कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले दोश्रो विश्वयुद्ध पछिकै ठूलो संकट भनेको छ। हालसम्म दुई सय १० देश र दुई वटा पानी जहाजका १८ लाख ५० भन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख १४ हजार बढीको मृत्यु भईसकेको छ।
कोरोना भाइरसको यो महामारी विश्व संकटबाट बच्न धेरै देशले कडा लकडाउन अर्थात बन्दाबन्दी गरेका छन्। नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो जुन जेठ ५ गतेसम्म कायमै छ। तर लकडाउनका बाबजुद मानिसहरु यात्रा गर्न वा घर बाहिर निस्कन भने छोडेका छैनन्।
हिजोमात्रै अनलाइनखबरमा छापिएको खबर तथा फोटोले झस्कायो। बल्खुको तरकारी बजारमा सुरक्षा सतर्कता बिना नै हजारभन्दा बढी मान्छेको भीड रहेछ। अस्तिभर्खर मात्रै सेतोपाटीमा सोलुबाट काठमाण्डौँ हुँदै कैलाली हिँडेकाहरुको दर्दनाक कथा पढियो। सोलुखुम्बुबाट आधाबाटो हिँडेर र आधाबाटो ट्रकको पछाडि बसेर खुल्ला आकाशमुनि रात गुजार्दै १५ जना मजदूरको समूह कैलाली पुगेका रहेछन्।
यस्तै चितवनबाट १२ दिन हिँडेरै ६६ जनाको भारतीय समूह बाँकेको कोहलपुर पुगेको समाचार कान्तिपुरमा छापियो। त्यस्तै ३१ जना मजदूरहरुको समूह पनि काठमाण्डौँबाट पाँच दिन हिँडेर बाँके पुगे। यसैगरी थुप्रै मानिसहरु लकडाउनका बीच दुःखकष्ट सहँदै आफ्ना घर जान लामो यात्रामा हिँडेका छन्।
नेपाल-भारतको एक हजार ८८० किलोमिटर लम्बाईको सिमानामा ९२५ स्थानमा चेक प्वइन्ट छन्। यसमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा पहरा दिएकै छन्। तथापि भारतबाट नेपाल आउने क्रम रोकिएको छैन। इलामको पशुपतिनगरदेखि दार्चुलाको खलङ्गासम्मका नाकाबाट मान्छे जबर्जस्ती नेपाल छिरे।
सुदूरपश्चिममा ट्यूब चढेर महाकाली तरेर भएपनि आउने क्रम रोकिएको छैन। प्रदेश नम्बर २ मा वारिपारि बसाई र खेती मिसीएको हुनाले बाली भित्र्याउने र गाईवस्तु चराउने निहुँमा ओहोरदोहोर गर्न खोज्छन् भन्ने समाचार पढेको थिएँ।
भारतमा पनि एउटी आमाले आफ्नो १७ वर्षको छोरालाई घर ल्याउन तेलंगनाको निजामाबादबाट सात सय किलोमिटर पार गरेर आन्ध्रप्रदेशको नेल्लोर सहर पुगिन्। उनले १४ सय किलोमिटरको यात्रा स्कुटरमा ओहोरदोहोर गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
यहि चैत्र २८ गते सरकारले बन्दाबन्दीमा परेका जनताको लागि भनेर दुई दिन उपत्यका बाहिर जान सवारी खुल्ला गर्ने निर्णय गर्दा प्रदेश सरकारको असहमति पछि फिर्ता लिएको थियो। काठमाण्डौँबाट हिँडेर मानिसहरु तराई तथा आफ्नो घरतिर हिँड्न थालेको समाचारहरु आएपछि सरकारले यस्तो निर्णय गरेको थियो।
यी त प्रतिनिधी घटना मात्रै हुन्। हाम्रै वरिपरी पनि मान्छेहरुको आवतजावत भईरहेकै छ। मान्छेहरु भेला भएर चोक र चिया पसलमा गफ हानेकै छन्। जुवातास खेल्न बसेकै छन्। दूध तरकारी किन्न टोल नजिकका पसलमा भीड गरेकै छन्।
जनताले लकडाउन बुझेनन् वा बाध्यताले हिँडे? बाध्यता नै थियो भने किन बाध्य भए यो महामारीमा पनि जोखिम मोलेर हिँड्न? यो संकटको घडीमा घर जानै पर्ने, मन लागेको खानै पर्ने, घुम्नै पर्ने, तरकारी किन्नै पर्ने आवश्यकता के नै छ?
