म एक पाँच वर्षीय बालिका हुँ। मेरो घर विकट जिल्ला मानिने हुम्लाको सानो गाउँमा पर्छ। मेरो घरको छेउबाट कर्णाली नदी बग्ने गर्छ। मेरा बुवा-आमा बिहानै काममा निस्कनु हुन्छ।
म भने दिनभरी मेरो सानो भाइलाई पिठ्यूँमा बोकेर नदीको किनारमा वरपर गर्छु। बिहानै बा-आमा काममा निस्कनुभन्दा अगाडि मेरो पिठ्यूँमा भाइलाई पछ्यौरीले दह्रो गरी बाँधिदिनु हुन्छ। भाइ मेरो पिठ्युँमा रमाई-रमाई खेल्छ।
कहिले उफ्रन्छ, कहिले निदाउँछ, कहिले सिँगान पुछिदे भन्छ, कहिले भोक लाग्यो भन्छ, कहिले खोलाको वरपर डुला भन्छ। घरि सु आयो भन्छ त घरि आची आयो भन्छ। म उसको आदेशअनुसार उसका आवश्यकताहरु पूरा गरिदिन्छु।
कुनै बेला के चित्त बुझ्दैन रुन थल्छ, कपाल भुत्ल्याँउछ, लामा लामा नङ्ग्राले चिथार्छ पनि। म यी सब सहिदिन्छु। उ जसरी खुशी हुन्छ, त्यसरी नै उसलाई छाडी दिन्छु।
बिहानै आमाले तातो पानी उमालेर कोदाको पिठो फिटेर लिटो बनाईदिनु हुन्छ अनि काममा जानु हुन्छ। म खान्छु र भाइलाई पनि खुवाउँछु। प्रधानाध्यापकले एउटा कपि र पेन्सिल ल्याईदिनु भएको छ। घरमा बिहान बेलुकी क, ख लेख्न सिकाउनु भनेर।
मेरी आमाले घरको पिँडीको एक छेउ लिपेर चिल्लो बनाईदिनु भएको छ। बारीको माटो केलाएर मसिनो पारेर प्लास्टिकमा पोको पारीदिनु भएको छ। साना-साना बाँसका सिटा काटेर तिखारी दिनु भएको छ।
भन्नु हुन्छ- 'नानी भुईमा माटो छरेर लेख्न सिक है। भाइलाई पनि सिकाउ, लेखीसकेपछि माटो राम्ररी उठाएर राख है। अर्को दिनलाई चाहिन्छ। मास्टरले किनिदिएको कपि धेरै नकोर्नु अर्को किन्ने पैसा छैन। अब अर्को वर्ष भाइ पनि ठूलो हुन्छ, अनि सँगै लिएर स्कूल जानुपर्छ।'
म पनि ज्ञानी बनेर माटो भुईमा छर्दै, लेख्दै, मेट्दै गर्छु।
भाइलाई डुलाउँदै गर्दा घरी-घरी नजिकैको स्कूल छेउ पुग्छु। म जस्तै साथीहरु विद्यालयको पिँडीमा बसेर घाम ताप्दै पढिरहेका हुन्छन्। मलाई देखिहाले भन्छन्- ओई, हामी त पढ्न आएको। तिमी कहिले देखि आउने?
