समय : लकडाउन दोस्रो र तेस्रो साता
स्थान: बालरोग बिभाग ओ.पि. डी
यो लकडाउनको समय के बच्चा साँच्चि नै कम बिरामी भएका हुन् त? जहिले पनि भरिभराउ भैरहने बल रोग वार्डमा धेरै जस्तो बेड खाली छन्। जति पनि बिरामी छन्,धेरै जसो दीर्घ रोगका छन्। लकडाउन सुरू हुनुअघि त कतिपय समय बिरामीको चाप बढ्दा अर्को अस्पतालमा समेत रिफर गर्नुपर्ने हुन्थ्यो।
अहिले ती बच्चा सबै कता गए होलान् ? हाम्रो अस्पतालमा भर्ना हुन आउने बच्चा धेरै जसो काठमाडौंभन्दा बाहिरबाट आउने गर्थे। के साँच्चै लकडाउनका कारण अस्पताल आउन नसकेका हुन् त?
बच्चाहरू कम बिरामी हुनु त राम्रै हो, तर पनि वार्ड शून्य हुँदा यो मन पनि साह्रै शून्य महशुस भैराखेको छ।
यसो त ओपिडी पनि शून्य नै छ।
हुन पनि अस्पतालमा सकेसम्म नजान र जानै पर्ने भएमा जानुअघि हटलाइनमा फोन गरेरमात्र जानका लागि जानकारी गरिएको छ।
यसका साथै मलगायत मेरा अरू सहकर्मी साथीहरूले सहजताको लागि आफ्नो निजी फोन नम्बर पनि उपलब्ध गराएका थियौं। अरू बेला साथीभाइ , परिवारजन, नातेदारहरूको बच्चा बिरामी भयो भन्दै सल्लाहका लागि बज्ने फोन शान्त नै छ। न रूघाखोकी , न ज्वरो , न त पखाला अनि न त घाउखटिरा। मानौं केही समयका लागि संसारबाट रोगहरू बिलाएको जस्तै।के बच्चाहरू साँच्चिकै बिरामी नै नभएका हुन् त?
आफ्ना विभागका साथीहरूलाई पनि सोधें र उनीहरूले पनि त्यस्तै अनुभव सुनाए। अनि सोच्न थालें, केही सजग विधि जस्तै: सरसफाइमा ध्यान दिँदा, भीडभाडमा नजाँदा, वातावरण स्वच्छ हुँदा त बच्चाहरू त कम बिमारी पो हुँदो रहेछन्!
अनि के हामी आफैं यी रोगका कारक हौं त? अहिले बसेको हात धुने, खोक्दा नाक मुख छोप्ने, सरसफाइमा ध्यान दिने बानी कोरोना सिद्धिए सँगसँगै सिध्दिने त हैन? यसरी मनमा कुरा खेलाउँदै थिएँ फाट्टफुट्ट बिरामी जँचाउन ओपिडी आउन थाले।
धेरै जसो खोप लगाउन आएका थिए। खुसी पनि लाग्यो , कमसेकम खोपबाट जोगिने संक्रमणबाट त यी बालबालिकाहरूलाई सुरक्षित राख्न सकिने भयो भनेर। केही भने नयाँ समस्या लिएर आएका थिए। तीमध्ये एकजना ११ वर्षकी बालिका (कुसुम) थिइन्।
उनलाई अघिल्लो दुई दिनदेखि मृगीको झट्काले छोपेको थियो। स-साना झट्का मात्र भएकोले दुई दिन त घरमा नै राखेका रहेछन्। फेरि पनि त्यस दिन बिहान झट्का देखिएपछि आमाबुवाले आत्तिँदै उनलाई अस्पताल ल्याएका रहेछन्।
जति आमाबुवा आत्तिएका थिए, नानी त्यति नै शान्त: मानौं केही नभए जस्तो।
उनले दर्शाएको व्यवहार हेर्दा कतै पनि कुनै किसिमको डर, त्रास देखिएको थिएन। अनि मैले सोधें "पहिला पनि अस्पताल आउने गरेकी छौं?"
