उनी अहिले ६ वर्षकी भइन्। यस वर्ष कक्षा १ मा प्रवेश गर्नुपर्ने तर कोभिड-१९ को महामारीबीच उनको कक्षोन्नति पनि अलपत्र छ।
नयाँ बानेश्वरस्थित बन्द कोठामा उनको दैनिकी अरुबेला भन्दा अलि भिन्दै चलिरहेको छ, हिजोआज।
अभिभावक भएको नाताले उनको दैनिकी सामान्य बनाउने सकभर प्रयास गरिरहन्छु। यही मेरो जिम्मेवारी हो, कठिन समयमा आफ्ना बालबालिकालाई सामान्यीकरणतर्फ डोर्याउनु। तर पनि उनको मानसिकता अहिले फरक महशुस गर्दैछु।
हरेक वर्षझैं यसपालि पनि उनले आफूलाई नयाँ कक्षा प्रवेश गर्दा चाहिने सामग्री र नयाँ शैक्षिक सत्र पूर्व पाइने केही दिनको बिदामा आफूले गर्ने क्रियाकलाप र घुम्न रुचाएका ठाँउहरूको सूची आफ्नो दैनिक डायरीमा कैद गरिसकेकी थिइन्।
वार्षिक परीक्षा सकिएपछिको समय उनका लागि निकै रमणीय हुने गर्दथ्यो।
शैक्षिक क्रियाकलापमा पूर्णविराम लाग्ने लगभग एक महिनाको अवधि उनले किनमेल गरेर, आफूलाई मनपर्ने ठाँउहरूको भ्रमण गरेर तथा आफन्तहरूलाई भेट्न गएर बिताउने गर्थिन्। तर पछिल्लो समय भने उनको लागि लकडाउनको अन्त्य भएको खबर सुन्ने प्रतीक्षामै व्यतित छ।
कोभिड-१९ को कहरले विश्वसमाजका लागि असहजताको परिस्थिति सृजना गरिदिएको कुराबाट सायदै कोही अनविज्ञ होला। दिनानुदिन संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ।
हामीले विश्वमहामारी सम्बन्धित समाचार टेलिभिजनमा हेरिरहँदा नानीले पनि एकोहोरिएर सुनिरहन्छिन्। शायद बुझ्छिन् होला जीवन मृत्युको चलखेल कि नबुझिकन चित्रमात्रै हेरिरहन्छिन्, थाहा छैन।
हुनेखानेका लागि बडादसैंभन्दा पनि बडो चाड बनेको छ यो लकडाउन।
सामाजिक सञ्जालको भित्ताभरि सजिएका थरी–थरीका पकवानका परिकारको प्रतिक्रिया स्वरूप लाइक र कमेन्ट गरेर, पकाउने र खाने मान्छेभन्दा हेर्नेहरूले डकार मारिरहेका हुन्छन्। अर्कातिर यस्ता वर्ग पनि छन् जो हुँदा मात्र खान पाउँछन्।
दैनिक मजदूरी गरेर खाने दीन दिगम्बरहरूका लागि यो अवधि साँच्चिकै अकल्पनीय कठिनाइहरूको पोको बोकेर आएको छ।
नानीको बौद्धिक क्षमताले यस्तो सामाजिक उचनिचलाई बुझेको छैन अझै। उनी आफ्नै संसारमा व्यस्त छिन्, जहाँ उनले समाजलाई समेटेकै छैन होला।
समय–समयमा आफ्नो दैनिक डायरी पल्टाउँदै उनी आफूले बनाएको सूचीमा केही नयाँ कुरा थप्ने गर्दछिन् र सधैंजसो एकै खालका प्रश्न सोध्ने गर्दछिन्, हामी विद्यालय कहिले जाने? मेरो नयाँ झोला, किताब र पोसाक कहिले किन्ने? लकडाउन कहिले सकिन्छ?
