यो वर्ष धेरै कुरा सोचे भन्दा अलग हुँदैछन्। अनि यो मौसम चाहिँ किन पछि पर्थ्यो। वैशाखमा पनि साउनको भन्दा कम झरी परेको छैन।
सायद प्रकृतिले अप्ठ्यारो समयलाई केही सहज बनाउन मायाका रंग बर्साउन खोजे जस्तो लाग्दैछ। बिचरा यो झरीलाई के थाहा, उसको निरन्तरको उपस्थितिले म जस्ता मायालुबाट टाढा, घरभित्र थुनिएर बसेकालाई सहज कम अनि बेचैन ज्यादा गराएको भनेर।
हुन त झरीलाई पनि दोष दिइ हाल्दिनँ म। यहाँ दोष झरीको भन्दा पनि उनका यादहरूको छ सायद!
खैर साँच्चै मोहक हुन्छ यो झरी। आकाशमा छरिएका बादलका टुक्रा, दर्केको पानी अनि त्यसले छर्ने जादू। यस्तो बेला खाटमा बसेर तातो चिया चुस्की लगाउँदै उनकै सम्झनामा कानमा एयरफोन लगाएर रोमान्टिक गीत सुन्नको मज्जा त्यो बाहिर झरीमा भिज्नेहरूलाई के थाहा!
म झरीमा रूझ्न नरूचाउने तर फेरि झरीसँगै सेट हुने वातावरणबाट सधैं उसैगरी लठ्ठिने मान्छे। हुन त मसँग आफ्नो साधन नभएर पनि होला यो झरी अरूचि रहेको। सुन्दा चाहिँ अलि अनौठो सुनिन्छ है!
खास झरीको मौसममा आफ्नो साधन नहुने सबै नेपालीको अनुभव यस्तै हुँदो हो। हुनत अरू बेलामा नहुने होइन तर यस बेलामा अझ विशेष। उसै त उकुसमुकुस हुने गाडी, त्यसमाथि लप्पक भिजेका सिट अनि भिजेर सुकेका मानिसको कपडाबाट आउने दुर्गन्ध।
धन्न यो लकडाउनले वैशाखे झरीमा उसै गरी हिँड्न नपर्ने बनाएको छ। काठमाडौंको जाममा बस्न नपरेपछि समय पनि राम्रै बच्ने रैछ। झ्यालमा बसेर मायाका गीत सुन्दै मायालुलाई बिना हतास सम्झनैको लागि लकडाउन गरिदिए जस्तो भाको छ आजकाल।
झरीमध्ये पनि एउटा खास झरी सम्झदै छु म आज। अल्लारे उमेर, भर्खर भर्खर बसेको माया अनि साउने झरी।
चिन्न त म उनलाई अलि समय पहिलेदेखि चिन्थें। कुराकानी हुन थालेको पनि दुई महिना जति भैसकेको हुँदो हो। साँच्चै भन्दा उनीसँग पहिलो दिन बोल्दै लागेको थियो, ऊ खास छे भनेर। म धनु राशिको हुँ, मेरा इन्ट्युस्नहरू प्राय गलत हुँदैनन्। तर संसार यति जाली बनेको छ कि, उही बेला भनिदिऊँ भने पनि अनायासै 'फ्लटर'को ट्याग लाग्ने डरले गर्दा केही भनिनँ।
अफिसका फाइलको चाङ केही कम भएको मौका पारेर उसलाई सोधें, "म्याडमसँग भेट्न पाए धन्न हुने थें, के छ फुर्सद?"
ऊ झन् के कम।
"तिम्रो इच्छा पूरा गरिदिने भएँ, तिमीले जन्म लिएको सार्थक हुने भयो", मज्जाले हाँस्दै उनले भनिन्। स्वयम्भूमा भेट्ने टुंगो लगायौं।
आकाशमा मीठो हर्कत देखाएर बादल मडारिँदै थिए। उनीसँगको पहिलो भेटको उत्साहमा मेरो हालत पनि कम थिएन। उनलाई कुर्दाकुर्दै पानी छिट्टाउन थाल्यो। टिप.. टिप गर्दै वर्षिएको पानी कत्ति बेला ठूलो भयो मेसो पाउनै सकिनँ।
म नित्रुकै भिजें। उनी पनि आइपुगिन् तर उनीसँग पनि ओत लग्ने केही रहेनछ। अवस्था सोचेभन्दा फरक भएर होला म नर्भस कम अनि कन्सनर्ड धेरै भएछु।
बल्ल तल्ल हामी सडक किनारमा बन्द सटर अगाडि मिलेर ओत लाग्यौं। ब्याचलर पढ्दा पुतलीसडकको पुस्तक पसल अगाडि अनजान मान्छेहरूको भीडमा कोचिएर ओत लागेको बाहेक कोहीसँग यसरी झरीमा सँगै ओत लागेको यो मेरो पहिलो पटक थियो।
मेरो मनमा मिश्रित भावनाहरू लुकामारी खेल्दै थिए। झरीले कसैलाई नाचु नाचु बनाउँछ अनि कसैलाई भावुक। मेरो हालत पनि त्यस्तै भएको थिए।
छानाअघि पट्टिसम्म हात लम्काएर पानी खेलाउँदै गरेकी उनको हालत पनि फरक थिएन सायद।
यो मेरो उनीसँगको पहिलो भेट मात्रै हैन पहिलो झरी पनि थियो। सायद म मेरा भावनाहरू झरीसँगै बगेको उनले या अरू कसैले चाल नपाओस् भन्नेमा एकदम सजग थिएँ। लाग्छ त्यही फरक छ मानिस र प्रकृतिमा।
हामी मान्छे आफू भित्रको भावनालाई बादलबाट पानी दर्किए जस्तो दर्कन दिँदैनौं।
हामी केही घन्टा त्यहीँ ओत लाग्यौं। त्यो दिन त्यहीँ ओत लागेर मैले मेरो पहिलो डेट गरेको थिएँ, उनीसँग।
स्वभावैले बोलक्कड उनले, उहिले जितेको मेरो मन त्यो दिन चोरी दिएकी थिई। साँच्चै भन्दा छुट्टिनै मन नलाग्ने गरी लोभ्याएको थियो उनको उपस्थितिले। तर फर्कनुको विकल्प पनि त थिएन! उही हिलो बाटो अनि सार्वजनिक यातायातको झंझट सम्झँदै मैले मिश्रित भावमा उनीसँग त्यो दिन छुट्टिएँ म।
आज करिब १ वर्षपछि दर्किएको यो बेमौसमी झरीले त्यो दिनको बिछ्ट्टै याद दिलाउँदै छ। त्यो दिनपछि आजसम्म आइपुग्दा हामी सयौं पटक भेट्यौं होला तर त्यो दिनको सम्झना नै विशेष छ।
लकडाउनको ४७ दिन बितिसक्यो अनि उनीसँग नभेटेको ५० दिन। सायद अहिले पनि हामी कतै ओत लाग्दै हुन्थ्यौं। सायद उनका आँखाका उत्साहहरू म उसैगरी नियाल्न पाउँथें। सायद उनी कुराकुरामा दङ्ग परेर मेरै समिपमा हाँसिदिन्थी। सायद म यो झरीको समय उनीसँग उसैगरी व्यतित गर्न पाउँथें।
एउटा कुरा थाहा छ? मेरा मिश्रित भावनालाई मैले केलाइकुलाई गर्न भ्याइसकें अनि त्यही दिनबाट झरी पनि राम्रै हुने रहेछ भनेर चाल पाइसकें। मेरो एयरफोनमा नारायण गोपाल सुनिँदै छन्, "एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा......"