सोलुखुम्बुमा मार्भुदोभान हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदूरहरु खानबस्न समस्या भएपछि बाध्यताले कैलाली हिँडेका रहेछन्। काम बन्द हुँदा कम्पनीले खानबस्न जस्तो न्यूनतम व्यवस्था पनि गरेको रहेनछ। सरकारले त्यस्ता कम्पनीमा काम गर्ने मजदूरहरुलाई काम नभएको अवधिको निशुल्क खानेबस्ने सुविधा उपलब्ध गराउ भनेर निर्देशन गरेको पाइएन, न त आफैँले उनीहरुको ग्यारेन्टी लियो।
माथिका उदाहरण र भारतबाट आउनेहरुको एउटै व्यथा हो, काम बन्द हुनु र रोजगारी गुम्नु। मरे आफ्नै देश, आफ्नै घरमा मर्छु भनेर आएका छन्। यहाँनेर एउटा जिम्मेवार नागरिकले बुझ्नै पर्ने कुरा के छ भने, सकेसम्म आफू जहाँ छु त्यहीँ लकडाउन पालना गरेर बसे सुरक्षित भइन्छ। धेरै लामो यात्रा गर्दा धेरै मान्छेको सम्पर्कमा आईन्छ, धेरै सामग्री र वस्तुहरु छोइन्छ, धेरै ठाउँको हावामा सास फेरिन्छ र जोखिम झनै बढ्छ।
बरु घरमै मर्छु भनेर सोच्दा, यो पनि सोच्नुपर्छ कि यदि तपाई हामीसँगै कोरोनाको भाइरस घरसम्म आयो भने घरपरिवार र सारा गाउँटोललाई नै सखाप पार्न सक्छ। मानौँ तपाईमा भाइरसको संक्रमण देखियो भने पनि तपाईलाई सरकारले घर बस्न दिँदैन, घरपरिवारले हेरचाह गर्न मिल्दैन, अस्पतालमै एकान्तबासमा राख्छ। आखिर मृत्यु नै भइएछ भने पनि भोलि परिवारले सद्गती गर्न समेत पाइँदैन।
यस्तो अवस्थामा आफ्ना प्रिय घरपरिवारलाई मुत्युको जोखिममा पार्न किन घर तिर जाने। त्यसैले जो जहाँ छ, त्यही सुरक्षित बस्दा संक्रमणबाट बच्न सकिन्छ। यस्तो बेलामा खानबस्न सापटी मागेर हुन्छ कि पुरानो कमाएको बचतबाट हुन्छ, जसरी सुरक्षित हुन सकिन्छ, त्यसरी सुरक्षित भएर बस्ने बेला हो। यो वा त्यो बहानामा हिँडडुल र यात्रा गर्ने बेला कदापी हुँदै होइन।
जसलाई साँच्चिकै खानाको पनि समस्या भईसकेको छ, आफुसँग पैसा पनि छैन, सापटी पाउन पनि गाह्रो छ, कम्पनी वा काम गर्ने ठाउँबाट पनि सहयोग भएन, उसलाई सरकारले सहयोग गर्नुपर्छ। जो जहाँ मजदूरी गर्छ उसलाई त्यही व्यवसाय वा कम्पनीले न्यूनतम मानव अधिकारको रक्षार्थ खानेबस्ने व्यवस्था गर भनेर सरकारले निर्देशन दिनुपर्छ। यदि यसो गर्न नसके सरकार आफैँले खानेबस्ने व्यवस्था मिलाउनुपर्छ, चाहे त्यो जुनसुकै देशको नागरिक नै किन नहोस्।
विपत्तिका बेला समस्यामा परेका आफ्नो देशमा भएका सबै आफ्ना वा अन्य देशका नागरिक, त्यसको दायित्व सरकारकै हुन्छ। यसका लागि सरकारले अन्य देशका सरकारहरुसँग पनि समन्वय र सहकार्य गरेर विदेशमा भएका नेपालीहरुलाई विदेशमै सुरक्षित राख्ने प्रयास गर्नुपर्छ।