यस्ता प्रश्नवाचक चिन्हका थोप्लाहरू नानीको मनमा मात्र होइन हामी सबैको मस्तिष्कमा कोरिइरहेका छन्। यद्यपि आजको युग विज्ञान र प्रविधिको युग भनेर चिनिन्छ। विज्ञान र प्रविधिले मानव समाजको जीवनशैली नै परिवर्तन गरिसकेको छ। शारीरिक परिश्रम गरेरमात्र जीवन निर्वाह गरिरहेको ढुङ्गेयुगका मानवजातिलाई आधुनिक युगसम्म डोर्याउनुका साथै जीवनशैली सहज र सरल तुल्याइदिएको छ।
विश्वव्यापी महामारी बनेको कोभिड-१९ रोगको उन्मुलनका लागि वैज्ञानिकहरू विभिन्न खोप तथा औषधिहरूको आविष्कारतर्फ व्यस्त छन्।
तर यस दुराग्रही प्रकोपको सामु आधुनिक युगका लागि वरदान साबित भएका विज्ञान र वैज्ञानिक आविष्कारहरू पनि अकर्मण्य साबित भइरहेका छन्।
यस परिस्थितिमा सामाजिक दूरी कायम गर्नु र वैज्ञानिक आविष्कारको सफलताको प्रतीक्षा गर्नुको विकल्प छैन।
पक्कै पनि यो समय मेरो नानी जस्ता लाखौं बालबालिकाका लागि विषम परिस्थिति हो। कोभिड १९, ‘रोग एक समस्या अनेक’ भन्दा फरक नपर्ला।
शैक्षिक सत्रको अन्त्यतिर उत्पन्न कोरोनाको संकटले निम्त्याएको लकडाउनले कैयन् विद्यार्थीहरूको शैक्षिक उन्नति धरापमा परेको छ भने अर्कोतिर अभिभावक तथा शिक्षकहरूलाई लकडाउनका कारण बालमनोविज्ञानमा पर्न सक्ने नकारात्मक असरको सम्भाव्यताले पिरोलिरहेको छ।
वास्तवमा कोरोनाको कहर आधुनिक समाजमा विद्यमान एक चुनौती हो। तर यस चुनौतीलाई हामीले अवसरको रूपमा लिनुपर्दछ। समाजका युवावर्गले परिवर्तनको श्री गणेश र मानसिक असन्तुलनलाई इति श्री गर्नु अपरिहार्य देखिन्छ ।
अर्कोतिर संकट बिर्सेर धैर्य भएर सोच्ने हो भने एउटा मीठो कथा बन्न सक्छ,यो लकडाउन अवधि।
हरेक अवस्थाका दुई पक्ष अवश्यम्भावी हुन्छन्। अब केही बेर सकारात्मक पक्षको पाटोतिर मात्र लागौं र राम्ररी सोचौं ।
मानौं सदैव आफ्नै गतिमा चलायमान समय आज थकित भएर अडिएर बसेको छ, केही दिनका लागि। परिवर्तनको पर्यायवाची स्थिर बन्न रमाइरहेको छ। विश्राम लिइरहेको समयले आनन्द भोग गर्दैछ। समयको विसौनीलाई ऊफ गर्दै हैरान हुनुभन्दा यसको सदुपयोग गरी लाभान्वित हुनु कति बेस। सधैं समयसँगै चल्नुपर्छ, सफल भइन्छ भन्ने मान्यता भएका हामी आज पनि समयकै गतिमा हिँडौं, सुस्तरी।
केही समय अघिको मात्रै हाम्रो गुनासो थियो समयसँग सधैं तिम्रो अभावको आभाष हुन्छ भन्ने।
व्यस्त हाम्रो दैनिकीमा आफ्नै लागि पनि फुर्सद थिएन, परिवार र आफन्तका लागि समय नहुनु त लगभग स्वभाविक नै लाग्थ्यो।
हो, त्यही समयले हमीलाई अवसर दिएको छ आज। आफैंसँग रमाउने। परिवारका सदस्यहरूसँग खुसी साटासाट गर्ने। तुलनात्मक रूपमा बालबालिकाहरूको मानसिक स्वास्थ्यमा यस्ता समस्याहरूले बढी असर पर्ने हुनाले हामीले असल र जिम्मेवार अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने समय हो यो।
त्यसैले, बालबालिकालाई प्रशस्त समय दिनु र परिवारमा पोषिलो आहारको सुनिश्चितता गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ।
बालबालिकाको मनोबल गिर्न नदिन अभिभावकहरूले एउटा कलाकारको जस्तो भूमिका निर्वाह गरौं , जसका अनेक रूप हुन सक्दछन्।
बालबालिकाले खेलिरहँदा हामी खेलाडी बनौं, उनीहरूले पढ्दा कहिले शिक्षक त कहिले विद्यार्थी बनौं। कहिले हाँस्यकलाकार त कहिले नृत्य प्रदर्शक बनौं।
प्रेरणादायक कथाकार बनौं। उनीहरूलाई अतिआवश्यक सीप र सामाजिक व्यवहार सिकाऔं। विद्युतीय उपकरण जस्तै: टेलिभिजन र मोबाइलको कम प्रयोग गरौं। सबभन्दा महत्वपूर्ण, आफ्नो सन्तानको असल मित्र बनौं, जसले उनीहरूलाई एक्लोपना महशुस नहोस् र रमाएर बस्न सकुन्।