नेपाल ज्यादै सानो छ। इतिहासका गौरव गाथा गाएता पनि वर्तमान नेपालको भौगोलिक धरातल सानो छ। होला भन्नेले नेपालको प्रकृतिको कुरा गर्ला, जलश्रोतको दम्भ देखाउला, हिमालहरुको अग्लाइको गर्व गर्ला, मन्दिरहरुको चाङ लागेको शहरहरुको ऐतिहासिक पृष्ठभुमि सुनाउला।
यद्यपि चिन्तन गर्ने विषय यो होकी 'के माथि उल्लेखित जलश्रोत, हिमाल, मन्दिर या सहरहरुले उल्लेखनीय नतिजा दिन सके त?' प्रश्न अनुत्तरित छ। हो, नेपाल सानो छ। आर्थिक, सामाजिक, राजनीतिक र भौगोलोक हिसाबले नेपाल सानो छ। तर आज दृश्य फरक छ।
कोरोना कहरले गर्दा विश्वको स्थिरतामाथि प्रश्न उठिरहेको बेला नेपाल भने स्थिर नै छ। अर्थात नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सानै छ र दुःखको कुरा नेपालले कोरोना विरुद्ध चालेका कदमहरु पनि सानै छन्।
अब अमेरिका र इटाली जस्ता देशहरु त घुँडा टेक्दैछन् भने राजनीतिक चक्रव्युहमा फसेर आर्थिक उन्नति गर्न नसकेको हाम्रो देशको त के कुरा। अब संयमित भएर खोपको आविष्कार नहुन्जेल कोरोना रोकथामका उपायहरु अपनाउनुको विकल्प छैन हामीसँग। नेपाल सरकार कुनै पनि प्रकारको अन्वेषण प्रति उदास छ।
नेपाली डाक्टर र नेपाली वैज्ञानिकहरुले सरकारको उदासिनताको कारणले कोरोनाको औषधि पत्ता लगाउलान् भनेर कल्पना गर्नु भनेको त्यो कल्पना गरेको समय नै खेर फाल्नु हो जस्तो लाग्छ।
म आजभोलि जुन कार्यक्रमा उपस्थित हुन्छु, ती कार्यक्रमहरुको विषय फरक भएपनि कुनै न कुनै वक्ताले अन्वेषण (इनोभेटन)को कुरा गरिरहेकै हुन्छन्। पोहोर साल २०१९ को डिसेम्बरमा म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दन्त चिकित्सा तथा शल्यक्रिया शास्त्रमा स्नातक तहमा भर्ना भएँ।
त्यहाँको परिक्रमा विद्यार्थी परिवार भन्ने साहित्यिक संस्थाले एक कार्यक्रममा अथितिका रुपमा निम्त्याएको थियो नेपालमा औषधी बनाउने देउराली जनता कम्पनीका कार्यकारी निर्देशक हरिभक्त शर्मालाई। उनले त्यहाँ अन्वेषण र चिकित्सा क्षेत्रमा अन्वेषणको महत्वका बारेमा थुप्रै कुरा बोलेका थिए।
त्यस्तै करिब दुई महिना अघि एक कविता प्रतियोगितामा म काठमाडौं गएको थिएँ। बुढानिलकण्ठ विद्यालयको सभाहल भित्र भएको विचार विमर्शको गोष्ठीमा पुर्व-महान्यायाधिवक्ता प्राडा युवराज संग्रौलाले पनि अन्वेषण र उद्योमशीलताका विषयमा उम्दा विचार अभिव्यक्त गरेका थिए। म बिस वर्षको युवाले अन्वेषण र उद्योमशीलता शब्दको अर्थ अहिले कोरोनाको समयमा आएर बुझ्दैछु।