उनिहरु प्रश्न गर्छन, अलि ठूलो भएकाहरु जिस्क्याउँदै भन्छन्- भाइ बोकेर पनि स्कूल आँउछन्।
हिँउ पर्ने ठाँउ, खुट्टामा चप्पल छैन, धेरै कपडा छैन। साथीहरु एकअर्काको पछ्यौरी तानेर जाडो छेक्छन्। पछ्यौरीको एक कुना तानेर खाली खुट्टा छोप्छन्। अर्को साल मेरो भाइ ठूलो हुन्छ।
म पनि विद्यालय जान्छु। यस्तै सोच्दै फर्कन्छु। साथीहरु विद्यालय छुट्टी भएपछि हतारिदै घर आउछन्। किताब कपि बाहिरै फालेर डोको नाम्लो हसिया बोकेर घाँस काट्न जान्छन्। साँझ परेपछि फर्कन्छन्।
बत्ति छैन गृहकार्य गर्न, शिक्षकले गृहकार्य नगरेको भनेर पिट्नु हुन्छ, गाली गर्नु हुन्छ। बेलुकी भएपछि भाइ बा-आमा खोइ भन्छ। आमा भन्दै रुन्छ। आउँदै हुनुहुन्छ भन्छु।
हिउँ परेको छ। बा-आमा आउन सक्नु भएन। बिहानको बाँकी रहेको लिटो भाइलाई खुवाउँछु। भर्याङ हिउले छोपिएको छ। निक्कै चिसो छ। पिँडीमै बसेर जुठो भाडा मोल्छु। मझेरीको छेउमा गुन्द्री ओच्छ्याएर भाइलाई च्यापेर सुत्छु। भाइ आमा-आमा भनिरहन्छ। म सुनिरहन्छु।
कोरोना नामको भाइरसले गर्दा धेरै मान्छेहरु बिरामी भएछन्। देशभरी लकडाउन गरेको छ, घरबाट बाहिर ननिस्कनु भन्दै प्रधानाध्यापकले बिहान बा-आमासँग कुरा गर्दा सुनेको।
विद्यालय सबै बन्द छन्। पल्लो घरको दिदी सहरमा बस्नु हुन्थ्यो र कलेज पढ्नु हुन्थ्यो। कलेज पनि लकडाउनले बन्द भएर उहाँ घरमा नै आउनु भएको छ। हिजो सहरबाट फोन आएको थियो, कलेजमा अनलाइन कक्षा सुरु भएको छ।
घरमै बसीबसी मोबाइल र कम्प्युटरमा पढ्न पाइन्छ। फोनमा कुरा गर्दै दिदीले भन्दै हुनुहुन्थ्यो- 'भनेर मात्र हुन्छ र? न मोबाइल छ, न कम्प्युटर। फेरि यो बिजुली बत्ति नभएको ठाँउमा इन्टरनेट जोड्न पनि मिल्दैन।'
साथीले उतैबाट भन्दै थियो- 'के गर्नु बत्ति भएर? अस्ति हावाहुरीसहितको पानी पर्यो। तीन दिनदेखि बत्ति आएको छैन। एक दिन पानी पर्यो भने ७ दिन बत्ति जान्छ। अनलाइन कक्षा जसोतसो जोइन त गरेको थिए, सरले कक्षामा उपस्थित नहुनेलाई फेरि कक्षा दोहोर्याउन मिल्दैन भन्दै हुनुहुन्थो।
६० जनामा जसोतसो १५ जना उपस्थित भएका थियौँ। सेमेस्टर भर्ना गर्दा धेरै पैसा खर्च भएको छ। फेरि कम्प्युटर र मोबाइल इन्टरनेट चलाउनको लागि कसरी पैसा जुटाउने?' दिदिले चिन्ता लिदै हुनुहुन्थ्यो।
भुसुक्क निदाए छु। प्रधानाध्यापकले बिहानै आएर अनलाइन कक्षा सुरु भएको छ, भर्ना हुनु भन्नु भयो। मेरा बा-आमा अचम्म मान्नु भयो। के होला अनलाइन कक्षा? फेरि घरमै बसेर कसरी भर्ना हुने?
हाम्रो भत्कन लागेको घर एकैछिनमा नयाँ जस्तो भयो। एकैछिनमा इन्टरनेट, बिजुली बत्ति जोडियो। कम्प्युटर पनि आयो, म अनलाइन कक्षामा भर्ना भएँ। मलाई त सरर कम्प्युटर चलाउन पनि आयो।
घरमै बसीबसी साथीहरु र शिक्षकका अनुहार देख्न पाइयो। हाम्रो गाँउ पनि सहर जस्तै भयो। इन्टरनेट र कम्प्युटरमा त केटाकेटीका लागि राम्रा-राम्रा काटुनहरु, गितहरु, कथा कविताहरु, विज्ञानका कुराहरु सबै देखिने रहेछ। मैले कम्प्युटर चलाएको देखेर मेरा बा आमा खुसी हुनुभयो।
भन्दै थिएँ- बा-आमा अब म पनि ठूली मान्छे हुन्छु। म पनि प्रधानाध्यापक बन्छु। ठूलो हावा हुन्डरीसहित पानी पर्यो, चट्याङ खस्यो, बिजुली निभ्यो, कम्प्युटरको प्लक नै पड्कियो।
झयास्स बिउँझे। बा-आमा आउनु भएको रहेनछ। भाइ अझै निदाइ रहेछ। मलाई प्रधानाध्यापकले ठूली मान्छे बन्नुपर्छ भनेका छन। ठूली मान्छे हुन धेरै पढ्नु पर्छ रे। अभाव नै अभावमा जसो तसो दुई छाक खाएर हुर्कीदै गरेकी म कसरी ठूली मान्छे हुन्छु? म कसरी प्रधानाध्यापक हुन्छु?
