सामाजिक सञ्जालको जञ्जालमा नफसेका आजभोलि कमै मान्छे होलान्। मलाई पनि खै कसरी लत बसेछ फेसबुकमा, एकपटक हेर्छु अनि हेर्दिनँ भन्छु तर एकैछिन नहेर्दा छट्पटी हुन थाल्छ। नशा लिएपछि लत बस्छ छुटाउन गाह्रो हुन्छ त भन्थे तर त्यो भन्दा पनि ठूलो लत बसेछ मलाई फेसबुकको।
कहिलेकाहीँ खोलेर हेर्नु त ठीकै हो समाचार हेरे जस्तै संसारभरिका कुरा थाहा हुन्छ। धेरै समयदेखि भेट नभएका साथीहरू कहाँ र के गर्दै होलान् भन्ने बेलामा जानकारी पाउँदा त साह्रै खुसी लाग्छ अनि के कस्तो छ हालखबर भनेर सोध्न पनि पाइने अझ मेरो बानी त सबैसँग सम्पर्क राखौं भन्ने छ।
आज भोलि त झन् बन्दाबन्दीले गर्दा फुर्सदिला भएका साथीहरूसँग कुराकानी गर्न निकै सजिलो बनाइदिएको छ।
सामाजिक सञ्जाल भन्दा फेसबुक अहिले असामाजिक जञ्जाल भएको छ- को भन्दा को कम भनेर प्रतिस्पर्धा गर्ने मञ्च जस्तो।
कसैले मीठो मीठो खाएको फोटो राख्छन् त कसैले राम्रो राम्रो ठाउँ घुम्न गएको फेरि त्यो देख्दा आफूलाई पनि त्यस्तै त्यस्तै गर्न मन लाग्ने। एक दिन त चिकेन रोस्ट बनाएर फोटो अपलोड गर्दै थिएँ, एक जना गोतियार बितेको हार्दिक श्रद्धान्जली भनेर पो आउँछ अब जूठो परिसकेपछि न त्यो रोस्ट खान पाएँ न त रोस्टको फोटो फेसबुकमा पोस्ट गर्न पाएँ त्यस दिनदेखि मीठो पाकेको बेला खाई सकेरमात्र फेसबुक हेर्न थालेकी छु।
‘घाँटी हेरेर हाड निल्नु भन्छन्’तर खै के खै के?आफूलाई चाहिँ एकैचोटि ठूलै हाड निल्न मन लाग्ने। हामी‘कागले कान लग्यो भनेपछि कागकैपछि दौडने’ न हौं।
आज भोलि त संसार भर तहल्का मचाइरहेको कोरोनाले गर्दा घरभित्रै थुनिनु परेको छ र घुम्न गएका नयाँ फोटोहरू फेसबुकमा पोस्ट भएका छैनन् तर आज मैले यो कोरोना सुरू हुनुभन्दा पहिलेको कुरा सम्झन पुगें।
मैले पनि फेसबुकमा अरूहरूको घुम्न गा’को फोटो देखेपछि सबैलाई पुग्ने हामीलाई नपुग्ने भनेर राति सुत्ने बेलामा श्रीमानसँग भने-“छोरीहरूको पनि बिदा छ सधैं कोठामा मात्र पनि कति राख्नु दिनैभरि इन्टरनेटमा झुण्डिन्छन् त्यो भन्दा त बरू घुम्न जाऔं।”
उहाँले भन्नु भयो-‘कुरा त ठीकै हो। जान त जाने हो गएपछि दिमाग पनि चङ्गा हुन्छ, छोरीहरू पनि रमाउँछन् तर काठमाडौंको ठाउँ, महँगी बढिरा’छ घर खर्च चलाउन धौ धौ छ, धेरै खर्च नगर्दा त सुक्को बच्दैन अहिले उमेरमा बचायौं भने पो पछि छोरीहरू पढाउँदा काम लाग्ला, थोरै पैसाले पुग्ने होइन त्यसैमा झन् आज भोलिका अनेकथरि रोग उपचार गर्नै गाह्रो छ सबै पैसा सकियो भनेपछि अप्ठ्यारो पर्दा के गर्ने ,कोसँग माग्नको लागि दाँत किच्याउने ?फेरि ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी’ न हुन् यो संसारमा।”तर मेरो जिद्दीको सामू उहाँको केही लागेन।
मैले घुम्न जाने भनेपछि छोरीहरू पनि जाऔं जाऔं भन्न थाले। छोरीहरूले पनि भनेपछि बाबुको मन त्यसै पग्लिहाल्यो र पर्सिपल्ट जाने पनि भयौं।
पाँच दिनको लागि काठमाडौंबाट मनकामना दर्शन गर्दै पोखरा अनि त्यहाँबाट चितवन पुगेर सौराहा घुमेर फर्कने निधो गर्यौं।भनेको कुरा पूरा हुँदा खुसीले गद्गद हुँदै निदाउनको लागि कोल्टो त फेरें तर के निन्द्रा लाग्थ्यो? मनभित्र अनेकौ कुराहरूले खेल्न थाले।
घुम्न गएको प्रमाणित गर्न फोटो त खिच्नै पर्ला फेरि त्यसै पनि फोटो त खिच्नै पर्यो पहिले पहिले रिल किनी किनी त फोटो खिचिन्थ्यो अहिले त सस्तो र सजिलो पनि छ। पछि फोटो हेर्नुको पनि त अर्कै रमाइलो छ। पाँच पाँच दिनसम्म एउटै लुगा र जुत्ताले पनि पुगेन फेर्ने नयाँ लुगा पनि चाहियो।
मलाई मात्र भएर पुगेन सबैलाई चाहियो। भर्खर बहिनीको बिहेमा सारी,सुट यसो त्यसो किन्दा खर्च भएको छ। श्रीमानलाई भनौं भने फेरि बल्ल तल्ल घुम्न जाने गराइएको छ न भनौं त कसो गरौं?
