१८ औं शताब्दीको एउटा प्रख्यात भनाई छ- 'समय र छालले कसैलाई पर्खदैन'। उक्त भनाई सत्य पनि हो। सत्य पनि हो हैन, सत्य हो नै। उपरोक्त भनाईलाई न त प्रतिवाद गरेर किनारा लाउन सकिन्छ, न त आलोचना गरेरै असत्य सावित गर्न सकिन्छ।
समयको विभिन्न कालखण्डलाई पार गर्दै युगले सारा विश्वलाई विज्ञान र प्रविधिको संघारमा पुर्याएको छ। समयको क्रमिक विकाससँगै मानव सभ्यतामा धेरै कायाकल्प भए। ती मध्यको मुख्य कायापलट भनेकै विज्ञान र प्रविधि क्षेत्र हो।
वर्तमान परिवेशमा विज्ञान र प्रविधिको उपज स्वरुप अनलाइन कक्षा लिन पाउनु विज्ञान र प्रविधिको एउटा अनुपम उपहार हो। केही शताब्दी अगाडिको परिदृश्यलाई फर्केर हेर्ने हो भने मात्र पनि आजको कुरा पत्याउनै नसकिने कुनै अकल्पित कथाजस्तो लाग्थ्यो।
इन्टरनेटसँगै बदलिँदो युगमा अनलाइन शिक्षा आधारभूत आवश्यकता भईसकेको छ। यस्तो बदलिँदो चुनौतीको जमानामा जुनसुकै विद्यार्थीका लागि अनलाइन शिक्षा बरदान सावित हुनसक्छ। समाजिक संजालबाट शिक्षक र विद्यार्थीबीच अनुभव अदानप्रदान तथा सहजै ढंगले प्रश्न राखेर अध्ययन गर्न पाउँनु गैरवको कुरा हो।
कारोना भाइरस (कोभिड-१९)को संक्रमणबाट विश्व नै आक्रान्त बनेको यस घडीमा विश्वको ध्यान केबल आफ्ना योजनाहरुमा केन्द्रित छन्। हिजो आफूले बनाएका योजनाहरुलाई भोलि कसरी फेरि निरन्तरता दिने भन्ने बारेमै विश्व असाधारण तबरमा अलमलिएको छ।
त्यसमध्ये आफ्ना पूर्वयोजनाहरु र शिक्षा सूचीको अग्रपंक्तिमा अटाएका छन्। महामारी र लकडाउन जारी रहेकै अवस्थामा शैक्षिकसत्र कहिलेबाट सुरु हुने र कहिलेदेखि नियमित कक्षा सञ्चालन हुने निश्चित नभएपछि विद्यालयहरुले भर्चुअल कक्षा सुरु गरेका छन्।
आवश्यकता नै आविष्कारकी जननी हुन् भन्ने भनाईलाई सार्थकता दिन वा भनौँ एक अर्थमा प्रष्ट पार्न लकडाउनको समय तत्पर देखिएको छ।
कोरोना संक्रमणका कारण चैत ५ गते नै वार्षिक परीक्षा सकेर बिदा दिएका विद्यालयहरुले अहिलेसम्म पनि नयाँ शैक्षिक सत्र सुरु गरेका छैनन्। र चैत ६ गतेबाट गर्ने भनिएको एसइई परीक्षा पनि अन्तिम अवस्थामा आएर अनिश्चितकालका लागि पछाडि धकेलिएको छ।
सो समयमा विद्यार्थीलाई पढाईमा एकत्रित अघि डोर्याउन अनलाइन क्लास उत्तम विकल्प ठहरिएको छ। तर पूर्वाधारको कमी र अपर्याप्त प्रविधिमैत्री वातावरणको कारण पनि अनलाइन शिक्षालाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक संजालमा भाँडभैलो मच्चिइरहेको छ। त्यसबारे निकै बहस र विवाद सृजना भइरहेका छन्। कोही यसको पक्षमा उभिएका छन् भने कोही यसको बिपक्षी मत प्रकट गरिरहेका छन्।
