विगतको वसन्त ऋतु। अनि अनगिन्ति पाइलासँगै हिँडिरहेको वसन्त ऋतुको रङजस्तै विभिन्न रङहरू छरिएको मेरो फिरन्ते जीवन।
जीवनले भौंतारिँदै प्रकृतिसँग उद्देश्यबिहीन मित्रता गाँसेको पनि दशक पुगिसकेछ। घेराबिनाको बाल्कोनीमा बसेर दैनिक घन्टौं बिताउँदै वसन्त ऋतुको उमंग याद गरिरहेको छु। तिनै उद्देश्यबिहीन उमंगको उल्लासमा आफूलाई सम्हाल्न खोज्दाखोज्दै फुत्त लकडाउनको भूमरीमा परिहालियो।
भित्तामा झुन्डाएको पुरानो भित्तेपात्रो नियाल्दा लकडाउनको भूमरीले हप्तौं पार गरिसकेछ।
'अझै कति दिनसम्म यो भूमरीमा बस्नुपर्ने हो?' अब त अन्दाज पनि बेकारका भइसके।
मेरो घरको बाल्कोनी दिनभरको थकान मेट्ने, अनेकन डरचिन्ताबाट शान्त महशुस गराउने ठाउँ मात्र होइन। बसीबसी स्मृतिको वायुयानमा उड्ने ठाउँ पनि हो। लाग्छ, योबेला म र बाल्कोनीबीच आत्मीय सम्बन्ध छ। चिन्तन गर्दै बाल्कोनीमा बस्नु मेरो लकडाउन सामान्य दिनचर्या भइसकेको छ।
अन्य समयमा मलाई उति ऊर्जा र उमंग नदिने मेरो बाल्कोनीले यति बेला (लकडाउन) बेग्लै अनुभूतको ऊर्जा प्रदान गरिरहेको छ। बाल्कोनीले स्मृतिको ग्यालरी खोलिदिएको छ। जसले हिजोअस्तिका दिनमा पाइला टेक्ने मेरो भूगोलसँग जोडिदिएको छ–जिवन्त रूपमा।
हिमाल, पहाड र तराइसँग। ती भूगोलहरू जहाँ म प्रकृतिसँग जोडिएका विभिन्न उद्देश्यबिहीन कथा अनुभूत गर्न जाने गर्थेँ। आफ्नो सपना, संघर्ष र श्वासको चिन्तन मनन गर्न जाने गर्थेँ। ती यादहरू फर्काउने धुनमा स्मार्ट स्क्रिनमा दगुर्ने आँखा र औंलाहरू पनि अचेल झनै बेफुर्सदिला बनेका छन्।
बाल्कोनी, ग्याजेट्सको स्क्रिन र लकडाउनको सम्बन्ध साँच्चै मज्जाको छ। यसो पनि सोच्छु, 'लकडाउनमा नपरेको भए यति बेला म पनि पृथ्वीजस्तै घुमिरहेको हुन्थेँ होला।'
लकडाउनअघिको समय उबेलाको कथाजस्तै लाग्न थालेको छ, अचेल। उठ्नेबित्तिकै घरमाथिको चियापसल गइन्थ्यो। बिहान–साँझको समय चिया र कामकाजी कुरामा बित्थ्यो। अचेल समय फेरिएको छ। निर्दयी बनेर फैलिएको कोरोना माहामारीले गर्दा म घेरिएका घरहरूको पर्खालभित्र एक्लिएर दिनरात बिताउन बाध्य छु।
दैनिकी एकनासे 'फर्मेसन'मा चलिरहेको महशुस गर्छु। मान्छेसँग भेट्दा सुरक्षित सामाजिक महशुस गर्ने म यति बेला असुरक्षित ठान्छु। त्यसैले त बाल्कोनी आज टाढैबाट मेरो भूगोलको साथी बनेको छ। यादहरूमार्फत म डुल्ने भूगोलमा पुर्याउने माध्यम बनेको छ। समय र परिवेशका कथाहहरू सम्झिने अवसर बनेको छ।
