ऋणको किस्ता चुक्ता गर्न हरेक बिहान ओच्छ्यानमा ब्युँझने जीवनको एक हिस्साको बेग्लै किस्सा छ। किस्ताको जोडजाम गर्ने तनाव र आफूले दिएको बोलीको इमानले रातभर निदाउन दिँदैन। अनि दिनभर आनन्दले बाँच्न दिँदैन।
तर जसोतसो जीवनको गर्जो धान्न ऋणको कर्जो किस्ता-किस्तामा कारिँदै छन्। अनि जिन्दगीका दिन पनि टारिँदै छन्। हुन त मान्छे भन्छन्, ऋण होस् तर घिन नहोस्। तर ऋणको भारी बोक्नेलाई मात्र थाहा हुन्छ ऋणको खोलले ढाकेर बचाएको इज्जत धान्न कति गाह्रो हुन्छ भनेर।
किस्ताका लहरमा चुस्ताएको मानसपटलमा तरंगित विचारका बेगसँगै वरपर शयर गर्दै भौंतारिएको मनलाई सामाजिक वस्तुस्थितिको चित्रण गर्दै यी सुगठित शब्द यहाँहरू माझ पस्कन मन लाग्यो।
सबभन्दा पहिले, आफ्नै गाउँका स–साना टहरा र हरेक घरको छानामुनि लुकेका कथाव्यथा बुझ्न बलिरहेको चुलो वरिपरि आगो ताप्दै गरेका पारिवारिक गफागफीतिर अवतरित भएँ।
संवाद निकै गम्भीर छ। श्रीमानश्रीमती धेरै तनावमा देखिन्छन्। छेउमा छोराछोरी चुपचाप भात खाँदै छन्। विशेषगरी श्रीमती धेरै नै छटपटाइरहेकी छन्। उनी चिन्ताले भुन्भुनाउँदै छोराछोरीलाई खाना थपी दिन्छिन्।
अनि अगुल्टो चुलोमा ठोस्दै बर्बराउँछिन्, 'भोलिको किस्ता छ, अहिलेसम्म पैसाको केही चाँजोपाँजो छैन। भन्न मिल्ने जति सबैसँग सापटी भनिसकेँ, तर कसैले पत्याएनन्। उफ्।'
'भोलि समूहमा किस्तै नलिई कुन मुख लिएर जाने होला? दिदीबहिनीको अगाडि लाजै हुने भयो। नजाऊँ भने तिनै दिदीबहिनी घर घेर्न आइहाल्छन्,' उनी बेलाबेला लामो सास तान्दै बोलिरहेकी छन्।
उनका श्रीमान बारम्बार मोबाइलमा कसैलाई फोन लगाउँदै छन्। धेरै पटकसम्म फोन नलागेपछि निकै तनावमा देखिन्छन्। झोंक्किँदै भन्छन्, 'यो ठाँडोमा काम परेका बलामा फोन नै लाग्दैन। कमसेकम एकचोटि मात्रै लागे पनि भोलिको किस्ताको केही जोडजाम त हुन्थ्यो।'
धेरै बेर उनीहरू किस्ताको जोहो गर्न अनेकौं उपाय लाउने प्रयास गर्छन्। कुनै टुंगो नलागेपछि अन्तिममा श्रीमानले मुख खोल्छन्, 'भैगो धेरै चिन्ता नमान, म भोलि बिहानै कतैबाट सापट ल्याउँछु अनि किस्ता लगेर समूहमा जाऊली। हिँड, सुत्न जाऔं।'
रातभरको छटपटीले त्यो घरको निद्रा भगाइदिन्छ। विछिप्त उनीहरू कोल्टे फेर्दै रात कटाउँछन्। एकाबिहानै पैसा खोज्न श्रीमान घरबाट निस्कन्छन्। श्रीमती पनि श्रीमानले पैसा ल्याउने झिनो आशमा घरायसी काममा अल्मलिन्छिन्।
आजको किस्ता टर्ला कि नटर्ला भन्ने दुविधामा रहेकी श्रीमती श्रीमानको बाटो हेर्छिन्। समूहको बैठक बस्ने समय हुनै लागिसकेको हुन्छ। त्यतिकैमा श्रीमान आउँछन्। किस्ताको पैसा हातमा थमाउँछन्।
श्रीमतीले लामो सास फेर्दै सोध्छिन्, 'कहाँबाट ल्याउनुभयो?'