लकडाउनको अवधिमा घरमा सुरक्षीत बसेर विद्यार्थी र शिक्षकका लागि अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना हुनु सुखद् कुरा हो। जसले गर्दा कुनै पनि विद्यार्थीलाई यो लामो बिदामा बस्दा दुविधात्मक मनस्थिति लिएर बिना गन्तव्य अगाडि बढिरहनु पर्ने छैन।
फेरि यो माहामारिको समयमा आईपुग्दा अनलाइन कक्षानै अन्तिम विकल्प भने होइन। अन्य येथेष्ट विकल्पहरु पनि छन् जसले विद्यार्थीलाई यो समय धेरै टेवा दिन सक्नेछ। अनलाइन शिक्षालाई हामीले अझ बढी ‘प्राक्टिकल सेन्स’ अर्थात व्यावहारिक हिसाबमा हेर्नुपर्छ।
त्यसको सापेक्षता र निरपेक्षता दुबैको सही अर्थमा विश्लेषण गरिनुपर्छ। सरकारले पनि सम्भावित जोखिम न्यूनीकरणको लागि कुनै पनि विषयवस्तुलाई पूर्वतयारी गरेर मसिनो गरी पर्गेल्ने जमर्को गर्नुपर्थ्यो। यो राज्यको आधारभूत दाइत्व मध्यको एक हो।
समस्याका समय जनतालाई लामो समयसम्म मौलिक हकबाट वञ्चित गर्दा प्रभावकारी नीति भएन भने त राज्यको आधारभूत कर्तव्य नै उसले पूरा गर्न सक्दैन। पूर्वयोजना बिपरित यसरी एकाएक आपत आईपरेको अवस्थामा एकाएक अनलाइन क्लासलाई लिएर भाँडभैलो मच्चाउनुमा सम्बन्धित निकायको जिम्मेवारीबोध कम र होडबाजी बढी देखिन्छ।
पहिलो कुरो त ग्लोबल ट्रेन्डलाई पछ्याउन हाम्रो भौगोलिक स्रोतसाधन अपूर्ण छन्। फेरि नेपालको अनलाइन शिक्षाको सन्दर्भमा विद्यार्थीभन्दा प्राध्यापकहरुलाई अनलाइन प्रणालीको प्रभावकारी प्रयोगसम्बन्धी प्रशिक्षण आवश्यक रहेको छ। भर्चुअल वातावरणमा कार्य गर्दा संक्रमणकालीन मनोविमर्श उचित ढंगले गराउनुसक्ने हुनुपर्छ।
तसर्थ मनोसमाजिक परिस्थितिको आवश्यकता रहन्छ। यसका साथै प्रविधिमैत्री विद्यार्थीहरुलाई पनि परिचालन गरेर विद्यार्थीहरु माझ परिवर्तन सहज बनाउन उपयुक्त हुन्छ। फेरि अर्को बिडम्बना, कमजोर ब्याण्डविथसँगै आवश्यक अन्य भौतिक पूर्वाधारको कमी तथा विद्यार्थी र शिक्षकहरु प्रविधिप्रति सचेत नभएका कारण पनि अनलाइन शिक्षा प्रभावकारी नभएको अनुमान सजिलै गर्न सकिन्छ।
यसरी रातारात अपूर्ण तयारी बीच क्याम्पस र विश्वविद्यालयहरुले अनलाइन क्लास सञ्चालनमा ल्याउनु आफैंमा चुनौतीपूर्ण कदम हो। तर असम्भवनै भनेर हात बाँधेर बस्नु अर्को ठूलो मूर्खता हुनेछ।
२०१६ सालमा एउटा विश्वविद्यालय बन्यो, अहिलेसम्म ६१ वर्ष भयो नेपालकै पहिलो विश्वविद्यालय बनेको। आफूलाई कुनैबेला एशियाकै उत्कृष्ट विश्वविद्यालय मध्यको गन्ने त्रिभुवन विश्वविद्यालय राजनीति र कर्मचारी तन्त्रले भताभुंग बनाइयो। अहिलेसम्म औंलामा गन्नमिल्नेगरी कुनै उल्लेखनीय उपलब्धि भएको रेकर्ड छैन त्यसमा। बरु उल्टै क्रमशः खस्कँदो गतिमा गयो।
