हेलमेट ट्राफिकको लागि लगाइदिने। नक्सापास इन्जिनियरको लागि गरिदिने। नियम पालना दण्डबाट बच्नको लागि गर्ने। कानुनको आँखामा छारो हाल्न खोज्ने। नागरिक दायित्व पटक्कै निर्वाह नगर्ने। हाम्रो यही प्रवृत्ति थप पुष्टि भयो लकडाउन पालना गर्ने सन्दर्भमा पनि।
पछिल्लो समय नेपालमा केरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। हिजो सोमबार मात्र २४ जना नयाँ संक्रमित थपिए। आज मध्यान्हसम्म ५७ जना थपिएका छन्। संक्रमणको अग्रपंत्तिमा रहेका जिल्लाहरु मध्ये एक हो- कपिलवस्तु। यस जिल्लामा १० वटा स्थानीय तहहरु छन्। जसमध्ये ५ वटाको भारतसँग सिमाना जोडिएको छ।
जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले सूचना जारी गरी २०७७।०१।२९ गते दिनको ५ बजेदेखि मिति २०७७।०२।०५ गते राति १२ बजेसम्मको लागि विविध गतिविधिमा रोक लगाएको छ। वाणगंगा नगरपालिका पनि पूर्णरुपमा सिल गरिएको छ।
आज सडक शान्त छ। टोलवस्ती सुनसान छन्। सरकारले लकडाउन घोषणा गरेको आज ५० औं दिन हो। तर पहिलो दिन हो कि जस्तो अनुभूति भएको छ। आज लकडाउन साच्चिकै लकडाउन जस्तो भएको छ। सुरुआती दिनदेखि नै यस्तै भइदिएको भए, अवस्था फरक हुन्थ्यो सायद।
कोरोना नेपाल आउदैन। वीर नेपाली देखेर डरायो। आजसम्म कसैसँग झुक्नु परेको छैन। भूकम्प आउँदा त मरिएन, नाथे कोरोना। केही महिना अगाडिको हाम्रो ‘ओभर कन्फिडेन्स’। कथित राष्ट्रभक्ति देखाउन र विदेशी भूमिमा रहेका नेपालीलाई व्यंग गर्ने कुनै कसर बाँकी राखेनौँ। यस्तै सामाग्री सम्प्रेषण गर्ने होडबाजी नै चल्यो सामाजिक संजालमा। हाम्रो सृजनशीलता केवल यिनै कमामा खर्च भयो।
फलानो प्रदेशमा कोरोना संक्रमण देखियो। तिलानो प्रदेशमा संख्या बढ्दैछ। हाम्रो प्रदेश सुरक्षित छ। केही हप्ता अगाडिको हाम्रा युत्तिहरु। अब जिल्लास्तरमा ओर्लिएको छ हाम्रो त्यो ‘ओभर कन्फिडेन्स’।
'भारतसँग सिमाना जोडिएका स्थानीय तहहरुमा संक्रमण देखिएको हो। हाम्रो नगरपालिका जिल्लाको उत्तरतर्फ पर्छ। हामी पूर्णरुपमा सुरक्षित छौं' हिजोसम्म एकथान हुल यस्तै भन्दै वाणगंगा नगरपालिका डुल्दै थियो।
जिल्ला प्रशासनले पहल नगरेको भए त्यो हुल आज पनि त्यस्तै गर्थ्यो। यो पक्का हो। एकदिन नगरपालिकाकमा आएको छैन। अर्को दिन वडामा आएको छैन। टोलमा आएको छैन। घरमा आएको छैन। अनि यस्तै यस्तै होला संभवत।
लकडाउनलाई मर्मअनुसारको बनाउन हामी सबै चुक्यौं। हाम्रा छरछिमेकमा नवआगन्तुकको प्रवेश प्रति हामी बेप्रवाह बन्यौँ। सुत्केरी माइत त जानै पर्यो नि। आपतको बेला घर सम्झिने त हो। मोटोघाटो नै छ, रोग छैन होला। त्यो उमेरकालाई त खासै लाग्दैन एवम् रितका निराधार तर्क मै भुल्यौं।
कसैले पनि सम्बन्धित निकायमा खबर गरेनौं। झुटा विवरण दिदै सवारी अनुमति लियौं। दिनचर्या संयमित बनाएनौं। महामारीलाई मलजल गरिरहयौं।
नेताहरु काठमान्डौँमा रहेका आफ्ना कार्यकर्ता र तिनका आफन्तलाई जिल्ला उतार्न तल्लीन भए। उता वास्तविक मजदूरहरु भोकभोकै हिँडेर गन्तव्य पुगे। लकडाउन प्रतिस्पर्धा नै बन्यो। नागरिकमुखी भएको प्रमाणित गर्ने उत्तम अवसर जस्तो।
तराईका केही जिल्लामा संक्रमण बढ्न थालेपछि सुरक्षित स्थान खोज्न थालियो। फेरि अनेकौँ उपायहरु अपनाएर काठमान्डौँ भित्रने क्रम सुरु भयो। संक्रमण देखिएका जिल्लाबाट नजिकैका पहाडी जिल्लामा रातारात ओइरनेको संख्या पनि ह्वात्तै बढ्यो। त्यहाँका स्थानीय तहहरुलाई क्वारेन्टाइन व्यवस्थापन गर्न हम्मे परेको छ।
वास्तवमा लकडाउन भनेको जो जहाँ छ त्यही सुरक्षित बस्नु हो। केही समय जीवनशैली र खानपानलाई खुम्चाएर भए पनि नागरिक दायित्व पूरा गर्नु हो। कुनै पनि स्थान निरपेक्ष रुपमा सुरक्षित छैनन्। हाम्रो व्यवहारले नै हामीलाई सुरक्षित बनाउने हो। जहाँ संक्रमण पुष्टि भएका छन्, ती नेपालका सहरी क्षेत्र नै हुन्। संक्रमण प्राय छिमेकी राष्ट्रबाट आएकामा देखिएको छ। तर, कामका लागि भारत नेपालका हरेक ठाउँबाट जाने गर्दछन्।
कतै परीक्षण नभएको कारणले अन्य ठाउँमा नदेखिएको त होइन? यथेष्ट परीक्षण भएकै छैन भन्ने कुरालाई पनि नजरअन्दाज गर्न सकिन्न।
जर्मनीमा लकडाउन खुकलो भएसँगै संक्रमितको संख्या अचानक बढेको छ। भारतमा तीव्र गतिमा संक्रमण बढ्दैछ। हिजो एकै दिनमा १३ जना नयाँ संक्रमित थपिए। नेपालमा महामारीको वास्तविक जोखिम भर्खर सुरु हुँदैछ। तर हाम्रो व्यवहार भने संकट टरिसक्यो भन्ने खालको छ।
हाम्रो विचलित दिनचर्यालाई संयमति बनाउनै पर्छ। लकडाउन पालनाप्रतिको हाम्रो इमानदारितालाई थप मजबुत बनाउनै पर्छ। यो नै सबै नागरिकको दायित्व अनि विपद्धर्म हो। हरपल ‘मोटिभेटेड रहौं। ‘ओभर कन्फिडेन्ट’ होइन।