं हजार नेपाली विदेशमा छन्। कोरोनाबाट संक्रमित नेपालीको संख्या पनि विदेशमा बढ्दो छ। बिहीबारसम्मको सरकारी तथ्यांकअनुसार १८ देशमा एक सय ९६ नेपाली कोरोना संक्रमित छन। १३ जनाको निधन भइसकेको छ।
कोरोनाको डर संसारका मान्छेसँग छ। त्यसबाट नेपाली अछुतो रहने कुरै भएन। विदेशमा रहेका नेपालीले भने कोरोनाको दोहोरो पीडा खेपिरहेका छन्।
विकसित देशले नै जोखिम कम गर्न नसकेका अवस्थामा आफ्नो देश नेपालमा कोरोना फैलिँदा के हालत होला? विदेशमा बसेर नेपालप्रति भगवान भरोसा गरिरहेका छन्। नेपालमा रहेका परिवारको अवस्थाले पनि त पिरोलिरहेको छ परदेशी नेपालीलाई।
संकट बेला परिवारसँग रहन नपाएको पीडा छ। अर्कोतिर कतिपय देशले आफ्नै देश फर्किन प्रत्यक्ष-अप्रत्यक्ष आह्वान गरिरहेका छन्। लाखौं खर्च गरेर अध्ययन होस् वा रोजगारीमा, परदेशीहरू सबै बिर्सिएर संकटको यो घडीमा आफ्नै देश फर्किन राजी पनि छन्। परिवारसँग समय बिताउन पाउँदै खुसी मिल्छ। तर, लकडाउनका कारण हवाई उडान बन्द छ। उडान नभएपछि फर्किन सक्ने कुरै भएन।
नेपाल फर्किन चाहेर पनि विकल्प नभएपछि विभिन्न देशमा रहेका नेपालीको आवाज छ, 'हामी देश फर्किन चाहन्छौं, हवाईजहाज पठाइयोस्।'
यो आवाज खाडीका केही देशबाट मात्रै होइन, युरोप, अमेरिका र अस्ट्रेलियाबाट पनि आइरहेको छ। छिमेकी मुलुक भारतमा रहेका नेपालीको कर्कश त नेपालको जमिन टेकेर भारतको डिलमा हेर्दै देखिन्छ। सिमानामा अड्केकै नेपाली देशभित्र छिर्न नदिएको सरकारले समुद्रपारिका नेपाली लिन जहाज पठाउने आश त परदेशीलाई छैन। यद्यपी, चीनमा रहेका विद्यार्थीलाई जहाज पठाएर नेपाल फर्काएको उदहरण हुँदा झिनो आश भने पक्कै छ।
आफ्नो देशको सरकारसँग आशा गर्नु स्वभाविक हो। दुई पैसा कमाउन, दुई हरफ ज्ञान लिन होस् वा केही सिप सिक्न भनेर रहर वा बाध्यताले परदेशी बने पनि जन्मभूमि नेपाल हो। जन्मभूमि सबैलाई प्यारो लाग्छ। त्यसैले त परदेशीले प्रगति गर्दा पनि जन्मभूमि (नेपाल)कै पहिचान गराउँछ। परदेशमा परलोक जान परेमा आफ्नो शरीर देशमै विलिन गराउने चाहना राख्छ। बाकसमै पसेर भए पनि स्वदेश फर्किन्छ।
परदेशीको नेपालीत्व मनले संसारभर फैलिएको कोरोनासँगको डर लुकाउन आफ्नै देश जाने चाहना राख्नुपनि स्वाभाविक हो। नेपाल आफैं कोरोनाबाट ग्रसित छ। यो अवस्थामा परदेशीलाई फर्काउन नसक्ने नेपालको अभिव्यक्ति छ। (यद्यपी, अदालतले फर्किन चाहनेलाई फर्काउनु भनेको छ। तर, यसको कार्यान्वयन तत्कालै गराउने सरकारको तयारी देखिन्न।) यो अभिव्यक्तिसँग परदेशी आक्रोषितको सट्टा मौन छन्।
अस्ट्रेलियाले देश फर्किन आह्वान गरेको छ। अमेरिकामा पनि नेपालीले खान नपाएको भिडिओहरू सार्वजनिक हुन थालेका छन। माल्टामा रोजगार गुमेर नेपाली अलपत्र छन। पोर्चुगलमा पनि बेहाल छ। साइप्रसका नेपाली फर्किन आतुर छन। माल्दिभ्समा अलपत्र परिरहेका छन्। कतारले कतिपयलाई कम्पनीबाटै निकालिसकेको छ। आफ्ना नागरिक लैजान चेतवानी दिएको छ।
विभिन्न देशमा रोजगारी गुमेको, कलेजको शुल्क तिर्न नसकेको, खान-बस्नै समस्या भएको समाचार पनि आइरहेका छन्।
यस्ता समाचारसँग नेपाल बस्ने कतिपयले खुसी साटेको देखिन्छ। टिप्पणीमा 'खाइस्, ठिक्क परो।' जस्ता शब्द देखिन्छन्। समाचार र सामाजिक सञ्जालमा यस्तै टिप्पणी देख्दा परदेशीको मन बैचैन छ। परदेशीको मनले भनिरहेको छ, 'यस्तो पनि एक नेपालीले अर्को नेपालीलाई भन्ने शब्द हो ?'