बाल्कोनी –जहाँ बसेर विभिन्न ऋतुहरू विशेषगरी जंगलैभरि मस्त मगमगाउँदै गरेको वसन्त ऋतुको बासना र चैते हावाका तरंगलाई स्वप्नशील रुपमा महशुस गर्दैछु। स्पर्श गर्दैछु। सपना, संघर्ष र श्वासलाई चिन्तन–मनन गर्दैछु। घरमुन्तिर फुलेका जाईफूलका बास्नालाई सुगन्धित स्वपानमा सजाउँदै छु। वसन्तका भंगेराहरूको उडान र अवतरणको उमंग नियाल्दै छु। धरातलभन्दा माथिका नीला नरम आकाशका अलग रङहरूको अर्थ खोज्दै बसिरहेको छु, म एक लकडाउन पात्र।
लकडाउनभर बाल्कोनीमा बसेर सोचमग्न हुँदै बित्न थालेको यो दिनचर्या 'अब कति दिनसम्म मलाई यही भूगोलमा अल्झाइ रहने हो?' केवल अन्योलमा छु। छटपटीमा छु। छटपटीलाई रोमाञ्चक बनाउने यात्राका यादहरूमा हराएको छु।
म शान्त छु। मेरा सपनाहरू पनि शान्त छन्। मेरा वास्तविकता र कल्पनाहरू झनै शान्त छन्। खासमा भन्दा भित्रभित्रै अशान्तिका ज्वारभाटा नाचे पनि यो लकडाउनमा सबै कुरा बुद्ध झैं शान्त छन्।
अनि मनमा यी प्रश्नहरू जन्मिन्छन्, 'किन जीवन र प्रकृति यति सुन्दर र शान्त छ?', 'किन युग आज प्रत्येक घडीमा माहामारीसँग लड्दै छ?' म मनोबलको मनोक्रान्तिमा बाझिन खोज्छु।
बाल्कोनीमा बसेर म विगतका प्रकृतिसँग जोडिएका यात्राका कथा र पात्रहरूलाई स्मरण गर्दैछु। तिनै भूगोलसँग जोडिएका मानिसहरूका वास्तविक कथाहरू सम्झिँदै छु। अनि वर्तमान २१ औं शताव्दीको सूचना र प्रविधिको युगलाई मनन गर्न खोज्दैछु। यो युग, यो सूचना र प्रविधि अनि भूगोल, कथा, पात्रहरूको सञ्जाल साँच्चिकै रहस्यमयी लाग्छ मलाई।
बाल्कोनीले मलाई कथाका पात्रहरू, भूगोल र युगलाई बिर्सिन दिइरहेको छैन। हिजो मैले मूल्य नबुझेको सहरभित्रको यो सानो बाल्कोनीले मलाई आज मनोबलको मनोक्रान्तिलाई भने लकडाउन हुनबाट बचाएको छ।
अनियन्त्रित तालमा हिँड्ने मेरा पाइलामा लकडाउनको असर परे पनि बाल्कोनीले मेरो मनको बाँध नियन्त्रणमा राख्न सकेको छैन। सोच, विचार, यादहरूको अनियन्त्रित उडानमा मनभरि अनेकन कुरा खेल्छन्। केही क्षण नमिठो गरी झस्काउँछ पूर्वस्मृतिहरूले। तर फेरि आइपुग्छु उही बाल्कोनीको दिनचर्यामा।
अनि म यही बसेर शून्य सहर, टोल र घरको परिधिमा साङ्लो लगाएर आफैसँग बसिँबियालो गर्दैछु। शान्त हुँदै फेरि त्यही प्रसंग जोड्दै छु। हरेक युगमा जीवन जिउने मानिसका आ–आफ्नै कथासंग्रह छन्। प्रत्येक कालखण्डका आफ्नै सम्पदा, सिर्जना र संस्कृति छन्। जसको आफ्नै स्पर्श छ, महत्व छ। र तिनै सिर्जित सम्पदा र संस्कृतिमार्फत आज हामी २१ औं शताव्दीको छोटो समयमा बाँचिरहेका छौं। छोटो समयको उर्वर उत्साहसँगै सजिएका छौं।