तर सरकारले लकडाउन के हो भन्ने जनतालाई बुझाउनै सकेन। यस्तो बेलामा यात्रा गर्नु साह्रै जोखिम हो भनेर बुझाउनै सकेन। लकडाउन गर्नु अगाडि पनि काठमाण्डौँबाट लाखौँ मानिसहरु देशका कुना-कुना पुगे। यसरी भीडभाडमा यात्रा गर्दा संक्रमण फैलन सक्ने सम्भावनालाई न त सरकारले सचेत गरायो न त जनता आफैँ सचेत भए।
यही आवागमन र यात्राले चीनको वुहानबाट सारा संसारमा महामारी सरेको यथार्थ हो, यत्ति बुझाउन सकेको भए र जनताले बुझेको भए, धरै राहत हुन्थ्यो। यो कुरा बुझाउन मिडीयाहरु पनि चुकेकै हुन्। यहाँनेर लेखक निशा भण्डारीले सेतोपाटीमा सोलुबाट काठमाण्डौँ हुँदै कैलाली हिँडेकाहरुको कथाको बारे चर्चा गर्नु सान्दर्भिक हुन्छ।
लेखकले यो दर्दनाक कथा हृदयस्पर्शी तरिकाले लेखिन् तर उनले एक शब्द समेत जनताले यसरी यात्रा गर्नु र सरकारले यसरी यात्रा गर्न दिनु लकडाउनको उल्लंघन हो, यो कार्य गलत हो र जोखिम बढाउने सम्भावित कारक हो भनेर लेखिनन्, न त प्रकाशक वा सम्पादकले नै थपिदिए।
त्यसैगरी यस्तो विषम् परिस्थितिमा सकेसम्म तरकारी दुधजस्ता खाद्यवस्तु किनमेल गर्न पनि दिनहुँ निस्कदाँ जोखिम बढ्छ। किन्न निस्कँदा सुरक्षित उपाय अपनाउने त गर्नैपर्छ साथसाथै एकैचोटी अलि धेरै दिनलाई पुग्नेगरी किनेर राख्नुपर्छ। अझ सबैभन्दा उत्तम उपाय त एकदुई हप्ता सुख्खा तरकारी दाल भात मात्र खाँदैमा के नै फरक पर्छ र? मरिन्न त होला।
सादा खाना मात्रै खाएर भएपनि यो संकटलाई पार लाउनु पर्छ। संकट टरेर बाँचेछौँ भने चौरासी व्यन्जन बनाएर खाए पनि भयो। तर लकडाउन भनेको अत्यावश्यक काम बाहेक कतै निस्कनु हुँदैन भन्ने बुझ्नै पर्छ।
धन्य छौँ हामी, यतिका कमजोर तयारी, लापरबाही र अपर्याप्त रोकथामका बाबजुद खासै कोरोनाको संक्रमण फैलिएको छैन तर सधैँ यही अवस्था रहीरहला भन्न सकिन्न। त्यसैले सबैले लकडाउनको कडाभन्दा कडा पालना गरौँ।
अन्यथा कोरोनाको भयंकर महामारी फैलिएको इटाली, स्पेन र अमेरीकाले सम्हाल्न नसकेको यो अदृश्य सूक्ष्म भाइरसलाई हाम्रो देशको कमजोर पूर्वाधार, अपर्याप्त प्रविधी तथा सिमीत जनशक्तिले नियन्त्रण गर्न सक्ने हैसियत छैन। नयाँ वर्ष २०७७ कोरोनामुक्त वर्ष बनोस्, एकान्तबासबाट भगवान पशुपतिनाथसँग यही प्राथना छ।
(लेखक फरेस्ट एक्सन नेपालमा कार्यरत छन्।)