विगत लामो समयदेखि हाम्रो समाजमा परम्परागत रूपमा चल्दै आइरहेको कुचलन मध्येको एक हो जातीयता।
यो एकदमै भयानक छ, चुनौतीपूर्ण छ र समाजलाई आजसम्म यो पुर्न नसकेको सामाजिक खाडल बनेको छ।
कस्तो बिडम्बना हामी उस्तै मानिस, रातै रगत र फरक फरक पेसा अवलम्बन गरेका एकै किसिम का प्रजाति किन यसरी तँ ठूलो म सानो भन्दै लड्दै छौं होला ?
कल्पना गर्दा पनि कस्तो अनौठो लाग्छ आज मलाई हिजोका ती कथित तल्लो जात भन्ने आम दाजुभाइ, दिदीबहिनी र बुवाआमालाई हामी तल्लो जात भन्दै घरभित्र पस्न नदिने,उहाँहरूले छोएको पानी खान नहुने र उहाँहरू टाढै बस्नुपर्ने?
मैले देखेको कस्तो समाज कस्तो रिति र कस्तो परम्परा आज एकदमै अचम्म लाग्छ, अनौठो लाग्छ सम्झन्छु सदियौंदेखि हाम्रा ती कथित तल्लो जातका अग्रज कति सामाजिक भेदभादमा बाँचेका होलान् र आफ्नो जीवनलाई कसरी सामाजिक बनाउन सकेका होलान् ? प्रश्नै प्रश्नले चारैतिरबाट घेरिरहेको अनुभूत गर्दैछु।
हो, यही प्रश्नको जवाफ खोज्न मलाई एक पटक यो जातीयताको भूमरीमा पस्न मन लाग्यो। यसलाई खोतल्न प्रयास गर्दै गर्दा मैले देखेको मेरो समाजमा चल्दै आइरहेको कुप्रथाको विषयमा सानो विवेचना गर्न मन लाग्यो।
दूरदराजमा बस्दै आइरहेका जातीय विभेद र दमन सहेर बसेका कथित तल्लो जातका आम मानिसहरूको वेदनाको पोको फुकाउन मन लाग्यो। त्यही कथित दलित समुदायले मुलुक र समाजलाई कसरी योगदान गरेको छ भन्ने सन्दर्भमा वर्गीकरण गरी प्रस्ट्याउने प्रयास गरेको छु।
साँस्कृतिक हिसाबले कुरा गर्ने हो भने कथित तल्लो जातको बाहुल्यता हामी देख्न सक्छौं। जब समाज चारैतिर चाडवाडले लपक्कै पोतिएको हुन्छ तब त्यही कथित तल्लो जातले समाजलाई मनोरञ्जन प्रदान गर्दै साँस्कृतिक परम्परालाई निरन्तरता दिँदै रितिरिवाज र चाडपर्वलाई अझै पनि जीवन्त रूप दिएका हुन्छन्।
यदि हाम्रा महान चाडपर्वहरूमा हामी रमाउन र आफ्नो मौलिकतालाई निरन्तरता दिन सकेनौं भने हाम्रा चाडपर्व लोप हुँदै जाने खतरा बढ्न सक्छ।
मैले देखेको समाजमा कथित उपल्लो जातिभन्दा तल्लो जातिले गरेको संरक्षण र निरन्तरताले अझै पनि हाम्रो चाडपर्व लोप हुनबाट जोगिएका छन्, बचेका छन्।
हुनत म कथित उपल्लो जातको र हाम्रो समाजको एक प्रतिष्ठित व्यक्तिको छोरो मलाई कहिल्यै अनुभूत भएन कि म पनि ती तल्लो जात भनिएका दाजुभाइ दिदीबहिनीहरूसँग रमाइलो गर्दा मेरो र मेरो परिवारको प्रतिष्ठामा आँच आउँछ भन्ने तर मेरै सहकर्मी मेरो बारेमा लख काटेका हुन्थे। हेर बाहुनको छोरो मगर,नेवार ,दमै ,कामी ,सार्की आदि जातका केटाकेटीहरूसँग हिँडेको छ, नाचेको छ भनेर। तर म भाग्यमानी ठान्छु मेरो बुवा बाहुन भए पनि उदारवादी हुनुहुन्छ, शिक्षित हुनु हुनुहुन्छ त्यसैले होला कहिल्यै मलाई मेरा मित्रहरूको जस्तो नजरले हेर्नु भएन।
