जब मानिस गर्न नहुने काम गर्छ, जुन काम उसको समाज, परिवारले पचाउँदैन, अनि हामी भन्छौं त्यसले सबैलाई मुख छोप्ने बनायो।
हो, आज कोरोनाले विश्वका सबै मनुवाहरुलाई मुख छोप्ने बनाएको छ। सोचौँ त, कतै यो प्रकृतिले हामीलाई भनिरहेको त होइन कि तिमीहरु मुख देखाउन लायक छैनौं भनेर?
हुन त हामीले विकासका धेरै ठूला कुरा गरिहरेका छौं। यहाँसम्मकी, हामी चन्द्रमामा वस्ती बसाउने प्रस्तिपर्धा गरिरहेका छौँ। एकले अर्कोलाई धम्की दिईरहेका छौँ। भनिरहेका छौँ, मसँग हजारौँ माइल हान्न सक्ने क्षेप्याश्त्र छ। मैले चाहेमा तिमीहरुलाई तुरुन्तै ध्वस्त पार्न सक्छु।
यिनै बहादुरीताका बीच कोरोनाले हाम्रा यी सबै घमण्डहरुलाई चक्नाचुर पार्दै भनिरहेको छ- हे मनुवाहरु हो, तिमीहरु मुख देखाउन लायक छैनौँ, मुख छोपेर हिड। साँच्चै पनि हामी मुख छोपेर हिडी रहेका छौँ।
हामी मनुवाहरु आफूलाई स्वतन्त्रताको पर्यावाची ठान्छौँ। ठूला-ठूला दस्तावेजहरु तयार गरेका छौँ, सिद्धान्तहरु बनाएका छौं। मानव अधिकारका असंख्य प्रस्तावनाहरु अघि सारेका छौं।
तर आज विश्वलाई नै प्रकृतिले जेल बनाएको छ। सबका सब मनुवाहरुलाई आफूले नै बनाएको भव्य महलहरुमा बन्दी बनाइदिएको छ र भनिरहेको छ- हे मनुवा तिमी सच्चिएनौं भने तिम्रो अस्तित्वमै प्रश्न उठ्नेछ।
के प्रकृतिले मानिसहरुसँग युद्ध छेडिरहेको त छैन? मानिसहरुले आफ्नो सुख सुविधाको लागि रुख, पात, हरियाली सबै नास्दै गएका छन। ठूला- ठूला भवनदेखि आधुनिक संरचनाहरुले पृथ्वीको छाती कुल्चिरहेका छन्।
त्यसको बदलामा प्रकृतिले कतै मानवहरुलाई पृथ्वी छोड्न चेतावनी त दिँदै गरेको हैन? कतै प्रकृतिले मनुवाहरुलाई पृथ्वीबाट नै हटाउन खोजको त होइन? मननीय छ।
आज जति पनि संक्रामक रोगहरुसँग मनुवाहरुले लडिरहेका छन्, ७५ प्रतिशत यी रोगहरु पशुबाट मानिसमा फैलिएको प्रमाणीत भएको छ।
यो २० वर्षमा मात्र हामीले लडेका रोगहरु बारे सोचौं त, २००२ मा देखिएको एभियन फ्लू र सार्स जसको कारण ८०० भन्दा माथिको ज्यान गएको थियो भने अर्बौँ रकम विश्वले गुमाएको थियो।
त्यस्तै २०१२ को मेर्स जसको कारण पनि झन्डै ८५० भन्दा बढीले ज्यान गुमाएको थिए भने २०१४ मा देखिएको इबोलाले ११ हजारभन्दा बढीको ज्यान लिएको थियो र यी सबै पशुबाट मानिसमा प्रवेश गरेका थिए।
भनिन्छ, प्रकृति निर्मम हुन्छ। हामीले प्रकृतिको निर्ममतालाई चिन्न सकिरहेका छैनौँ वा पटक-पटक प्रकृतिले दिएको ती पूर्व संकेतहरुलाई बेवास्ता गरिरहेका छौँ। जति हामीले प्रकृतिको चेतावनीलाई बेवास्ता गर्दैछौं त्यती नै निर्मम हुँदै प्रकृति आएको देखिन्छ।
यो २० वर्षको दौरनमा देखिएको कोभिड-१९ ले पक्कै असोचनीय मानिसको ज्यान लिने संकेत देखिदैछ भने आर्थिकरुपमा विश्वले ठूलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ।
मानिस मांसहारी हो कि शाकाहारी? यो पनि सोचनीय छ। किनकी प्रकृतिले सबै प्राणीहरुलाई उनीहरुको बनावट, क्षमता र आचरण तोकी दिएको छ। के हामी मानवहरु प्रकृतिले दिएको अनुशासनमा रहेका छौँ?
