धेरैले भन्ने गर्छन् -महिलामा राजनीतिक साक्षरता कम छ। त्यसैले उनीहरू राजनीतिमा पछि छन्।
जब गन्यमान्यबाटै यो भनाइ सुन्छु, तब मेरो मनमा प्रश्न उठ्छ- आखिर किन महिलामा राजनीतिक साक्षरता कम छ? राजनीतिक साक्षरता मात्रै हैन सामाजिक, आर्थिक, खोज तथा अनुसन्धानमा समेत महिला साक्षरता कम छ। आखिर किन?
लकडाउनको बेला पनि म दिनभरि अनलाइनमा हुन्छु। क्याम्पसको पढाइ जुममार्फत लिएपछि मेरो काम संसारमा के-के भइरहेको छ चियाउनु हो।
यसरी चियाउने क्रममा: फोर्ब्स पत्रिकामा- देखेँ महिलाले नेतृत्व गरेका मुलुकको कोरोना भाइरसको विरूद्धको लडाँइको व्यवस्थापन अन्य मुलुककको तुलानामा उत्कृष्ट गरेका छन्। भोलिपल्ट केही नेपाली सञ्चारमाध्यमले पनि यो समाचारलाई प्रमुख स्थान दिए।
फेरि मैले महिलाको राजनीतिक साक्षरता कम छ त्यसैले उनीहरुले नेतृत्व गर्न सक्दैनन् राजनीतिमा कमजोर छन् भनेको सम्झिएँ। जसै फोर्ब्सको समाचार पढेँ म निषकर्षमा पुगेको छु- महिलाहरू कमजोर हैनन् कमजोर बनाइएका हुन्।
पहिलेदेखि मलाई यो कुरा लाग्थ्यो नै। अहिले त झन् तिमीहरू कमजोर छौ भनेर हतोत्साहित गरिएकै कारण हामी कमजोर भएका रहेछौँ भन्ने र्निक्यौलमा पुगेको छु।
हिजोआज युट्युवमा प्राध्यापक, लेखक तथा इतिहासकार युभल नोह हरारीलाई खुब हेर्न थालेकी छु। हरारीले एउटा भिडियोमा भने, ‘समाजले के भन्छ, संस्कृतिले के भन्छ? भन्ने कुराकोपछि नलागिकन आफूलाई हेर्नुस् र आफ्नो चाहना के हो त्यही कुरामा लाग्नुस्।' उनको कथन थियो- आखिर संस्कृति पनि हामीले नै बनाएको हो जुन गतिशील छ।
अनि फेरि मैले मेरो समाज सम्झिएँ। यो संस्कृतिले नबाँधेको भए, आफूले इच्छाएको काम गर्न पाएको भए मेरो हजुरआमाहरू आज के हुँदा हुन्? समाजमा महिलाहरूको हैसियत कता पुग्दो हो?
पक्कै पनि उनीहरू घरको चौघेरा नाघेर बाहिर आउँदा हुन्। हजुरबुबाहरूले जस्तै सामाजिक राजनीतिक कुरामा दख्खल राख्दा हुन्। आज आमाको नाममा नागरिकता दिँदा देशको सार्वभौमसत्ता गुम्छ भन्ने छोराहरूलाई औँला ठडाउँदा हुन्। यस्तो कल्पना गर्दामात्रै पनि कम्ता आनन्द आउँदैन।
फेरि पनि उनै हरारीको भनाइ छ- मानव जाति पृथ्वीका अन्य जीवभन्दा फरक हुनु उसको कल्पना गर्ने शक्ति हुनु हो। यदि मानव जातिमा कल्पना गर्ने शक्ति हुँदैन्थ्यो भने अरू जीवले गर्न नसकेको प्रगती गर्न सक्दैन्थ्यो। मानव जातिमा कल्पना गर्ने शक्ति भएकै कारण जात, धर्म, वर्ण, संस्कारको निर्माण अनि अहिले भइरहेको प्रविधिको प्रगती सम्भव भएको हो।
कल्पना गर्ने शक्तिको उपज विभिन्न धार्मिक ग्रन्थ लेखिए समाजलाई सभ्य बनाउनको खातिर अनुशासनमा बस्ने अरू भन्दा फरक देखिने संस्कारका विकास गरिए। जसका बाबजुद देशकालअनुसार धर्म संस्कृति फरक भए। मानव जाति आफैंले बनाएको धार्मिक संस्कारमा यसरी बाँधियो की आफ्नो धर्मबाहेक अरू कुनै सत्य छैन भन्ने भ्रममा बाँच्न थाल्यो।