अरुको के विश्लेषण गर्नु। हामी पनि त निकै पर जानु छ एकदिन। जसरी केही दिनअघि मात्र हाम्रो जीवन पुर्जी र पुर्जामा सीमित थियो। प्रविधि, सपना, सम्बन्ध, धर्म, कर्म, यात्रा र अनेक दर्शनको फास्ट ट्रयाकमा 'लाइफ' गर्जिँदै थियो।
संसार नै लकडाउनमा परेका बेला यी सम्झनाहरू छाल बनेर आइरहेका छन्। हाम्रो आफ्नै कारणले गुज्रिनुपरेको यो अवस्थालाई भविष्यले स्मरण गर्नेछ। हजारौंहजार मानिसका लाशको पहाड जमिनको किल्लामा एक चिनारी बनिसकेको हुनेछ। किनकी लकडाउनको बन्धनमा परेका लाखौं–करोडौं मानिसको श्वास पनि आज डरको भयावहबीच चलिरहेको छ। देख्न नमिल्ने, अन्दाज गर्नै नसकिने चरम अवस्थाको शिखरमा पुगिरहेको छ। विभिन्न प्रकोप र माहामारीसँग लडेर आएको संसार मानिसले आज आफ्नै श्वासको स्वतन्त्रतालाई पनि लकडाउन गर्नु परेको छ।
प्रकृति मासेर प्रविधिको उर्वर उत्साहले आज संसार माहामारीको चरम मरुभूमिमा यात्रा गर्दैछ। महामारी कहिले समाप्त होला? हरेकको मष्तिस्कमा चासोको विषय बनेर खडा छ।
बेफुर्सदका बाबजुद सबै फुर्सदिला बनेका छन्। जुन फुर्सदको खासै औचित्य छैन। मूल्य छैन। तर पनि यो मूल्यहीन फुर्सदलाई मूल्यवान बनाइदिएको छ, यही बालकोनीको दृश्यले। जसले स्मृतिका यादहरूमा पौडिँदै, भर्चुअल संसारको प्रयोग गर्दै एकअर्कासँग जोडिन सघाएको छ। र पूर्व–पश्चिम, उत्तर–दक्षिण चौतर्फी रुपमा मानिसका सामु कहाली लाग्दा काला समानान्तर आकाशको छायामुनि बसालेको भान गराइरहेको छ।
जसरी सबै लकडाउनमुक्त हुने प्रतीक्षामा आफ्नै छानामुनि बेचैन छन्, म पनि बेचैन मुद्रामा मनोबलको मनोक्रान्तिमा छु। आफ्नो बालकोनीबाट त्यसदिनको प्रतीक्षामा बसिरहेको छु। जसरी स्प्रिङ स्प्यारो-वसन्त ऋतुको भँगेरा खुल्ला र निःस्वार्थ रुपमा चिरविर गर्न नयाँ बिहानीको पर्खाइमा हुन्छ, म पनि नयाँ बिहानीको जीवन कुरेर बसेको छु। फेरि तिनै भूगोलमा निस्फिक्री पाइला टेक्ने दिनको पर्खाइमा छु, म मेरो यो बाल्कोनीमा।
साल फेरियो। महिना/हप्ता फेरिए। लकडाउनको ७० दिन बिताइयो। सुरूको लकडाउनताका जस्तो उकुसमुकुस लाग्ने बानी बदलियो। यो जिवनशैली पनि सामान्य लाग्ने बनाइदियो।
तर मनको छटपटी/मनोक्रान्ति उस्तै छ। मेरा ऊर्जा, स्मृतिहरू जीवित राख्ने निर्जिव बाल्कोनी र वरिपरिका दृश्यले समेत अचेल खाउँला झैं घुरेर हेर्न थालेका छन्। दिक्क लागेजस्तो तर्सिन खोज्छन्।
'स्मृतिको वायुयान र चिन्तनमा मात्र होइन लकडाउन खुलेपछि के गर्ने? कसरी जिउने? भन्नेबारे पनि सोच' भन्दै भित्ताहरूले आवाज दिइरहन्छन्, यो लकडाउन पात्रलाई।