श्रीमान भन्छ, 'तल बले साहुसँग बिन्ती बिसाएर दिनको १००० रुपैयाँ तिर्ने गरी पाँच दिनको भाका राखेर ल्याएको हुँ।'
श्रमिती मुन्टो हल्लाउँदै समूहको सारी बेरेर बैठकतिर दौडिन्छिन्। ठूलो संघर्षपछि जुटेको किस्ता बुझाउँदै सूहमा पुनः ऋण माग गरेर फर्कन्छिन्।
'त्यति छिट्टै हामीले कहाँबाट बनाउने, त्यसैले फेरि ऋण माग गरेर आएँ,' उनी श्रीमानलाई सुनाउँछिन्।
यो समस्या यो घरको मात्र होइन, घरघरको हो। हजारौंको ऋण कारोबार गर्नेदेखि करोडौं परिचालन गर्नेको समस्या र तनाव उस्तै छ। जग्गा धरौटी राख्नेदेखि लिएर घर धितो राख्नेको समस्या उस्तै छ।
अस्ति भर्खर एकजनाले आफू विस्थापित भएको पीडा सुनाउँदै हुनुहुन्थ्यो। अधबैंशे उमेरका उहाँ एक सामान्य मजदुर हो। श्रीमतीको उपचारका लागि तत्काल ऋण चाहिएको र कतैबाट जोडजाम गर्न नसेपछि आफ्नो घरसहित जमिन धरौटी राख्नुभएछ। कागजमा पाँच लाखको ऋण लिएर छ महिना भाकामा तिर्नेगरी हस्ताक्षर गर्नुभएको रहेछ।
दुई महिना अस्पतालको बेडमा बिरामी श्रीमती कुरेर बितेछ। फर्केपछिका चार महिना रातदिन मिहेनत गर्दा पनि त्यति पैसा जुटाउन नसकेपछि अन्तिममा स–परिवार सडकमा आउनुपर्यो। अहिले उहाँ टाउको लुकाउन सामुदायिक वनको जग्गा अतिक्रमण गरेर, समाजको निन्दा सहेर बस्नुभएको छ। जहाँ बेला बेलामा सामुदायिक वन समितिले टहरो भत्काएर जान्छ। ती भत्किएका झिटीभाटा बटुलेर फेरि टहरो बनाउँदै जीवन गुजारा गर्नु भएको छ।
मैले चिनेको एक महिला हुनुहुन्थ्यो। तीन छोरीकी आमा। श्रीमानबाट कुनै सहयोग थिएन भन्दा हुन्छ। काखको छ महिने छोरीसहित दिनरात मिहेनत गरी गुजारा चलाइरहनु भएको थियो। यति मात्र होइन, श्रीमानले रातदिन खाएको रक्सीको पैसा समेत उहाँ आफैंले बेहोर्नुपर्थ्यो।
थोरैथोरै गरी ऋणको बोझ थपिँदै गयो। समूहको किस्ता धेरै पटकसम्म जुट्न सकेका थिएन। समाजका र समूहका दिदीबहिदीका चोटिला जवाफ र बहिस्कार सहन सक्नेभन्दा माथि भइसकेको रहेछ। त्यस दिन पनि सधैंझैं समूहका दिदीबहिनी हतारहतार बैठकतिर लाग्दै थिए।
उनी एकोहोरो कतैतिर हेरीरहेकी थिइन्। केहीले त उनलाई बोलाए पनि। तर कुनै जवाफ फर्काउने अवस्थामा थिइनन्। एकैछिनपछि समूहका सबैजना उनको घर घेर्न उकालो लाग्दै थिए।
उनकी छोरी तल खोल्सामा रोइरहेको देखे। उनले त विष खाई आत्महत्या गरिछन्।
यो छ महिनाअघिको कुरा हो।
यी घटना प्रतिनिधि हुन् ऋणको जालोमा जेलिएकाहरुको। यस्ता धेरै दृश्य समाजमा देखिरहन्छन्।
उसो त लगानीका लागि ऋण ल्याउनु र परीचालन गर्नु राम्रो हो। तर आफ्नो विलासिताका लागि अनुत्पादित वस्तुमा खर्च गर्नु वा क्षमताभन्दा बढी ऋण ल्याउनुको नतिजा यस्तैयस्तै हुन आउँछ। लघुवित्तको परियोजनामा वित्तीय तथा ऋण सहकारी संस्थाले गाउँगाउँका महिलालाई समूह गठन गरी मासिक बचत तथा ऋण उपलब्ध गराउँछन्। निजी तथा गैरसरकारी वित्तीय संस्था गाउँगाउँमा सञ्चालित छन्।
