धेरै कुराहरु सडकबाटै सुरु हुन्छन्। सडकले देश दिएको छ। बेलाबखत हुने गरेका चर्का आन्दोलनहरुको लेखाजोखा गर्ने हो भने त झन् सडकलाई बिर्सनै हुँदैन। हातमा एउटा कमन्डलु बोकेर 'भिक्षांदेही भव:' भन्दै हिँड्नेदेखि पजेरो भित्रै कुर्सी बनाएर सडकमा कहिल्यै नटेक्नेहरुसम्मका लागि सडक एकैनासको छ।
सडकले अस्ति वुद्ध भगवानलाई बाटो देखायो, हिजो जङ्गबहाबुर राणालाई आफ्नो छातीमा बोक्यो, आज सडकबाटै आन्दोलन गरेर सडकमै जडान गरेको बत्ती चोरेर पूरै नेपाल नै अँध्यारो बनाउने राजनेताहरुलाई उफ्रन धरातल बनाएको छ। सडक कसैको नि होइन, सडक सबैको पनि हो।
राजा, रंक, साधु, चोर, वृद्ध, जवान र अरु के-के जाति चैतन्य वा अकर्मण्य पृष्ठभूमि भएका मानिसका अवस्थाहरुलाई झिँजो नमानिकन छातीमा बेर्न सक्ने अटुट साहस छ सडकसँग। सडक पुरानो हो, थोत्रो हो, निर्जिव हो यद्यपि मानिसको सजिवता बखान गर्ने अतुलनिय माध्यम हो।
जस्तो कि सानो केटोलाई उसको बुवाले साइकल किनिदिनु भयो। टेस्ला, फरारी वा टोयोटाको कारको के कुरा, साथीलाई देखाउनका लागि भएपनि उसले साइकल सडकमै गुडाउनुपर्छ।
जस्तो कि एउटा नेताले चुनाव जिते। उनी आफुले चुनाव जितेको देवतालाई देखाउन मन्दिर आउँछन्। संयोग के भने मन्दिर पनि कुनै न कुनै सडक छेउ नै पर्छन्। एकाध मन्दिरहरु सडक छेउ नहोलान् जस्तै तालबराहीको मन्दिर। अब चुनाव जितेपछि फेवातालमा डुङ्गा चढेर तालबराही गएको आजसम्म सुनेको छैन। अँ बरु चन्दननाथ वा पशुपतिनाथसम्म पुगेको चाहिँ होलान्।
सडकले देखाएको उदार पन त भगवान् श्रीकृष्णसम्मले देखाउनु भएको छैन सायद। महाभारतको युद्ध यसको उदाहरण हुनसक्छ।
यति हुँदाहुँदै पनि सडक एक कुरामा चुकिरह्यो। सडक बालबालिकाका विषयमा युगौँदेखि मौन छ। आजका भौतिक र पदार्थवादी युगमा त झन् सडक बालबालिकाको विषयमा सडक अनुदार प्रवृत्ति देखाउने नै भयो। हुन त यसमा सडकले गर्न सक्ने नै के छ र?
सडक बालबालिकाका विषयमा सडक जस्तै मौन बसेको छ सरकार। उनीहरुको उद्धारका कार्ययोजना खाका सरकारले तयार गरेको छ कि छैन भन्ने कुराको स्पष्ट रुपमा सरकारसँगै लेखाजोखा छैन। भएको भए त आजको कोरोनाको विषम् परिस्थितिमा सडक बालबालिकाको विषयमा केही बोल्थ्यो होला सरकार।
खै सडक बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरु? कोरोनाको डरले कुन मुसोको दुलोमा लुके? मुसो खोजेपछि पक्कै भेटिएलान् उनीहरु। विचरा सडक बालबालिकाहरुलाई त त्यही लुक्ने दुलो पनि छैन होला। अब त सरकारले सडकमा पनि लकडाउन गरिदियो। यस्तोमा सडक बालबालिकाको वर्तमान अवस्था कस्तो छ भन्ने तथ्यांक पनि सायद छैन सरकारसँग।
कोरोना भाइरसको नामले सारा संसार त्रसित छ। यो बेलामा मलाई निकै डर लागिरहेको छ सडक बालबालिकाको अवस्था सोचेर। के गर्दै होलान् यतिबेला उनीहरु? यस्ता प्रश्नहरुले झन् त्रसित बनाउँछन् मलाई।
सडक बालबालिकाहरु आमाको कोखबाटै जन्मिएपनि उनीहरु आमाको माया पाउनबाट बन्चित हुन्छन्। सडकमै पाइला हिँड्न सिकेका उनीहरु दैनिक रत्नपार्कदेखि सिंहदरबारसम्म अर्थहीन पाइला चालिरहन्छन्। आमा-बुवाको छहारी नपाएका उनीहरु, संकृतिले सभ्यता सिकाउन नसकेका उनीहरु र धर्मगुरुदेखि शिक्षकसम्मले शिक्षा दिन बिर्सेका उनीहरु सानैदेखि नकारात्मक बाटोतर्फ उन्मुख हुनु त अस्वभाविक छैन। यसरी हुर्केका उनीहरु चुरोट खाएर सडकलाई नै एस्ट्रे बनाउँछन्।
भोकहरुमा प्लास्टिक भित्रका हावाहरु खाएर, प्यासहरुमा वागमती र विष्णुमतीका आँसुहरु पिएर, निन्द्राहरुमा कहिले रत्नपार्क र कहिले सिंहदरबारका सडकपेटीलाई सिरानी बनाएर, हाँसोहरुमा 'हाँसोकी देवीको नाम'को मुस्कान छरेर, दुखहरुमा आफ्नै यथार्थ रोएर बसेका सडक बालबालिकाहरु आखिर के गरेर बाँच्दा हुन्?