हुन त परदेशीलाई सधैं एउटै आरोप लाग्छ, 'देशको माया नहुनेहरू'।
तर एउटा व्यक्ति परदेशी बन्न किन बाध्य छ? त्यस पछाडिका कारण खोजिँदैन। परदेशी भएपछि कानुनी रुपमै विदेशी भएको भनेझैं ठानिन्छ सायद। त्यसैले होला, एउटा परदेशीले आफ्नो भूमिका बारे चिन्ता व्यक्त गरेमा भनिन्छ, 'विदेश बसेर ठूला कुरा गर्छ। देशको चिन्ता हुनेले त देशमै पो केही गर्न सक्नुपर्छ।'
सायद ती टिप्पणीकारलाई लाग्दो हो, 'विदेश जानेले देशका बारेमा सोच्नै हुँदैन। परदेशी भनेको विदेशी हो। कानुनले नै विदेशी बनोस् र सोही देशको बारेमा सोचोस्।'
'खाइस्, ठिक्क परो' शब्द पनि त यस्तै सोच भएका टिप्पणीकारको उपहार हो परदेशीलाई।
के उनीहरूलाई थाहा छैन- एउटा परदेशीको ज्यान मात्रै हुन्छ परदेशमा। मन त नेपालमै हुन्छ। नेपालीत्व जहाँ गए पनि मर्दैन। परदेशमा सबै थोक पाइन्छ, नेपाली भावना बाहेक। एउटा नेपाली जब परदेशी बन्छ, मातृभूमिलाई भुल्नुको सट्टा झन् जागृत गर्छ। जन्मभूमिको माया कति लाग्छ, परदेशी बनेपछि मात्रै थाहा पाउँछ मान्छेले।
जन्मभूमि, जन्मदिने आमाबुबा, आफ्नो परिवार, साथीसंगी सबै छाडेर गएको परदेशीसँग केवल याद हुन्छ। ती टिप्पणीकारलाई थाहा छ, आफ्नो गाउँ छाडेर सहर पसेका सुरूका दिन? कति याद आउँछ गाउँको। आमाबुबाको, साथीसंगीको, खेल्ने ठाउँको, कखरा सिकेको विद्यालयको? सुतेको खाटको। पानी खाएको धारोको।
परदेश आएपछि सबै कुरा मेटिन्छ। देशले दिएको नागरिकता पनि मेटिएला। तर, मातृभूमिसँगका याद मेटिँदैनन्। कसैले बिर्सन्छ आमाबुबालाई?आमाबुबा जस्तै मान्छेले नबिर्सने मातृभूमि हो। अनि, एउटा विदेश गएको मान्छेले मातृभूमिबारे बोल्दा के गल्ती भयो?
परदेशीलाई पनि त देश चलाउने राम्रो नेता आए हुन्थ्यो भन्ने लाग्छ। उसले परदेश घुम्दा देख्छ, अनुभव गर्छ अनि उसलाई लाग्छ, 'मेरो देश पनि यस्तै सुन्दर बनोस्।'
त्यसैले त कहिले देशको नेतृत्वलाई गाली गर्छ, कहिले प्रवृत्तिलाई। यो त परदेशी बने पनि देशप्रति गरेको जिम्मेवारी होइन र? अनि किन आरोप 'देश छोडेर भाग्नेहरू' भनेर?
ल, आरोप नै सही। देश छोडेर भागे। देश फर्किन्छु भन्दाचाहिँ किन गाली?