एउटै प्रकृतिका देखिने तर फरक–फरक ब्याजदर तोकिएका बचत तथा ऋण सहकारी संस्था तिनै महिलालाई आ–आफ्नो समूहका सदस्य बनाउँछन्। तिनै महिलालाई एकअर्काको जमानी राखी सहजै ऋण प्रदान गर्छन्। उक्त ऋणले आम्दानी नहुँदै कहिले चौध दिनमै त कहिले एक महिनामै चर्को ब्याजदरमा किस्ता असुल्न आइपुग्छन्।
संस्थाबाट खटाएर आएका कर्मचारी त्यति बेलासम्म उठ्दैनन् जतिबेलासम्म समूहका सबै सदस्यको किस्ता असुल हुँदैन। कारणवश् कसैको किस्ता नआए सबै सदस्यको इच्छा र सहमति बिना पनि उक्त किस्ता उनीहरूको व्यक्तिगत बचतबाट असुल गरिन्छ।
फलस्वरुप ती महिला एउटा समूहको ऋण तिर्न अर्को समूहबाट ऋण माग गर्छन्। यसो हेर्दा एउटा महिला तीनदेखि पाँच वटा वित्तीय संस्थाका समूहमा आवद्ध हुन्छन्। सबै समूहबाट ऋण लिएका हुन्छन्। जसले उनीहरूको मानसिक, सामाजिक र आर्थिक पक्षमा ठूलो प्रभाव पारिरहेको छ।
अचल सम्पति हुनेहरू बैंकमा धितो राखी सुलभ ब्याजदरमा ऋण कारोबार गर्छन्। तर निम्न आय भएकाहरूसँग केही हुँदैन। उनीहरू निजी रूपमा सञ्चालित नाफामूलक वित्तीय संस्थाको शरणमा पुग्छन् जहा चर्को ब्याजदरको शिकार हुन पुग्छन्। यसले गरिब झनै गरिबीको दलदलमा फस्दै जाने अवस्था सृजना भएको छ।
यो अहिले धेरै घरको कहाली लाग्दो समस्या बनिरहेको छ। यसकै कारण घरेलु द्वन्द्व, सामाजिक वैमनस्यता, गरिबी र मानसिक तनाव बढाइरहेको छ। धनी-गरिबबीच विभेदकारी दुरी र सामाजिक असमानता बढ्दो छ।
यस अवस्थामा, निजी तथा गैरसरकारी, वित्तीय तथा ऋण सहकारी संस्थाहरूले ऋण प्रदान गर्ने सेवामा मात्र ध्यान केन्द्रित नगरी दिएको ऋणको सदुपयोग भएको छ-छैन वा ऋण परिचालन गर्ने क्षमता तथा सिप छ-छैन भनी पूर्वअध्ययन तथा अवलोकन गर्नु आवश्यक देखिन्छ।
ऋण दिनुअघि रूचि र क्षमताका आधारमा व्यवसायिक योजना बनाई उचित तालिम तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गर्न अपरिहार्य छ। उक्त संस्थाहरूले ऋण दिएपछि उत्पादनमूलक कार्यमा परिचालन भए-नभएको र उचित बजार व्यवस्थापन भए-नभएको मूल्यांकन गरी सहजीकरण गर्नुपर्छ। यसका लागि सरकारी संयन्त्र समेत खडा गरिनुपर्छ।
उत्कृष्ट काम गर्ने नेपालका निजी तथा गैरसरकारी वित्तीय संस्थाले बंगलादेशका मुहम्मद युनुश्सरह नोबेल शान्ति पुरस्कार हासिल नगर्लान् भन्न सकिँदैन। उनलाई 'बैंकर टु द पुअर' भनेर चिनिन्छ। उनले बंगलादेशमा रहेका अति विपन्न र सर्वहारालाई आर्थिक रुपमा सशक्त बनाउन र गरिबी अन्त्य गर्न लघुवित्तीय कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमले आमूल परिवर्तन ल्याएको थियो।
हामी कामना गरौं, ऋणका किस्ताले व्यक्तिलाई थप लगनशील भई प्रगतिपथतिर जान प्रेरित गरोस्। मानसिक तनाब र सामाजिक असमानता सृजना नहोस्।