सपनामा झैँ म कसरी अनलाइन कक्षामा भर्ना हुन सक्छ? मलाई त न्यनो कपडा लगाउन र पेटभरी खान नै धौँ-धौँ छ।
बिहानै प्रधानाध्यापक आउनु भयो। मैले डराउँदै मेरो सपना सुनाएँ। उहाँले मायाले सुम्सुमाउँदै भन्नु भयो- 'नानी आजको युग विज्ञान र प्रविधिको युग हो। विश्व जगतमा विज्ञान र प्रविधिको प्रयोगले असम्भव काम पनि सम्भव बनाई दिएको छ।
पृथ्वीको कुनै कुनामा बसेर विश्वको यात्रा विज्ञान र प्रविधिले नै गराई दिएको छ। परा पूर्वकालमा कुनै एक ठाँउको कुनै घटना सम्प्रेषण हुन हप्तौं, महिनौँ र वर्षौँ लाग्थ्यो रे। आज सेकेण्ड भरमा नै विश्वभर सम्प्रेषण हुन्छ। समयको छालले निक्कै फड्को मारीसकेको छ।
हिजो घरको छेउको आँगन खरेटोले सनक्क बडारेर मसिनो धुलो छरेर बाँसको सिन्काले कोरेर बाह्रखरी सिक्ने हामी, आज कम्प्युटर अगाडि बसेर औला थिचेको भरमा अक्षर कोर्न पाइन्छ भनेको सुन्दा खुशी लागेको छ।
एक डोको किताबको भारी बोकेर, घन्टौँ हिडेर विद्यालय र गुरुकोमा धाएर ज्ञान आर्जन गर्ने हामी गुगलमा शब्द छोडिदिएको भरमा ज्ञान लिन सक्ने प्रविधिको प्रयोग गर्ने मौका प्रविधिले दिएको छ।
हिजो कालो पाटीमा चकले लेखेर डस्टरले उडाएको धुलो खादै अध्ययान र अध्यापन गर्ने हामी डिजिटल प्रणालीको प्रयोग गर्ने अवसर पाउनु खुशीको कुरा हो। घरमा नै बसीबसी नयाँ-नयाँ ज्ञान सिप आर्जन गर्न पाउनु गर्वको कुरा हो। हाम्रो गाँउ निक्कै विकटमा पर्छ। हाम्रो विद्यालय पुरानो भत्कन लागेको छ। हामीसँग अनलाइनलाई चाहिने प्रविधि छैन। अझ भनौँ, राम्रो शिक्षण गर्ने शिक्षक छैन।
बस्नको लागि डेक्स बेन्च छैन। आशा गरौँ, एक दिन हाम्रो गाँउमा पनि बिजुली आउने छ। सडक संजाल जोडिनेछ। प्रविधिको विकास हुनेछ। अनि तिमी जस्ता कोपिलाहरुको सपना पूरा हुनेछ।'
सोचेँ, बिहान बेलुकाको छाक टार्न भाइलाई हेर्नको लागि छोरीलाई घरमा नै राखेर कामा जानुपर्ने बा-आमा, च्यातिएको कपि र तिखार्दा-तिखार्दे सकिएको पेन्सिल किन्न २० रुपैयाँ जुटाउन र नगरले किनिदिएको टिफिन बक्समा एक मुठि चामलको भात राखेर विद्यालय पठाउन नसक्ने र बीचैमा विद्यालय छोड्ने म जस्ता बालबालिका र तिनका अभिभावकलाई अनलाइन कक्षाको लागि आवश्यक कम्प्युटर, मोबाइल र इन्टरनेटको व्यवस्थापन गर्न कठिन छ।
सपना जस्तै अनलाइन कक्षाको लागि आवश्यक प्रविधिसँग खेल्न पाए पक्कै पनि म ठूली मान्छे हुन्थेँ। म पनि प्रधानाध्यापक हुन्थेँ। म पनि देशको भविष्य कोर्ने कर्णाधार हुन्थे। मेरो भत्किएको घर र गाँउको पुरानो विद्यालय नयाँ बनाउथेँ।