अनि लुगा राख्ने ठूलो राम्रो झोला पनि चाहियो। होस् झोला त केही दिनको लागि मागेरै काम चलाउँला लुगा पनि तीन जोड लगे त भैहाल्यो हामी सेलिब्रेटी पनि त होइनौं नि फेरि फेरि लगाउने अनि अलिकति राहत मिलेछ सोच्दा सोच्दै निदाएछु।
अर्को दिन जाने तयारी गर्दा उहाँ कराउन थाल्नु भयो “यति धेरै समान लगेर म त जादिनँ के महिनौंको लागि जान लागेको हो र,म जादिनँ तिमी जाऊ छोरीहरू लगेर।”
मलाई पनि झनक्क रिस उठ्यो कस्तो केही कुरामा पानि सौख नभएको होला? समय परिस्थिति अनुसार त चल्नै पर्यो। फेरि रिस उठ्यो यो चलनसँग सफा भए त भैहाल्यो नि के को नानाथरि नक्कल गर्नु पर्ने हो हैरान छ।
खासमा रमाउन जान थालेको तर झन् झगडा पो सुरू भयो भो। भो लग्दिनँ भन्दै राख्न त राखिहालें सबै लुगा।
हिँड्ने बेला भयो फेरि कच् कच् उहाँलाई ट्याक टुक पर्नु नपर्ने, मलाई चाहिँ भित्रभित्र फेसबुकमा फोटो राख्नु छ राम्रो त हुन परिहाल्यो नि भन्ने छ उता छोरीहरू यो लगाउँदैनौं उ लगाउँदैनौं भन्छन्। ढिला हुन थालिसक्यो बस छुट्ला भन्ने डर पनि छ जसो तसो गरी घरबाट हिँडियो।
आफू परियो फोटोको सौखिन, त्यसमा झन् घुम्न गा’को परिवारको फोटो राम्रो खिचौं भन्छु, उता ठूली छोरी कराउँछे ‘कति फोटो खिच्नु पर्ने त्यही फेसबुकको लागि त होला नि। कति सो अफ गर्नु पर्ने मामुलाई पनि?’
म पनि उस्तै त छु काम काज छोडेर फेसबुकतिर भुल्दा कहिलेकाहीँ त तरकारी बसालेर फेसबुक चलाउन लाग्दी रहिछु डढेर आपत।
त्यसैले मैले फेसबुक चलाएको देख्दा घरमा सबैलाई रिस उठ्छ। अनेक बिन्ति गर्दै फोटोको लागि राजी त पार्छु तर आफूखुसी फोटो खिचे पो राम्रो आउनु बलजफती गर्दा त्यति हँसिलो पूर्णिमा जस्तो अनुहार पनि ग्रहण लागेको जस्तो देखिने। अनि कहाँ बाट आओस् राम्रो फोटो? मलाई पनि एक पटक खिचेर नपुग्ने। राम्रो खिचेर प्रोफाइल फोटो बनाउँछु अनि घरको भित्तामा ठूलो फोटो गराएर टाँस्छु भनेको खै कहिले कहिले?
अब खाना खाने बेलाको कुरा- दिनभरि हिँडेको भोक पनि राम्रै लागेको थियो। रेस्टुरेन्टमा बसेर मेनु त मगाइयो, खानाको दर हेर्दा उहाँ र म एक आपसमा मुखामुख गर्न थाल्यौं- कुरा थियो पैसाको। मनलाई त एक दुईथरि खाएर सम्हाली हालिन्थ्यो त्यो बीचमा प-यो फेरि फेसबुक।
अलि धेरैथरि मगाए त फेसबुकमा राख्दा पनि राम्रै देखिन्थ्यो मनमनै आफैसँग कुरा गरें- घुम्न आइसकेपछि कति कन्जुसाई गर्नु? उहाँको भित्री आसय त बुझिसकेकी थिएँ। यसैगरी दुई चार दिन भोक टारौं घर पुगेर टन्न खाउँला भन्ने तर न बुझेझैं गरी फेरि दुई तीनथरि अरू थपें, फोटोकै लागि पनि।
मेरो त सबै इच्छा पूरा भयो, दुई चार दिन भए पनि घरको काम धन्दाबाट छुटकारा पाइयो, घुमेको छ खा’को छ रमाइलो त रमाइलो नै भयो। हिँड्नु, घुम्नु पनि पर्छ धेरै कुरा देखिन्छ, जानिन्छ। फर्कने बेलामा मन खुसी हुँदाहुँदै पनि बसभरि फेरि त्यही कुराले पिरोलिरह्यो....भएभरको पैसा घुमघाममा सकियो भोलिदेखिको गुजारा केले चलाउने?