समय : लकडाउनको पहिलो साता
स्थान : आफ्नै बासस्थान
केही दिन यतादेखि मनमा एक किसिमको डर र चिन्ता भैराखेको थियो। इटालीको समाचारले ठूलो विपद् निम्त्याई रहेको भान भैरहेको थियो। कारोना र यसका साबधानीका कुराकानी गर्दा आफ्नै साथीहरुले समेत म यस विषयमा बढी संवेदनशील र अत्तालिएको भनि जिस्काउने पनि गरे।
सामाजिक संजाल तथा समाचार हेरेर म डराएको भनि पनि अड्कल लगाए। सुरुमा त मलाई पनि यस्तै लाग्यो र अलि शान्त भएको जस्तै नाटक पनि गरें। तर प्रत्येक दिन यी सबै घटनाक्रम सत्यमा परिणत हुँदै जाँदा मनभित्र विस्तारै डर पनि बढ्दै जान थाल्यो।
डरको मुख्य कारण हाम्रा स्वास्थ्य सेवा तथा अस्पतालहरु यस्तो भयावह अवस्थाका लागि कुनै किसिमले पनि तयार थिएनन्। सामाजिक दूरीको कुरा भर्खर मात्र सुरु हुन थालेको थियो र लकडाउन अघि नै एमबिबिएस कक्षाका विद्यार्थीको संख्या पातलिदैं गैसकेको थियो।
धन्य, हामीले हाम्रा मास्टर रेसिडेन्ट विद्यार्थीहरुलाई कोरोना महामारी सम्बन्धि पछिल्लो डाटा, रोगका विभिन्न लक्षणहरु, यस विषयमा भैराखेको विभिन्न अनुसन्धान तथा उपचारका पद्दति बारेमा राम्ररी छलफल गरेका थियौं। साथै दिनहुँ आइरहेको नयाँ-नयाँ अपडेटका बारेमा र साथै उपचार क्रममा आफूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने पनि छलफल गरिरहेका थियौं।
जब भारतमा कोरोनाको प्रकोप बढ्न थाल्यो, मनमा धेरै नै चिसो पस्यो। हाम्रो सरकार, स्वास्थ्य सेवामा आवद्ध सरोकार, मिडिया अनि स्वास्थकर्मी माझ पिपिईका बारेमा निकै बहस चलिरहेको थियो। यतिकैमा सरकारले लकडाउनको घोषणा गर्यो।
पहिलो एक/दुई दिन त आफ्नो बाल विभागमा कसरी ड्यूटी मिलाउने, अस्पताल आउनु अघि बच्चाका समस्या बारे फोनमार्फत कसरी परामर्श गर्ने र कुन आधारमा अस्पतालमा नै बोलाउने र कसरी हुन्छ, यी बालबालिकाहरुलाई सुलभ स्वास्थ सेवा पुर्याउन सकिन्छ भन्नेमा नै व्यतित भयो। यतिन्जेल अस्पतालमा 'फिभर ओपिडी' पनि सुरु हुन थाल्यो।
फिभर ओपिडी अस्पतालको गेटसँगै राखिएको थियो। तसर्थ कुनै पनि बिरामी आउने बित्तिकै यस ओपिडीमा जाँच गरी कोरोनाको शंका भए/नभएको छुट्याएर निश्चित विभागमा पठाउने गरिन्छ। मेरो पनि फिभर ओपिडीमा बिरामी जाँच गर्ने पालो छिट्टै आउँदै थियो।
कुनै पनि ज्वरो आएको व्यक्तिलाई कोरोनाको शंका मात्र गर्दा पनि उनमा पर्न जाने मानसिक तनाव अनि केहिगरी कदाचित कोरोना संक्रमित व्यक्ति यकिन गर्न नसकी घर फिर्ता पठाइयो भने यसले पूरै समाजमा संक्रमण सर्न सक्ने जोखिम (यति बेलासम्म आरपिडी टेस्ट सहझ भैसकेको थिएन)।
अनि उपचारको क्रममा आफूलाई नै संक्रमण भयो भने के गर्ने अथवा ड्यूटी सिध्याएर घर जादाँ अपनाउनु पर्ने सावधानीमा त्रुटि हुन गएमा परिवारमा समेत संक्रमण फैलन सक्ने कुराहरुले मेरो मनमस्तिक एक किसिमको युद्द क्षेत्रनै बनेको थियोI इटाली जस्तो स्वास्थ्य क्षेत्रका अब्बल राष्ट्रमा स्वस्थाकर्मीहरुका जटिल हालत र मृत्युको खबर सुन्दा त मन बेला-बेलामा आत्तिने स्वाभाविक नै भयो।
त्यसकारण आफ्नो फिभर ओपीडी अघि नै केहिगरी आफू क्वारेन्टिनमा बस्नु पर्यो भने वा कदाचित आफूलाई संक्रमण भैहालेमा घरको/परिवारको परिस्थिति कसरी सम्हाल्ने भनि परिवारको सदस्य र छोरीसँग विस्तृत रुपमा छलफल र प्लान पनि गरियो।
बीच-बीचमा स्वाथ्यकर्मीहरुलाई सामाजले गरेको भेदभावका समाचार अनि कता-कता आफूलाई पनि त्यस्तै आभाष हुन थालेको थियो। मनमा यस्तै तरंगहरु बगिरहेको थियो। अस्पतालको फिभर ओपिडीमा रहेको पिपिई (जुन पूर्ण पिपिई होइन) लगाएर बिरामी जाँच्ने हिम्मत जुटाउन हम्मे-हम्मे परिरहेको थियो। जब फिभर ओपिडीको दिन आयो, केही अनौठो घटनाहरु घटे, मानौं कसैले जानेर, बुझेर नै गरे जस्तो।
