प्रभातकालीन नित्यकर्महरु सकिसकेपछि घर सरसफाई अनि खानाको काम त सामान्य दैनिकी नै भएको थियो। अफिस जाने गरेको बानी घरमा बस्नु पर्दा एक/दुई दिन त बिदा मिलेको महशुस भयो।
तत्पश्चात् त दिनहरु नै लामो लाग्न थाले। वास्तवमै कर्मबिनाको जिन्दगी खल्लो नै लाग्दो रैछ। मनमा अनेक थरि कुराहरु खेल्दथे। त्यही पनि मुखमा हाँसो अनि शरीरमा जोश त देखाउनै पर्यो।
मनका कुरा गरौँ, हुन त वर्तमान महामारीबाट हाम्रो देश मात्रै नभई बिश्वका अधिकांश देशहरु अछुतो छैनन्। तथापि मन नै हो सोच्छ अनि झसंग हुन्छ। आफ्ना आमाबुवालाई सम्झिन्छु, दिदीबहिनी, दाजुभाइलाई सम्झिन्छु, आफन्तलाई सम्झिन्छु अनि माइतिघर छोडी जसको साथमा पराइघर आए, उसलाई सम्झिन्छु।
किनकी मेरो श्रीमान् हाल विदेशमा हुनुहुन्छ। सबैलाई सम्झिन्छु, आफू सुरक्षित अनि तन्दुरुस्त भएको महशुस गर्दछु अनि मेरा आफ्नाहरु कही दुःखमा त छैनन् भनेर सोच्दछु।
समस्या जताततै छ, तथापि यस्तो समयमा आफ्नाहरुसँगको साथमा हुन नपाउनु सबैभन्दा चिन्ताको विषय हुने रहेछ। यो विश्वव्यापी महामारी हो। म एकजनाले चिन्ता गरेर न त चाहेर नै केही हुनेवाला छ। यो बुझ्दाबुझ्दै पनि मलाई मेरो चिन्ता सर्वश्रेष्ठ लाग्छ।
हामी जे-जस्तो छौँ, आफ्नै देश-घरमा छौँ, मिठो-नमिठो सबै मिलेर खाएका छौँ। तथापि मैले खाने हरेक गाँसमा अनि घरमा बिताएका यी फुर्सदिला क्षणहरुमा म मेरा ती आफ्नालाई याद गर्दछु। अहिले शरीर यता अनि मन उता भएको छ मेरो।
म त एक प्रतिनिधी पात्र मात्र हुँ तर हाल कति दिदीबहिनी, आमाबुवा अनि घरपरिवारको मन पनि मेरो जस्तै पोलेको छ यहाँ। आउनेहरु आउन पाएका छैनन्, जानेहरु जान पाएका छैनन्।
दैनिक नयाँनयाँ समाचारहरु पढ्छु, सुन्छु। रोगीहरु दिनानुदिन बढिरहेका छन्, संक्रमण फैलिँदो अवस्थामा छ। कहिलेसम्म साम्य हुन्छ पत्तो छैन। कतिको विदेशमा नोकरी गुमिसकेको छ, कतिको गुम्दै छ। परिणाम कहालीलाग्दो हुने संकेत देखिसकेको छ। विदेशको कमाईले चल्ने यहाँका कति परिवारको भान्सामा चुल्हो जल्न छोडिसक्यो अब। पीडा विदेशीनेमा नि त्यत्तिकै छ।
उराठ, अनि त्यो मरुभूमि चारैतिर,
आफ्नो भन्दा पनि त्यहाँ, परिवारको भो पिर।।
जताततै अझ रोगको प्रलय त्यो,
आफ्नैको पनि कति विलय देख्नुछ त्यो।।
छैन कत्ति पनि माया न त दया त्यो ठाँउमा,
मनपेट जति सारा हुन्छ रे त्यहाँ झनै देश र गाउँमा।।
न त छ आशा जानपाउने नै स्वदेशमा,
बस्दै कट्दछन् दिनहरु, शरणार्थीको भेषमा।।
जति नै पिडा भएपनि अगाडि बढ्नुपर्ने बाध्यता सबैको छ। जीवनमा यस्ता कठिनाइहरु केही न केही दिगो परिवर्तनको संवाहक बनेर आउँछन्। दुख र पीडालाई शक्तिमा बदल्ने कोशिस गर्नुबाहेक अरु कुनै विकल्प छैन। अब सबैलाई प्रतिक्षा भनेको त्यो दिनको हो, जुन दिन यो महामारीको अन्त्य हुनेछ अनि जनजीवन सामान्य बन्नेछ।
सायद! यो दिन पनि चाँडै आउनेछ। यहि आशमा बितिरहेको छ घरभित्रको जीन्दगी।