ज्ञान–विज्ञानको यस्तो प्रचण्ड विस्फोट भइरहेको बेलामा नेपालको त्रिभुवन र अन्य विश्वविद्यालयले विश्वस्तरिय शैक्षिक दाँजोमा आफुलाई उभ्याउन नसक्नु लज्जाको विषय हो। त्रिभुवन विश्वविद्यालयको स्थापना कालदेखी कयौं शैक्षिक प्रणाली आएका होलान्, कति माटोसुहाउँदो नभएर हटेर पनि गए होलान्। त्यसको सुधारको लागि कयौं शिक्षा निकाय र कार्यक्रम पनि ल्याईए होलान्, तर ती अमुक निकायले त्यो देख्दैन।
किन देख्दैन भन्दाखेरी, त्यो आफू स्वयं किचलोमा अल्झेको छ। किचलोकै कारण नेपाली शिक्षा नीति नेपाली माटो सुहाउँदो कहिले हुनसकेन। तिनै तमाम किचलोले यति ठूलो समस्या खडा गर्यो कि, त्यसले गर्दा शिक्षाका बारेमा छलफल, चिन्तन गर्ने चिज नै यो ६०-६१ वर्षयता आउँदै आएन।
त्यही हिजोको किचलोमै अभ्यस्त हुँदै गयो। त्यसले शिक्षाको गति अवरुद्ध गरायो। शिक्षालाई झनै पछाडी पुर्याइरहेको छ। यो गर्नै नहुने किचलोको जड मुख्यतः राजनीति र कर्मचारीतन्त्र नै हो। यो किचलो खडा नगरिदिएको भए नेपालीको शिक्षा प्रणाली निकै अगाडि बढिसक्थ्यो। हाम्रो शिक्षा विश्वबजारमा बिक्न यति हम्मे-हम्मे पर्नेनै थिएन। खयर अहिले बहसको विषय यो होइन।
यस्तो माहामारीको बीच पनि मिडियाले जनतालाई सचेत गराउन छोडेर कोकोहोलो गर्दै हिँड्ने हो भने उ आफ्नो कार्यदिशामा असफल हुनेछ। मिडियाले लेखिदिएर मात्रै, बोलिदिएर मात्रै त भएन। जनतालाई सचेत गराउँदै सकारात्मक संदेश प्रवाह गर्न असमर्थ रह्यो भने मिडियाले आफूलाई राज्यको चौथो अंग भन्नुको हक समेत गुमाउन पुग्छ।
विश्व बैंकका अनुसार २०१७ मा समग्र आयातको ५.२ प्रतिशत अर्थात् ६६ अर्ब रुपैयाँको सूचना तथा संचार साधन नेपाल भित्रिएको तथ्यांक छ। सोको सही उपयोग गरेमा मात्र हामीले आफूलाई ग्लोबलाइजेसनको नजिक उभ्याउन सक्छौँ। तर त्यत्ति भएर मात्र पुग्दैन। सोसँग सम्बन्धित विभिन्न आयामबारे पनि बहस-विवेचना गरिनुपर्छ।
अब हामीले जान्नुपर्ने, खोज्नुपर्ने, हेर्नुपर्ने, छलफल गर्नुपर्ने, विचार गर्नुपर्ने पाटोचाहिँ त्यही हो। हामी के भने अरुले यसो गरे-उसो गरे, हामीले किन गर्ने? हामीले किन नगर्ने? भन्ने कुरा गरेरै किचलो गरेर आफ्नो अमूल्य समय खर्चिरहेका छौं। र यो माहामारीको समयमा आफूलाई संयमताले बाँध्न छोडेर भाँडभैलो र बहसमा रुमल्लिनु असामान्य कोलाहाल बाहेक केही होइन।