धार्मिक ग्रन्थमा लेखिएका कुरा अकाट्य हो भन्ने मान्यता स्थापित हुँदै गयो। धार्मिक ग्रन्थ अथवा भनौँ सामाजिक नीतिनियम बनाउनेले मानिसलाई जातको आधारमा, धर्मको आधारमा र लिगंको आधारमा अन्यजात धर्म र लिगंलाई निच ठान्ने र दबाउने संस्कार बन्दै गयो।
अहिलेको परिस्थितिमा जात, धर्म र लिगंकै आधारमा हुने विभेद केही त हटेको छ, निमिट्यान्न भएको छैन। अझै पनि आफूले मानेको इतर धर्म, जात र लिगंको व्यक्तिको अस्तित्वको स्वीकार्यता बढेको छैन। कयौं लोकतान्त्रिक मुलुकमा समेत कानुनमा विभेद नभएपनि व्यवहारमा त्यो देखिँदैन।
यहाँ उल्लेख गर्न खोजेको लिगंको आधारको कुरा हो।
सुरूवाति चरणमा पुरूषले बनाएको नीति नियमबाट महिला धेरै थिचोमिचोमा परे। महिलाहरूको आफ्नै शरीरमाथि अधिकारसमेत रहेन। महिलाले आफ्नो मूल्यमान्यता अनुसार होइन बुबा, दाजु, श्रीमान् तथा छोराले भनेबमोजिम चल्नुपर्ने भयो। संसारका प्राय: सबै मुलुकमा सम्पत्ती माथिको अधिकार पुरूषमा निहित भयो। जुन अहिले पनि एकाध प्रतिशतलाई छाडेर पुरूषमै निहित छ। जग्गादेखि शेयर बजारसम्म पुरूषको हालिमुहाली छ। अर्थतन्त्र सबै पुरूषकै हातमा छ भन्दा फरक पर्दैन। त्यस्तै राजनीतिमा पनि पुरूषकै हालिमुहाली छ।
यो संसारकै समस्या हो। सन् २०१६ मा भएको अमेरिकाको चुनावमा हिलारी क्लीन्टनले पराजय भोगेपछि भएको एक सर्वेक्षणमा अमेरिकीले महिलाको नेतृत्व नचाहेको कारण उनको पराजय भएको निष्कर्ष निकालिएको थियो। संसारकै विकसित देशको हालत यस्तो छ।
नेपालको परिप्रेक्ष्यमा राजनीतिक- सामाजिक रूपमा महिला दोस्रो दर्जाको रूपमा छन्।
उनीहरूको दृष्टिकोण नस्वीकार्नु, आमाको नाममा नागरिकता दिँदा सार्वभौमसत्ता धरापमा पर्छ भन्ने ठान्नु, सांसदले नै महिलाले अधिकारको कुरा गरे घर बिग्रन्छ, संस्कारको कुरा सिकाउनुपर्छ भन्नु (कांग्रेस सांसद देवेन्द्रराज कँडेल), महिलाहरू भाग पुगेन भनेर ट्याँउट्याँउ गलार्न भन्ने अभिव्यक्ति दिनु (प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा नाम मात्रको महिला संख्या राखेपछि दिएको अभिव्यक्ति) को खुलेर विरोध भएन। सदन र सडकमा यो कुरा जोडतोडको साथ उठेन केही व्यक्तिले बाहेक खुलेआम गरिएका महिला माथिको अपमानको विरोध गरेनन्। यो सबै देखे सुनेपछि मलाई पुरूष नेतामा समेत राजनीतिक साक्षरता छ भन्ने लागेन।
महिलालाई दोस्रो दर्जाको रूपमा हेरिंदा विरोध नहुनु राजनीतिक साक्षरताको कमी हो भन्ने मलाई लाग्छ।
अनि मलाई चिच्चाएर भन्न मन लाग्छ, प्रिय पुरूष साथी, महिलामा मात्र हैन पुरूषमा पनि राजनीतिक साक्षरता छैन!
