मोबाइलको फुल घन्टी चौथो पटक लाग्दा नि नउठे पछि सोचें ‘छोराले गेम खेलिरहेको होला त्यही भएर आमाले फोन उठाइनन्।’
करिब १५ मिनेट पछि पुन: फोन गर्दा फोन उठेपछि थाहा भो, छोरा हैन आमा नै अनलाइन लुडो खेल्दै रहेछिन्।
‘गेम जित्न लागिराको थें त्यही भएर फोन उठाइनँ भन किन फोन गरेकी?….’ उनको जवाफ थियो।
यस्तो आजकाल सबैलाई भएको हुनुपर्छ। कोभिड-१९ को महामारीका कारण अहिले विश्व नै लकडाउनले फुर्सदको विश्व बनाइ दिएको छ।
यो समयमा इन्टरनेटमा समय बिताउनेको संख्या अत्यधिक बढिरहेको छ। कामकाजी प्रयोजनले होस् या बेकाम नै इन्टरनेटको सयर गर्ने प्रयोगकरर्ता तीव्र गतिमा बढिरहेको देखिन्छ।
लकडाउन अगाडि अनलाइन नभेटिनेहरू पनि अहिले अनलाइन भेटिन थालेका छन्। घरमा बस्दा गरेका क्रियाकलापहरू सामाजिक संजालमा पोष्ट गरिरहेका हुन्छन्। केहीले रचनात्मक कामहरू गरिरहेका कामहरू पनि पोष्ट गरेका भेटिन्छ। केहीले टिकटक बनाउन भ्याएका छन्। केहीका गायन प्रतिभा यही दौरान बाथरूमका भित्ताहरू छिचोलेर सामाजिक संजालमा गुन्जिन थालेका छन्। साहित्यकारहरू आफ्ना र मन परेका साहित्यकारका कविता, गजल फेसबुक लाइभ वाचन गरिरहनु भएको देखिन्छन्।
केही दिनयता म पनि कवि श्रवण मुकारुङग, कवि राजा पुनियानीको लाइभ कविता वाचनको दर्शक भएकी छु। केहीले अनलाइन गेम खेल्न भ्याएका छन्।
आजकाल अनलाइन गेममा किशोरकिशोरी तथा युवाहरूको क्रेज निकै बढेको देखिन्छ। ६० वर्ष उमेर पार गरेकाहरूले पनि खेल्ने गरेको पाइएको छ। लकडाउनका कारण यस्ता गेम प्रयोगकर्ता झन् बढेका छन्।
विकिपिडियाका अनुसार यस्ता गेम एप्स् सयौंको संख्यामा बनाइएका छन्। अत्यधिक खेलिने अनलाइन गेमहरूमा एक गेम एप्समा दर्ता भएका प्रयोगकर्ताहरूको संख्या १ करोडदेखि ६६ करोडसम्म छन्। दैनिक रूपमा अनुमानित ५०५ करोड खेलाडीहरू सहभागी हुने गरेका छन् भने कहिलेकाहीँ यो संख्या बढेर १ अर्बभन्दा बढीसम्म पुग्ने गरेको पाइन्छ। केटीहरूका लागि पनि छुट्टै गेमहरू सृजना गरिएका रहेछन्।
मैले पनि खेल्न भ्याए क्यान्डी क्रस साङ्गा, लुडो। सानो बेलामा पाँच सय तिरेर महाबौद्धबाट भिडिओ गेम किनेर ल्याइन्थ्यो। गेमको नाम बिर्सें तर त्यो गेमको संगीत अझै कानमा गुन्जिन्छ, ….टुईच् ….टुईच् …टुल्लुलिङ्ग…. । लकडाउनमा फेरि गेम खेलियो।
