नेपालीहरुमा आशाको दियो बल्दै गर्दा भारतमा खैलाबैला मच्चिएको छ। नेपालीको स्वाभिमान चुलिदा उसको गाला फुलिएको छ। भारतीय संचार माध्यमहरु कुर्लिरहेका छन्। त्यसमाथि अभिनेत्री मनिषा कोइरालाले पनि निर्णयको सर्मथन गरेपछि त भारतलाई झड्का नै लागेको छ।
गत सोमबार नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटिएको नक्सा जारी गर्ने निर्णय गर्यो। बुधबार सरकारले सो नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ। हुन त यो एक सुरुआत मात्र हो। तर हजार माइलको यात्रा एक कदमबाट नै सुरु हुन्छ। त्यसैले प्रत्येक नागरिक आशावादी बनेका छन्।
सरकारले गरेको साहसी र ऐतिहासिक कदमको समर्थन गरिन् मनिषाले। उनले ट्विटरमार्फत सो समर्थन अभिव्यक्त गरेकी हुन्। नेपालीहरुले उनको राष्ट्र प्रेमको उच्च कदर गरेका छन्। भारतका संचार माध्यमले भने विष वमन गर्दै छन्। निकै निम्न स्तरको टिप्पणी गरेर उनीहरुले आफ्नो बेबकुफीपन झल्काउँदै छन्। मिडियका साथै सामाजिक संजालमा समेत भारतीयले विरोध जनाएका छन्।
उनलाई नमक हरामको संज्ञा दिएका छन्। 'खाते भारतका और गाते...,' ' भारतने रोजी रोटी दिया,' लगायत यस्तै प्रकारका निकै नै तुच्छ स्तरको गाली गलौच गरेका छन्। यसले भारतीयहरुको दरिद्र मानसिकता र हेपाहा प्रवृत्तिलाई थप पुष्टि गरेको छ।
मनिषाले सन् १९९१ मा फिल्म सौदागरमाफर्त भारतीय सिने क्षेत्रमा प्रवेश गरेकी थिइन्। थुप्रै सुपरहिट सिनेमा दिएर छोटो समयमै अब्बल कलाकारमा गनिन पुगिन् उनी। उनले चार पटक फिल्म फेयर अवार्ड समेत हासिल गरेकी छिन्। विदेशी भूमिमा, त्यो पनि गैरफिल्मी पारिवारिक पृष्ठभूमिबाट त्यो उचाईसम्म पुग्नु सामान्य कुरा होइन।
भारतीय सिनेमाले मनिषा कोइरालालाई पर्याप्त चर्चा दिलायो। जसको उनी लायक थिइन्। भारतीय सिनेमामा करियर बनाउन नेपालका अन्य कलाकारले पनि खोजेकै हुन्। कसैले पनि उल्लेखनीय स्थान बनाउन सकेनन्। उल्टै आलोचित मात्र भए।
श्रीलंका र पाकिस्तान मात्र नभई युरोप र अमेरिकाबाट पनि बलिउडमा जम्न खोज्नेको लर्को छ। तर ती कसैले त्यो उचाई नाप्न सकेका छैन्न, जुन मनिषाले नापिन्।
उनको स्टारडम उनकै प्रतिभाको उपज हो। कुनै निर्मार्ता वा निर्देशकले लगाइदिएको टिका होइन। न त भारतीय दर्शकले दिएको तथास्तु नै। कलाको कुनै परिधि हुँदैन। कति फैलने भन्ने कुरा कलाकारको क्षमताले निर्धारण गर्ने कुरा हो। आँट र क्षमता दुवै भएकोले मनिषाको कलाकारिताको पंख भारतभरी फैलिएको हो।
मनिषाको ख्याती स्वआर्जित सम्पत्ति हो। कसैले दिएको ऋण होइन। जुन समय पुगेपछि ब्याज सहित फिर्ता गर्नु परोस्। उनले आफ्नो कला र सृजनशीलता प्रस्तुत गरेकी हुन्। स्वाभिमानलाई बन्धक राखेकी होइनन्।
ग्लोबलाइजेसनको यो युगमा मानिसको जन्मथलो र कर्मथलो फरक हुन सक्छ। अवसरलाई पछ्याउँदै मानिस विश्वको जुनसुकै कुनामा पनि पुग्न सक्छ। त्यसको अर्थ उसमा देशप्रेम छैन भन्ने होइन।
देश दुख्दा सबैलाई दुख्छ। कर्मथलो जहाँ भए पनि माटोले मागेको बेला जो-कोही बोल्छन्। बोल्न पाउनु पर्छ पनि। क्यान्सरसँग लडेर जीवनलाई नयाँ परिभाषा दिन सफल मनिषा अहिले राष्ट्रप्रेमको सवाललाई पनि नयाँ आयाम दिन तत्पर भइन्।
देशलाई माया गर्दा मिचाहाहरु चिच्याउँछन् भने उनीहरुकै गला सुकोस्। तिम्रो राष्ट्रप्रेम सधैँ ओशिलो रहोस्। तिम्रो उदार मन कहिल्यै साँघुरो नहोस्। तिमीले दर्शाएको मायाको सबै नेपालीले उच्चकदर गरेका छन्। सबै नेपालीको साथ छ तिमीलाई। थ्यान्क् यू मनिषा।