बिहानदेखि नै मेरो फोनको घन्टी बजेको बजै थियो। त्यो फ़ोन नम्बरले एकछिन मलाई झस्कायो। यो त किरणको फोन नम्बर पो थियो। किरण उपचार नै गर्न नसकिने बिमारी थियो र उनले यो संसार छोडेको पनि यस्तै तीन वर्ष जति भैसकेको थियो। त्यही फोन नम्बरबाट फोन आउँदा त एकछिन झसँग नै भएँ।
त्यो फोन त किरणको आमाको पो रहेछ। त्यति बिहान उनलाई मेरो सम्झना आएछ, अनि तुरुन्त फोन गरिहाल्नु भएछ। उनले फोनमा निकै छोटो बोल्नु भयो। 'डाक्टर साब, राम्ररी बस्नुस् है। अनि अरुको उपचार गर्ने बेला आफू पनि सुरक्षित हुनु है'- यति भनेर फोन काटीदिनु भयो।
मैले कुनै उत्तर दिने मौका नै पाइन। त्यसको लगत्तै सुभाषको मम्मीको पनि फोन आयो। सुभाषलाई मस्तिस्क पक्षघात छ र अहिले १६ वर्षको हुँदासम्म पनि उसले आफ्नो ओछ्यान छोड्न सकेको छैन। सुभाषको मम्मीले पनि निकै प्रोत्साहन दिदैं सुभाषका लागि मेरो एउटा फोटो उहाँको भाइबरमा पठाउन आग्रह गर्नुभयो।
उहाँहरुको यी छोटा फोन कलहरु मेरो लागि निक्कै महत्त्वपूर्ण हुनुका साथै यसले एक किसिमको हौसला प्रदान गर्यो। मनमा यस्ता मन छुने भावनाहरु बोकी अस्पताल तिर लागें। अस्पताल पुग्ने बित्तिकै फेरि अर्को घन्टी बज्यो। त्यो दिन फोनको लर्को नै लागेको थियो।
यो फोन धादिङबाट संघर्ष (जसका बारे केही समय अघि सेतोपाटी अंग्रेजी संस्करणमा प्रकाशित भएको थियो)को थियो। आफ्नो घरबाट झन्डै एक घन्टा तल ओर्लिई फोन गर्न आएका रहेछन्। संघर्षको पक्षघात अहिले पूर्णरुपले ठिक भएको समाचार सुनाउन साथै मेरो खबर लिन यति धेरै हिँडेर आएको अनि फोन गरेको भन्दै थिए। उनको त्यो हाँसो फोनमा प्रष्टसँग सुन्निन्थ्यो।
यी सबै फोन कलहरुले त्यस दिन मलाई धेरै नै हिम्मत जुटाई दियो। निकै जोशका साथ फिभर ओपिडीमा बिरामीहरु हेरेँ र त्यो दिन कुनै पनि बिरामीमा कोरोनाको कुनै लक्षण पनि देखिएन र ढुक्क भएर बिरामीहरुलाई घर पनि पठाउन सकियो। किरणको आमा, सुभाषको मम्मी र संघर्षले देखाउनु भएको मायाले मेरो मन छोयो र आँखा रसायो।
अहिलेको अन्योलको समयमा कोही अपरिचितको माया र दयाका केही शब्दहरुको पनि ठूलो अर्थ हुँदो रहेछ र यस्ता व्यवहारले निकै नै उर्जा दिँदो रहेछ।
त्यसकरण, यसरी ओहोरात्र खटिरहनु भएका हाम्रा सुरक्षाकर्मी, जसले हामीलाई दिनरात, पानी, घाम, असिना नभनि सुरक्षा प्रदान गरिरहनु भएको छ। स्वस्थाकर्मी, जसले आफ्नो जीवनलाई जोखिममा राखेर जाँच तथा उपचार गरिराख्नु भएको छ। अपरिहार्य खाद्यान्न व्यवसाय तथा ढुवानी सेवाले कुना-कुनामा पुगी सबैलाई घरमा बस्नका सहयोग पुराउनु भएको छ।
गल्ली, सडक, छरछिमेकमा रोग नफैलियोस् भनेर सफाईकर्मीहरु पनि निकै उत्साहका साथ काम गरिराख्नु भएका छन्। यस्तै मिडियाकर्मी साथीहरु पनि सत्य-तथ्य समाचारका लागि खटिरहनु भएको छ र साथै यस्तो असहज परिस्थितिमा पनि धैर्य गरी घरमा नै बसी हाम्रा दाजुभाइ, दिदी-बहिनी, बाजे-बजै, स-साना बाल-बालिकाहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जुन किसिमले सहयोग पुर्याइरहनु भएको छ।
उहाँहरु प्रति म र मेरा परिवारजन नतमस्तक छौं र सबै जनालाई यस 'कोरोना माया' फ़ैलाउन पनि आग्रह गर्दछु। 'तपाईं सुरक्षित त म पनि सुरक्षित, म सुरक्षित त तपाईं पनि सुरक्षित।'
(बाल रोग विशेषज्ञ डा. श्रेष्ठ त्रिवि शिक्षण अस्पतालमा कार्यरत छिन्।)