अहिले विदेशमा नेपालीहरुको संख्या धेरै छ। हालको अवस्थामा उनीहरुलाई तत्काल नेपालमा ल्याउनसक्ने स्थिति बनेको छैन। यस्तोमा अँझ विदेशमा रहेका धेरै नेपालीहरुको स्वास्थ्य स्थितिको आँकलन नेपाल सरकारले गर्न भ्याएको पनि छैन। यता नेपालमा पनि अवस्था जटिल बन्दै गएको देखिन आएको छ।
दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरवर्गको घरमा अन्न सकिएको छ अनि आँखामा देश प्रतिको जिज्ञासाका भावनाहरु देखिन थालेका छन्। अँझ ती जिज्ञासाहरु एक एक गरी सुन्ने हो भने त राज्यले नै कसैबाट राहत माग्नु पर्ने अवस्था नआउला भन्न सकिन्न।
बजारमा अलिअली खुलेका सब्जीमन्डी, तरकारी पसल तथा खुद्रा पसलहरुले सामानको भाउ बढाउने काम जारी छ। देश पनि के के कुराहरुमा मुछिएको समचार सुनिरहन्छन् कानहरुले। अँझ तरकारी, चामल, दाल तथा फलफूल जस्ता दैनिक उपभोग्य वस्तुहरुको आयत त दशकौंदेखि आजसम्म विद्यमान नै छ। यस्तो भयावह अवस्थामा देशमा आर्थिक भार थपिने कुरा त निश्चित छ। अब हालको स्थितिमा देशले संयमित भएर कदम चाल्नै पर्दछ।
अब हामी सबैले हाम्रो कर्तव्यबोध गर्ने बेला आएको छ। यो समयमा अन्य देशतिरको हाम्रो परनिर्भरता हटाउने एक युगमै सुनौलो समय आएको छ। सुरुवात कृषिबाटै हुन्छ। हाम्रो देश आदिकाल देखि वर्तमानसम्म कृषिमै भर पर्दै आएको छ। नेपाललाई विकास गर्न कृषिमा क्रान्ति नभई असम्भव छ।
कृषि विषय लिएर स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थिहरुले सरकारी जागिर नै खानुपर्छ भन्ने कुरा न शास्त्रका पानाहरुमा उल्लेख छ न नेपालको संविधानमा। उनीहरुले कृषिमा आधुनिकता भित्राएर अन्वेषण गर्न जरुरी छ। आज कति जना कृषि विषयका विद्यार्थीले धान वा गहुँको उन्नत जातको बीउ अन्वेषण गर्ने कुरा सोच्छन् होला?
आलु र टमाटरका जिनहरुलाई मिसाएर नयाँ फल पोमेटो बनेको कुरा किताबमा पढे मात्र होलान् कि आफैँ आफ्ना खेत बारीमै रोप्दैछन् परिक्षणहरु? प्रश्न कठिन छैन। न त उत्तर नै कठिन छ। मात्र हामीलाई चाहिएको छ अन्वेषक मस्तिष्क र उद्योमशील हातहरु।
परनिर्भरता हटाउन विदेश पलाएनको समस्यालाई पनि कम गर्न जरुरी छ। यदि डाक्टरहरु उच्च शिक्षाका लागि विदेश जान्छन् भने शिक्षित र दिक्षित भएर आफ्नै देश फर्किनु पर्यो। फर्किन नचाहनेहरु भन्लान् अमेरिका वा क्यानडा वा जापान जस्तो सुविधासम्पन्न अस्पताल, ल्याव तथा विद्यालयहरु नेपालमा छैनन्।
उनीहरुले के पनि ख्याल राख्नु पर्छ भने सन् १९६० को दशकमा नेपालभन्दा गरिब वा नेपाल जतिकै स्तर भएका जापान, सिँगापुर, तथा कोरिया जस्ता रास्ट्रका डाक्टर, इन्जिनियर, अफिसरहरुले आफ्नै देशमा बसि काम गरे, श्रम गरे र त आज यी देशहरुको नाम विकासित देशहरुको तालिकामा बोलिन्छ। यदि सिँगापुरका ली कुआन युहरु पनि क्यानडा वा अमेरिका पलायन भएको भए के सिँगापुरले विकासमा फड्को मार्न सक्थ्यो त? यो प्रश्नको गाम्भीर्य तथा सोचनिय छ।