गेम खेल्दा रमाइलो भइ नै हाल्छ जो समय बितेको पत्तै हुँदैन। लकडाउनले हिजोको दैनिकी फेरिन थाल्यो। ढिलो सुताइ। गेमका कारण एकै ठाउँको एकै प्रकारको बसाइले शरीर दुखाइ। रमाइलो त भयो तर गर्छु र पढ्छु भनेका धेरै कुरा छुटे। लुडो खेल्न सुरू गर्दा मेरो फ्रेन्ड लिस्टमा देखिएको १३ को संख्या केही दिन मै ६५ पुगेको देखेपछि उनीहरूसँग कस्तो अनुभव रह्यो, बुझ्न मन लागेर टेलिफोनमा कुराकानी भएको थियो। धेरैको अनुभव मिल्दो भेटें ।
विश्वका विभिन्न मानिसका अनुभव अनुसार उनीहरू दैनिक ९ घण्टाभन्दा बढी समय खेल्ने गछन्। प्रो. डाफ्ने बावेली का अनुसार अनलाइन गेम खेल्नाले मानिसहरूमा तत्काल गर्नु पर्ने निर्णय गर्न सीप, एकै समयमा धेरै कुरालाई व्यवस्थापन गर्ने र मानसिक एकाग्रता गर्न सक्ने क्षमता विकास गर्छ।
यो लगायत अध्ययनहरूले यसबाट समूहगत कार्य गर्न, चुनौतीलाई तथा डिप्रेसनलाई व्यवस्थनपन गर्न सहयोग गर्ने गरेको बताउँछ।
केहीका लागि थेरापीको रूपमा शारीरिक तथा मानसिक उपचार गरेको अनुभव पनि सुन्नमा आएको छ। तर खेल्ने समय जब दैनिक ३ घण्टा भन्दा बढी हुन्छ तब यसका धेरै नकारात्मक असरहरू पर्दछन्।
विभिन्न गेममा गेमको लेभल बढ्ने प्रावधान हुन्छ। यस्ता गेमहरूमा सिङ्गल प्लेयर र मल्टि प्लेयर (समूहमा खेलिने)हरूको सहभागितामा खेल्न मिल्ने खालका हुन्छन्। केही गेमले ज्याकपट् उपहार पनि राखेको हुन्छ।
गेमको प्रकृति अनुसार पावर थप हुने। जसले गर्दा अर्को म्याच खेल्न सहज हुने हुन्छ। गेम जिते पोइन्ट जोडिन्छ। हारे घट्छ। पोइन्टको पर्याप्तता अनुसार अर्को गेममा दाउ बढी लागाएर खेल्न पाइन्छ। पोइन्ट नभए गेम खेल्न पाइँदैन, किन्नु पर्दछ। त्यसैले किन्नु भन्दा जित्नु फाइदा हुनाले जित्नुपर्छ भन्ने सोच बढ्छ।
यस सोचले गेममा सहभागी भइरहने समयावधि लम्बाउँछ। १ घण्टा २ घण्टा गर्दै समय ६ घण्टा बढी खेलिने गरेको अनुभव गरेका भेटियो।
धेरै समय व्यतित गर्ने मानिसहरूको दैनिक जीवनशैली परिवर्तन हुनेरैछ। अनुभवका अनुसार सधैं एकनास हुने खाने, उठ्ने र सुत्ने कार्यमा अहिले परिवर्तन भएको छ।
‘हुन त कामै के छ र ! यो लकडाउनमा’ भन्ने हो भने ठीकै हो । तर यही समय हिजोको दिनझैं सामान्य बनेपछि पनि यो गेम खेल्ने लत पर्यो भने के होला?