मलाई अर्को कुराको प्रश्न पनि रमाइलो लाग्यो त्यो हो- महिलामा राजनीतीक साक्षरताको आवश्यकता छ?
केही समय अघि अमेरिकी सांसद र नेपाली सांसदबीच एक अर्काको अनुभव सेयरिङ कार्यक्रम काठमाडौँमा सम्पन्न भएको थियो।
अमेरिकी सांसदले त्यहाँ सांसदले के–के काम, कति विज्ञसँग छलफल गर्छन् भनेर आफ्नो धारणा राखे।
नेपालका केही महिला तथा पुरूष सांसदले भने काम कसरी हुन्छ भनेर सेयरिङ गर्नुको सट्टा अमेरिका अहिलेसम्म जान नपाएको सांसदलाई गाडि उपलब्ध नगराएको कुरा उल्लेख गरे।
यसमा देखियो नेपालमा राजनीतिक साक्षरता कम छ। के कुरा उठाउने, कुन विषयवस्तुमा छलफल गर्ने भन्ने कुराको अभाव देखिएको तीतो सत्य हामीबाट लुकेको छैन।
स्मरणीय छ, ०१५ सालको संसदीय चुनावपछि निर्वाचित भएका सासंदहरूले के-के विषयमा छलफल गर्ने कसरी बोल्ने भन्ने थाहा थिएन। परिर्वतनको खातिर हिँडेका तर संसदीय कार्यमा अभ्यस्त नभएका कारण। त्यतिबेलाका प्रधानमन्त्री वीपी कोइरालाले आफ्नो दलका सांसदहरूलाई प्रशिक्षण दिन्थे रे।
त्यसपछि भएको पञ्चायती व्यवस्थामा पनि एक दुईलाई छाडेर राजनीतिमा पुरूष नै आए। उनीहरूले राजीनीतिक कुराहरू थाहा पाउँदै गए। सामाजिक संरचनाको फाइदा पनि पुरूषलाई नै भयो।
२०४६ सालको परिर्वतनपछि नेपाली महिलाहरू ५ प्रतिशत सांसद हुन पाउने अनिवार्य परिस्थिती निर्माण गरियो। तर कहिल्यै शासनसत्ताको बागडोर नसम्हालेका महिलाहरूलाई छुट्टै प्रशिक्षणको आवश्यकता महशुस गरिएन। उल्टो तिमीहरू कुरै बुझ्दैनौँ भनि हतोत्साही गरियो।
०६३ सालपछि ३३ प्रतिशतको संख्या उपस्थिति त आयो तर प्रभावकारी हुन सकेको छैन। यसले देखाउँछ हामीमा राजनीतिक साक्षरता कम छ। पार्टीहरूले प्रशिक्षण दिएका छैनन्। त्यसैले त संविधान बनाउँदा आमाको नाममा नागरिकता बावुको जसरी नै सहजै बन्न सक्ने कुरा उल्लेख भएन।
लोकतन्त्रको मूल मर्म भनेकै आफ्नो धारणा राख्नु नेतृत्वलाई प्रश्न सोध्न सक्नु हो तर कति सांसदले चित्त नबुझेको कुरामा प्रश्न सोधेका छन्? कति सांसदले चित्त नबुझेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनीहरूले आफूलाई समेत लोकतान्त्रिक संस्कारमा ढाल्न सकेको अबस्था छैन।
महिलामा राजनीतिक साक्षरतामात्र होइन हरेक क्षेत्रमा उनीहरूको उपस्थिति कम छ। किनभने घरको चौघेराबाट उम्कीन नदिने हजुरबा, बाबु र श्रीमानलाई सर्वस्व हुन् भन्ने ठान्छन् महिला। पुरूषभन्दा एक कदम पछाडि हौँ भनेर सिकाइएको कुसंस्कारका कारण हरेक क्षेत्रमा महिला सहभागिता कम छ।
यसो भन्दैमा कहिले संस्कारका खातिर कहिले प्रेमीको खातिर आफ्नो ‘करियर’ डामाडोल बनाउने छुट अबका महिलामा छैन। आफूले इच्छाएको विषयमा दक्षता हासिल गर्न गहिरो अध्ययन गर्नु त्यसलाई प्रष्ट रुपमा राख्न आफूमा क्षमताको विकास गर्नु अहिलेको आवश्यकता हो।