अहिलेको परिपेक्षमा हेर्ने हो भने पनि यतिबेला विदेशमा भएका नेपाली डाक्टरहरु के नेपालका लागि काम आउने भए त? कम्तिमा आफ्नो जन्म दिने आमाको रोगको उपचार गर्न सम्म पनि सक्षम भएनन्। के काम यस्तो शिक्षाको जसको मर्मले जननी जन्म भूमिश्च स्वर्गदपि गरिएसी भन्ने धर्म नै सिकेको छैन।
खाडी तथा अन्य देशहरुमा कामदारको रुपमा दैनिक पन्ध्र सयदेखि दुई हजारका दरले नेपालीहरु गइरहेका हुन्छन्। घरको आर्थिक स्थिति अभाव तथा उद्यमशील कार्यक्रमतर्फ राज्यको स्पष्ट नीतिको अभावले नेपालीहरु यो कोरोना भाइरसको संक्रमणका बीच अहिले देश बाहिर छन्।
आगामी दिनहरुमा नागरिक प्रतिको उत्तरदायित्व बढाएर सरकार प्रतिको उनीहरुको विश्वास जगाउने कार्य गर्न यो समय महत्वपूर्ण छ सरकारका लागि। थोरै भए पनि राजनीतिक पार्टीहरु बीचमा पुरानो खिचातानी र लुछाचुडी कम भएर स्थिर सरकार छ। यस विपदको घडीमा यो स्थिर सरकारले विदेशमा भएका नेपालीका लागि केही अनुकरणीय कदम चाल्न जरुरी छ र सँगसँगै नेपाली नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न पनि जरुरी छ।
विदेश पलाएन हुने अर्को विषय हो डिभी भरेर अमेरिमा उड्ने नेपालीहरु। के नेपाली भन्नु? सकिन्छ भने कोरोना भाइरस हटेपछि नेपालमा आउन अनुरोध गर्दछौँ हामी नेपालमा बसेका नेपालीहरु। आउनुहोस् डिभीलाई त्यागेर र फेरी हेर्नुहोस् सिद्धिचरण श्रेष्ठको ’मेरो प्यारो ओखलढुंगा’ कविता।
विदेश जाने अर्को जमात हो कक्षा १२ उत्तिर्ण गरेपछि अस्ट्रेलिया पुग्ने। आमा बुवाले कमाएको २० लाख खर्चेर भाँडा माझ्न जाने आजका युवाहरूलाई कसले सम्झाउने यहाँ। भाँडा माझ्नु कुनै गलत काम होइन। तर आफुले पढेको क्षमता अनुरुपको जागिर त खान सक्नु पर्यो सर्वप्रथम।
कोरोनाले अमेरिकामा भएका नेपाली र अमेरिकीहरु बीच फरक जान्दैन। तर विदेशमा भएका नेपालीहरुले त विदेश र स्वदेश बीचको भिन्नताको व्याख्या गर्न सक्छन्। विदेशी साहुको रेड लेभल रक्सी र आफ्ना बाआमाको निधारको पसिना बीच फरक छुट्टाउन सक्छन्।
समग्रमा भन्नुपर्दा देशले आगामी दिनहरुमा उद्यमशीलतालाई साँचो अर्थमा अपनाउन सक्नुपर्छ र विभिन्न क्षेत्रमा आधुनिकीकरण गरेर अन्वेषण गर्न सक्नुपर्दछ। यहाँ देशलाई रुपान्तरण गर्ने केवल दुई उपायहरु छ्न्- कि देश आत्मनिर्भर बन्नुपर्छ कि प्रत्येक व्यक्ति आत्मनिर्भर बन्नुपर्छ। र देशलाई आत्मनिर्भर बनाउन सुरुवात आफैँबाट गर्नुपर्छ। जय देश।
(लेखक दन्त चिकित्सा तथा शल्यक्रिया शास्त्रका विद्यार्थी हुन्।)