मेरा मित्रका बुवाहरू र कथित उपल्लो जातिमा मदहोसी मेरो छिमेकीले जस्तो सोच्नु भएन।
मेरो व्यक्तिगत स्वतन्त्रतालाई मेरा मित्रका बुवाआमाहरूले जस्तो कुविचारबाट बनेको भ्रमको पिँजडामा थुन्नु भएन। त्यही स्वतन्त्रताले गर्दा आज मैले समाज चित्रण गर्ने प्रयास गरेको छु।
पाटी, पौवा, मठ, मन्दिर बनाउँदै गर्दा त्यहाँ काम गर्ने कामदारहरूमा पनि यिनै दलित समुदायको पनि उत्तिकै भूमिका निर्वाह गरेको देख्न सकिन्छ।
तुलनात्मक रूपमा जब साँस्कृतिक संरक्षण र जगेर्नाको कुरा आउँछ कथित दलित समुदायको भूमिका कथित उपल्लो जातकोभन्दा धेरै होला तर कम भने पटक्कै छैन। यति योगदान हुँदाहुँदै पनि यी समुदायको कदर नभएको देख्दा उपल्लो जात भनाउँदा मानिसहरूले सम्पूर्ण श्रेय लिएको देख्दा ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान टपक्कै टिपेर टाँस्न मन लाग्यो।
आर्थिक हिसाबले कुरा गर्दा सधैं पिछडिएको समुदाय हो जस्तो लाग्छ कथित तल्लो जात।
समाजमा शोषक र सामान्तहरूले लुटिएको वर्ग हो जस्तो महशुस गर्न सक्छौं हामी। लामो समय करिब १० वर्ष अगाडि हो एक जना साइला दाइ(कथित कामी) को घरमा पुगेको थिएँ र उहाँको घर मेरो घरबाट २० मिनेटको दूरीमा पर्छ।
म बाटोमा हिँड्दै थिएँ र उहाँले बोलाउनु भो र म त्यहाँ गए अनि एक जना हाम्रै गाउँका एक जना भलाद्मी हुनु हुन्थ्यो। उहाँलाई गाउँको भाषामा ‘साहू’ भनिन्थ्यो र उहाँ सम्पन्नशाली हुनु हुन्थ्यो। संयोगबस के भैदियो भने उहाँ (साहू) त्यहाँ २० वर्ष अगाडि दिएको ऋणको ब्याज उठाउन जानु भएको रहेछ अनि जम्मा सावा ५०० दिनु भएको रहेछ र त्यसको हिसाब आजका दिनसम्म ३५ हजार पुगेको रहेछ अनि यत्तिकैमा मैले सोधें साहू बा तपाईंलाई साइला दाइले आजसम्म पैसा दिनु भएको छैन हो?
साइला दाइ हतारिँदै उत्तर दिनु ‘भो बाबु हरेक वर्षमा २ पटक ब्याज तिर्छु। उहाँको परिवारको सम्पूर्ण कृषि औजारहरू जस्तै: हँसिया,कोदाला बन्चारा र आदि इत्यादी सित्तैमा बनाइदिन्छु। बेलाबखतमा औजारहरूमा धार लगाइदिन्छु तर अझै रकम घट्दैन मलाई हिसाब आउँदैन भन्नु भो।
त्यही साहू बाजे विभिन्न लाञ्छना लगाउँदै त्यहाँबाट हिँड्नु भो।
यो त केवल एक प्रतिनिधि घटना हो यी हाम्रा आम दाजुभाइ, दिदीबहिनी र बुवाआमाहरूले भोग्दै आएको र शोसकहरूले खुन र पसिना चुसेर ती पीडितहरूको शिर ठाडो पार्न नदिएको।
अशिक्षा र गरिबीको भूमरीमा घुमिरहेको समुदाय जसको सिप र कलालाई रक्तापिपाशु शोषक र सामन्तले सहयोगको लोभ देखाएर पुस्तौंसम्म आर्थिक दलदलमा फसाएको जाति हो कथित दलित।
सायद शिक्षित र सम्पन्न भएको भए त्यो पीडा अलिक कम हुने थियो कि ? त्यसैले म भन्न सक्छु हातमा सिप र कला हुँदाहुँदै पनि गरिबीले चेपेको समुदाय हो कथित दलित समुदाय।
यदि त्यही सिपलाई व्यवसायिक बनाउन सकेको भए त्यो दुर्दशा भोग्नु पर्दैनथ्यो होला?