धेरै वैज्ञानिकहरु र अनुसन्धानकर्ताहरुको मन्यता छकी मानिसको दाँत मांसहारीको लागि बनेको होइन। यसकारण मानिस वास्तवमा जन्मदै शाकाहारी हुन्।
वेदमा पनि प्रष्ट भनिएको छकी जसरी बाघ, बिरालो आदिलाई मासु खाने अनुमती दिइएको छ, त्यसैगरी मनुष्यलाई वनस्पती र फलफूल मात्र खाने अनुमति दिइएको छ। वनस्पती खादा हुने हत्याको पनि प्रायश्चित प्रत्येक तीन-तीन महिनामा दान, रुद्री र लक्ष्मिनारायण पुजा गरी माफी माग्नु पर्ने विधानमा उल्लेख गरेको छ।
यसरी प्रकृतिको विरुद्ध हामी प्रकृतिसँग लडिरहेका छौं। यस्ता धेरै कामहरु हामीले गरिरहेका छौं जसको कारण आज प्रकृतिले हामीलाई दण्ड दिएको छ।
के हुन् हामीले प्रकृतिमाथि गरेको हमला, जसको कारण प्रकृति सम्पूर्ण मावन जगतसँग रिसाएको छ?
पहिलो, वन जंगलहरुको विनाश र वन क्षेत्रहरु माथि मानवको अतिक्रमण। मानिसहरुले उनीहरुको बासस्थानमा गरेको अतिक्रमणको कारण उनीहरु मानववस्ति नजिक सर्दैछन्। जसबाट प्रत्यक्षरुपमा उनीहरुसँग रहेको जिवाणु मानव शरीरिमा सहजै प्रवेश गर्न सक्यो।
दोश्रो, गैर-कानुनी र लापरबाहीपूर्ण जंगली जनवारहरुको ओसार-प्रसार। विशेषगरी जंगली जनवारहरुको गैर-कानुनी ओसारपसार अत्याधिक बढेको पाइएको छ। जसबाट ओसारपसार गर्नको लागि अवश्यक मापदण्डको पालन नहुने र यस प्रकारको ओसार-प्रसारको नियमन हुन नसक्ने भएकोले पशुहरुबाट मानिसमा जिवाणु सर्ने प्रकृया बढ्ने स्पष्ट छ।
तेश्रो, खेती र पशुपक्षीहरुको उत्पादनमा भएको वैज्ञानिकीकरण। विज्ञानले खेती र पशुपक्षी पालनमा गरेको विकास जसलाई हामी हाइब्रिड भन्ने गरेको छौं। यसरी प्रयोगशालाबाट तयार गरिएको बिउ विजन तथा पंक्षिहरुबाट उत्पादन त धेरै बढेको छ तर उत्पादनसँगै आएको यसको प्रभावले मानिसमा ठूलो असर पारेको छ।
साथ-साथै जसरी हामीले किटनाषक औषधीको प्रयोग गरिरहेका छौँ, यसबाट पुथ्वीको इकोसिस्टमको लागि आवश्यक जीव, किटहरु पनि नाश गरिरहेका छौँ अनि मानिसको स्वास्थ्यमा प्रत्यक्ष हानी पनि पुर्याई रहेका छौँ। जसबाट हामीले रोगसँग लड्ने क्षमता गुमाईरहेका छौँ।
त्यस्तै अवस्था पशुपक्षीहरुको उत्पादनमा पनि रहेको छ। हामीले प्राकृतिकभन्दा कृतिम रुपमा गर्ने हाइब्रिड जातीको उत्पादनको कारण उनीहरुबाट जिवाणुहरु सहजै सरल रुपमा मानिसमा सर्ने अवस्था सिर्जना भएको छ।
चौथो, मौसममा आएको परिवर्तन। मानवजातीले प्रकृतिको हरेक क्षेत्रमा दोहन गरेको छ। मानवको उत्पत्ति र बाच्नको लागी चाहिने जुन वातावरण पृथ्वीमा हुनु पर्ने हो, त्यसमाथि नै हामी मानवले नै अतिक्रमण गरिरहेका छौं जसको कारण आज मौसममा डरलाग्दो परिवर्तन भएको छ।