"अहँ , फस्ट टाइम आएको।"
अनि मैले सोचें , कस्तो लाग्यो होला कुसुमलाई अस्पताल। बाहिर गेट देखिनै मानौं कुनै प्रयोगशालाभित्र प्रवेश गरेको जस्तै।
सुरक्षा गार्ड, रिसेप्सनिस्ट,नर्स अनि डाक्टर सबै जना लामो गाउनमा, अनि आँखा नै छोपिने गरी लगाएको मास्क र हातमा सेतो प्लास्टिकको पन्जा। जब कुसुमका बारेमा बुझ्नका लागि सोधपुछ (हिस्ट्री ) लिनुपर्ने भयो, मैले भौतिक दूरी कायम गर्दै सबैलाई अलि टाढा नै राखेर प्रश्न सोध्न थालें।
मैले कुराकानीको क्रममा कुसुम आफ्नै तालमा हराइरहेकी पाएँ। कुनै कुरामा ध्यान नै नदिई आँखा यताउता घुमाउँदै थिइन् र मानौं त्यस ओपिडी कोठाबाट छिट्टै निस्कन खोजेकी जस्तो।
मैले उनको समस्याबारे राखेको प्रश्नको खुलेर उत्तर दिइरहेकी थिइनन्। जबसम्म उनको धारणा राम्ररी बुझ्न सकिँदैन, उपचार अपूरो नै हुने सम्भावना रहन्छ। मृगी अथवा छारे रोगमात्र नभएर अरू विभिन्न दीर्घकालीन रोगको उपचार लामो समयसम्म चल्छ।
उपचारको क्रममा बिरामीले उपचार पद्दति अनुपालन गर्नका लागि औषधिमात्र नभएर उनीहरूसँग डाक्टरको व्यवहार, बोलीचाली, हाउभाउ सबैको अत्यन्तै ठूलो भूमिका रहन्छ।
सधैं बच्चाहरूलाई उपचारको क्रममा उनीहरूसँग जिस्कने, गाना गाउने, ठट्टा गर्ने, हाइ फाइभ तथा कहिलेकहीँ काउकुती लगाइदिने बानी परिसकेको थियो।
तर आज कुसुमलाई उपचार गर्दा म पनि पूर्ण रूपले खुल्न सकिराखेकी थिइनँ। जुन बिरामी र डाक्टरबीचको सामिप्य हुनुपर्थ्यो त्यो मैले अनुभव गर्न सकिराखेकी थिइनँ।
मलाई जस्तो अनुभव भैराखेको थियो सायद कुसुमलाई पनि त्यस्तै नै अनुभव भएकोले खुल्न नसकेकी होला भन्ने अनुमान गरें र मनमा यो बोझ बोक्दै घर फर्किएँ।
यसबाट मैले बिरामी बच्चा र उनका अभिभावकसँग नजिक बसेर गर्नु पर्ने वार्तालाप, सामिप्यको अनुभूति, अनि बिना पन्जा गरिने शारीरिक जाँचको महत्व झन् बढी बुझ्ने मौका पाएँ।
तर अहिलेको "कोरोना" परिस्थितिमा भावनामा बगेर भन्दा विवेक लगाएर काम गर्नु निकै महत्त्वपूर्ण हुन्छ। आफू स्वस्थ रहेमात्र बढीभन्दा बढीलाई सेवा दिन सकिन्छ। अहिलेको जस्तो अवस्थामा हरेक स्वास्थ्यकर्मी स्वस्थ रहनु निकै जरूरी रहन्छ।
तर अब यी स-साना केटाकेटी, फुच्चाफुच्चीहरूलाई कसरी रमाइलो तरिकाले, कम भयभीत पाराले र आत्मीय तरिकाले उपचार गर्न सकिन्छ त? मास्क , गाउन र पन्जा त लगाउनु नै पर्यो।
मास्कमाथि नै कार्टुन बनाउने विचार पनि आयो तर गाढारंगको मास्कमा नमिल्ने भयो। अनि एउटा जुक्ति आयो, आफ्नो आँखाबाट बढी व्यक्त गर्ने।
लकडाउन भएदेखि लगाउन छोडेको आँखाको गाजल अनि त्यसमाथि विभिन्न रंगका आइस्याडो फेरि लगाउन थालें र अब बच्चाहरू जाँच गर्दा आँखालाई अलि बढी नै चलाई, आवाज पनि अलि चर्को र सुरिलो बनाउन कोशिस गरेकी छु। यो पद्दति अपनाउँदा बच्चा र अभिभावकहरूको डर अनि अन्योलता केही हदसम्म कम गर्न सकेको अनुभूति भयो।
अनि मेरो मन पनि अलि हलुका चाहिँ पक्कै भएको छ।
यो कोरोना र लकडाउन कति लामोसम्म चल्ने हो कुनै ठेगान छैन तर उपचार क्रममा आएका बालबालिका अनि उनका आमाबुवामा थोरै आशा र मन्द मुस्कान ल्याउन सकेमात्र पनि त्यो मेरो लागि एक किसिमको आशिर्वाद नै मान्दछु।
सबै बालबालिका र उनका प्यारा मातापितालाई यस्तो जटिल अवस्थामा पनि धैर्य धारण गरिदिनु भएकोमा सहृदय धन्यवाद टक्राउन चाहन्छु।