सामाजिक हिसाबले हेर्दै गर्दा त्यो एक मानिस हो जसले कथित उपल्लो जातको घर बनाउँदा गारो लगाउँछ, चुल्हो बनाइदिन्छ, त्यही घरकै लागि काठ कुँदेर घरको मूल ढोका बनाउँछ ,घरको छाना बनाइदिन्छ। त्यही मानिस जब घर पूरा हुन्छ अनि त्यही घरभित्र पस्न निषेधित हुन्छ।
त्यही मानिस जसले तरकारी काट्न हँसिया, उब्जनी लगाउने कोदाली बनाउँछ र पानी बोक्न गाग्री बनाउँछ तर त्यही मानिसले छोएको पानी खान खाँदैन कथित उपल्लो जाति।
सर्लक्क मिलेका सुकिला कपडा लगाएर घरको मझेरीमा बसेर आनन्दले खान खान्छ त्यही उपल्लो भनाउँदो जातको महामानव। जुन कपडा लगाएको हुन्छ त्यो तल्लो जातिले थुक र पसिना लगाई लगाई सिलाएको हुन्छ तर त्यही कथित तल्लो जाति उक्त मनिसको घरभित्र जान प्रवेश पाउँदैन बढो अचम्म लाग्दैन त?
भगवान त सबैको साझा हुनुपर्ने तर म तब विक्षिप्त हुन्छु जब त्यही कथित तल्लो जातका मानिसले बनाएको मठ ,मन्दिरमा पूजा गर्न जाँदा त्यही मन्दिर बनाएका कथित तल्लो जातका मनिसहरू मन्दिर छिर्न पाउँदैनन्। यति ठूलो अन्याय सायद यो संसारमा कतै छ जस्तो लाग्दैन।
साथै त्यही कथित दलितले भगवान रुपी बनाएको मूर्ति कथित उपल्लो जातले पूजा गर्छ, सम्मान गर्छ तर जसले बनाएको हो त्यो भगवान रूपी मूर्ति त्यसले मूर्ति मन्दिरमा राखेपछि छुन नपाउने कस्तो चलन?कस्तो कुसस्कार? कस्तो कुचलन जसले गर्दा हाम्रो समाज वर्गीकृत भएको छ सामाजिक सदभावबाट विचलित भएको छ।
हो मैले यो भन्दै गर्दा प्राचिन समयमा कथित उपल्लो जातका अघिल्लो पुस्ताको कार्यशैली र चलनको विरोध गर्न म सक्दिनँ किनकी त्यो बेला ती मनिसहरू पक्कै पनि ज्ञानको कमी, कम विवेक र सामाजिक शासकको बन्धक भएका थिए होला किनकि अहिलेको जस्तो स्वतन्त्रता, ज्ञान र वैज्ञानिक समय थिएन हिजो।
राजनीतिक हिसाबले हेर्ने हो भने मुलुकका धेरै जसो राजनीतिक फेरबदलमा कथित तल्लो जातिको पनि ठूलो भूमिका रहेको छ।
राजनीति एउटा यस्तो साझा चौतारी हुनुपर्ने हो त्यसलाई पनि नेताहरूले भागबण्डा लगाएका छन्। यो कुनै जातप्रतिको विभेदपूर्ण नीति हुँदै नभई राजनीतिमा समानुपातिक सहभागिता हुनुपर्छ भन्ने आशयले कोटा छुट्ट्याइएको छ भन्छन्।
तर म भन्छु यो गलत छ। यसको परिणाम अप्रत्यक्ष रूपमा जातीय विभेद र दमन नै हो जस्तो लाग्छ मलाई। किनकी एक कथित तल्लो जातको मानिस अहिले कथित उपल्लो जात बराबरीको हैसियत राख्न सक्छ त्यसैले किन वर्गीकृत कोटा छुट्ट्याउनु पर्यो? ऊ एक स्वतन्त्र आमनागरिक हो र उसको क्षमता, आफ्नै वुद्धि र विवेकले राजनीति वा कुनै वर्ग, क्षेत्रको प्रतिनिधित्व गर्न सक्छ।
जातीयताका आधारमा छुट्ट्याइएका कोटाहरूले पनि कथित तल्लो जातिहरूलाई आफ्नै खुट्टामा बञ्चरो हान्ने अवस्थामा पनि पुर्याएको छ कि भन्ने पनि अड्कल काट्न सकिन्छ।
यहाँ विभिन्न पार्टीहरू जन्मिए सर्वहारा,पीडित,सुकुम्बासी र जातीय विभेदबाट ग्रसित कथित दलित समुदायको वकालत गर्ने र ती उत्पीडित जनसमुदायको प्रतिनिधित्व गर्ने भनेर।
