म अहिले कक्षा ११ को परीक्षा तयारी गर्दै छु। चीनमा पहिलो पटक २३ जना कोरोना संक्रमित भेटिएको खबर सुनेर त्रसित भएकी म अहिले छिमेकी जिल्ला बाँकेमा २३ जना संक्रमित भेटिएको खबर सुनिरहेकी छु।
म आवासीय विद्यालयमा अध्ययन गर्ने भएकोले उतै बसेर परीक्षाको तयारी गर्ने सोचमा थिएँ। तर एक्कासी विश्वभर कोरोनाले विकराल रुप लिएपछि विद्यालयको वार्षिक तालिकाभन्दा अगाडि नै वार्षिक परीक्षा हुनेभयो।
त्यतिबेलासम्म हाम्रो कोर्स नसकिएकाले कक्षा ११, १२ र ए-१ को तत्काल विद्यालयले लिने वार्षिक परीक्षा नहुने भयो र हाम्रो प्राक्टिकल परीक्षा, तालिकाभन्दा अगाडि सारियो-चैत्र ४ गते।
अरु सबैको परीक्षा सकिएपनि ए-२ को दाइदिदीको परीक्षा चलिरहेको थियो। परीक्षा सकिए लगत्तै विस्तारै विद्यालय खाली हुँदै गयो। सानो कक्षाका भाइबहिनी अल्लि अगाडि नै परीक्षा सकिएपछि घर गए। उपत्यका भित्रै घर भएका हाम्रा साथीहरु पनि घर गए।
म लगायत उपत्यका बाहिरका मेरा साथीहरु घर नफर्किने सोचमा थियौँ। परीक्षा सकिएको दिन घरमा फोन गरेर एक चोटि 'बाबा म घर आउकी यतै बसेर परीक्षाको तयारी गरौँ?' भनेर सोधेँ। बाबाले पनि सबै साथीहरु घर गएको भए तिमी पनि आउ न त घरमै बसेर तयारी गरौली भन्नुभयो।
यति भएपछि एकछिन अघिसम्म घर नजाने भनेकी मैले घर जाने निर्णय गरेँ। भोलिपल्ट दिउँसो फुपू मलाई लिन विद्यालयमा आउनु भयो र म बर्दिया फर्किएँ। त्यही दिन साँझ समाचार आयो ६ गते हुने भनेको एसइई परीक्षा स्थगित गरिएको छ भनेर। त्यसपछि विद्यालय पनि खाली गराउने सूचना जारी भएछ र सबैलाई ६ गते बिहान घर जानुपर्ने भएछ। त्यतिबेला बेलैमा घर आएछु भनेर खुसी लाग्यो।
घरमा भाइबहिनी वार्षिक परीक्षा सकेर बसेका थिए। परीक्षा सकेर जेठमा घर आउने भनेको दिदी चैत्रमा घर आउँदा उनीहरू धेरै खुसी भए। परीक्षा सकिए पनि नतिजा निकाल्नु पर्ने भएकाले मम्मी-बाबा दुवैजना आ-आफ्नो विद्यालय गैराख्नु भएको थियो।
यसरी केही दिनमै चैत्र ११ गते बिहान ६ बजेदेखि देशभर लकडाउन गरिने सूचना आयो। सुरुका केही दिनमा लकडाउन अवधि कसरी बिताउने जस्तो सबैलाई भयो नै तर पछि सबैले यसलाई एउटा अवसरको रूपमा लिन थाले।
काममा व्यस्त भएका बुवाआमालाई छोराछोरीसँग रमाइलो गर्ने अवसर र किताबको भारी बोक्न बानी परेका छोराछोरीलाई बुवाआमाबाट व्यवहारिक ज्ञान सिक्ने अवसर। चैत्र महिनासम्म त सबै सामान्य नै थियो। संक्रमितको संख्या पनि धेरै बढेको थिएन नेपालमा तर नयाँ वर्षको आगमनसँगै दुईटा पिरलो एकैचोटी पर्यो।
एउटा कोरोना संक्रमितको बढ्दो संख्या, अर्को नयाँ शैक्षिक सत्र कसरी सुरुआत गर्ने भन्ने। कतिपय कलेजहरुले त चैत्र देखिनै जुम एपमार्फत अनलाइन कक्षा चलाइरहेका थिए, विभिन्न सेमिनारहरु वेविनारमा परिणत भइसकेका थिए।
तर वैशाखदेखि त अनलाइन कक्षा गाउँगाउँमा सुनिन थाल्यो। धेरै पहिलेदेखि शिक्षालाई प्रविधिसंग जोड्ने प्रयास अन्ततः कोरोनाले गर्दा सुरु हुनेभयो भनेर मनमनै खुसी भएँ। यत्तिकैमा फेरि नेपालको इन्टरनेट सेवा झसंग याद आयो।
उपत्यकामै त राम्रोसँग नचल्ने इन्टरनेटको माध्यमबाट वाइफाई नभएको र एनसेल, नमस्ते केसैको नेटवर्क राम्ररी नचल्ने ठाउँको विद्यार्थीले कसरी लिने अनलाइन शिक्षा? हुनत डेटा प्याकेजमार्फत पनि इन्टरनेट चलाउन सकिन्छ तर वाइफाई भएकै घरमा त राम्ररी नचल्ने इन्टरनेटबाट आखिर पढ्ने कसरी फेसबुक?
म्यासेन्जर चलाए जस्तो होइन अनलाइन कक्षा चलाउनु। अझ कक्षा ५ सम्म त यो आवश्यक नै छैन। उनीहरूले यो समयमा विद्यालय नगए पनि घरमै बसेर धेरै कुरा सिकिरहेका छन् जुन पाठ्यक्रममा पनि समावेश गरिएको छ। त्यसैले ल्याप्टपको अगाडि बसेर दुई घन्टासम्म अनलाइन कक्षा लिन साना नानीहरूलाई आवश्यक छैन।
बरु माथिल्लो कक्षामा पाठ्यक्रम अल्लि सैद्धान्तिक ढंगले तयार पारिएकाले उनीहरुलाई परिस्थिति अनुकूल पढाउन सकिन्छ। अनलाइन कक्षा नराम्रो होइन, अहिलेको देशको परिस्थिति नराम्रो। अनलाइन कक्षा त होस्, तर अभिभावक र विद्यार्थी दुवैलाई दबाब नपर्ने गरी।
इन्टरनेट सेवा सबैले प्रयोग गर्न नसक्ने भएकाले कतिपय ठाउँमा स्थानीय रेडियो, एफएममार्फत पढाउने काम भैरहेको छ। त्यसैले जहाँ जे उपलब्ध छ, त्यही प्रयोग गरेर अहिलेको लागि समाधान खोज्नु जरुरी छ।
रुखको हाँगामा बसेर अनलाइन कक्षा लिने क्रममा लडेर स्कुले बालकको हात भाँचियो भन्ने खबर कसैले सुन्न नपरोस्। आशा छ, लकडाउनपछि सबै विद्यार्थी आफ्नो प्यारो कक्षा कोठामा बसेर राम्ररी पढ्न पाऔँ।