म सोचिरहेछु उनीहरुलाई कहिल्यै उनीहरुको हुन नसकेको देशको नाम 'नेपाल' हो भनेर कसले सुनायो होला सबैभन्दा पहिला?
कहिलेकाहीँ सिंहदरबार वरपर फोहोर उठाउँदै गर्दा के उनीहरु नेता र सरकारका बारेमा सोच्दैनन् होला र? किन देश भएर पनि उनीहरुको हुन नसकेको?
प्रश्न यतिसम्म मात्र सिमित रहँदैन। आदिदेखि अन्त्यसम्म सडक परिवर्तन नभए पनि उनीहरु त एक दिन अवश्य परिवर्तन हुन्छन्। उनीहरुले अवश्य एक दिन बाल्यकाल पार गरेर ठूलो बन्छन्। ठूलो भएपछिका उनीहरुको जीवनको आँकलन तलका केही यतार्थमा गर्न सकिन्छ।
१. केही बालबालिकाहरु चाहिएको बेला खाना नभएर, चाहिएको स्तरमा सुख नभएर वा चाहिएको परिमाणमा पैसा नपाएर कहिले भोकमरी त कहिले निराशा र वैरागीमै जीवन बिताउन बाध्य हुन्छन् ।
२. सानैदेखि शिक्षा, संस्कार र संकृति सिकाउने कोही नभएपछि उनीहरुले नकरात्मक बाटो रोज्न सक्छन्। त्यसपछि चोरी, डकैति, लुटपात, हत्या जस्ता जघन्य अपराधमा सामेल हुन उनीहरुलाई कुनै आइतबार कुरिरहन पर्दैन।
३. केही युवा समूह लागुऔषध दुरुपयोग गर्ने काममा लाग्छन्।
४. उनीहरुको कुनै समूह बाटोमा मागेर खान विवश हुन्छ।
जेठको अत्यासलागो घाम लाग्छ। शितलका लागि हातमा एउटा छातासम्म पनि हुन्न। साउनको झरी हुन्छ। टाउको लुकाउन टिन वा खरको छानोसम्म हुन्न। पुसको सिरेटो हुन्छ। कटाउन एउटा सिरक हुन्न।
कहिले ज्यादै खुसी मिल्छ, सँगै हाँस्न साथीभाइको साथ मिल्दैन। कहिले दु:खको पहाड खस्छ, रुन आमाको काख मिल्दैन। यस्तै यस्तै नियति भोगेर आफ्नै जीवनसँग कुस्ती खेल्दै एक दिन सडकबाटै बिलाएर जान्छ।
सरकार किन सडक बालबालिकाको विषयमा मैदानमा उत्रन सक्दैन? सरकारको उनीहरु प्रतिको उदासिनताको कारणले उनीहरुको भविष्य अन्योलमा परिरहेको कुरा विद्यमान छ।
समयसमयमा समाजमा दुई धारका युवाहरुको जन्म हुन्छ। एक बुवाआमाको काख र राज्यको आँखामा हुर्केका। अर्को सडकको काख र पशुपतिनाथ बाहिरको बल्ड्याङ्ग्रो नन्दिको निर्जिव मूर्तिका आँखा अगाडि हुर्केका। (स्वयं पशुपतिनाथ पनि सडक बालबालिकालाई दर्शन दिन हिचकिचाउँदा हुन् सायद।)
एकले झोलामा किताब बोकेर गुरुकुलदेखि रातो बंगला स्कुलसम्म पढेर हुर्केका। अर्काले बोरामा खाली सिसि, बोतल र चुरोटका ठुटाहरु बोकेर हुर्केका। यीँ दुवै धारका युवाहरु हिँड्ने बाटो र सडक एउटै हो। यद्यपी यिनीहरुको गन्तव्य फरक हुन्छ कालान्तरमा।
जीवनभर ठक्कर खाएर बाँचेका उनीहरुका लागी नेपाल सरकार र सरोकारवालाहरुले केही कदम चाल्नु पर्ने आवश्यकता बढेर आएको छ। हामी सर्वसाधारणहरुले पनि सडक बालबालिकाको पीडा र संघर्षको मूल्यलाई चिन्तन गरेर उनीहरु प्रतिको दृष्टिकोण बदल्न सक्नुपर्छ। यो देशमै बसेर देश देख्न नपाएका उनीहरुको धरातलमा एकपटक आफैलाई उभ्याएर हेरौँ त?