परदेशीसँग पनि मन हुन्छ। दोहोरो तनाव थेगिरहेका परदेशीको मन, 'देश छोडेर भाग्नेहरू, विदेशमा खान गएकाहरू, अवसरवादीहरू, मोज गर्न गएकाहरू, ठिक्क पर्यो, खाए यिनीहरूले...' यस्तैयस्तै गालीले परदेशीको मन कति छियाछिया होला।
यति बेला परदेशमा केही नेपाली खानै नपाएर घरका न घाटका भएका छन्। सम्झनुस्, तपाईंहरूको टिप्पणीले ती नेपालीको मन कति पोल्छ? के तपाईंहरूलाई लाग्छ, परदेशीले कर्मभूमि बनाउँदा जन्मभूमिलाई चटक्कै बिर्सिन्छ?
त्यस्तो हो भने तपाईं गलत हुनुहुन्छ।
एउटा परदेशीले झोलामा हालेर, जहाज चढाएर ल्याएको गुन्द्रुक खान्छ। रेस्टुरेन्टमा गएर पिज्जा खाँदा गाउँको कोदो रोटीको स्वाद सम्झिन्छ। साथीहरू भेट्दा आफ्नै भाषामा बोल्छ। चाडपर्वमा आफ्नै संस्कृति झल्काउँछ। सपनामा आफ्नै देश घुम्छ। कहिले आफ्नो जन्मघर पुग्छ। कोठामा पनि नेपालको चिनो सजाएको हुन्छ। कोठामा चन्द्रसूर्य अंकित झन्डा राख्छ। विदेशी भेट्दा नेपालको बयान गर्छ। नेपालीको परिचय दिन्छ।
पाँच-सात जना नेपालीको समूह भए संघसंस्थै जन्माउँछ। नेपालमा गर्न सकिने सम्भावना औंल्याउँछ। देशमा आपत पर्दा रकम उठाएर सकेको सहयोग गर्छ। अघिपछि पनि देशमा भइरहेका अभियानलाई सहयोगी हात बन्नेमा परदेशी नै हुन्छ।
परदेशमै पनि नेपालीलाई समस्या परे समाधान जुट्छ। जस्तो, म नर्वेको राजधानी ओस्लोमा छु। यहाँ रहेका नेपाली कोरोनाबाट त सुरक्षित छन्। तर, केही नेपालीलाई समस्या छ। तिनको समस्या समधान गर्न यहाँका संघसंस्थाले यहाँ बस्ने नेपालीसँग पैसा उठाएर सहयोगको प्रक्रिया अगाडि बढाएका छन्। नर्वेमा मात्रै होइन, नेपाली रहेका सबै देशमा एकअर्कामा परेको समस्या समधानमा नेपाली जुटिरहेका छन्।
परदेशीले उक्त देशमा नेपालीत्व स्थापन पनि गरिरहेको हुन्छ। जस्तो, नर्वेमा रहने नेपाली मिलेर यहाँ नेपाली मन्दिर बनाउन कसरत गरिरहेका छन्। नर्वेमा नेपाली मन्दिर बन्नु नेपाल चिनिनु होइन र?
नर्वेमा मात्रै होइन, धेरै देशमा परदेशी बनेका नेपाली नेपालीपन झल्काइरहेका छन। परदेशीकै कारण विदेशमा नेपालको पहिचान बढिरहेको छ। देशप्रतिको माया, जिम्मेवारी नहुँदो हो त किन विदेशमा नेपाल चिनाउन मरिमेटेर लाग्नु थियो?
मेरो साथी कुमार खत्री मलेसियामा छ। रोजगारी क्रममा रहेको उक्त साथीले त्यहाँको एउटा संस्थामार्फत नेपालमा धेरै सामाजिक काम गरेको छ। ऊ कुनै राजनीतिक दलप्रति आस्था राख्दैन। स्थानीय तह चुनाव बेला मलेसियामै रहेको त्यो साथीले स्थानीय तहमा मलेसियाबाटै आफ्नो प्रतिनिधित्व गरिरहेको छ। गाउँमा आवश्यक विकासको मागदेखि भइरहेका विकास गतिविधि निगरानी गरिरहेको छ।
अब उसलाई देशभक्त मान्ने कि रोजगारी गर्न मलेसिया आएकै कारण परदेशी भन्ने? यस्तो बेलामा समस्या परेर घर फर्किन्छु भन्यो भने गाली गर्ने कि सान्त्वना दिने?