हाम्रा पार्टीका प्रतिनिधिहरू जब चुनाव आउँछ जातीय विभेद,छुवाछूत विरूद्धमा वकालत गर्न कहिले थाक्दैनन्। त्यसको परिणाम चुनाव जित्छन् तिनै उत्पीडित समुदायलाई प्रयोग गरी।
जब राज्यको तालाचाबी आफ्नो पोल्टामा पर्छ तब गुमनाम हुन्छन्। यो राजनीतिक चतुर्याईले चुनावी समयमा जातीय विभेदविरूद्ध तरंग त ल्याउँछ तर परिवर्तन ल्याउन सकेको छैन।
विगत १० वर्षे लामो जनयुद्धमा होमिएको तत्कालीन नेकपा माओवादीले जनयुद्धको बेलामा त जातीय विभेद को अन्त्य गर्छु भन्दै धेरै कथित तल्लो समुदायका धेरै मानिसहरूलाई आफ्नो कार्यकर्ता बनायो र कति जना त संघर्षको मैदानमा साहदत प्राप्त गर्नुभयो। अवस्था र परिवर्तन देखियो त नेतृत्व नजिक रहेका अल्पसंख्यक मानिसहरू जो आफ्नो व्यक्तिगत स्वार्थको लागि राजनीति गरेका थिए। त्यसैले राजनीतिले पनि माथि उठाउन सकेको छ जस्तो लाग्दैन कथित दलित समुदायलाई। जातीय उत्पीडन, स्वतन्त्रता र छुवाछूतमुक्त हुने अभिलाषाले होला अझै पनि थाकेका छैनन् क्रान्तिकारी विचार बोकेका पार्टीको राजनीतिमा होमिन हाम्रा कथित दलित समुदाय।
अन्तत: यस्तो कुचालनको अवसान गर्नको लागि शिक्षा र चेतना सबभन्दा ठूलो कुरा हो जस्तो लाग्छ। तर कहिलेकाहीँ शिक्षित हुँदै गर्दा पनि संकीर्ण सोचले मानिसलाई निच र घृणित बनाउँछ।
जब हामी आफैंले आफूभित्रको पासविक सोच र आफ्नो व्यवहार आफैंले परिवर्तन गर्दछौं तब चारैतिर सदभाव र समानता देख्छौं। त्यसैले अब हामी उपल्लो जाति यो कुचलन र कुरीतिको निर्मुलतातर्फ अग्रसर गराउन ती कथित दलित समुदायसँग हातेमालो गरी सदभाव कायम राख्नु पर्दछ।
हिजोको पुस्ताले के गर्यो भन्ने भन्दा पनि आज तपाईं हामी जो उपल्लो जात भन्छौं तपाईं हाम्रो विचार आफैंले परिवर्तन गर्न सक्नुपर्छ र ती कथित तल्लो जातिमा गनिने सम्पूर्ण जनसमुदाय अब आफूलाई निच र दबिएको आभाष हुन नदिनको लागि उहाँहरू आफैं पनि सामाजिक कार्यमा अग्रपंतिमा आएर सहकार्य र हातेमालो गर्नुपर्ने जरुरी देखिन्छ।
नयाँ पुस्तामा यो जातीय दमन र विभेदको छाया पर्न नदिनको लागि सामाजिक जागरूपता साथै शैक्षिक पाठ्यसामग्रीसँगै सामाजिक कार्यहरूमा समान सहभागिता गराउनु जरुरी देखिन्छ। सरकार र पार्टी पनि कुनै किसिमको जातीयता मिसिएको संरक्षित कोटा वा स्थानलाई जातीय आरक्षणबाट हटाउनु पर्छ।
एकै देशमा जन्मिएका सम्पूर्ण नागरिक समान हुन् र सबैले समान किसिमको न्याय,दण्ड र अवसर प्राप्त गर्नुपर्छ भन्ने हिसाबले सम्पूर्ण आरक्षण खारेज गर्नुपर्छ। कथित दलित वा तल्लो जात कहलिएका सम्पूर्ण समुदायहरू पनि एक दुई आरक्षित स्थानहरूमा आफूलाई बन्धक नबनाई खुला प्रतिस्पर्धामा जान सक्नुपर्छ र समाजमा आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ।
यसरी सम्पूर्ण ज्ञान र यथार्थलाई आत्मसाथ गर्दै अगाडि बढ्यौ र यिनै कथित तल्लो जति वा दलित समुदायले देश परिवर्तनको नाममा र समाजका आवश्यकतालाई परिपूर्ति गर्नको लागि गरेका सम्पूर्ण कार्य, कर्म र योगदानलाई कदर गर्दै सामाजिक सदभावको जगेर्ना गर्दै कुप्रथा र कुरीतिको अवसान गर्न सक्यौं भने मात्रै जातीय विभेदबाट उन्मुक्त हुन सकिएला।