स्वभावत: मानिसहरू चाहेको पाउँदा खुसी हुने, नपाउँदा दु:खी हुने हुन्छ। यो स्वभावले गेममा धेरै स्थान पाउँछ। जित्दा खुसी हुने र हार्दा दुखी हुने क्रम क्रमश: निरन्तर चलिरहँदा आवेग बढ्दै जान्छ। जित्ने मोह बढ्दै जान्छ। निरन्तर गेम हार्नेहरू रिसको आवेगलाई नियन्त्रण गर्न नसक्दा तोडफोड गरेका घटनाहरू पनि घटेको रहेछ।
गेममा बढी एकाग्रता हुँदा न परिवारको मतलब हुन्छ न जिम्मेवारी बोधको नै। यस्तो बेला अन्य कसैसँगको सम्पर्क गर्नु फिटिक्कै रुचीको विषय बन्दैन। यदि कसैले फोन गरेमा सो कल काट्ने, बोलाएमा झर्को मान्ने, रिसाउने, प्रतिक्रिया नदिने हुँदो रहेछ। कहिलेकाहीँ रिसको आवेग बेलगाम बन्छ तब नराम्रो घटनाको स्वरूप लिन पुग्दछ।
पब्जीका कारण आपराधिक कर्म भएको संचार माध्यममा आएको सबैलाई थाहै छ।
धरानको १९ वर्षिय एक किशोरी पहिले अँध्यारोमा बस्न डराउँथिन्। जहाँ जादा पनि साथी चाहिन्थ्यो तर जब अनलाइन गेम खेल्न सुरू गरिन् घन्टौ एक्लै अन्धाकारमा बस्न थालेको कुरा उनकी दिदी बताउँछिन्।
सिनामंगलका एक अभिभावक आफ्नो ११ वर्षीय छोरा कोठाको एक कुनामा धेरैबेर एक्लै समय बिताउने गरेको र गेममा मात्र सीमित भएको देखेर दिक्क छन्।
अत्यधिक समय गेम खेल्नमा समय बिताउनेहरूमा गेम एडिक्सनको समस्या आउने गर्दछ। गेम एडिक्टेड भएका मानिसहरूका अभिभावकहरू परिवारमा दोहोरो वार्तालाप नभएको नै लामो समय भएको सुनाउँछन्।
यो समस्याले पहिले त आफ्नै परिवार र आफन्तहरूबाट टाढा लैजान्छ। ती मानिसहरूमा एकोहोरोपना बढाउँदै लैजान्छ। घरमा को आयो, को गयो केही मतलब हुँदैन, यस्ता मानिसहरूलाई।
फलत मानवीय संवेदा क्रमश: गौण बनाउँदै लैजान्छ। यसले वास्तविक समाजबाट भर्चुअल सोसाइटीमा आकर्षित गर्छ। केही हदसम्म भर्चुअल सोसाइटी पनि आवश्यक हो। तर वास्तविक सामाज जहाँ हाम्रो शारीरिक उपस्थिति रहेको हुन्छ त्यो समाजलाई हामी कसरी नकार्न सक्छौं!
गेमको प्रभाव मानसिक रूपमा गाढा पर्दा निन्द्रामा पनि बर्बराउने, कराउने गर्दछन्। सुतेर उठ्नासाथ पनि गेममै व्यस्त हुन्छन्। यसो हुँदा शरीरले आवश्यक आराम गर्न पाउँदैन।
अत्यधिक मोबाइल चलाउँदा आँखामा सुख्खापन बढ्न जान्छ। एकै शारीरिक अवस्थामा एकै ठाउँमा धेरैबेर बसिरहने हुँदा शारीरिक अस्वस्थता बढ्न जान्छ। अन्य बौद्धिक तथा सृजनात्मक काममा सहभागिता कम हुँदै जान्छ।
केही वयस्कहरूमा सामाजिक घुलमिलको अभावका कारण पारम्पारिक संस्कार र सामाजिक चेतना स्तरमा कमी आउँदै गएको अनुभव बताउनुहुन्छ। साथै स्वयम् सो व्यक्तिको व्यक्तिगत, पारिवारिक वा सामाजिक विषयहरूमा तर्क गर्ने क्षमतामा ह्रास आउने बताउनु हुन्छ।
हुन त यस्ता समस्या नेपालमा कति भएका छन् स्पष्ट तथ्याङ्क भेटिएका छैनन्। तर यो समस्याको संख्या बढ्दै जाने हो भने आगामी दिन यसले ठूलै समस्या नल्याउला भन्न सकिन्न। चीन, क्यानडा, नेदरल्याण्ड लगायतका देशहरूमा त गेम एडिक्टको उपचार गर्ने रिह्याब सेन्टरहरू नै खोलिएका छन्। नेपालमा पनि भविष्यमा स्वास्थ्यको क्षेत्रमा थप समस्या नल्याउला भन्न सकिन्न।