वैशाखको अन्तिम हुँदासम्म आज काठमाडौंमा सिरक छोड्न सकेका छैनौँ। असार लाग्न महिना बाँकी छ तर बर्खा सुरु भैसकेको छ। यो मौसममा भएको परिवर्तन हो जसको कारण ती जिवाणुहरुले आफ्नो ठाउँ छोड्दै छन्। उनीहरुले सहजै रुपमा मानिसहरुलाई आक्रमण गर्न सक्ने भएका छन्।
पाचौँ, मानिसहरुको सुक्ष्म जिवाणुसँग लड्ने क्षमतामा कम आउनु। मानिसहरुले विस्तारै उनीहरुको आचरण, आहार र विचारमा गरेका ह्रासको कारण सुक्ष्म जिवाणुहरुसँग लड्ने क्षमता गुमाउँदै गएको छ। हाम्रो शरीरले ती जिवाणुहरुसँग लड्न नसक्दा ती जिवाणुको अगाडि मानिसहरु निरीह हुनु पर्ने अवस्था आएको छ।
जब मानिसहरु मुखुण्डो लगाएर घरघरभित्र छिरे, वनस्पतीहरु, चराचुरुङ्गीहरु, किटपतंङहरु, थरी-थरीका पुतलीहरु बाहिर निस्केर लामो सास फेरिरहेको समाचारहरु पनि मान्छेको मृत्युको समाचारसँगै आएका छन्। यसरी प्रकृति बाहिर निस्केको छ, रमाएको छ, हाँसेको छ।
हामीले सुनेका छौँ, अमेरिकाको सेन्टिगायो सहरमा पुमा (अमेरिकन बिरालो), अमेरीकाकै क्यालिफोर्निया, ओकल्याडका सडकमा जंगली टर्कीहरु, थाइल्याडमा बाँदरहरु अनि जापानमा मृग तथा हरिणहरु, नेपालको बर्दिया जंगलको सडकमा बाघहरु अनि भारतको दिल्लीमा कोइलीहरु निस्केका छन्। यसरी सहरहरु हरियो हुँदैछ, वनजंगलहरु बढ्दै छन्, आकाश हाँसेको छ।
तर यो कतिन्जेल? आजको यक्ष प्रश्न हो। सायद चाँडै हामीले कोरोनालाई जितेको घोषणा गर्नेँछौं र फेरि सुरु गर्नेछौँ प्रकृतिमाथिको दोहन। अवश्य हामीले सच्याउन जरुरी छ। प्रकृतिसँगै हामीले मिलेर बाच्न सिक्नु पर्नेछ। नत्र अवश्य प्रकृति हामीप्रति अति निर्मम तरिकाले आइलाग्ने निश्चित छ।
अन्त्यमा, हामीले विकास सम्बन्धी हाम्रो सोचलाई परिवर्तन गर्न जरुरी छ। विकास पृथ्वीको हुनु जरुरी छ, सारा जगतको, सारा प्राणीहरुको, सारा जल, थल उभयचरहरुको साँझा बासस्थान यो पृथ्वीलाई बनाउनको लागि विकास हुन जरुरी छ नकी हामी मानवमात्रको लागि।
अवश्य, मानव मात्रै पृथ्वीमा बाच्न सक्दैन। मानवको रक्षार्थ नै यी सबै जीवजन्तु, बनस्पती, किटहरुको प्रकृतिले सिर्जना गरेको हो। हामी मानव जाति सुरक्षित हुन चाहान्छौं भने हामीले यी सबै प्राणी तथा बनस्पतीहरुको सुरक्षा गर्न जरुरी छ। साथै हामीले हाम्रो विकासलाई सबैको साँझा बनाउन पनि आवश्यक छ।
(लेखक अधिवक्ता तथा बालअधिकारकर्मी हुन्।)